उद्यम विकासमा ध्यान देऊ



हामीकहाँ लोकतन्त्र आएपछि उद्योगको व्यापक विस्तार हुन्छ र बेरोजगारीको समस्या पनि धेरै हदसम्म कम भएर जान्छ भन्ने जुन विश्वास थियो त्यसअनुसार उद्योगधन्दाको विकास हुनै सकेन । उद्योगधन्दाको विकास हुन नसक्दा मुलुकको आर्थिक विकासमा पनि विभिन्न खाले समस्या देखिन पुग्यो । आर्थिक अवस्था कमजोर हुन पुग्यो । यसले गर्दा लोकतन्त्रमाथि नै विभिन्न खाले प्रश्नहरु उठिरहेका छन् । राजनीतिक नेतृत्वको शासकीय अक्षमताका कारण पनि यस्तो भएको हो ।
हाम्रो राजनीतिक नेतृत्वले प्रस्टरुपमा बुझ्नुपर्छ कि उद्योगधन्दाको विकासले आर्थिक गतिविधिलाई चालयमान गराउँछ र आर्थिक वृद्धिमा थप सहयोग गर्दछ । उद्योगधन्दाको विकासले घरेलु अर्थतन्त्रलाई मात्र सहयोग गर्दैन निकासी व्यापारमार्फत देशबाहिरबाट धन भित्र्याउने अवसर पनि प्रदान गर्दछ । सपन्नताको मार्गमा अगाडि बढिरहेका र हासिल गरिसकेका राष्ट्र सबैमा औद्योगिकीकरणले तीव्रता लिएपछि नै आर्थिक वृद्धि राम्रो भएको थियो । उद्योगधन्दाले रोजगारीमार्फत आय बढाएपछि उपभोग्य वस्तुको माग पनि बढ्छ । धेरै लचक नभए पनि खाद्यान्नको माग पहिलो प्राथमिकतामा पर्दछ । खाद्यान्न सस्तो हुँदा ज्यालामा दबाब पर्दैन । महँगो भयो भने ज्यालामा दबाब पर्दछ । फलस्वरुप, रोजगारीको अवसर खुम्चिन्छ । त्यसै गरी कतिपय कच्चा पदार्थ कृषिक्षेत्रबाट प्राप्त हुन्छ । त्यसकारण औद्योगिकीरण र कृषि विकास साथसाथै जानुपर्दछ ।

हाम्रो मुलुक कृषिप्रधान हो । तर अचम्म, हाम्रा शासकहरुले कृषिलाई कहिल्यै पनि उच्च प्राथमिकतामा राख्न सकेनन् । हामी अहिले पनि खाद्यान्नमा परनिर्भर अवस्थामा छौँ । खाद्यान्नको परनिर्भरताको असर सबैभन्दा खतरनाक हुने गर्छ । कल्पना गरौँ त, भारतबाट इन्धन नआउँदा हामीले डिँडेर काम चलायौँ तर खाद्यान्न आएन भने भोकै बसेर त बाँचिँदैन होला । फेरि, कृषिलगायत उद्योगधन्दाको विकास र विस्तार भएन भने भाडा असुल्ने प्रवृत्ति भएको आर्थिक गतिविधि मात्र सञ्चालन हुन थाल्छ । अर्थ व्यवस्था उद्यमीभन्दा नाफाखोरको क्रीडास्थल बन्दछ । त्यस्तो देशमा नागरिकले ठूलो कष्ट र दुःख भोग्न बाध्य हुनुपर्छ । अहिले हामीकहाँ अवस्था यस्तै छ । हामीकहाँ अर्थ व्यवस्था राम्रा र सफल उद्यमीको हातमा भन्दा पनि नाफाखोरहरुको हातमा कैद हुन बाध्य छ । त्यसैले पनि बजारमा अराजकता व्यापक छ । जसले जे गरे पनि हुने अवस्था छ ।

नेपालको उद्यम क्षेत्र पहिलेदेखि नै भाडा असुल्ने वर्गको पेसा भएको छ, वास्तविक उद्योगी व्यवसायीको विकास हुन सकेको छैन । सत्ता वा राजनीतिज्ञको फेर समातेर भाडा खाने वर्गको हालिमुहाली छ । त्यसैले हामीकहाँ उद्योगधन्दा फस्टाउन सकेको छैन । यसको असर रोजगारीमा परिरहेको छ । बेरोजगारी बढ्दो छ । यदि वर्तमान सरकार र शासकहरुको बुद्धि छ भने अब उद्योगधन्दाको विकासमा उच्च प्राथमिकता दिनै पर्छ । उद्योगधन्दाको विकास भएको खण्डमा सरकारको आय पनि बढ्छ । सरकारलाई सार्वजनिक नीति बनाएर कार्यान्वयन गर्न साधन र स्रोत उपलब्ध हुन्छ । त्यस्तो भएमा मुलुक विकास र समृद्धिको हिसाबले सहजै अघि बढ्न सक्छ । त्यसैले उद्यम विकासलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु अहिलेको अहं आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्