नेपाली मिडिया: राजनीतिक मामिलासम्बन्धी पत्रकारिताको स्वर्णिम युग र आगामी बाटो



तीस वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य गर्दै २०४६ सालको जनआन्दोलनले मुलुकमा प्रजातन्त्र पुनःस्थापना गरेपछिका दिनमा नेपाली समाजमा पत्रकारिताप्रतिको आकर्र्षण बढ्दो थियो । नेपाल अधिराज्यको संविधान २०४७लेप्रेस स्वतन्त्रताको प्रत्याभूति गरेका कारण ठूलो लगानीका सञ्चार गृह खुलेका थिए ।

आधुनिक प्रविधि भित्र्याउने, दक्ष जनशक्ति भर्ना गर्ने, आकर्षक सेवा सुविधा दिने र पत्रिकाको गुणस्तर वृद्वि गर्ने प्रतिश्पर्धा चलेको थियो । पञ्चायतकालमा कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, सामग्रीको प्रकाशन पूर्व प्रतिबन्ध लगाउने र कुनै समाचार वा विचार प्रकाशन वा प्रशारण गरेवापत पत्रिका जफत र बन्द गर्न सक्ने कानुनी व्यवस्थाका कारण फस्टाउन नसकेको नेपाली प्रेसले त्यो प्रजातान्त्रिक खुल्ला वातावरणलाई व्यावसायिक फड्को मार्ने अवसरका रूपमा उपभोग गर्न पाएको अवस्था थियो ।

भर्खरै प्रजातन्त्र स्थापना भएकाले नेपाली समाजमा राजनीतिक विषयवस्तुप्रति एकदमै चासो र आकर्षण थियो । जनआन्दोलनका सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको तीव्र राजनीतिक प्रतिष्पर्धा सम्बन्धित समाचार, विचार, लेख रचना नेपाली पत्रपत्रिकाका सामग्री हुन्थे भने पाठक वर्गको अधिक रुचि पनि त्यसैमा थियो । सार्वजनिक मञ्चमा नेताहरूले एक अर्का विरुद्व गरेका कठोर आलोचना र आरोप प्रत्यारोप पत्रपत्रिकामा प्राथमिताका साथ हेडलाईन बन्थे । पञ्चायत कालभर राजनीतिक दल निकट मानिएका साप्ताहिक पत्रिकाले आफ्नो आङको भंैसी नदेख्ने अरूको आङको जुम्रा देख्ने नेपाली उखानकै शैलीमा समाचार सामग्री पस्किरहेको, आफूले समर्थन गरको दल, नेता तथा सिद्वान्तको अन्ध समर्थन गर्ने र विरोधीमाथि तथ्यहीन रूपमा आक्रमण गर्ने पत्रकारिताको अभ्यासलाई विस्तारै विस्तारै सचेत नेपाली समाजले अस्वीकार गर्ने वातावरण बनिरहेको थियो ।

साप्ताहिक पत्रिकाको तुलनामा सत्य, तथ्य, विश्वसनीय र सन्तुलित सामग्री दिने गरेका कारण ठूलो लगानीका दैनिक पत्रिकाको लोकप्रियता मात्र बढेको होइन, ती सञ्चार गृहले व्यावसायिक सफलतासमेत पाउन थालेको अवस्था थियो । नेपाली इतिहासमा पहिलोपटक पत्रकारिताले औद्योगिक स्वरूप ग्रहण गर्दै गर्दा दक्ष जनशक्तिको माग उच्च थियो । त्यो बेला हामी रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्दै गरेका विद्यार्थीहरू कामको खोजीमा पत्रिकाका कार्यालय धाउथ्यौं । सम्पादकहरू भन्ने गर्थे –तिमीहरूजस्ता सिकारु राखेर हाम्रो पत्रिका चल्छ । हामीलाई त लेख्न जान्ने अनुभवी पत्रकार चाहिन्छ । ए भाइ पत्रकारिता पढ्दैमा पत्रकार भइँदैन, पत्रकार बन्ने हो भने राम्रो लेख्न सक्नुपर्छ । आजका सम्पादकहरूलाई हेर्नुस् त कोही छ पत्रकारिता पढेर आएको । सबै लेख्न जानेका कारण सम्पादक भएका हुन् ।

मैले पत्रकारितामा स्नातक गर्दासम्म दैनिक नेपाली समाजमा पत्रिका लोकप्रियताको शिखरतर्फ उन्मुख हुँदै थिए । तिनले दिनहुँ प्रकाशन गर्ने राजनीतिक समाचार पढ्ने पाठक बढ्दै गए । पत्रिका पसलमा उभिएर सित्तैमा पत्रिका पढ्ने र अन्तमा एउटा पत्रिका किनेर घर फर्किने पाठकको संख्या कम थियो । हामीजस्ता विद्यार्थीहरू भने उभिएरै भए भरका सबैजसो पत्रिका पढेर डेरामा फर्किन्थ्यौं । दैनिक पत्रिकाहरूबीचको व्यावसायिक प्रतिष्पर्धाले पत्रिकाको गुणस्तर, वजार, पाठकको रुची,विज्ञापन बजार र मिडियाको आम्दानी बढ्दै गयो ।

पाठकहरूले एउटै विषयमा विभिन्न कोणबाट लेखिएका समाचार पढ्न पाए । प्रजातन्त्र पुनःस्थापनाको एक दशक पुग्दा नपुग्दै निजी र सामुदायिक एफएम रेडियोहरू स्थापना भए । अब एफएमको आगमनले सूचनाको प्रवाह र पहुँच विस्तार हुन पुग्यो । २०५९ सम्म आईपुग्दा निजी क्षेत्रबाट सञ्चालित टेलिभिजन खुले । साप्ताहिक पत्रिका, रेडियो हुँदै म आफैँ कान्तिपुर टेलिभिजनमा राजनीतिक बिट हेर्न थाले । तिनताका समाचार भनेकै राजनीति र राजनीति भनेकै समाचार भन्ने बुझाई थियो । पत्रिका, रेडियो, टेलिभिजनहरूबीच आफ्नो महत्व र प्राथमिकता क्रममा समाचार र विचार प्रकाशन प्रशारण गर्ने होड चलेकाले दक्ष जनशिक्त भर्ना गर्ने, राम्रो पारिश्रमिक दिने प्रतिष्पर्धा शुरू भएकाले शिक्षित जनशक्तिको यो पेशाप्रति आकर्षण झनै बढेर आयो ।

हरेक दिन बिहानै अफिस पुग्नु, संसद् बैठक, राजनीतिक दलका सभा, सम्मेलनमा जानु, नेताहरूका लामा लामा भाषण सुन्नु, समाचार बनाउनु राजनीतिक बिटमा काम गर्ने मजस्ता पत्रकारहरूको दैनिकी बन्यो । पत्रपत्रिका, रेडियो, टेलिभिजनमा प्रायः नेताका भाषण मुख्य समाचार बन्थे । नेताहरूका भाषणमा आधारित समाचारमा प्राय भन्नुभयो, गर्नुभयो, प्रकाश पार्नुभयो, स्पष्ट पार्नुभयो, चेतावनी दिनुभयो, उल्लेख गर्नुभयो, चर्चा गर्नुभयो, ठोकुवा गर्नुभयो, आश्वासन दिनुभयोजस्ता शब्द प्रयोग भएका हुन्थे ।

नेताहरू भाषण गर्थे, कार्यकर्ता तालि बजाउँथे, हामी भने तिनै कार्यक्रमको समाचार बनाएर दंग पथ्र्याैं । मिडिया थोरै भए पनि तिनको प्रभाव भने अधिक थियो, मिडियाले उठाएका मुद्दाले चिया चौतारी, सार्वजनिक स्थल, सामाजिक संघ संस्था, सरकारका अंग, दलका भेला, बैठक र संसद्मा सचेत चर्चा पाउँथ्यो ।

पत्रकारिता नेपालीको समाजको अभिन्न अंग बन्ने क्रममा रहेका २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको कार्यकारी अधिकार हातमा लिएर मिडियामा सैन्य सेन्सरसीप शुरू गरी प्रत्यक्ष शासन चलाएपछिका केही दिन मिडियाले राजनीतिक समाचार दिन पाएनन् । मिडियाले सत्य, तथ्य, विश्वसनीय सूचना प्रवाह गर्न नपाएको अवस्थामा बीबीसीलगायत अन्तर्राष्ट्रि«य मिडियामा भर पर्नुपर्ने अवस्था आयो ।

निरंकुश बाटोमा जाने राजा ज्ञानेन्द्रको महत्वाकांक्षाले सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच १२ बँुदे सहमति गर्ने वातावरण बनाई दियो । त्यही सहमतिको जगमा सात राजनीतिक दलको आह्वानमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्र वहालीका लागि शुरू भएको जनआन्दोलनले उचाई लिँदै गर्दा मिडियाले सम्पादकीय स्वतन्त्रताको उपभोग गर्न पाए । न्यूयोर्क टाइम्स (अमेरिका) का लागि काम गरेका स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक अवेलका अनुसार:  राज्यले जिम्मेवारी पूरा नगर्नु, अन्याय, अत्याचार, अव्यवस्था हुनु, कानुन उल्लंघन हुनु समाचार हो । मिडिया शासकको इसारामा चल्नु हुँदैन । जनचाहना र भावनालाई महत्वका साथ आफ्ना समाचार र विचारमा स्थान दिनु उसको धर्म हो ।

अधिकार प्राप्तिको लडाइ जारी रहँदासम्म राजनीतिक विषय वस्तुलाई प्राथमिकता दिनु नेपाली प्रेसको धर्म नै थियो । निरंकुश राजतन्त्र अन्त्यको माग गर्दै२०६२–०६३ मा भएको जनआन्दोलनलाई नेपाली प्रेसले साथ दियो र राजालाई प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्य बनाउने अभियान सफल बनाउन भूमिका खेल्यो । पुनःस्थापित प्रतिनिधिसभाले संविधानसभा निर्वाचन हुँदै गणतन्त्रमा जाने मार्गचित्र तय ग¥यो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासम्मको राजनीतिक उपलब्धि हासिल गर्न नेपाली मिडियाको योगदान थियो । गणतन्त्र स्थापनापछि राजनीतिक अधिकार प्राप्तको युग अन्त्य भएकाले नेपाली पत्रकारिताको प्राथमिकता आर्थिक समृद्वि र विकास हुनु आवश्यक छ ।

आगामी बाटो
संविधानसभामार्फत् संविधान बनाएर राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको अवस्थामा नेपाली प्रेसले समाजप्रतिको आफ्नो दायित्व र प्राथमिकताक्रमलाई पुनः परिभाषित गर्नुपर्ने बेला आएको छ । सूचना प्रविधिका क्षेत्रमा आएको क्रान्तिले विश्वभर परम्परागत रूपमा सञ्चालन हुँदै आएका पत्रपत्रिका, रेडियो, टेलिभिजन संकटको अवस्थामा छन् । डिजिटल मिडियाको पहुँच र प्रभाव बढेको भए पनि विश्वसनीयता संकटको अवस्थामा छ । सञ्चार गृहको आम्दानी घटेको, ठूलो संख्यामा दक्ष जनशक्ति पलायन भएको, थोरै जनशक्तिमा मिडिया चलाउनुपर्ने बाध्यता भएको र गुणस्तरीय सामग्री दिन नसकेका कारण मिडियाप्रतिको विश्वसनीयता कमजोर हुँदै गएको अवस्था छ ।
त्यसैले सरकार, मिडिया सञ्चालक, पत्रकार महासंघ, प्रेस काउन्सिलसहित सरोकारवाला पक्षले आगामी दिनमा मिडिया क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा ठोस नीति तय गरी अघि बढ्नु आवश्यक छ । यस सन्दर्भमा वहस हुनुपर्ने केही मुद्दा यस प्रकार छन् ।
क) निजी क्षेत्रबाट सञ्चालित मिडियालाई राजनीतिक दल, व्यापारिक घराना, स्वार्थ समूहको प्रभावबाट कसरी मुक्त गर्ने ।
ख) सरकारी मिडियामा कसरी सम्पादकीय स्वतन्त्रता कसरी सुनिश्चित गर्ने ।
ग) मिडियाको लगानीलाई कसरी पारदर्शी बनाउने ।
घ) पत्रकारहरूलाई राजनीतिक दलको छाँयाबाट कसरी मुक्त गर्ने ।
ङ) प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी त्यहाँ हुने नियुक्तिलाई कसरी राजनीतिक प्रभावबाट मुक्त गर्ने ।
च) नेपाल पत्रकार महासंघमा दलीय आधारमा प्रतिष्पर्धा गर्ने परम्पराको अन्त्य गरी, पत्रकारको योग्यता र क्षमताका आधारमा प्रतिष्पर्धा गर्ने वातावरण कसरी बनाउने ।
छ) पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि मिडिया हाउस र सरकारले लगानी गर्ने वातावरण कसरी बनाउने ।
ज) मिडियाले प्रकाशन तथा प्रशारण गर्ने सामग्रीका विषयमा अध्ययन गरी समीक्षा गर्ने वातावरण कसरी सिर्जना गर्ने ।
झ) पत्रकारहरूको सामाजिक सुरक्षा र सेवा सुविधाको सुनिश्चिता गर्दै यो पेशाको मर्यादा कसरी बढाउने ।
ञ) पत्रकारिता र पत्रकारको आवरणमा हुने पत्रकार आचारसंहिता विपरीतका काम कारबाहीलाई कसरी निस्तेज बनाउने ।

निष्कर्ष
सत्य, तथ्य र विश्वसनीय समाचार सामग्रीको प्रवाहमार्फत् समाजलाई सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा दिनु मिडियाको धर्म हो । यसले समाजमा भए गरेका घटनाको सूचना मात्र दिँदैन, समाचार र विचारको प्रवाहमार्फत् जनमत निर्माण गर्नसमेत सघाउँछ । सामाजिक मूल्य, मान्यता र संस्कारलाई स्थापित गर्छ । मिडिया समाजको ‘ऐना’ र परिवर्तनको आधार पनि हो । प्रेसको पहिलो दायित्व जनभावना बुझ्नु र ती भावनालाई अभिव्यक्तिको माध्यम प्रदान गर्नु हो । दोस्रो, जनचाहनाहरूको प्रतिनिधित्व गर्नु हो । तेस्रो, निर्भयतापूर्वक गलत कुराहरू उजागर गर्नु हो । आवाजविहीनको प्रतिनिधित्व गर्दै सरकार र सरोकारवालका काम कारबाहीको आलोचना गर्नु, निगरानी गर्नु र जनताप्रति उत्तरदायी बनाएर विधिको शासन स्थापना गर्न सघाउनु पनि हो । अमेरिकी पूर्वराष्ट्र«पति जेफरसनका अनुसार: जुन देशमा स्वतन्त्र अखबार हुन्छ, नागरिक साक्षर र पढ्न सक्ने हुन्छन्, त्यहाँ सबै कुरा सुरक्षित रहन्छ । त्यसैले उनले भनेका छन्: यदि, मलाई सरकारबिनाको अखबार र अखबारबिनाको सरकारमध्ये कुनै एक रोज्न भनियो भने बिनाहिचकिचाहट म पहिलो रोज्ने छु । २०४६ सालपछिको स्वतन्त्र वातावरणमा नेपाली प्रेसले समाजका लागि गरेको योगदान, यसका कमजोरी र अनुभवको मूल्याङ्कन गर्दै भावी दिनमा पूरा गर्नुपर्ने दायित्वबारे मिहीन छलफल हुनु आवश्यक छ । मिडियाको विकासका लागि प्रेस स्वतन्त्रताको जति महत्व छ, प्रेसको विश्वसनीयता कायम गर्न उसले समाजप्रतिको उत्तरदायित्व पूरा गर्नै पर्छ । मिसावटरहित सूचना र विचारको प्रवाहले मात्र प्रजातान्त्रिक पद्धतिलाई सबल र सक्षम बनाउन सक्छ । बिनापूर्वाग्रह सूचना तथा विचारको प्रवाहमा गर्ने मामिलामा हामी कहाँ छौं आत्मालाई साक्षी राखेर मनन गरौं । हिजोका दिनमा पत्रकारिता जगत आफ्नो उत्तरदायित्व वहन गर्ने क्रममा चुकेकै कारण नेपाली मिडियाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ, विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्न नसक्ने हो भने नेपाली प्रेस पनि जेम्स मेडिसनकै भनाइअनुसार सत्य, तथ्य सूचना प्राप्त गर्ने साधनबिनाको खोक्रो ढ्वाङ वा विघटनको सुरुवात हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्