जमाना विशेषज्ञ पत्रकारको



यतिबेला पत्रकारितामाथि संकट आइलागेको जस्तो देखिएको छ । व्यवसायमा वासलात देखेर मिडिया व्यावसायीहरू निराश छन् । पेशामा अनिश्चितता र अस्थिरता भोगेर पत्रकार तथा मिडियाकर्मीहरू निरुत्साहित छन् । पत्रकारीय सामग्रीसँगै सामाजिक सञ्जालका सामग्री फिटिएर स्क्रीनहरूमा आउँदा पाठक-दर्शक-श्रोता अन्योलग्रस्त छन् ।

यस्तो अवस्थाकै बीचमा सन्तुलित सामग्रीको माध्यमबाट मानवीय अभिरुचिको सेवा गर्दै पत्रकारितालाई जोगाएर लैजानुपर्ने अवस्था छ । यो काम त्यति सहज र सरल अवश्य छैन तर प्राविधिक विकासको परिस्कार र विस्तारसँगै पत्रकारितामा बढ्दो विशिष्टीकरणको माध्यमबाट अघि बढ्ने हो भने अप्राप्य र असम्भव पनि छैन । यस आलेखमा पत्रकारिताप्रतिको विश्वासलाई जोगाउँदै मानवीय जिज्ञासा र नागरिकको सूचनाको हकको सेवा गर्ने आवश्यकता, उपाय र त्यसको लाभको चर्चा गरिन्छ ।
मानवीय जिज्ञासालाई शान्त पार्ने नाममा तथ्यहीन, अर्ध–तथ्य मात्र नभएर मिथ्या सूचनासमेत सनसनीपूर्ण बनाएर पस्किँदा पत्रकारिता पेशाप्रतिको भरोसा घटेको ठान्नेहरू प्रशस्तै छन् ।

मिडियाले सम्वेदनशील हुनुपर्ने ठाउँमा सनसनीपूर्ण भइदिनाले दुखद परिणाम भोग्नुपरेको यथार्थ छँदैछ । त्यस्तै परिणामले पत्रकारिताप्रति असहिष्णु मजगहरूलाई उकास्ने नै भयो । त्यस्तै उक्साहटले पत्रकार वा पत्रकारितामाथि आक्रमण, सूचनाका स्रोत वा साधनमाथि नियन्त्रण हुँदै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र त्यसको अभ्यास गर्ने भौतिक वा डिजिटल माध्यममाथि बन्देजको अवस्था निम्त्याइदिन्छ, निम्त्याइसकेको छ ।

मानवजीवन तथा जगतका विविध विषयवस्तुलाई समेट्ने पत्रकारिता मानवीय चासोभन्दा बाहिर जान सक्दैन । बरु, पत्रकारिताले असीमित मानवीय जिज्ञासाको फैलिँँदो परिधिको अनन्त यात्राको उडान भर्छ, भरिरहेको छ । मानवीय जिज्ञासाको जगमा टिकेको पत्रकारिताको ढाँचा, सीप, शैली, प्रविधि, ज्ञान, माध्यम बदलिँदै गएका छन् । तर, यो पेशाको आधारभूत चरित्र, सिद्धान्त, पहिचान र आवश्यकता मानव समाजको लागि झनझन अपरिहार्य बन्दै गएको छ ।

हो, पत्रकारिताले पस्किने सूचनामा विविध कारणले तथ्य फरक पर्न सक्छन् । कुनै पनि पेशानिष्ठ पत्रकारले जानाजान गलत सूचना पस्केर मानवीय चासो र जिज्ञासामाथि खेलवाड गर्ला भनेर कल्पना गर्न सकिँदैन ।

तर, पत्रकारितामा पनि समाजका अन्य पेशा व्यवसायमा जस्तै गलत मनसायधारीहरू हुनसक्छन् । तिनले दुराग्रहपूर्ण कर्म गर्न सक्छन् । तर, तिनको दुराग्रहको भारी समग्र पेशाले बोक्नुपर्ने अवस्था न्यायोचित हुन सक्दैन । हाे

यसबाहेकको यथार्थ के हो भने मानवीयलाई अनन्त जिज्ञासालाई शान्त पार्न एउटा पत्रकारले सीमित मात्रामा मात्र सक्छ । जीवन, जगत र त्यसभन्दा पनि परका सबै विषयलाई एउटै पत्रकारले बुझ्न र बुझाउन नसक्दा गल्ती हुनसक्छन्, भइरहेका छन् । तसर्थ ज्ञान र जानकारीको परिधिको सीमा निर्धारण गरेर पत्रकारले काम गर्ने हो भने अञ्जानमा हुने गल्तीबाट मुक्ति मिल्न सक्छ । यसका लागि कुनै खास विषय वा क्षेत्रमा केन्द्रित भएर अध्ययन गर्ने र त्यसमा दक्षता हासिल गरेर मात्र लेख्ने अभ्यास गर्नुपर्ने हुन्छ ।

पत्रकारितामा ‘द जर्नलिष्ट इज अ जेनेरलिस्ट’ भन्ने चिन्तन अद्यापि अभ्यासमा छ । तर, पछिल्लो समयमा आएर पत्रकारलाई ‘जेनेरलिस्ट’ होइन, ‘स्पेशलिस्ट’ को रूपमा हेरिन थालेको छ । पत्रकारका समाचार–कथाहरूमा प्रकट हुने विशेषज्ञता उसले पेशागत अभ्यासको दौरानमा हासिल गरेको अध्ययनबाट प्रमाणित गरेको हुन्छ । जानकारीको अभावका कारण हुने गलत सूचनाको प्रवाहलाई रोक्नका लागि त्यस्तो विशिष्टतायुक्त पत्रकारिता प्रभावकारी हुन्छ । खास विषयमा विशिष्टीकृत भएर काम गर्ने पत्रकारले सम्प्रेषण गर्ने सामग्री कतिपय अवस्थामा सोही विषयका विशेषज्ञका लागि समेत सन्दर्भ सामग्री बन्न सक्छन्, बन्ने गरेका छन् । त्यसैले यस्तो अभ्यासलाई पत्रकारहरूले प्राथमिकता दिनु र सञ्चारमाध्यमले प्रोत्साहन दिनु जरुरी छ ।

यस्तो विशिष्टीकरणलाई कतिपय विद्वानले छापा, रेडियो, टेलिभिजन र डिजिटल जस्ता प्रविधिका आधारमा वर्गीकरण गरेका छन् । ती माध्यमभित्रै पनि अन्तवार्ताकार, फोटो पत्रकार, कार्टूनिष्ट, ग्राफिक डिजाइनर, टीभी क्यामरापर्सन, पाण्डुलिपि सम्पादक आदि रूपमा विशिष्टीकरण गरेर छुट्याउनेहरू पनि छन् । त्यस अलावा रक्षा, अपराध, अदालत, राजनीति, खेलकूद, मनोरञ्जन, अर्थतन्त्र जस्ता परम्परागत विधाका कुरा गर्नेहरू त प्रशस्त छँदैछन् । पछिल्लो समयमा आएर कृत्रिम बौद्धिकता, पोडकाष्ट, मोजो (मोबाइल जर्नालिजम), डोजो (ड्रोन जर्नालिजम), डेटा जर्नालिजम जस्ता रूप सञ्चारमाध्यमका न्यूजरूमदेखि विश्वविद्यालयका क्लासरूमसम्म समेटिँदै छन् । तिनले पत्रकारिताका पुराना सीप, शैली र प्रविधिमाथि दबाव मात्र पैदा गर्दै छैनन्, पत्रकारिताको अभ्यासलाई समेत पुनर्परिभाषित गर्दैछन् । अनलाइनमा जाने पहिलो पत्रिकाका रूपमा सन् १९८० को मध्यतिर ‘कोलम्बस डिस्प्याच’ ले इतिहास रचेयता सबै माध्यमहरू एकपछि अर्को गर्दै यही इन्टरनेटको विश्वव्यापी जालोमा जोडिन र पत्रकारिताको अभ्यास र अस्तित्वलाई पुनर्परिभाषित गर्न थालेका हुन् ।

प्रयुक्त प्रविधि र सीपको विकासका आधारमा पत्रकारिताको वर्गीकरण गर्नेहरूको भन्दा केही फरक विश्लेषण गर्नेहरू पनि छन् । न्यूयोर्कमा मुख्यालय रहेको ‘एनबीसी न्यूज’ का वरिष्ठ सम्पादकीय निर्देशक जोय वाङ्का विचारमा पत्रकारितामा विशिष्टिताका क्षेत्र छुट्याउन सकिने मुख्य तीन वटा आधार छन् । त्यसअनुसार, भौगोलिक क्षेत्र, सरकारी निकायहरूको जस्तो क्षेत्राधिकार र सामयिक विषयवस्तुका आधारमा कार्यक्षेत्र विभाजन गरेर पत्रकारितामा विशेषज्ञताको क्षेत्र छुट्याउन सकिन्छ । यसलाई क्रमशः स्थानका आधारमा, निकाय वा संस्थाका आधारमा र विषयक्षेत्रका आधारमा विशेषज्ञताको क्षेत्र छुट्याएको भन्न पनि मिल्छ ।

यी तीन वटै तवरले कार्यक्षेत्र छुट्याएर विधागत पत्रकारिता गर्ने अभ्यास नेपालमा पनि भइरहेकै छ । साहित्यिक पत्रकारिताजस्तो विशिष्ट क्षेत्रबाट विकास भएको नेपालको पत्रकारितामा लामो समयसम्म मिसमास पत्रकारिताको वर्चस्व रहे पनि पछिल्लो समयमा देखा परेको प्रविधिको विकास र व्यवसायको सकसले पत्रकारहरूलाई विशेषज्ञताको मार्गतर्फ अग्रसर गराएको छ, अग्रसर हुन बाध्य पारेको पनि छ । यस मार्गमा पत्रकारहरूको अग्रसरता बलशाली देखिन्छ । नेपाली पत्रकारिताका गुरू लालध्वज देउसा राईले ‘अखबारी पत्रकारिता’ पुस्तिकामा समाचारको प्रकार छुट्याएर पत्रकारितामा विशिष्ठताकोे बाटो २१ वर्षअघि नै देखाइदिएका थिए । राईका अनुसार, समाचारको विषयवस्तुका आधारमा, समाचार–स्रोतका आधारमा र समयको दृष्टिकोणबाट पनि समाचार के हो भन्ने बुझ्न सकिन्छ ।

विकासको प्रारम्भिक युगदेखि वर्तमान सूचना प्रविधिको युगसम्ममा मानवीय जिज्ञासामा विविधता बढ्दो छ । अन्य क्षेत्रमा जस्तै सूचना प्रवाहका क्षेत्रमा पनि मानवीय अभिरुचि परिवर्तन भएका छन् । माध्यम मात्र हैन, सूचनामा परिष्कार र विशिष्टता पनि बढ्दो छ । बढ्दो अभिरुचिको क्षेत्रमा सूचना प्रवाह गर्नका लागि पत्रकारिताको आयतन र आयाम पनि फराकिलो हुँदै गएको छ । समाजमा सही सूचनालाई स्वीकार तथा कुसूचनालाई तिरस्कार गर्ने पारखीहरू बढेसँगै सूचनाको परिस्कारका लागि पत्रकारमा पनि विशिष्टीकृत सीप र अक्कल बढ्नुपर्ने आवश्यकता पनि स्वाभाविक रूपमा बढ्दो छ ।

प्राचीन रोमको इशा पूर्व ५९ को ‘एक्टा डिउर्ना’, चीनको सन् ६१८ को ‘पेकिङ् गजेट’, सन् १६२२ को पहिलो अंग्रेजी अखबार ‘विक्ली न्यूज’, सन् १७०२ को पहिलो दैनिक ‘दि डेली कुराण्ट’ हुँदै सन् १९०९ को पहिलो रेडियो स्टेशन ‘केक्यूडब्ल्यू’, सन् १९२८ को पहिलो टेलिभिजन स्टेशन ‘डब्ल्यू ३ एक्सके’ हुँदै सन् १९७४ मा दुनियाँको पहिलो अनलाइन अखबारका रुपमा ‘(प्लाटो) न्यूज रिपोर्ट’ देखा पर्दासम्मको यात्रा सरल र सहज छैन । पत्रकारिताको शतक लामो अनुभव र यात्रालाई सामान्यीकरणबाट विशिष्टीकरणतर्फ मोड्न सबै खाले मिडियाले सञ्चारको नयाँ जालोमा जोडिने उपाय रोजेका छन् । नयाँ प्राविधिक विकासको फड्कोसँगै पत्रकारिताको निरन्तरता र प्रभावकारिता लागि नयाँ–नयाँ उपाय अपनाइएका छन् ।

भारतबाट शुरु भएको नेपाली पत्रकारिताको यात्रा पहिलो नेपाली पत्रिका ‘गोरखा भारत जीवन’, पहिलो नेपाली पत्रिका ‘सुधासागर’, पहिलो समाचारपत्र ‘गोरखापत्र’, पहिलो रेडियो ‘रेडियो नेपाल’, पहिलो टेलिभिजन ‘नेपाल टेलिभिजन’ र पहिलो नेपाली अनलाइन ‘दि नेपाल डाइजेष्ट’ हुँदै विशिष्टीकरणतर्फ अग्रसर छ । यो यात्राले विधागत पत्रकारिताको विकास गराउँदै लगेको छ । ‘नेपालमा मिडिया व्यावसायिक अभ्यास र संस्थागत विकासको क्रममा अघि बढिरहेको’ भनेर करीब १२ वर्षअघि ‘नेपालमा प्रेस काउन्सिल: समकालीन अनुसन्धानात्मक इतिहास’ पुस्तकमा मैले गरेको मूल्यांकन अद्यापि सामयिक नै देखिन्छ ।

पत्रकारहरूको व्यावसायिक अभ्यास बिना पत्रकारिताको संस्थागत विकास सम्भव छैन । पत्रकारका व्यावसायिक ज्ञानलाई फराकिलो पार्ने, सीपलाई तिखार्ने र अभ्यासलाई उकास्ने व्यवस्थित वातावरणको अभाव समाजका अन्य विभिन्न पेशा जस्तै पत्रकारिताका हकमा पनि देखिन्छ । त्यस्तो अभावको पूर्तिबाट नै अनन्त मानवीय जिज्ञासा शान्त पार्ने सूचनाको सेवा सम्भव छ । पत्रकारिताका अनेक आयामबाट पाठक÷श्रोता÷दर्शकले हासिल गर्ने परिष्कृत सूचनाको लाभ ईश्वरीय देन होइन, मानवीय प्रयासको परिणाम नै हो ।

पत्रकारिता जगतले हासिल गर्ने लाभका पक्षहरू स्पष्ट देखापर्ने यस मामिलामा पत्रकारको व्यक्तिगत र सञ्चारमाध्यमको संस्थागत रुचि आवश्यक हुन्छ । विशेषज्ञ पत्रकार हुनुको उच्च पत्रकारीय मूल्यबाट नै पत्रकारले आफ्नो रुचिको क्षेत्रमा खुलेर काम गर्न पाउँछ । सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको सेवक पेशा भएकाले पत्रकारले आफ्नो रुचिका विषयमा आफूलाई समेत अभिव्यक्त गर्न पाउँछ । यसका लागि पनि सम्बन्धित विषयमा पत्रकारको विशेषज्ञता जरुरी छ । विशेषज्ञताका साथ पत्रकारिता गर्ने पत्रकारका लागि पत्रकारिताभित्र मात्र नभएर त्यसबाहिर पनि अवसरको ढोका खुला रहने गरेको पाइन्छ । नेपालकै सन्दर्भमा पनि यस्ता उदाहरण अनेकाँै पाइन्छन् । यस्तो अवस्थाले सम्पादकीय स्वतन्त्रतालाई समेत बचाएर पत्रकारिता गर्नसकिने उदाहरण पनि पर्याप्त छन् ।

विशेषज्ञतासहितको पत्रकारीय अभ्यास पत्रकारको पेशागत रक्षाका लागि मात्र होइन, सञ्चारमाध्यमको स्रोतसाधनको बचतका दृष्टिले पनि लाभप्रद हुन्छ । आफ्नो विषयमा पारङ्गत पत्रकारले आम पत्रकारले भन्दा चुस्त, शीघ्र र यकिन सूचना सहज र सुलभरूपमा ल्याउन सक्छ । समाचार–स्रोतसँगको दीर्घकालीन र विश्वासिलो सम्बन्धका आधारमा उनीहरूले ल्याउने जानकारी पनि उच्च समाचार–मूल्यका हुन्छन् । विशेषज्ञ पत्रकारले तयार पार्ने सामग्री पनि विशिष्ट नै हुन्छन् । त्यस्ता सामग्रीको प्रवाहबाट सञ्चारमाध्यम पनि प्रतिस्पर्धात्मक बजारमा पृथक देखिन सक्छन् । तुलनात्मक रूपमा कमजोर मानिएका माध्यमहरूले कुशल तथा विशेषज्ञ पत्रकारका गम्भीर सामग्रीका आधारमा प्रभावकारी र बलिया भनिएका माध्यमहरूसँग कठोर प्रतिस्पर्धा गर्न सक्छन् ।

पत्रकारिताको बढ्दो आयतन, पत्रकारको धारिलो अग्रसरता र उपभोक्ताको तीब्र उत्सुकता नै पत्रकारिताको संभावनाका निर्धारक पक्ष हुन् । यसका लागि सञ्चारजगतले विशिष्टतामा विशेष जोड दिनु अपरिहार्य छ । नवीन प्रविधिको विकाससँगै डिजिटल माध्यमहरू थपिँदा समाचारीय सामग्रीको रूप अवश्य पनि फेरिएको छ तर पत्रकारीय कोण र जोड हराएको छैन, बरू तिखारिएको छ । विशेषज्ञताले त्यसलाई झन तिखारेकै छ । परिष्कृत सामग्रीको सान्दर्भिकता र संभावना झन मौलाउने पक्का छ । मानवीय आविष्कारलाई स्वीकार र अंगीकार गर्ने प्रविधि–मैत्री मानवीय विकासक्रमले नै थप नयाँ प्रविधिहरूलाई स्वागत गरेका हुन् । वैज्ञानिक आविष्कारको यो नियम पत्रकारिताको हकमा थप प्रभावकारी रूपमा लागू हुन्छ, भइरहेकै छ ।

तथ्यगत त्रुटि वा प्रस्तुतिगत खोटका नाममा बन्देजको बाटो रोज्नु हाम्रो सन्दर्भमा सर्वथा गलत छ । नेपाली नागरिकले मिडियासमेतको बलमा दशकौंको अभ्यास र संघर्षबाट हासिल गरेको संवैधानिक र कानूनी संयन्त्रले त्यस्तो स्वेच्छाचारी बारबन्देजलाई स्वीकार गर्दैनन् । तिनले त गलत सूचना सम्प्रेषण भए त्यसको कानूनी उपचार खोज्ने विधि र प्रक्रियाको बाटो देखाइदिएका छन् । त्यसैले पत्रकारितामाथि संकट आइपरेको ठानेर निराश व्यावसायी, निरुत्साहित मिडियाकर्मी र अन्योलग्रस्त पाठक÷दर्शक÷श्रोताले पत्रकारितामा दक्षतासहितको विशेषज्ञताको खोजी गर्नु जरुरी छ । मानवीय संकटमा सहाराको रुपमा काम गर्ने पत्रकारिता नै संकटमा प¥यो भनेर चिन्ता गर्ने होइन, बरु पत्रकारिताले गर्ने सेवा अरू कसैले गर्न नसक्ने भएकोले यो पेशामा विशिष्टता र विशेषज्ञताको विकासको पक्षमा चिन्तन गर्नु जरुरी छ । विशेषज्ञताको सिपालु अभ्यासबाट निराशा, निरुत्साहन र अन्योलको उपचार फेला पार्न सकिन्छ । क्षणिक मन्दीमाथि तत्काल विजय हासिल गर्न मात्र होइन, दीर्घकालीन विकासको मार्गचित्र पनि यसैमा फेला पार्न सकिन्छ ।

(विगत ३५ वर्षदेखि पत्रकारितामा क्रियाशील विनोद ढुङ्गेल २०६० माघअघि ‘नेपाल समाचारपत्र’ दैनिकका वरिष्ठ सह–सम्पादक हुनुहुन्थो – सं.)

प्रतिक्रिया दिनुहोस्