पाठकको हितमा समर्पित नहुनु नै मुख्य कमजोरी



नेपाली सञ्चार माध्यमको कुरा गर्दा हाल देशमा नियमित प्रकाशनमा रहेका छापा माध्यम, प्रसारणमा रहेका रेडियो, टेलिभिजन र अनलाइन समाचार माध्यमहरूको नाम लिनुपर्ने हुन्छ । तर, आज यिनीहरूप्रति मानिसको विश्वास मात्र होइन विज्ञापनको बजार पनि खस्किँदो अवस्थामा छ ।

अझ भनौं यिनीहरू प्रविधिले ल्याएको सुनामी थेग्न नसकेर दिनानुदिन संकटतर्फको यात्रामा चुपचाप लागिरहेजस्तो देखिएको छ । तर कतिपय सञ्चारमाध्यम र नेपाली पत्रकारिताले आफनो विश्वसनीय अस्तित्व कायम गर्न नसक्दै अन्तिम यात्रा थालेजस्तो देखिएको छ । किनकि आम सञ्चारमाध्यममा आएको सामग्रीमा मानिसहरूको रुचि कम छ । मानिसको रुचि घट्न थालेपछि विज्ञापनदाताको छनोटमा कम पर्न थाल्नु स्वाभाविक छ । त्यही भएर अन्य सञ्चारमाध्यमका साथै छापा माध्यमका समाचारपत्रहरू पाना घटेका र अर्थतन्त्र दुब्लाउँदै गएको अवस्था सबैका सामु छर्लङ्ग छ ।

प्रेस काउन्सिलको अभिलेखअनुसार गत आर्थिक वर्षमा प्रकाशन भएका ९२८ पत्रपत्रिकाको समस्या हो । अघिल्लो वर्ष ९६१ वटा पत्रपत्रिका प्रकाशित भएकोमा गत वर्ष ३३ वटा बन्द भएछन् र ९२८ मात्र कायम छन् । यस्तै अवस्था देशमा सञ्चालित डेढसय वटा टेलिभिजन च्यानल, सातसयभन्दा बढी रेडियो स्टेसनहरूको पनि छ । नेपालमा करिब १६०० अनलाइन समाचार पोर्टलहरू सञ्चालित छन् ।

आम सञ्चारमाध्यमहरू धरासयी भइरहनु तिनीहरूको अस्तित्वमाथि पनि धावा हो । हुन त अनलाइन समाचार पोर्टलहरू डिडिटल फम्र्याटमा सार्वजनिक हुने भएकाले केही मात्रामा सुरक्षित रहेका भन्न सकिन्छ । तर, सामाजिक सञ्जालको बाहुल्यताले तिनको विश्वसनीयताको बेलुनको हावा खुस्काइदिएको छ । त्यसैले आम पत्रकारिता क्षेत्रमा संकट पर्दा अनलाइन सञ्चारमाध्यम अलग्गै रहन सक्छ भन्न सकिन्न । प्रविधिमा आएको विकास र सामाजिक सञ्जालको बाहुल्यताले आम पत्रकारिता क्षेत्रको विश्वसनीयता र पहुँच दुवैमा धावा बोलेको अवस्था हो अहिले ।

हामी कहाँ चुक्याैं भनी पछाडि फर्किएर हेर्दा नेपाली सञ्चार माध्यमको यो अवस्था हुनुमा सम्पूर्ण जिम्मेवारी आम सञ्चारमाध्यमको मात्र हो भन्न सकिन्न । धेरै त देशको राजनीतिक अवस्था जिम्मेवार छ । केही मात्रामा कोभिड–१९ र विश्वमा चलिरहेको आर्थिक मन्दीको चपेटा पनि हुनसक्ला । तर, समीक्षा आफ्नै आङको जुम्रा हेरेर गर्ने हो भने हाम्रोपक्षबाट पनि धेरै कमी कमजोरी भएका छन् । नेपाली आम सञ्चारमाध्यमहरू विशुद्ध व्यावसायिक धर्म निर्वाह गरेर चलेको छ भन्न सकिने अवस्था पाइँदैन ।

सम्झिन्छु, मैले कामना प्रकाशन समूहमा आबद्ध भई काम गर्दाको अवस्था । म वि.सं.२०४९ मा कामना प्रकाशन समूहसँग जोडिएको हुँ । त्यसबेला कामना प्रकाशन समूहसँग तीनवटा प्रकाशनहरू थिए । कामना सिने मासिक पत्रिका सबैभन्दा जेठो । साधना मासिक पारिवारिक पत्रिका र सन्ध्याकालीन महानगर दैनिक त्यसका सहप्रकाशनहरू थिए । यिनीहरूको विश्वसनीयता र प्रभाव यस्तो थियो कि सबै प्रत्रिकाहरू बजारमा आउनासाथ हारालुछ हुन्थे ।

साधना र कामना त मानिसले पालो गरेर पढ्थे । तिनमा लेखिएको एक एक सामग्रीको चर्चा घरघर र कार्यालयमा हुने गर्दथ्यो । मैले पनि विषयअनुसार ती तिनैवटामा विराटनगरबाट रिपोर्टिङ गरेँ । हरेक वर्ष मंसिर १५ गते कामना प्रकाशन समूहको वार्षिक उत्सवकाठमाण्डौमा धुमधामसँग मनाइन्थ्यो । काठमाडाैंमा भेला भएर धेरैजना सहकर्मीसँग प्रत्यक्ष भेटघाट हुँदा आउने आनन्दर वार्षिक उत्सवमा देशका उच्च पदासीन व्यक्तित्वसँग भेटघाट हुँदा मात्र होइन खेल र कला क्षेत्रका सम्मानित व्यक्तित्वहरूको गरिमामय उपस्थितिले वातावरण नै अर्को हुन्थ्यो ।

उहाँहरूसँग आयोजक संस्थाको सदस्यको नाताले चिनजान गर्न पाउँदा हर्षको सीमा हुँदैनथ्यो । अझ उनीहरूले आफूले गरेको रिपोर्टिङ, अन्तर्वार्ता वा लेखेको लेखबारे चर्चा गरिदिए भने खुशीले नाच्न मन लाग्ने । वार्षिक उत्सवमा भोज मात्र खाने होइन आगामी वार्षका लागि योजना र बजार विस्तारको रणनीति बनाएर फर्किन्थ्यो । त्यसले कार्यक्षेत्रमा आउँदा नयाँ जोश र उमङ्ग प्रदान गरेको अनुभूति हुन्थ्यो ।

कामना प्रकाशन समूहका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ व्यावसायिक पत्रकारिताको पाठशालाका रूपमा चिनिनुहुन्थ्यो । जहाँतहीँ पत्रकारिताको व्यावसायिकताको चर्चा हुँदा एक नम्बरमा पुष्करलाल श्रेष्ठको नाम आउँथ्यो । सबैले आदरभाव व्यक्त गर्दथे । त्यस्तो व्यक्तिले नेतृत्व गरेको सञ्चार माध्यममा काम गर्दा मलाई गर्वानुभूति हुन्थ्यो ।

वास्तवमा कामना प्रकाशन समूहको त्यस सफलताले नै निजी क्षेत्रका दैनिक अखबारहरूलाई नेपाली बजारमा आउन निम्तो दिएको थियो भन्दा अत्युक्ति हुँदैन । निजी क्षेत्रमा साप्ताहिक पत्रिकाहरूको बोलवाला रहेको त्यस समयमा वि.सं.२०४९ फागुनदेखि कान्तिपुर प्रकाशन आरम्भ भयो ।

त्यसपछि निजी क्षेत्रका विभिन्न दैनिक अखबारहरू एकपछि अर्को गर्दै आए । कोही बन्द भए कोही चलिरहेका छन् । कामना प्रकाशन समूहले पनि त्यसमा लय मिलाउँदै वि.सं.२०५२ पुस २७ गतेबाट नेपाल समाचारपत्र (प्रारम्भमा आजको समाचारपत्र भनिन्थ्यो) को प्रकाशन आरम्भ ग¥यो । व्यावसायिक पत्रकारितामा स्थापित प्रकाशन समूहको आगमनले सञ्चार क्षेत्रमा भिन्नै किसिमको रक्त सञ्चार गराएको मैले महसुस गरेको छु । त्यो तरङ्ग लगानीकर्ताको तहमा चुनौतीका रूपमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ भने श्रमजीवीहरूका लागि अवसर खुलेको रूपमा । व्यावसायिक पत्रकारिता अझ सबल भएर जाने अवसरका रूपमा पनि ।

तीन वर्षपछाडि प्रकाशन आरम्भ भए पनि नेपाल समाचारपत्रको सीधा प्रतिस्पर्धा शुरूदेखि नै कान्तिपुर दैनिकसँग भयो । व्यावसायिक पत्रकारिताको उचाइ छोएका पुष्करलाल श्रेष्ठको नेतृत्वमा प्रकाशन भइरहेको र एकसाथ चारवटा प्रकाशन सञ्चालन गरिरहेको कामना प्रकाशन समूहको तत्कालीन पूर्वाञ्चल ब्युरो प्रमुख र पूर्वाञ्चल कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेर मैले काम गर्ने अवसर पाएको थिएँ ।

त्यस क्रममा अखबारको बजारलाई विस्तार गर्नु आवश्यक थियो । त्यही आधारमा विराटनगर कार्यालयले विराटनगरका विभिन्न स्थानमा र धरानमासमेत वाल पेन्टिङ गरेर तत्कालीन आजको समाचारपत्रको विज्ञापन गरेको थियो । कामको सिलसिलामा पुष्करलाल श्रेष्ठ पूर्व आउनु हुँदा विमानस्थल जाने मोड अनि बजारका महत्वपूर्ण स्थानहरूमा वाल पेन्टिङ देखेर धेरै खुशी हुनुभएको रहेछ । काठमाडाैंमा भएको भेलामा उहाँले हाम्रो कार्यको प्रशंसा गर्दै सबैलाई सुनाउनु भएपछि यो कुरा स्पष्ट भयो । राम्रो कामको मजाले प्रशंसा गर्नसक्ने उहाँको खुबी थियो ।

त्यसबेला इमान्दारीपूर्वक भन्नुपर्दा कान्तिपुर दैनिकभन्दा नेपाल समाचारपत्रको बिक्री यस क्षेत्रमा बढी थियो । अंग्रेजी प्रकाशन द काठमान्डू पोस्ट साथमा रहनु कान्तिपुरको बलियो पक्ष थियो । सहरी र अंग्रेजीभाषीहरूका बीचमा कान्तिपुरलाई त्यसले स्थापित गराउन सहयोग ग¥यो । कामना र साधनाजस्ता स्थापित विशिष्ट प्रकृतिका मासिक पत्रिकाहरूको सहप्रकाशन हुनु समाचारपत्रको बलियो पक्ष थियो ।

त्यसले समाजका विभिन्न वर्गका पाठकहरूका बीचमा नेपाल समाचारपत्रको पहुँच बढाएको थियो । त्यसमा हाम्रो मिहिनेत र सम्पर्क सञ्जाल थपिदिएपछि नेपाल समाचारपत्रको बजारमाथि उठ्न बेर लागेन । केही महिनामा नै पूर्वाञ्चलमा सर्वाधिक बिक्री हुने अखबारको रुपमा स्थापित भएको थियो ।

वि.सं.२०५८ दैनिक अखबारहरूको लागि कोशेढुङ्गा अंकित वर्ष हो । त्यस वर्ष नेपालको इतिहासमा काठमाडांै र विराटनगरबाट एक साथ प्रकाशन भएर दुईवटा समाचारपत्रहरू बजारमा आएका थिए । कान्तिपुरले विराटनगर संस्करणको लामो समयदेखि योजना बनाइरहेको चर्चा सुनिएको थियो ।

नेपाल समाचारपत्रले पनि भित्रभित्रै योजना बनाइरहेको थियो तर बाहिर चर्चा थिएन । त्यसैक्रममा एउटा बैठकमा मैले कान्तिपुरभन्दा पहिलो हुन पाए इतिहास रचिने सम्भावना छ भनेर प्रस्ताव गरेँ । त्यसमा नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले समर्थन गर्नुभयो । त्यसपछि त प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले अनुमोदन गर्दै वैशाख १ गतेलाई लक्षित मिति घोषणा गर्दै त्यसलाई ध्यान दिएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

कामना प्रकाशनको टिम नेपाल समाचारपत्रको विराटनगर संस्करणको लागि मेसिन मगाउने र अन्य व्यवस्थापन केन्द्रले गरे पनि बजारको सर्वेक्षण गर्ने र बजारीकरणको योजना बनाउनमा पूर्वाञ्चल कार्यालय सक्रियतापूर्वक लाग्यो । मेसिन आयो र विराटनगरको पोखरियामा (कान्तिपुरको तत्कालीन कार्यालयदेखि ५०० मीटर दक्षिण) व्यापारी पशुपति मुरारकाको गोदामघरमा जडान हुन थाल्यो ।

तर, मेसिन केही दिन ढिलो आएको तथा जडान गरेपछि जाम गर्न समय लाग्ने भएकोले वैशाख १ गते प्रकाशन आरम्भ गर्न सम्भव भएन । त्यसपछि पहिलोपटक वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको ऐतिहासिक दिनलाई रोजियो । त्यसदिन विराटनगर र काठमाडौंबाट एकैसाथ प्रकाशित भन्ने शब्दावलिसहित नेपाल समाचारपत्रको विराटनगर संस्करण बजारमा आयो । त्यसको करिब एक महिनापछि कान्तिपुरको विराटनगर संस्करण प्रकाशन सम्भव भयो । यसरी विराटनगर संस्करण निकाल्ने कार्यमा पनि कान्तिपुरभन्दा नेपाल समाचारपत्र अगाडि भएको इतिहास छ ।

दुईवटा प्रतिस्पर्धी अखबारहरू नेपाल समाचारपत्र र कान्तिपुर दुवैमा मारवाडी समुदायको लगानी थियो । कान्तिपुरमा गोयन्का र नेपाल समाचारपत्रमा मुरारका समूहको । हरेक कुरामा नेपाल समाचारपत्र अगाडि हिँडेको सायद गोयन्का समूहलाई मन परेन । विषयवस्तु र बजार प्रतिस्पर्धामा उछिन्न नसकेपछि कान्तिपुरका सञ्चालकहरू व्यक्तिगत र पारिवारिक रिस साँध्ने तहमा उत्रिए, जुन पत्रकारिताको दृष्टिकोणबाट लज्जास्पद थियो ।

भयो के भने, मुरारका समूहको एक जना कामदार जाडोमा मकल बालेर झ्याल ढोका थुनेर सुतेको हानीकारक ग्यासका कारण निस्सासिएर बिहान मृत अवस्थामा फेला परे । त्यसलाई कान्तिपुरले षडयन्त्रमूलक हत्या भनेर वितण्डा मच्चायो । समाचार निरन्तर लेखेर मुरारका परिवारलाई दोषी करार गर्नमा लागिप¥यो ।

त्यति मात्र होइन पैसा खर्च गरेर मुरारकाविरुद्धमा ठाउँठाउँमा जुलुश गर्न लगायो, पर्चा छापेर बाँड्यो । आफैंले सिर्जना गरेको घट्नालाई महत्वपूर्ण सामाजिक कार्यका रूपमा ठूलठूला अक्षरको शीर्षक बनाएर समाचार छाप्यो । कान्तिपुरका निष्ठावान पत्रकारले त्यो हरकत मन पराएका थिएनन् तर खास गरी सिकारु पत्रकारलाई त्यसरी गलत रूपमा परिचालन गरी पर्चा बाँढ्न लगायो र जुलुशका सहभागीलाई खर्चपानीको व्यवस्था गर्नसमेत लगायो । अनि जबर्जस्ती समाचार छाप्न लगायो ।

अगुवा दैनिक अखबारका बीचमा चलेको यसले पत्रकारिता जगतको हैसियत यति तल गिरायो कि मान्छेहरूले सञ्चारमाध्यमको बारेमा नकारात्मक टिप्पणी गर्न थाले । तर, यतिका हरकत हुँदा पनि नेपाल समाचारपत्रले भने लगानीकर्ताको पक्षबाट सम्पादीय समूह परिचालित भएन । हामीलाई त्यस सम्बन्धमा गलत समाचार सम्प्रेषण गर्न र कृत्रिम घट्ना सिर्जना गर्न निर्देशन दिइएन । म आफू पनि पत्रकारिताको प्रशिक्षक भएको नाताले पीत पत्रकारिताको सधैं विरोध गर्दथेँ ।

कान्तिपुरले त्यस घटनामा जुन भूमिका निर्वाह ग¥यो त्यसलाई कसैले राम्रो मानेका छैनन् । उसको विश्वसनीयता र व्यावसायिक पत्रकारिताको निष्ठामाथि प्रश्न उठाउनेहरूलाई मौका मात्र मिल्यो । लगानीकर्ता हावी भएमा सञ्चार माध्यमको दुरुपयोग कुन हदसम्म हुँदोरहेछ भन्ने नराम्रो दृष्टान्त बन्यो ।

एउटा लज्जास्पद इतिहास । मिडियाहरू लगानीकर्ताको व्यावसाियक पतिस्पर्धीविरुद्ध कसरी दुरुपयोग हुँदारहेछन् र त्यसले सञ्चार माध्यमको ख्यातिमा कस्तो प्रभाव पार्दोरहेछ भन्ने ज्वलन्त उदाहरण । मिडिया आफैंमा सार्वजनिक सम्पति हो । यसका कार्यहरू सार्वजनिक हुन्छन् । अझ समाचार लेखेरै सार्वजनिक रूपमा गरेको त्यस कार्यको बारेमा यतिको टिप्पणी गर्न हिच्किचाउनु पर्ने अवस्था छैन ।

पाठकको हितमा समर्पित हुनुपर्ने मिडिया कहाँ चुक्छन् भनेर सम्झिँदा मैले माथिको घट्ना सझिएँ । यस्ता घट्नाहरू अरू पनि होलान् । तर, लगानीकर्ताको स्वार्थमा दुरुपयोग भएर पत्रकारिताको धर्म र पाठकको हितविपरीत गरेको त्यो कार्य पत्रकारिताको तालिममा र पत्रकारिताको विषयको कक्षाहरूमा पटक पटक चर्चा हुने गरेको छ, एउटा गलत अभ्यासका रूपमा ।

प्रतिक्रिया दिनुहोस्