अनावश्यक रौँ हटाउन वाक्सिङ



सुष्मा महरा

हाम्रो शरीरको विभिन्न भागमा आउने अनावश्यक रौँका कारण हामी असहज महसुस गरिरहेका हुन्छौं । हामी कतिपयले त शरीरमा देखिएका अनावश्यक रौँका कारण आफूले चाहेजस्तो कपडा लगाउन पनि पाइरहेका हुँदैनौँ । त्यस्ता अनावश्यक रौँकै कारण शरीर ढाक्ने गरी कपडा लगाउनुपर्ने बाध्यता पर्छ । हुन त टाउकाको, आँखीभौं, परेलामा हुने रौँलाई सुन्दरताको रुपमा हेरिन्छ । तर शरीरका देखिने भागका अन्य रौँहरु जस्तै– काखीमुनि, हात–खुट्टा, अनुहार (केटी मान्छेको) आदिमा आएको अनावश्यक रौँबाट हामीले असहज महसुस गरिरहेका हुन्छौँ ।

त्यसैले अनावश्यक रौँ आएका अधिकांश महिलाले हेयर रिमुभर क्रिम, वाक्सिङ, थ्रेडिङ र लेजर विधिबाट शरीरका अनावश्यक रौँ हटाउने गर्छन् । कतिपय त पुरुषले दाह्री काटेजस्तै रेजर मेसिनको प्रयोग गरेर पनि यस्ता रौँ हटाउने गर्छन् । शरीरमा भएको अनावश्यक रौँ हटाउने यस्ता विभिन्न उपायमध्ये एक सरल उपाय हो वाक्सिङ । रौँ हटाउने अन्य विधिभन्दा प्राकृतिकरुपमा स्किन सुन्दर बनाउन र चमकता प्रदान गर्न यो विधि प्रभावकारी मानिन्छ । घामले डढेर कालो भएको छालालाई मुलायम बनाई त्यसमा चकमता थप्ने काम पनि वाक्सिङले गर्दछ ।
वाक्सिङ र थ्रेडिङ उस्तै–उस्तै लाग्न सक्छ । किनभने यो दुवै विधिमा शरीरका रौँ जरैबाट निकाल्ने काम गरिन्छ । जरैबाट रौँ निकालेपछि त्यस स्थानमा लामो समयसम्म रौँ आउँदैन । त्यसैले रौँ निकाल्नका लागि वाक्सिङ र थ्रेडिङ विधि लामो समयदेखि चलिआएको छ । पसिनाका कारण अनाश्यक रौँ भएको भागमा फोहोर जम्मा हुने र त्यसबाट संक्रमण हुन सक्ने डर भएकाले त्यस्ता रौँहरु हटाउनु स्वास्थ्य र सौन्दर्य दुवैका हिसाबले उत्तम मानिन्छ ।

 गरेर रौँ निकाल्दा केही सावधानी भने अपनाउनुपर्छ । सर्वप्रथम रौँ भएको भाग सफा गर्नुपर्छ । त्यसपछि रौँ फर्किएको साइडतिर रौँ ढल्ने गरी वाक्सिङ क्रिम लगाउनुपर्छ । क्रिम लगाएको भागमा कपडा वा वाक्सिङ पेपर राखी केहीबेर थिच्नुपर्छ अनि त्यसको विपरीत दिशाबाट अर्थात् रौँ ढलेपट्टिबाट त्यो कपडा वा वाक्सिङ पेपर तान्नुपर्छ । यसरी तान्दा सबै रौँ उखेलिएर त्यही कपडामा टाँसिई आउँछ । रौँ तानिएको भागमा हातले थपथपाउनुपर्छ, ताकि भर्खरै रौँ निकालिएको ठाउँमा शीतल होस् ।

जाडो मौसमभन्दा गर्मीमा यसरी वाक्सिङ गराउने चलन बढी छ । गर्मीमा छोटो र पातलो लुगा लगाइने अनि पसिना पनि आउने कारणले वाक्सिङ गराई अनावश्यक रौँ हटाउनु राम्रो हुन्छ । जाडो महिनामा पूरा शरीर ढाक्ने कपडा लगाइने हुँदा रौँ नदेखिने भए पनि सरसफाइको दृष्टिकोणले हेर्दा वाक्सिङ गराउनु राम्रो मानिन्छ ।

पुरुषमा समेत फुलबडी वाक्सिङ

पहिले पुरुषको शरीरमा धेरै रौँ हुनुलाई मर्दाङ्गीको रुपमा हेरन्थ्यिो तर अहिले त्यो सोचाइ बदलिएको छ । आजकल महिलाहरुमा मात्र होइन, पुरुषहरुमा पनि आफ्नो शरीरका अनावश्यक रौँ हटाउने मोह बढेको छ । पुरुषमा पनि हात–खुट्टाको रौँ हटाउने, आँखीभौं मिलाउने र छातीको रौँ निकाल्ने चलन छ । अहिले शरीरका अनावश्यक रौँ निकाल्नुलाई शारीरिक सरसफाइसँग जोडेर हेरिन्छ । ग्ल्यामर क्षेत्रमा भएका व्यक्तिले मात्र नभई सामान्य महिला–पुरुषहरुले पनि वाक्सिङ गराइरहेको पाइन्छ । मोडलिङ पेसामा आबद्धहरुले फोटो सुट गराउनुपूर्व फुल बडी वाक्सिङ गराइरहेका हुन्छन् । उनीहरुबाहेक खेलको दौरान धेरै रौँ नदेखियोस् भनेर खेलाडीहरुले पनि वाक्सिङ गराउने चलन बढेको छ ।

शरीरको देखिने भागमात्र नभई पूरा शरीरको पनि वाक्सिङ गर्ने चलन छ । यसलाई फुलबडी वाक्सिङ भनिन्छ । जसमा प्राइभेट पार्ट पनि पर्दछ । यसै पनि रेजरको प्रयोगले रौँ निकाल्नु जोखिमपूर्ण हुन सक्छ । ब्लेडको प्रयोगले काखी वा प्राइभेट पार्टको रौँ निकाल्दा त्यहाँका स्किन काटेर समस्या भएकाले वाक्सिङ गराउन आएको अनुभव हामीलाई धेरै ग्राहकले सुनाउनुहुन्छ । हरेक किसिमले रेजर सुरक्षित छैन भने विभिन्न रोगको संक्रमणसमेत हुन सक्छ ।

प्राइभेट पार्टमा धारिलो वस्तु, हेयर रिमुभल क्रिम वाक्स आदिको प्रयोग गर्नुपूर्व सावधानी अपनाउनुपर्छ भने सकेसम्म तालिमप्राप्त व्यक्तसँग परामर्श लिएर गर्नुपर्छ । पछिल्लो समय बिकिनी वाक्स (प्राइभेट पार्टको वाक्सिङ) गर्ने चलन नेपालमा बढ्न थालेको छ । विदेशमा भने पहिलेदेखि नै यो चलनचल्तीमा थियो ।

वाक्सका प्रकार
हट र कोल्ड गरी दुईथरीको वाक्स हुन्छ । पहिले तताएर लेदो पारी प्रयोग गरिने हट वाक्स प्रचलनमा थियो । तर अहिले तताउन नपर्ने आएको छ । तताउँदा पनि स्टिभ नचाहिने, त्यसैबाट झिक्न मिल्ने वाक्स प्रयोगमा आएको छ । पछिल्लो समयमा त नदुख्ने जेली टाइपको वाक्स पनि आएको छ । तर यस किसिमको वाक्स भने नेपालमा भित्रिइसकेको छैन ।

ध्यान दिनुपर्ने कुरा
वाक्सिङ गर्दा छाला तन्किने भएकाले धेरैको छालामा रातो डाबर आउने, नीलडाम बस्ने समस्या हुन्छ । विनातालिमका व्यक्तिले वाक्सिङ गरिदिँदा रगतसमेत आउने सम्भावना हुन्छ । वाक्सिङ गर्दाको थोरै लापरबाही वा बेवास्ताले हाम्रो छालामा वभिन्नि समस्या निम्त्याउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्छ । महिनावारी भएको समयमा वाक्सिङ नगराउँदा राम्रो हुन्छ । किनकि यो बेला हाम्रो छाला निकै सेन्सेटिभ भएको हुन्छ, जसले गर्दा दुखाइ पनि अत्यधिक हुन्छ र इन्फेक्सनको पनि जोखिम रहन्छ । धेरैले युट्युबमा भिडियो हेरेको भरमा घरमा आफैँले वाक्सिङ गर्ने गर्छन् । यसले गर्दा वाक्सको तापक्रम नमिल्ने र वाक्स लगाएर तान्ने दिशा नमिल्दा छाला रातो हुने, राँै ननिस्कने हुन्छ ।

बारम्बार एकै ठाउँमा वाक्स लगाएर तान्दा रातो हुने र घाउ नै पनि हुन सक्छ ।
वाक्सिङ गराउनेबित्तिकै धेरै गर्मी र घाममा निस्कनुहुँदैन । तुरुन्तै टाइट लुगा पनि लगाउनुहुँदैन । किनभने उक्त कपडा निकाल्दा छालामा रगडिएर घाउ र संक्रमण पनि हुन सक्छ । आफूलाई कुनै जलन, एलर्जी भएन भने मात्र वाक्सिङ गराउनुहोस् । एजर्लीको समस्या भएका व्यक्तिले वाक्सिङ गराउनुपूर्व सानो ठाउँमा टेस्ट गर्नुपर्छ ।

त्यस्ता व्यक्तिले राम्रोसँग तालिम लिएका र जानेकाबाट मात्र वाक्सिङ गराउनुपर्छ । वाक्स गरेपछि उक्त ठाउँमा कुनै क्रिम वा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । वाक्सिङपछि लगाउने क्रिम पनि पाइन्छ । यदि वाक्सिङ गरेपछि त्यसै छोडियो भने रौँ निकालिएको प्वाल लामो समय बन्द हुँदैन । त्यसैले त्यसमा इन्फेक्सन हुने र छाला ड्यामेज हुने डर हुन्छ ।

(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्