महिलामा डिप्रेसन 



श्रीरामसिंह बस्नेत

प्रिग्नेन्सी टेस्टको रिपोर्ट पोजिटिभ आएपछि रोजीको सातो गयो । उसका खुट्टा कामे, ओठ–मुख सुक्यो । उसले तत्कालै आफ्नो प्रेमीलाई मोबाइलबाट रिपोर्टबारे बताई । उसको प्रेमीले ‘मलाई त्यस्तो थाहा छैन, त्यो मेरो टेन्सन हैन, जे गर्नुपर्छ गर्नु’ भनेर फोन काट्यो । त्यसपछि त ऊ भीरबाट अनकन्टार खोँचमा अनायास खसेकोजस्तो भई ।

यस घटनाले गर्दा उसलाई खान, सुत्न, कसैसँग बोल्न पनि मन लागेन । जति कोशिश गर्दा पनि आफ्नो प्रेमीसँग कुनै सम्पर्क गर्न नसक्दा रोजी झन् निरास र हतास भएकी थिई । केही दिनदेखि बहिनीको झोक्राएको अनुहार देखेर दिदीले सोधिन् तर रोजीले केही भा छैन भनेर टार्दै आएकी थिई । बहिनी पढ्न क्याम्पस पनि नगएको देखेपछि दिदीले सोझै तीर हानिन्, ‘प्रिग्नेन्ट भइसकिस् कि क्या हो रु’ तीर ठीक निसानामा लाग्यो । रोजी दिदीलाई गम्लङ्ग अँगालो हाली हिक्का छाडेर रुन थाली ।

दिदी–बहिनी पढ्न, जागिर खान र उन्नति गर्न भनेर तीन वर्षदेखि यो शहरमा डेरा गरी बसेका छन् । उनीहरुका बाबु, आमा र सानो भाइ गाउँमै छन् । दिदी अस्पतालमा नर्स छिन् । बहिनीको प्रेमीबारे उनलाई राम्रै थाहा थियो । उनले ‘केटाहरुको चक्करमा नलाग्, पढाइमा ध्यान दे’ भनेर पटक–पटक नसम्झाएकी पनि होइनन् ।  रोजीले रुँदै सबै कुरा दिदीलाई बताई । बहिनीको बिलौना सुनेर दिदीलाई नमीठो लाग्यो तर कुनै नराम्रो गाली गरिनन् । बरु सम्झाइन्, ‘पिर नगर्, म छु् नि ∕ बिर्सिदे त्यो बेइमान कुकुरलाई, अब म जे भन्छु त्यसै गर्, आत्तिएर हुँदैन ।’ रोजीले हुन्छको संकेतमा मुन्टो हल्लाई । भोलिपल्ट दिदीले रोजीलाई सुरक्षित गर्भपतन सेवा केन्द्रमा आफैं लिएर गइन् ।

पतिबाट यौन सन्तुष्टि नपाएका पत्नीहरुको तनाव कम गम्भीर हुँदैन ।

दिदीको आमातुल्य स्याहारसुसारबाट केही दिनपछि रोजी शारीरिकरुपमा त केही तङ्ग्रिई तर उसको मन भने तङ्ग्रिन सकेन । प्रेमीले भनेको जे पनि मानेर गल्ती गर्नु, आफूले अति विश्वास र माया गरेको प्रेमीले नै बेइमानी गर्नु र गर्भपतनको नमीठो अनुभवसमेत भोग्न बाध्य हुनु, यी तीन कुराले झिरले घोचेझैँ रोजीको मानसपटलमा घोचिरहेका छन् । त्यसैले ऊ चाहेर पनि सामान्य हुन सकिरहेकी छैन । उसलाई खान पनि मन लाग्दैन, रातभर निद्रा लाग्दैन, शरीर कमजोर हुँदै गएको अनुभव हुन्छ, गर्भपतनको कारण शरीर शिथिल भएको अवस्थामा मानसिक तनावसमेत थपिँदा ऊ भित्रभित्रै गल्दै गएकी छ । उसलाई अहिले ‘सम्पूर्ण गल्ती मेरै हो र गल्तीमाथि मैले पापसमेत गरेँ’ भन्ने अपराधबोधले सताइरहेको छ ।

यसै बीच उसकी दिदी निःशुल्क स्वास्थ्य शिविर चलाउन दुई दिनको लागि शहरबाहिर गइन् । शिविर सकेर फर्किंदा त बहिनीको हालत झन् नाजुक भएको उनले पाइन् । कोठामा रासन सबै भए पनि रोजीले खाना नपकाएर दुई दिनसम्म चिया र बिस्कुटको भरमा टारेकी थिई । अनुहार फुस्रो थियो भने कपाल कोर्नसमेत जाँगर लागेको थिएन । यो हालत देखेपछि नर्स दिदीलाई रोजीमा डिप्रेसनको लक्षण पहिल्याउन गाह्रो परेन । उनले ढिलो नगरी रोजीलाई मनोचिकित्सककहाँ लगिन् ।

मनोचिकित्सकले रोजीको समस्यालाई पोस्ट ट्रमाटिक स्टे«स डिसअर्डर ९पीटीएसडी० भनेर खुट्याउँदै यसलाई बेलैमा ठीक नपारे गम्भीर डिप्रेसनमा पु¥याउँछ भनेर आवश्यक परामर्शसहित औषधि सिफारिस गरिदिए । त्यसलाई दिदीले आफ्नै निगरानीमा कडाइका साथ पालना गर्न लगाइन् भने खाना पनि सँगै खाने र राति एउटै कोठामा सुत्ने गरिन् । करिब दुई महिना यो क्रम चलेपछि रोजी सामान्य हुँदै आई । मनोचिकित्सकको सल्लाह अनुसार ऊ फेरि क्याम्पस जान थाली र सम्पूर्ण ध्यान पढाइमा केन्द्रित गरी ।

उसले आफ्नो दिनचर्यामा परिवर्तन गर्दै बिहान सबेरै उठेर आधा घण्टा ध्यान गर्ने र साँझ सुमधुर गीत सुन्ने गर्न थाली । बहिनीमा आएको परिवर्तन देखेर दिदीलाई निकै सन्तोष लागेको छ । यसै बीच आफूलाई धोका दिने युवक लागूऔषधसहित पक्राउ प¥यो रे भन्ने रोजीले सुनी, तर कुनै चासो राखिन ।  काल्पनिक पात्र रोजीको कथा–व्यथा उसको मात्र होइन, ऊजस्ता हजारौँ युवतीहरुको हो ।

विश्वका गम्भीर र सर्वव्यापी स्वास्थ्य समस्याहरुमध्येको एक डिप्रेसनले वास्तवमा लैंगिक विभेद गर्दैन, अर्थात् यो समस्या पुरुष, महिला वा अन्य जसलाई पनि हुन सक्छ । तर पनि तुलनात्मकरुपमा अरुभन्दा महिला वर्ग डिप्रेसनको जोखिममा बढी पर्ने गरेको पाइन्छ । यसका केही

खास कारणहरु छन्: 

१० अधिक संवेदनशीलता: जुनसुकै मानव समुदायमा पनि पुरुषको दाँजोमा महिलाहरु बढी संवेदनशील हुन्छन् । यो प्रकृतिप्रदत्त चरित्र हो । महिलाहरुमा दया, माया, करुणा, प्रेम, आशक्ति, संवेग, भावुकता आदि बढी मात्रामा पाइन्छ । त्यसैले त्यस्ता गुणहरु आवश्यक पर्ने पेसा वा कार्यमा महिलाहरुलाई नै बढी प्रयोग गर्ने परिपाटी संसारभरि नै छ । जस्तै– नर्स, विमान परिचारिका, शिशु स्याहार, अशक्त वा वृद्ध स्याहार, शिशु शिक्षा आदि । महिलाहरु अरुको पीडा देख्न सक्दैनन् भने आफू पनि मानसिक पीडा खप्न सक्दैनन् । महिलाहरु बरु शारीरिक पीडा खप्न सक्छन् तर मानसिक वा भावनात्मक पीडा खप्न सक्दैनन् ।

हरेक वयष्क महिलाले प्रत्येक महिना मासिक रजस्वलाको पीडा, गर्भवती अवस्थाको पीडा, शिशु जन्माउँदाको प्रसव पीडा आदि सृष्टिकालदेखि नै व्यहोर्दै आएका छन्, जुन पीडा पुरुषले व्यहोर्न त परै जाओस् कल्पनासमेत गर्न सक्दैनन् । तर भावनात्मक पीडा भने महिलाहरुका लागि बढी असह्य हुन्छ । त्यसैले सानो कुरामा पनि चित्त दुख्ने, चित्त दुखेपछि रोइहाल्ने स्वभाव महिलाहरुमा पाइन्छ । त्यतिमात्र होइन, रिसाउँदा पनि महिलाहरु रुन नै अग्रसर हुन्छन् । पुरुषहरु भने यस्तो अवस्थामा रुन होइन, जाइलाग्न वा बदला लिन अग्रसर हुन्छन् । महिलाहरुमा पाइने यो अधिक संवेदनशीलता वा भावुकताले उनीहरुलाई मानसिक तनाव दिने र त्यो लम्बिदै र गहिरिँदै गएमा डिप्रेसनमा पुगिने जोखिम बढी हुन्छ ।

२० प्रजनन प्रणालीजन्य तनाव: प्रकृतिले महिला वर्गले मात्र भोग्नुपर्ने गरी प्रजनन प्रणालीका केही विशेष 
परिस्थितिको रचना गरेको छ । जस्तै– रजस्वला प्रारम्भ, यसको दीर्घकालीन निरन्तरता, गर्भधारण, गर्भवती अवस्था, प्रसव वेदना, अपेक्षित गर्भको दुखान्त ९मिस क्यारिज०, गर्भपतनको बाध्यता, राजोनिवृत्त आदि महिला वर्गले मात्र प्रत्यक्षरुपमा भोग्नुपर्ने पीडादायी परिस्थिति हुन् । यस्ता परिस्थितिमा पुरुष प्रायः मौन दर्शकमात्र हुन्छन्, किनकि उसले चाहेर पनि महिलाका यस्ता पीडाको थोरै अंश पनि आफूले लिन सक्दैन । प्रजनन प्रणालीजन्य यी प्रत्येक परिस्थितिले महिलालाई शारीरिक पीडाका साथै मानसिक तनावसमेत दिन्छ ।

त्यो तनावले अल्पकालीन असर गर्छ तर शारीरिक पीडा समन भएपछि तनाव पनि हट्छ । तर कतिपय महिलामा शारीरिक पीडा हटेपछि पनि मानसिक तनाव बाँकी नै रहन सक्छ । यस्तो भएमा त्यो डिप्रेसनमा परिणत हुने जोखिम बढ्छ, तसर्थ मनोचिकित्सकको परामर्श लिनुपर्दछ ।

३० यौनसम्बन्ध: प्रकृतिले पुरुष र महिलाबीचको यौनसम्बन्ध मुख्यत दुई उद्देश्यले रचना गरेको हो, मानव सभ्यतामा नयाँ पुस्ताको निरन्तरता कायम राख्न र मानव जातिलाई अलौकिक सुखको अनुभूति दिन । जस्तोसुकै कमजोर वा विपन्न वर्गले पनि अलौकिक सुखको अनुभूति गर्न सक्ने विषय यौनसुख हो । तर यौनसम्बन्धले सधैँ सुखमात्र दिँदैन, थेगी नसक्नु तनावसमेत दिन सक्छ । र, यस्तो तनावको अधिकांश हिस्सा महिलाकै थाप्लामा पर्दछ । विशेष गरी विवाहपूर्व र विवाहइतर अवस्थाको यौनसम्बन्ध अर्थात् अवैध यौनसम्बन्ध महिलाका लागि तनावको मुख्य कारण बन्छ ।

यौनसम्बन्धको मामिलामा संसारभरकै पुरुषहरु केही स्वार्थी हुन्छन् । उनीहरु क्षणिक स्वार्थमा लिप्त हुन्छन्, जसले गर्दा उनीहरुको यौनसम्बन्ध वीर्य स्खलनसम्म मात्र सीमित हुन्छ । त्यसपछि उनीहरु केही पनि भएको छैनजस्तै गरी लगत्तै सुसेली हाल्दै बजार घुम्न जान सक्छन् । तर महिलाहरुमा त्यस्तो हुँदैन । आफूले जतिसुकै प्रेम गरेको प्रेमी भए पनि अवैध यौनसम्पर्कपछि महिलालाई गहिरो तनाव र अपराधबोधले सताउने गर्दछ, जसले उसलाई डिप्रेसनतर्फ जाने बाटो खोलिदिन्छ । यस्तो जोखिम पुरुषहरुले भोग्नुपर्दैन । यदि कसैले भोगे भने त्यो नगण्य मात्रामा मात्र हुन सक्छ ।

वैध वा वैवाहिक यौनसम्बन्धमात्र तनावबाट मुक्त हुन्छ भन्न पनि सकिन्न । पतिबाट यौन सन्तुष्टि नपाएका पत्नीहरुको तनाव कम गम्भीर हुँदैन । त्यसै गरी पति–पत्नीका बीच यौन लय ९सेक्स ट्युनिङ० मिल्दैन भने पनि झनै गम्भीर समस्या खडा हुन्छ । जस्तै– पति एनाल सेक्स वा ओरल सेक्समात्र गर्न खोज्ने तर पत्नी त्यो पटक्कै नरुचाउने स्थिति । अरु सबै कुराहरु राम्रो भए पनि यौनसम्बन्ध सुखद नभएको कारण पति–पत्नीबीच सम्बन्ध विच्छेद हुनु एक अत्यन्त दुर्भाग्यपूर्ण स्थिति हो । यस्तो स्थितिमा पुरुषभन्दा महिला बढी तनावग्रस्त हुन्छन्, जसले गर्दा डिप्रेसनको सम्भावना बढ्छ ।

४० यौन हिंसा: विश्वमा अहिलेसम्म कुनै पनि मानव समुदाय यौन हिंसाबाट मुक्त हुन सकेको छैन । यौन हिंसाबाट सबैभन्दा पीडित महिला वर्ग नै हुन्छन् । बालिकादेखि वृद्धासम्म यौन हिंसाबाट सुरक्षित छैनन् । यौन हिंसाको पराकाष्ठा बलात्कार हो भने दृष्टि, वचन, स्पर्श आदिबाट पनि महिलाहरुले असह्य यौन हिंसा भोगिरहेका हुन्छन् । बलात्कारको हिंसा भोगेको लगत्तै हरेक महिला पीटीएसडीबाट गुज्रिन बाध्य हुन्छन् । यो तनाव निकै दिनसम्म रहन्छ । पीडितले आत्मबल बलियो बनाउन सकिनन्, परिवार र अन्य पक्षले साथ दिएन भने यो तनाव झन् लम्बिदै र गहिरिंँदै जान्छ, जसले डिप्रेसनमात्र होइन आत्महत्यामा समेत पु¥याउन सक्छ । अन्य यौन हिंसाका कारण हुने मानसिक पीडाले दिने तनावले समयमै निकास पाएन भने त्यसले पनि डिप्रेसनकै बाटो समाउन सक्छ ।

५० अत्यधिक कार्यबोझ: भान्छालगायतका घरेलु काम, बालबच्चा स्याहार, पढाइ, आयआर्जनका लागि संघर्ष आदि सबै काम एकै समयावधिमा गर्न बाध्य महिलाहरु अत्यधिक कामको बोझकै कारण शारीरिक र मानसिक समस्यामा पर्न सक्छन् । विशेष गरी जापान, चीन, कोरियाजस्ता नवविकसित मुलुकहरुका निम्न–मध्यमवर्गीय कामकाजी महिलाहरुमा डिप्रेसनको समस्या बढी पाइनुको मुख्य कारण अत्यधिक कार्यबोझ नै हो । यस्तो समस्याबाट पुरुषहरु पनि मुक्त त हुँदैनन् तर तुलनात्मकरुपमा महिलालाई ज्यादै कठिन हुन्छ ।

६० अन्तरमुखी वा आत्मकेन्द्रित स्वभाव: तुलनात्मकरुपमा महिलाहरु बढी अन्तरमुखी र आत्मकेन्द्रित हुने गरेको ठहर मनोवैज्ञानिकहरुको छ । अधिकांश महिलाहरु आफ्ना समस्या, भावना आदि अरुसित बाँड्नेभन्दा आफूभित्रै सीमित राख्न वा मनमै गुम्स्याएर राख्ने स्वभावका हुन्छन् । ‘मनको बह कसैलाई नकह’ भन्ने उक्ति हाम्रो समाजमा पनि व्याप्त छ । यसले गर्दा उनीहरु विभिन्न कुण्ठाबाट ग्रस्त हुन पुग्छन् । त्यस्ता कुण्ठाले दिने भनेको तनाव नै हो र तनावले दिने डिप्रेसन हो । यस्तै स्वभावकै कारण महिलाहरुबीच आपसमा सानातिना कुरामा पनि बोलचाल बन्द गर्ने प्रवृत्ति व्यापक पाइन्छ । सहपाठी, सहकर्मी, नातेदार, छिमेकी, दौँतरी, साथी आदिसँग बोलचाल बन्द गर्दा त्यसबाट आपसमा द्वेष, ईष्र्या बढ्छ । ती सबै तनाव र डिप्रेसनका कारण हुन् ।

आत्मकेन्द्रित स्वभाव पनि महिलाहरुमै बढी पाइन्छ । आफूमा मात्र केन्द्रित रहने र आफ्नो परिवेशलाई समेत आफूमा केन्द्रित गराउन खोज्ने प्रवृत्तिले गर्दा महिलाहरु बढी कुण्ठाग्रस्त हुन पुग्छन् । विशेष गरी सुन्दरता, प्रतिभा, सम्पन्नता, शक्ति, प्रभाव आदिका आधारमा अरुभन्दा केही माथि छु भनी ठान्ने महिलाहरुमा यस्तो प्रवृत्ति पाइन्छ । जस्तै– सधैँ परीक्षामा प्रथम हुने गरेकी छात्रा कुनै परीक्षामा प्रथम हुन सकिन भने उसलाई त्यो यति असह्य हुन्छ कि त्यसले दिएको तनावका कारण उसलाई मनोचिकित्सककहाँ नै पु¥याउनुपर्ने अवस्था आउँछ ।

यस्तो उदाहरण धेरै पाइन्छ । त्यसै गरी खेलमा विजयी हुने महिला खेलाडीलाई पराजय सहन पुरुष खेलाडीलाई भन्दा कठिन हुन्छ भनिन्छ । विशेष गरी अनुहार र शारीरिक बान्की सुन्दर भएर अरुभन्दा आकर्षक कहलिएका महिलाहरुमा एक प्रकारको घमण्ड हुन्छ । त्यो घमण्डले कुण्ठा, कुण्ठाले तनाव अनि तनावले रु सुन्दरताको कारण सबैको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल महिलालाई आफूभन्दा सुन्दरी अर्की महिला आएर सबैको ध्यान उतैतिर तानिएको परिस्थिति सहन असाध्यै कठिन हुने गरेको उदाहरण पनि ग्लामर क्षेत्रमा निकै पाइन्छ ।

  ७० उपचार नगराई विवाह: विवाहको उमेरी पुगेकी युवतीमा यदि डिप्रेसनको लक्षण देखियो भने अभिभावकहरुले विवाह गरिदिए निको हुन्छ भन्ने भ्रमबाट ग्रसित भई डिप्रेसनको उचित उपचार नै नगराई हत्तपत्त विवाह गरेर पठाइदिने गरेका उदाहरण धेरै पाइन्छन् । विवाह गरिदिएपछि ठीक हुन्छ भन्ने सोचाइको अर्थ पतिबाट यौनसुख पाउन थालेपछि बिस्तारै ठीक हुन्छ भन्ने हो । तर यो सर्वथा गलत र गम्भीर त्रुटि हो । किनकि डिप्रेसन पीडित युवतीले यौनसम्पर्कलाई स्वाभाविकरुपमा लिन सक्दैनन् ।

त्यस्तो अवस्थामा पतिले जबर्जस्ती यौनसम्पर्क राख्दा उसलाई थप मानसिक आघात पुग्न जान्छ, जसले गर्दा उसको डिप्रेसनको व्यथा झन् चर्किन जान्छ । यसको परिणामस्वरुप उनले आत्महत्याको बाटो रोज्न सक्छिन् । नयाँ दुलहीले विवाहको केही समय नबित्दै आत्महत्या गरेका धेरै उदाहरण पाइन्छन् । त्यसैले डिप्रेसन पीडित चेलीलाई पहिला उचित उपचार गराई ऊ सामान्य भइसकेपछि मनोचिकित्सकको समेत सहमति लिएर मात्र विवाह गरिदिनु सबै अभिभावकको कर्तव्य हो । अभिभावकले आफ्नो जिम्मेवारी पन्छाउने नियतले विवाह गरेर पठाइदिँदा नयाँ दुलहीका साथै दुलहाको समेत जीवन बर्बाद हुन सक्छ ।

यसरी विभिन्न प्रकृतिजन्य तथा प्रवृत्तिजन्य कारणहरुले महिलाहरुमा पुरुषको भन्दा डिप्रेसनको जोखिम बढी हुन जान्छ । यस्ता कारक तत्वहरुबाट जोगिन महिलाहरु समयमै सचेत भई सजगता अपनाएमा डिप्रेसनको जोखिमबाट बच्न कठिन हुँदैन ।
वरिष्ठ पत्रकार बस्नेत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्