प्रचलित सरल ध्यान विधिहरु



डा. क्षितिज बराकोटी प्रावृmतिक चिकित्सकध्या

ध्यान भनेको साधना गर्ने कुराभन्दा पनि एकाग्रता वा धारणाको अभ्यासका क्रममा स्वतः घटित हुने प्रक्रिया हो । जब ध्यान सफल हुन्छ तब यसबाट अनेक लाभहरु पाउन सकिन्छ । ध्यान भनेर हामी जे कुराको अभ्यास गर्छौं त्यो आरम्भमा ध्यानपूर्वको अवस्था नै हुन्छ, जसलाई अष्टांग योगमा धारणाको नामबाट चिनिन्छ । धारणालाई गहन साधना गरेपछि जुन अवस्था आउँछ त्यसलाई नै ध्यान भनिन्छ । शास्त्र र गुरुपरम्परा अनुसार ध्यानका विभिन्न साधना विधि, मार्ग र प्रकारहरु प्रचलित छन्, यहाँ केही ध्यान विधिहरुको चर्चा गरिन्छ ।

विपश्यना ध्यान

विपश्यना बौद्धमार्गमा प्रचलित ध्यान विधि हो, जसलाई गौतम बुद्धले प्रतिपादन गर्नुभएको थियो । सहज भएका कारणले सबैतिर यो ध्यान लोकप्रिय बन्दै गइरहेको छ । विपश्यना शब्द वि उपसर्गमा पश्य धातु मिलेर बनेको छ, जसको अर्थ विशिष्ट प्रकारले देख्नु भन्ने हुन्छ । विपश्यनाको साधनाबाट दिव्य ज्ञानको साक्षात्कार हुन्छ भन्ने मान्यता बौद्ध मतमा रहेको छ । बुद्धले चार आर्य–सत्यहरुको व्याख्या गर्नुभएको छ, जस्तै: संसार दुःखले भरिएको छ । पहिलो आर्य–सत्य दुःख हो । दुःखको कारण पनि छ । दोस्रो आर्य–सत्य दुःख–समुदाय हो । दुःखकोे अन्त्य सम्भव छ । तेस्रो
आर्य–सत्य दुःख–निरोध हो । दुःख निवारणको मार्ग छ । चौथो आर्य–सत्य दुःख–निरोध–मार्ग पनि रहेको छ । यिनै चार आर्य–सत्यलगायत निर्वाणप्राप्ति सम्भव छ भन्ने सत्यबोध नै विपश्यना ध्यानको मूल लक्ष्य हो । नैतिक आचरणको माध्यमबाट शील साधना, शील साधनाबाट समाधि अर्थात् मनको एकाग्रता प्राप्ति एवं प्रज्ञाको साधनाबाट चित्तशुद्धि हुने र तत्पश्चात् अन्तज्र्ञानको प्राप्ति हुने बताइन्छ । यसैका लागि विपश्यना एक महत्त्वपूर्ण साधना मानिन्छ । विपश्यना ध्यान पद्धतिमा कुनै पनि मन्त्र, तन्त्र, जप तथा शब्दको प्रयोग हुँदैन । यसरी नै इष्टदेव वा ईश्वर, स्वरुप आदिको प्रार्थना, वन्दना वा स्मरण आदिको प्रयोग हुँदैन ।

भावातीत अवस्थाबाट नै मानिसका भाव वा विचारहरु नियन्त्रण भई चेतनाको तह माथि बढ्न थाल्छ ।

विपश्यना ध्यानमा प्रयोग हुने चार विधिहरु:
विपश्यनाका चार प्रकार छन् वा विपश्यना साधनामा चार विधिहरु छन्, ती हुन्–
क) कायानुपश्यना: कायानुपश्यना (काया अर्थात् शरीर, पश्यना अर्थात् हेर्नु) ले श्वास तथा शरीरका भागहरुलाई हेर्ने जनाउँछ । ध्यानका क्रममा टाउकोदेखि पैतालासम्म र पुनः पैतालादेखि शिरसम्मका शरीरका अंगप्रत्यंगहरुलाई हेर्ने अभ्यास गरिन्छ । केवल द्रष्टा एवं साक्षी भावले मात्र हेर्ने गरिन्छ, यसैलाई कायानुपश्यना भनिन्छ ।
ख) वेदानुपश्यना: ध्यानका क्रममा शरीरमा आएका विभिन्न वेदना वा संवेदनाहरु हेर्ने कार्यलाई वेदानुपश्यना जनाउँछ । शारीरिक संवेदना (ध्यानका क्रममा टाउकोदेखि पैतालासम्म र पुनः पैतालादेखि शिरसम्मका शरीरका अंगप्रत्यंगहरुमा अनुभूति हुने लक्षणहरु जस्तै ः चिलाउने, दुख्ने, झम्झमाउने, पोल्ने, अप्ठ्यारो हुने, गह्रुँगो हुने आदि) प्रति कुनै पनि क्रिया–प्रतिक्रिया नजनाई तटस्थ भावले हेर्ने अभ्यास विपश्यनामा हुन्छ । शुरुमा शरीरका बाह्य भागमा भएका संवेदनाहरुलाई हेर्ने र पछि आन्तरिक अंगहरुमा हुने संवेदनासमेतलाई केवल द्रष्टा तथा साक्षी भावले मात्र हेर्ने गरिन्छ । शरीरमा सुख–दुःखको अनुभव गर्दै त्यसलाई समभावमा ग्रहण गर्नुु एवं जे–जस्तो छ सोही रुपमा अनुभव गर्नु नै वेदानुपश्यना हो ।

ग) चित्तानुपश्यना: अन्तरंग र बहिरंग चित्तमा आएका भावहरु जे–जस्तो अवस्थामा छन् वा चित्तको स्थिति जे–जस्तो छ त्यही रुपमा हेर्नु, जान्नु वा बुभ्mनु (चित्तानुपश्ची आत्मामा उत्पाद व्ययको धर्म देख्नु) लाई चित्तानुपश्यना भनिन्छ । उदाहरणको लागि चित्तमा वस्तुप्रति मायामोह जाग्ने वा मायामोह नजाग्ने, रागयुक्त रागरहित वा वैराग्ययुक्त, घृणायुक्त वा घृणारहित वा प्रेमयुक्त आदि जे–जस्तो अवस्थामा चित्त छ, त्यसलाई होसपूर्वक प्रज्ञाका साथ बोध गर्नु नै चित्तानुपश्यना हो ।

चित्त वा मनमा जे–जस्तो विचार वा भाव आउँछ त्यसप्रति क्रिया–प्रतिक्रिया, विश्लेषण वा त्यसप्रति सकारात्मक वा नकारात्मक नबनी केवल साक्षी भावले हेरिरहनुलाई चित्तानुपश्यना भनिन्छ । ध्यानीले चित्तमा सकारात्मक विचार आयो भने सकारात्मक विचार आयो भन्ने हेर्छ, यसरी नै नकारात्मक भाव आएमा नकारात्मक विचार आयो भनी हेर्दछ । सकारात्मक वा नकारात्मक विचार व्यर्थमा किन आयो होला, नआएको भए ठीक हुन्थ्यो, यस्ता विचारले मेरो साधनालाई बाधा पु¥यायो आदि सोच्ने होइन ।

घ) धर्मानुपश्यना: ध्यानका माध्ययमले चित्तलाई विषयविहीन बनाई सबै राग, द्वेष, मोह आदि हट्दै समभावको विकास, सूक्ष्मतातिरको अनुभूति, अज्ञानताको नाश भई चार आर्य–सत्यहरुको प्रज्ञाबोध हुने प्रक्रियालाई धर्मानुपश्यना भनिन्छ । धर्मानुपश्यनाका क्रममा समभावको विकास हुन्छ । यस अवस्थामा हरेक परिस्थितिहरु जस्तै: जाडो–गर्मी, भोक–तिर्खा, दुःख–सुख आदिमा पनि समभाव कायम हुन्छ ।

विपश्यना ध्यानकेन्द्रमा ध्यानको अभ्यासको महत्त्व:

विपश्यनाको आरम्भिक अभ्यास विपश्यना ध्यान केन्द्रहरुमै गएर गुरुहरुको सान्निध्यमा गर्नु उचित हुन्छ । नेपालका विभिन्न स्थानहरुमा विपश्यना ध्यान केन्द्रहरु छन्, जसमा विपश्यना ध्यानको अभ्यास गराइन्छ । यस्ता ध्यानकेन्द्रहरुमा विभिन्न अवधिका ध्यान साधनाहरु निःशुल्करुपमा (स्वेच्छापूर्वक दान दिएर) गर्न सकिन्छ । यस साधनाका लागि केही नियमहरुको पालना गर्नुपर्दछ । उदाहरणको लागि ध्यान अवधिभर मौन रहनुपर्छ, लेखेर वा इशारा गरेर पनि वर्जित हुन्छ । साधनामा बाधा नपर्ने गरी सादा खाजा–खानाको व्यवस्था हुन्छ, दुईपटक खाजा र एकपटक पूर्ण खाना पाइन्छ । रात्रिकालीन भोजन मिल्दैन । बाह्य सम्पर्कविहीन हुनुपर्दछ, मोबाइल चलाउन पाइँदैन, किताब लेखपढ पनि वर्जित छ । साधना अवधिभर पञ्चशीलको पालना गर्नुपर्छ, जस्तै: सत्यको पालना गर्ने वा झुटो नबोल्ने, अहिंसाको पालना गर्ने (कीरा पनि मार्न नपाइने, अस्तेय वा चोरी नगर्ने, ब्रह्मचर्यको पालना गर्ने, मद्यपान वा अन्य नशापान गर्न पाइँदैन ।

दश दिनको विपश्यना साधना गर्दा ध्यानका प्रारम्भिक दिनहरु (पहिलोदेखि चौथो दिनसम्म) आनापान सतिको अभ्यास (आइरहेको र गइरहेको श्वासप्रश्वासमा ध्यान दिने), निरन्तर नाकबाट श्वास भित्र गइरहेका छ, श्वास बाहिर गइरहेको कुरामा ध्यान दिने, स्वाभाविकरुपमा सहज ढंगले श्वास भित्र आउँदैछ, बाहिर जाँदै छ भन्ने कुराहरुमा ध्यान केन्द्रित गरिन्छ । नाकबाट श्वासप्रश्वास गर्दा नाकभित्र र बाहिर हुने श्वासको स्पर्श एवं अन्य प्रकारका संवेदनाहरुप्रति सजग हुने गरिन्छ । तत्पश्चात् विपश्यनाको चरणमा पुगेपछि टाउकोदेखि पैतालाको भागका हरेक अंगमा मनलाई डुलाउनुपर्छ र तटस्थ भावले ती भागहरुमा हुने संवेदनाहरुमा ध्यान दिनुपर्छ । पाँचौं, छैटौं, सातौं दिनसम्म यसरी नै साधना गरिन्छ । आठौं दिनमा आफ्नो शरीरको विभिन्न अंगमा एकैपटक मनलाई लैजाँदै त्यहाँ हुने संवेदनालाई हेर्ने गर्नुपर्छ । तत्पश्चात् सबै शरीरमा एकसाथ एकै खालको संवेदनाको अनुभूति गरिन्छ । अन्तिम दिनतिर शरीरको बाहिरीलगायत भित्री भागमा मनलाई केन्द्रित गर्दै ती भागमा हुने संवेदनाहरुमा ध्यान दिने अभ्यास गरिने हुन्छ । यसरी मनलाई अंगप्रत्यंगहरुमा डुलाउँदै संवेदनाहरुमा हेर्ने कार्यलाई निरन्तर दोहो¥याएर अझै सूक्ष्मरुपमा साधना गरिन्छ ।

भावातीत ध्यान
भावातीत ध्यान महर्षि महेश योगीद्वारा प्रतिपादित ध्यान हो । भाव (विचार) र अतीत (टाढा हुनु) दुई शब्द मिलेर भावातीत बन्दछ, जसको अर्थ हुन्छ– भावहरुबाट टाढा जानु, विचारहरुबाट टाढा हुनु र चैतन्यावस्थातिर मनलाई लैजानु । महेष योगीका अनुसार मानिसको चेतनाका सात अवस्थाहरु छन्, ती हुन्– जागृतावस्था, गहन निद्रावस्था, स्वप्नावस्था, भावातीत अवस्था, ब्रह्माण्डीय चेतनावस्था, ईश्वरीय चेतनावस्था र एकत्व चैतन्यावस्था । भावातीत अवस्थाबाट नै मानिसका भाव वा विचारहरु नियन्त्रण भई चेतनाको तह माथि बढ्न थाल्छ । त्यसैले भावातीत अवस्थाको महŒव निकै बढी छ । भावातीत ध्यानको माध्यमबाट भावातीत अवस्थाको प्राप्ति र विकास गरी उपल्लो चेतना तहमा पुग्न सकिने बताइन्छ ।

यो ध्यान दैनिक बिहान र बेलुका २०–३० मिनेटजति अभ्यास गर्नुपर्छ । भावातीत ध्यानका प्रशिक्षित ध्यान शिक्षकहरुले यस विधिलाई सिकाउँछन् । यो ध्यान संसारका प्रायः देशहरुमा भावातीत ध्यान केन्द्र र ध्यान शिक्षकहरुबाट सिक्न सकिन्छ । नेपालमा पनि कैयन् ध्यान शिक्षक र ध्यान केन्द्रहरु छन् । यस ध्यानका बारेमा ६०० भन्दा बढी अनुसन्धानहरु भएको बताइन्छ, जसले यसका वैज्ञानिक पक्ष र लाभहरुलाई प्रस्ट्याएको पाउन सकिन्छ । भावातीत ध्यानको वैज्ञानिक विधिका माध्यमबाट भावहरुलाई सहजै नियन्त्रण गरी भावातीत अवस्थामा पुग्न सकिन्छ र अनेक प्रकारका शारीरिक, मानसिक, मनोशारीरिक एवं आध्यात्मिक लाभहरु प्राप्त गर्न सकिन्छ । यो ध्यान प्रारम्भिकरुपमा ३ दिनको प्रशिक्षण सशुल्क सिक्न पाइन्छ ।

ॐकार ध्यान
ॐ लाई प्रणव, ईश्वरको स्वरुप र आराधना एवं अक्षरब्रह्म मानिन्छ । आध्यात्मिकरुपमा मात्र हैन, अनुसन्धानहरुले पनि ॐकारको ध्यान र उच्चारण वा साधनाबाट अनेक शारीरिक, मानसिक एवं मनोशारीरिक लाभहरु पाइने स्पष्ट गरेको छ । यसको लागि शान्त स्थानमा कुनै ध्यानात्मक आसनमा बसेर ढाड सोझो राख्ने, हातलाई ज्ञानमुद्रा बनाई घुँडामा राख्ने, आँखा बन्द गर्ने, मन शान्त राखी श्वास लामो गर्ने र श्रद्धापूर्वक मनदेखि नै ॐ को लयबद्ध उच्चारण गर्ने गर्नुपर्दछ । ॐ को उच्चारणमा आज्ञाचक्र निधारको दुवै आँखीभुइँको बीचमा ॐ मा ध्यान केन्द्रित गर्नुपर्दछ । यो ध्यान करिब आधा–एक घण्टासम्म पनि गर्न सकिन्छ ।

गतिशील ध्यान
यस ध्यानलाई ओशो रजनीशले प्रतिपादन गर्नुभएको हो । यसमा आपूmसँग भएका अन्तर भावहरुलाई स्वतन्त्र तबरले बाहिर निकाली भावशून्यता प्राप्त गर्नेबारे विभिन्न चरणमा करिब एक घण्टा वा बढी पनि अभ्यास गरिन्छ । पहिलो चरणमा शरीरलाई शिथिल बनाएर बलपूर्वक, शीघ्ररुपमा श्वास तान्ने र छोड्ने गर्दै करिब १० मिनेट अभ्यास गरी शरीरमा ऊर्जा प्राप्त गरिन्छ । दोस्रो चरणमा मनमा गुम्सिएका भावहरुलाई स्वतन्त्ररुपमा अवतरित हुन दिने, यसका लागि स्वतन्त्ररुपले शरीरलाई चलाउने, नाच्ने, झुम्ने, उफ्रने, कराउने, हल्लाउने, हाँस्ने, रुने, लडिबुडी गर्ने, काम्ने आदि गर्दै पागलपनमा झैँ शारीरिक, मानसिक हाउभाउहरुलाई स्वतन्त्र प्रकट गर्ने गरिन्छ । यसबाट मनका भावहरु स्थिर र शुद्ध हुन थाल्छन् । तेस्रो चरणमा दुवै हातलाई माथि उठाउँदै–तन्काउँदै, लचिलो बनाउँदै, हल्लाउँदै, काम्दै, नाभीदेखि नै बलपूर्वक हू–हू आवाज निकाल्दै, हल्कासँग उफ्रने गरिन्छ । चौथो चरणमा शरीरलाई स्थिर राखी कुनै पनि क्रिया–प्रतिक्रियाहरु नगरी तटस्थ र साक्षी भावले हेर्ने अभ्यास गरिन्छ । पाँचौँ चरणमा भक्तिसंगीत वा संगीतमा नाच्ने, झुम्ने, मग्न हुने, आनन्दानुभूति गर्ने, अन्तर्भावहरुलाई निकाल्ने अभ्यास गरिन्छ । ओशो ध्यानकेन्द्रहरुमा यो ध्यान सिक्न सकिन्छ ।

साक्षी ध्यान
साक्षी ध्यान विधिलाई धेरै ध्यान गुरुहरुले अपनाएको पाइन्छ । यस ध्यानमा अभ्यास शुरु गरेपछि आउने कुनै पनि ध्वनि, स्पर्श, परिस्थिति आदिलाई पनि अवरोध नमानी तत्–तत् विषयमा ध्यान केन्द्रित गरिन्छ र सो कुरालाई पनि ध्यानकै पाटो मानिन्छ । उदाहरणको लागि ध्यानात्मक आसनमा आँखा चिम्लेर श्वासमा ध्यान दिँदै बसिरहेको अवस्थामा मोबाइलमा घण्टी बजिहाल्यो भने त्यो मोबाइलको घण्टीमा पनि ध्यान केन्द्रित गर्नुपर्छ । यसै बीच चरा करायो भने त्यसमा पनि ध्यान दिनुपर्छ । ध्यानमा बसेको अवस्थामा घट्ने सबै घटनाहरुमा मनको आँखा पुग्नुपर्दछ । यही प्रक्रियाबाट मनको अस्थिरतामा कमी ल्याउन सकिन्छ ।

अन्य महत्त्वपूर्ण ध्यान विधिहरु

ध्यान अनेक लोकप्रिय विधिहरु प्रयोगमा रहेका छन् । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रबाट प्रवर्तित राजयोग ध्यान, कबिरपन्थीहरुले प्रयोग गर्ने सहज ध्यान, डा. हरिप्रसाद पोखरेल मानसाग्निद्वारा प्रतिपादित निर्मल ध्यान, डा. योगी विकासानन्दबाट प्रवर्तित मनोक्रान्तिका ध्यान, जीवन विज्ञानका ध्यान आदि पनि नेपालमा प्रचलित ध्यानहरु हुन् । यी ध्यानहरु सम्बन्धित केन्द्र वा गुरुबाट सिक्नु उत्तम हुन्छ । (ध्यान निकै गहन विषय हो, यसको सीमा छैन । ध्यान साधनाको अनेक मार्ग, विधि र चरणहरु छन् । ध्यान अनुरुपका नियम र साधना पद्धतिहरु छन् । ध्यानको साधना गुरुकै सान्निध्यमा गर्दा मात्र सही अभ्यास हुन्छ । प्रयोग नगरी यसको भित्र छिर्न सकिन्न । यहाँ विस्तारमा ध्यान विधिको प्रयोगका धेरै विधिहरुको जानकारी दिँदा लेख लामो हुने भएकोले संक्षेपमा जानकारी र केही प्रयोगबारे उल्लेख गरें । यत्तिले मात्र ध्यान लाग्ने होइन, यसको लागि लामो र गहन साधना गर्नु आवश्यक छ । आगामी अंकमा समाधिको चर्चा गरिनेछ ।)

प्रतिक्रिया दिनुहोस्