दीर्घजीवी कसरी हुने ?


लक्ष्मण अधिकारी
अहिले चिकित्साशास्त्रको अनुसन्धानमा दीर्घजीवी कसरी हुने भन्ने विषय अग्रस्थानमा रहने गरेको छ । पूर्वीय पौराणिक ग्रन्थहरुमा दीर्घजीवी (चिरञ्जीवी) हुनका लागि अमृतपानको वर्णन पाइन्छ भने पश्चिमाहरुले होली ग्रेल (Holy
Grail) को प्रयोगलाई सदा जीवित रहने सन्दर्भमा उल्लेख गरेको पाइन्छ ।
तर अहिले वैज्ञानिकहरुले दीर्घ जीवनका लागि सही खाना, राम्रो बानीव्यहोरा अवलम्बन र सामाजिकरुपमा सक्रिय हुनुलाई मान्न थालेका छन् । यस किसिमको जीवनशैली अपनाउनेहरुको आयु लामो हुने गरेको अनुसन्धानमा पाइएको छ । एक अनुमान अनुसार सन् २०२१ मा विश्वमा करिब ५ लाख ७३ हजारजना १ सय वर्ष उमेर नाघेका मानिसहरु थिए । राष्ट्र संघका विशेषज्ञहरुका अनुसार यो संख्या तीव्ररुपमा बढिरहेको छ र सन् २०५० सम्ममा करिब ३७ लाख हुनेछ ।
तीन अंकको अर्थात् १ सय वर्ष वा सोभन्दा बढीको जन्म दिवस मनाउने अवसर पाएका शताब्दी पुरुष तथा महिलाहरुले कस्तो जीवनशैली अपनाएका थिए, दीर्घ जीवनको रहस्य के हो ? भन्ने बारेमा दान बट्लरलगायत ६ जना विशेषज्ञहरुले लामो अध्ययन गरेर प्रतिवेदन तयार गरेका छन्, जुन स्वस्थ एवं दीर्घजीवी हुन चाहने आम मानिसका लागि उपयोगी भएकाले प्रस्तुत गरिएको छ ।
दीर्घजीवीको ‘ब्लु जोन्स’
नेसनल जोग्राफीसँग सम्बद्ध दान बट्लर र उनको टिमले गरेको अध्ययन अनुसार विश्वका पाँचवटा क्षेत्रमा निरन्तर बसोबास गर्ने मानिसहरु विश्वका अन्य क्षेत्रका भन्दा औसत बढी उमेर बाँचेको निष्कर्ष निकाल्दै उनीहरु दीर्घजीवी हुनुको रहस्यबारे अध्ययन–विश्लेषण गरेका छन् । अध्ययनकर्ताहरुले ती पाँचवटा क्षेत्रलाई ‘ब्लु जोन्स’ नामाकरण गर्दै उनीहरुले खाने खानालाई पनि ‘ब्लु डाइट’ भनेका छन् । दीर्घजीवी मानिसहरु बसोबास गरिरहेका ती विशेष पाँचवटा क्षेत्रहरु निम्नानुसार रहेका छन्:
१.सर्दिनिया इटली, २. इकारिया ग्रिस, ३. निकोया कोस्टारिका, ४. लोमालिन्डा अमेरिका र ५. ओकिनावा जापान ।
खोजकर्ता बट्लरको टिमले यी भौगोलिक पाँचवटा क्षेत्र अर्थात् ‘ब्लु जोन्स’मा अवलम्बन गरिएको जीवनशैली, खानपान र अन्य क्रियाकलापसम्बन्धी नौवटा साझा गतिविधिलाई बुँदागतरुपमा प्रस्तुत गरेका छन् । उनीहरुले पत्ता लगाएका बुढ्यौलीलाई ढिलो गराउने यी नौवटा बुँदा वा नियमलाई पावर ९(Power 9) भनेर उल्लेख गरेका छन् ।
दीर्घजीवीका ९ साझा नियम 
१. प्राकृतिकरुपमा हिँडडुल: ब्लु जोन्सका मानिसहरुका अनुसार बिहान जगिङ गर्ने, जिम जाने कुरालाई बिर्सिएर प्राकृतिक किसिमको हिँडडुल गर्नुपर्छ । यसले प्राकृतिकरुपमा शरीर चलायमान भइरहेको हुन्छ । ब्लु जोनमा बस्नेहरु दिनभरिजसो नै शरीरलाई चलायमान गराइरहेका हुन्छन् । गाडी चढ्नेभन्दा हिँडेर बजारमा किनमेल गर्न जान मन पराउँछन् । गार्डेनमा पनि विद्युतीय वा पेट्रोलियम वस्तुको प्रयोगबाट चल्ने मेसिनको प्रयोग नगरी आफ्नै श्रम प्रयोग गरेर काम गर्न बढी रुचाउँछन् ।
२. जीवन जिउनुको चेत: आफ्नो जीवनको वा आफू बाँच्नुको कुनै लक्ष्य हुनुपर्दछ । के तपाईं आफू बाँच्नुको कुनै औचित्य पुष्टि गर्न सक्नुहुन्छ ? तपाईंले आफू बाँच्नुमा कुनै लक्ष्य राख्नुभएको छ ? बिहान उठ्दा थप सात वर्ष बाँच्न जरुरी छ भनेर पुष्टि गर्ने खालको कुनै उद्देश्य तपाईंसँग छ ? छैन भने पनि राख्नुपर्छ । हरेक बिहान उठ्दा स्मरण गर्ने आफ्नो जीवनको लक्ष्य हुन आवश्यक छ, जुन ब्लु जोनमा बस्ने दीर्घजीवीहरुको साझा जीवनशैली हो ।
३. तनाव नियन्त्रण गर्नु: तनाव व्यवस्थापनका लागि समय दिनुपर्दछ । हरेक मानिसले जीवनमा नचाहेर पनि कुनै न कुनै किसिमको तनावको अनुभव गरेका हुन्छन् । तनावले शरीर र मस्तिष्कको बुढ्यौलीपनलाई छिटो निम्त्याउँछ । त्यसैले हरेक दिन यो हानिकारक तनाव व्यवस्थापनका लागि केही नियमित कार्य गर्न जरुरी छ । जस्तो कि जापानको ओकिनावा निवासीहरु आफ्ना पुर्खाहरुको सम्झनामा केही समय मौन बस्छन्, उनीहरुको स्मरण गर्दै प्रार्थना गर्दछन् । ग्रिसको इकारिया निवासीहरु दिउँसो छोटो समय (Siesta/Nap) का लागि सुत्छन् वा झप्की लिन्छन् । इटालीको सर्दिनिया निवासीहरु हरेक दिन केही समय रमाइलो गरेर (enjoy a happy hour) बिताउँछन् ।
४. ‘८० प्रतिशत डाइट नियम’को पालना गर्नु: अर्थात् खानाले पेट ८० प्रतिशत भरिएपछि खाना खान बन्द गर्नुपर्दछ । ब्लु जोनमा बस्नेहरु हल्का र थोरै खाना खाने गर्छन् । उनीहरु पेटभरि नखाई पेटको ८० प्रतिशत भागमात्र खाने गर्दछन् । त्यहाँ बसोबास गर्नेहरु साँझ नपर्दै खाना खाने गर्छन् भने बिहान सखारै खान्छन् । ओकिनावा निवासीहरु आफ्नो तौल ठिक्क अवस्थामा राख्न सधैँ खानपिनमा सचेत रहन्छन् ।
५. वनस्पतिजन्य खानामा जोड: ब्लु जोनका निवासीहरु ठूलो सिमी, कालो सिमी, भटमासलगायत विभिन्न किसिमका दाल र वनस्पतिजन्य अन्य खाद्यवस्तु खान रुचाउँछन् । त्यस्तै गरी प्रोसेस्ड फूड (मेसिनको प्रयोग गरी स्वादिलो र टिकाउ बनाउन विभिन्न रसायन र अरु वस्तुको मिश्रण गरी बनाइएको) भन्दा वनस्पतिबाट प्राप्त प्राकृतिक रुपको खानालाई प्राथमिकता दिन्छन् र खान्छन् । प्रोटिनका लागि पनि वनस्पतिजन्य दाल एवं गेडागुडीलाई नै प्राथमिकता दिन्छन् । लगभग एक सय मिलिग्राम प्रोटिन प्राप्त हुने गरी खास गरी बंगुरको मासु महिनामा एक–दुईचोटि मात्र खान्छन् । अर्थात् खानामा पशुजन्य खाद्यपदार्थभन्दा वनस्पतिजन्य खाद्यपदार्थले नै बढी स्थान पाउँछ ।
६. रमाइलो क्षण (Happy Hour) : मनोरञ्जन गर्नु उनीहरुको प्राथमिकतामा पर्छ । रमाइलो क्षणका लागि उनीहरु मदिरा पान पनि गर्छन् । तर मदिरा (moderate amounts)  ठिक्क मात्रामा मात्र सेवन गर्छन् । उनीहरु नियमित रमाइलो गर्छन् । सय वर्षसम्म बाँच्नेहरुलाई जीवन लम्ब्याउनका लागि कसरी रमाइलो गर्ने भन्ने थाहा हुन्छ । रमाइलोका लागि उनीहरु (विशेष धार्मिक समूहका बाहेक) हरेक दिन एक–दुई ग्लास मदिरा (विशेष गरी वाइन) पिउने गर्छन् । यसका लागि साथीहरु र खाना अनिवार्यरुपमा नै समावेश भएको हुन्छ ।
७. समुदायसँग सम्बन्ध कायम र धार्मिक सेवामा विश्वास: प्रायः सवै शताब्दीपुरुष तथा महिलाहरुले समुदायप्रति समर्पित धार्मिक सेवा गर्ने गरेको पाइएको छ । यसका कारण पनि उनीहरुलाई दीर्घ जीवन जिउन सहयोग पुगेको छ । यदि कुनै व्यक्ति धर्मप्रति आस्था राख्दैन भने पनि उसले ध्यान गर्दा आफूले आफैँलाई चिन्ने मौका पाउँछ ।
८. परिवारलाई पहिलो प्राथमिकतामा राख्नु: बूढाबूढी भएका आफ्ना बा–आमा एवं हजुरबा, हजुरआमालगायतका परिवारलाई नजिकमा राख्नु उनीहरुको महत्वपूर्ण विशेषता हो । यसरी बस्ने घरका केटाकेटीहरुमा रोग लाग्न कमी भएको र मृत्युदर पनि कम भएको पाइएको छ । ब्लु जोनमा बस्नेहरुमा जीवन साथी साथै भइरहनुले पनि कम्तीमा ३ वर्ष जीवन लामो बनाउन सहयोग पुगेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।
९. स्वस्थ बानीव्यहोरालाई सहयोग पु¥याउने समूहसँग सामाजिक सम्बन्ध कायम राख्ने: ब्लु जोनका दीर्घजीवीहरुले आफ्ना असल दौँतरीको समूह बनाएका छन्, जुन एउटा सामाजिक समूहको अंग नै हो । उनीहरु सधैँ साथीहरुसँग रहिरहनाले दीर्घजीवी हुन सहयोग पुग्छ । त्यसैले उमेरका आधारमा वा मन मिल्ने राम्रा साथीहरुको समूह बनाएर भेटघाट गर्ने, रमाइलो गर्ने र अप्ठेरो परेका बेला आपसी सहयोग गर्ने गर्दछन् । ओकिनावामा बस्नेहरुले एक–आपसमा जीवनभर सहयोग गर्ने बाचाका साथ पाँचजनाको राम्रो समूह बनाएका हुन्छन् । बेला–बेला भेटेर गफ गर्ने, रमाइलो गर्ने, कसैलाई अप्ठेरो पर्दा सहयोग गर्ने गर्दछन् । उनीहरु आपसमा जीवनभर साथ दिने प्रतिबद्धता व्यक्त गर्छन् । अनुसन्धानकर्ताहरुले खुसी भनेको वृद्धि हुँदै जाने कुरा हो र साथीहरुको यस्तो समूह बनाएर खुसी बाँड्ने गरेमा खुसी अझ वृद्धि हुँदै जाने निष्कर्ष निकालेका छन् ।
बानीमा सुधार
गुणस्तरीय जीवनका लागि आफ्नो खाना खाने बानीलाई कसरी सुधार गर्ने ? यो एउटा महत्वपूर्ण प्रश्न छ । विशेषज्ञहरु भन्छन्, ‘आफ्नो खाना खाने बानीमा परिवर्तन गर्दा दीर्घ जीवन हुने मात्र होइन, जीवनको गुणस्तरमा पनि सुधार हुन्छ ।’ 
त्यसका लागि विशेषज्ञका सुझावहरु:
” कस्तो खाना खाइरहेका छौँ, कस्तो खाना थप्ने र कस्ता खाना छोड्ने ? त्यसको लिस्ट बनाऊ ।
” चिनी भएका खानाहरु कति खाइरहेको छ, त्यसको पुनर्मूल्यांकन गर र सकेसम्म कम खाऊ ।
” मासु र अन्य पशुजन्य उत्पादनहरु कति खाइरहेको छ, त्यसको मूल्यांकन गर र त्यसको विकल्पको बारेमा सोच ।
” आफूले खाने धेरै खाना घरमै पकाउने गर ।
” घरमै डेलिभरी गर्नेभन्दा आफैँ बजार गएर सामानहरु खरिद गर्न समय निकाल ।
” करेसाबारी वा कौसी गमलाहरुमा फलफूल, तरकारीका बिरुवाहरु लगाउने गर ।
” तरकारी, फलफूल खरिद गर्न सम्भव भएसम्म किसानको बजारमा जाने गर ।
” आफूलाई नयाँ लाग्ने फल तथा खानाहरु प्रयोग गरेर हेर ।
” दैनिक खानामा धेरै हरियो तरकारी, सिमीहरु, दाल थप खान थाल ।
” खानासँगै रमाइलो गर्ने गर ।
खानामा शुद्धता र सम्पूर्णता स्वस्थताका लागि मूल आधारशिला हुन् । साथै खाना तयार गर्दा बिस्तारै गर्न, बिस्तारै खाना खान, राम्ररी चपाएर खान पनि बिर्सिनुहुँदैन ।
अनुसन्धानकर्ता बट्लरले एकान्तपन वा एक्लिएर बस्नुलाई छोटो जीवनको उच्च जोखिम भनेका छन् । त्यसैले सकेसम्म एकान्त वा एक्लो हुनुबाट बच्नुपर्छ, जसले गर्दा जीवनमा केही वर्ष आयु थपिन सक्ने उनको सुझाव छ । एक्लिएर बसेको मानिस धेरै सामाजिक सम्बन्ध बनाएर बसेको मानिसभन्दा करिब ८ वर्ष कम बाँच्छन् । उल्लिखित दीर्घजीवीहरु बसोबास गरिरहेका ‘ब्लु जोन्स’ सामाजिकरुपमा आपसमा गाँसिएका गाउँहरु हुन्, जुन विभिन्न मजबुत सामाजिक बन्धनहरुमा बाँधिएका छन् । यसले उनीहरुलाई धेरै पहिलेदेखि नै दीर्घ जीवन दिइरहेको छ ।
‘दीर्घ जीवनका लागि कुनै सर्टकर्ट सप्लिमेन्ट छैन, वनस्पतिमा आधारित खाना घरमै बनाएर खानु एउटा उत्तम उपाय हो’,
अनुसन्धानकर्ता बट्लरले भनेका छन् । उनको थप सुझाव छ, ‘३ देखि ५ जनासम्म राम्रा साथीहरु बनाऊ, जसले आफू संकटमा परेका बेला सरसहयोग गर्न सकून् ।’
लोमालिन्डाका किन बढी बाँचे ?
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लोमालिन्डा पनि धेरै मानिस दीर्घजीवी भएको स्थान ‘ब्लु जोन’ मध्ये एक हो । त्यहाँ एक सय वर्षभन्दा बढी बाँच्नेहरुको संख्या धेरै छ । अमेरिकामा ब्लु जोन लोमालिन्डा एउटा स्थानमात्र भएको पाइएको थियो । यहाँका अमेरिकीहरु औसत अमेरिकीभन्दा बढी बाँच्छन् ।
लोमालिन्डाका मानिसहरु दीर्घजीवी हुनुमा समुदाय, धर्म, संस्कृति आदि सम्पूर्णताको चेतलाई पनि मानिएको छ । लोमालिन्डामा मानिसहरु दीर्घजीवी हुनुको कारणबारे अध्ययन गर्दा व्यक्तिको सम्पूर्णता (शरीर, मस्तिष्क र आत्मा) को बारेमा अध्ययन गरिएको थियो । यो अध्ययन लोमालिन्डा युनिभर्सिटी अफ पब्लिक हेल्थले गरेको थियो । यस विषयमा पहिलो अध्ययनकर्ता दान बट्लरले सो स्थानलाई ‘ब्लु जोन’ भनेका थिए ।
लोमालिन्डाका ९० वर्ष काटेका मानिसहरु पनि प्रायः कम्तीमा हरेक दिन दुईपटक २०–२० मिनेट हिँड्छन्, कोही सानातिना डाँडामा ६–७ माइल नै दैनिक हिँड्ने गर्छन् । बाहिर हिँड्न नचाहनेहरु एरोबिक्स गर्ने, शरीर तन्काउने व्यायामहरु गर्छन् ।
उनीहरु हरेक दिन धार्मिक पुस्तक पढ्छन् ।
अवकाशप्राप्त मानिसहरुको समूहमा भेटघाट गर्ने, ‘‘पजलहरु’ समाधान गर्ने गर्छन् । खानामा दैनिक एक कचौरा दलियामा चिया सिड, बदाम, केरा आदि राखेर खाने गर्छन् । स्मरणशक्ति राम्रो बनाउनका लागि  नियमित बदाम खाने गर्छन् । नियमित व्यायाम, शाकाहारी खाना, समुदायमा घुलमिल भएर बस्ने चेत, धार्मिकपना आदि त्यहाँ दीर्घ जीवन जिउनेहरुका साझा जीवनशैली भएको अध्ययनमा पाइएको छ ।
‘ब्लु जोन डाइट’ के हो त ? 
दीर्घ जीवनका लागि नौवटा नियमहरुमा खाना अर्थात् डाइट पनि एउटा महत्वपूर्ण नियम हो । विश्वका बढी बाँच्ने मानिसहरुले के खान्छन् ? कसरी खान्छन् र खानासम्बन्धी उनीहरुको अन्य शैली कस्तो छ ? भन्ने विषयलाई बट्लरले उल्लेख गरेका छन् ।  ब्लु जोनमा बसोबास गरिरहेका दीर्घजीवीहरुको ९० प्रतिशत खाना परम्परागत छ र खानामा अन्नको सम्पूर्ण भाग (प्रशोधन नगरी तयार गरिएको अन्न जस्तो– मैदा नभई चोकरसहितको आँटा, मिलमा कुटेर टल्काएको चामल नभई भुसमात्र निकालिएको खैरो चामल, उसिना चामल, उसिनेको चना, बोडी, राजमा आदि) हुने गरेको छ ।
खाना वनस्पतिमा आधारित हुन्छ । यी खानाहरुमा बियाँहरु, हरिया खाना र अन्य बारीमा फलेका हरिया तरकारी, कन्दमूलहरु एवं सिमी, बोडीहरु हुने गरेका छन् । ब्लु जोनका ती दीर्घजीवीहरुले आफ्नो उमेर ६५–७० वर्ष नभएसम्म कम प्रोटिन भएका खाना खाने र त्यसपछि अलि बढी  (moderate) खाने गरेको पाइएको छ ।ब्लु जोनका मानिसहरु हरेक रात १२ घण्टाको उपवास बस्ने गर्छन् । दीर्घ जीवनका लागि तौल नियन्त्रण गर्नुभन्दा कहिले र कति खाने भन्ने कुरा धेरै नै महत्वपूर्ण हुने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
सकारात्मक सोच 
विभिन्न अध्ययनकर्ताहरुले सकारात्मक सोच र जीवनप्रतिको मोह कायम राख्नुलाई पनि दीर्घ जीवनको एउटा महत्वपूर्ण कारण मानेका छन् । सन् २०१९ मा भएको एक अध्ययन अनुसार सकारात्मक सोच राख्ने र आशावादी बन्नेहरुमा ११ देखि १५ प्रतिशतसम्म ८५ वर्ष वा सोभन्दा लामो आयु भएको पाइएको छ । सन् २०२२ मा भएको यस्तै अर्को एउटा अध्ययन अनुसार सकारात्मक सोच राख्ने र आशावादी बन्नेहरुमा दीर्घरोग लाग्ने जोखिम कम हुने तथा ८५ वर्षभन्दा बढी उमेरसम्म जीवित रहने सम्भावना धेरै हुने हुन्छ । उनीहरुमा तनाव पनि कम हुन्छ, जबकि नकारात्मक सोच राख्नेहरुमा रोग–प्रतिरोधात्मक क्षमता पनि कमजोर भएको पाइएको छ ।
‘जब हामी सकारात्मक सोच राख्छौँ र सकारात्मक कार्यमा व्यस्त हुन्छौँ, जस्तो– व्यायाम गर्ने, ध्यान गर्ने, आफ्नो धार्मिक कार्यमा व्यस्त हुने, बाहिर घुम्न जाने, हिँड्ने, ताजा हावाको आनन्द लिने गर्दा तनाव तथा चिडचिडाहट कम हुन्छ’, अनुसन्धानकर्ताहरुको भनाइ छ ।  यसका साथै मानिसहरुले सामाजिक सम्बन्ध पनि प्रगाढ बनाउनुपर्छ, मानिसहरुको सम्पर्कमा रहनुपर्छ । २०१९ सेप्टेम्बरमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार सामाजिक सम्बन्ध मजबुत भएका महिलाहरुको आयु १० प्रतिशत लम्बिन सक्ने र त्यसमध्ये ४१ प्रतिशतको चाहिँ उमेर ८५ वर्षभन्दा बढी हुने सम्भावना भएको पाइयो ।
अनुसन्धानकर्ता डा. करेन भन्छन्, ‘जो व्यक्तिहरु मानिसहरुको सम्पर्कबाट टाढा रही एक्लिएका हुन्छन्, उनीहरुमा सामाजिक सम्बन्ध बढी रहेका व्यक्तिहरुमा भन्दा छिटो मृत्यु हुने सम्भावना ज्यादा हुने गरेको पाइएको छ । यस्ता मानिसको रोग–प्रतिरोधात्मक क्षमता कमजोर हुने र क्यान्सर, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने गरेको छ ।’
सन् २०२० मा भएको अर्को अध्ययन अनुसार धूमपान नगर्ने र वृद्धावस्थामा पनि सामाजिकरुपमा सक्रिय हुने व्यक्तिहरुमा एक सय वर्षभन्दा बढी बाँच्दा पनि दीर्घरोगहरु नहुनु सामान्य भएको पाइएको छ ।  साथै शारीरिक सक्रियता कायम राख्ने र तौल नियन्त्रण गर्नेहरु पनि स्वस्थ एवं दीर्घरोगबाट मुक्त भएको पाइएको छ । नियमित व्यायामले दीर्घ जीवन प्राप्त हुन्छ । सन् २०२२ अगस्तमा प्रकाशित प्रतिवेदन अनुसार ठिक्क खालको व्यायाम तथा शारीरिक गतिविधि गर्ने वृद्ध महिलाहरुमा मृत्युको जोखिम कम भएको पाइएको छ । जबकि निष्क्रिय जीवन जिउनेहरुमा मृत्युको जोखिम बढी हुने गरेको छ । व्यायामका लागि हिँड्नु निकै लाभदायक मानिएको छ ।
अर्को एक अध्ययनका अनुसन्धानकर्ताहरुले ९६ देखि १२२ वर्षसम्मको उमेर बाँचिरहेका २३ जना व्यक्तिसँग कुराकानी गरी उनीहरु दीर्घजीवी हुनुका साझा पाँचवटा रहस्यहरु खोजेर रिपोर्ट तयार गरेका थिए । उनीहरुले तयार गरेका रहस्यका साझा बुँदाहरु:
” दिमागलाई शान्त र तनावमुक्त अवस्थामा राख्ने ।
” कामबाट कहिल्यै मुक्त नहुने । जीवनको बारेमा सधैँ जिज्ञासु बनिरहने, कामप्रति मोह जगाइराख्ने, सामुदायिक कार्यहरुमा सक्रिय भइरहने ।
” उपयुक्त खाना खाने ।
” परिवार, साथीहरु र सामाजसँग सम्बन्ध कायम राख्ने । अन्य भौतिक वस्तुका साथै आफ्ना पुराना मित्रहरुसँग लामो समयदेखिको सम्बन्ध कायम राखिरहने ।
” जीवनप्रतिको मोह कायम राख्ने र जीवनबारे सधैँ जिज्ञासु भइरहने ।
बुढ्यौलीका जोखिमहरु
विश्व स्वास्थ्य संघका अनुसार वातावरण जस्तो–पर्यावरण प्रदूषण र हिंसाले स्वास्थ्यसम्बन्धी जोखिम बढाएको छ । साथै सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा मानिसको पहुँच वृद्धिले मानिसको आयु लम्ब्याउन सघाएको पनि छ । अहिले ६० वर्षभन्दा माथिका मानिसको अनुपात बढिरहेको छ । सन् २०१९ मा ६० वर्ष वा सोभन्दा माथिको उमेरका मानिसको संख्या एक अर्ब थियो । यो संख्या सन् २०३० सम्ममा १ अर्ब ४० करोड पुग्ने र सन् २०५० सम्ममा यो संख्या २ अर्ब १० करोड पुग्ने अनुमान छ ।
दीर्घरोगहरु बुढ्यौलीका प्रमुख जोखिमहरु हुन् । अधिक मदिरापान, धूमपान, अस्वस्थ खाना, शरीरको तौल बढी हुनु र पर्याप्त शारीरिक गतिविधि नगर्नु पनि बुढ्यौलीका चुनौतीहरु हुन् । स्वस्थ बुढ्यौलीका लागि शहर तथा गाउँ दुवैतिर शारीरिक, सामाजिक र आर्थिक वातावरण उपयुक्त हुनु महत्वपूर्ण हुन्छ । बुढेसकालमा बस्ने, हिँड्ने, काम गर्ने, खेल्ने उपयुक्त स्थानको व्यवस्था गरिएको हुनुपर्छ । मानिस एक सय वर्षसम्म वा सोभन्दा बढी वर्षसम्म बाँच्नको लागि निश्चित खाना, व्यायाम र शरीर एवं मस्तिष्कलाई ठीक अवस्थामा राख्नको लागि जीवनशैली परिवर्तन आवश्यक छ । यसको लागि हामीले परम्परागतरुपमा चल्दै आएका तथा राम्रो परिणाम दिएका हाम्रो संस्कृति एवं परम्पराको पनि अध्ययन, अवलम्बन गर्न सक्छौँ ।
एक अध्ययन(A Danish study) को निष्कर्ष अनुसार बुढ्यौलीपनको प्रक्रियामा करिब २० प्रतिशतमात्र वंशाणुगत कारणको हात छ र करिब ८० प्रतिशत हाम्रो जीवनशैलीसँग सम्बन्धित छ । यसको मतलब हामी हाम्रो स्वास्थ्यलाई नियन्त्रण गर्ने क्षमता बृहत्रुपमा राख्छौँ । स्वस्थ र सन्तुलित खाना तथा मानसिक र शारीरिक तन्दुरुस्ती भएपछि त्यसैबाट दीर्घ जीवन प्राप्त गर्न सहज हुन्छ ।
(स्रोत:a मेडिकल न्युज टुडे, मोर्डन हेल्थ, हार्टफोर्ड, एक्ट्रा मेल, पुलिट्जर सेन्टर, डब्लुएचओ आदि)