माध्यम साक्षरता अहिलेको खाँचो



तिहार २०८० बित्दा नबित्दै टिकटकलाई बन्द गर्न भएको सरकारी प्रयोग नेपालमा माध्यम साक्षरताको कति खाँचो छ भन्ने अनेक सङ्केतमध्ये पछिल्लो हो । त्यस क्रममा विकसित सार्वजनिक छलफलका विविध वैचारिक, व्यावहारिक शृङ्खलाले पनि त्यही आवश्यकतालाई औंल्याएको महसुस हुन्छ ।

माध्यम पर्यावरणमा नयाँ सूचना प्रविधिले ल्याएको बृहत् परिवर्तनलाई नेपालको सन्दर्भमा खुला हृदयले बुझ्न खोजेको भए अहिलेको अति जनप्रिय सामाजिक माध्यम टिकटकविरुद्ध निषेधको रेखा पार गर्नुपर्ने थिएन । नागरिकी अभिव्यक्तिलाई जोगाउन संविधानले वर्षौं पहिलेदेखिे गरेको प्रत्याभूतिलाई हुँदै नभए जसरी र फेरि स्थापना गर्न पर्ने जसरी सर्वसाधारण जुुर्मुराउनु पनि पर्ने थिएन ।

मोबाइल फोन साथमा नभइनहुने, त्यसमा निरन्तर झुम्मिनुपर्ने, त्यसभित्रबाट सञ्चार हुने सामग्रीमा लुटपुटिरहनुपर्ने अहिलेको वास्तविकता हो । के बालक, के युवा, के प्रौढ सबै नै यस प्रवृत्तिसँग आआफ्नै किसिमले गाँसिएका छन् । सूचना लिने दिने प्रक्रिया र ज्ञान सीप आदान प्रदान गर्ने पद्धति स्वयं नै यसमा आधारित छ भन्दा अतिशयोक्ति होओइन । पछिल्लो सूचना प्रविधिको देनका कारण उपलब्ध यो अभूतपूर्व अवसरको उच्चतम सदुपयोग गर्नका निमित्त विकसित अवधारणा र अभ्यास नै माध्यम साक्षरता हो ।

माध्यम साक्षरताका परिभाषा अनेक छन् । तीमध्ये केहीको चर्चा गर्दा दिशाबोध हुनसक्छ । आमसञ्चार माध्यम विशेष गरी छापा, रेडियो, टेलिभिजन, अनलाइन, सोसल मिडिया, डकुमेन्टरी, पुस्तक, फिल्म, विज्ञापन, मोबाइल, इन्टरनेट आदिबारे आधारभूत ज्ञान लिने, तिनबाट प्रचारित, प्रसारित सूचना र अन्य सामग्रीको अर्थ लगाउन सक्ने क्षमता विकसित गर्ने विधा नै माध्यम साक्षरता हो । तिनलाई प्रयोग गर्ने, आवश्यक पर्दा तिनको पृष्ठभूमि, सन्दर्भ पहिल्याउने र तिनमा पूर्ण सहभागी हुनसक्ने सीप पनि त्यसमा समाविष्ट हुन्छ ।

माध्यम साक्षरताले यस्तो औजार दिन्छ जसबाट सर्वसाधारणलाई माध्यमबाट आएका सूचनालाई केलाउन, विश्लेषण गर्न, सही गलत के हो पत्ता लगाउन सहज हुन्छ । जानिफकारहरूको विचारमा यस्तो सीपबाट अनेक माध्यमभित्र भएका विविध अवसरहरू र सम्भावनालाई प्रयोगकर्ताहरूले व्यापक रूपमा उपयोग गर्न सम्भव हुन्छ । साथै माध्यमीय सामग्री सिर्जना गर्न, वितरण गर्न र तिनलाई स्थापित गर्न पनि यसबाट योगदान पुग्छ ।

केही आमसञ्चारविद्हरूको अवधारणामा माध्यम साक्षरता भनेको नागरिकलाई सबल बनाउने, सुसूचित पार्ने, जीवनका गतिशील यात्रामा आइपर्ने समस्यालाई सचेत ढङ्गमा सक्रियताकासाथ समाधान गर्न सिपालु तुल्याउने आधार हो । यसबाट समाजीकरणका सीप, मैत्री शैली, भाषा, शिष्टता, तथा मल्टिमिडिया कुशलता बढाउन मदत मिल्छ । समसामयिक समाजलाई छर्लङ पार्ने जादू यसैमा छ, तिनका विषयवस्तुबारे तर्कवितर्कका साथ बहस गर्न अनमोल ऊर्जा पनि यसबाट प्राप्त हुन्छ ।

खतराबाट मुक्ति

माध्यमबाट भइरहेका र हुनसक्ने जोखिमबाट प्रयोगकर्तालाई बचाउन पनि माध्यम साक्षरताको ठूलो भूमिका रहन्छ । विशेष गरी कुसूचना फिँजाउने, मिथ्या प्रचारबाजी गर्ने, वैमनस्य सिर्जने, घृणा फैलाउने, अश्लीलता, यौन , हिंसा उक्साउने, भड्काउने सामग्रीबाट होसियार रहन साक्षरताले सघाउँछ । ती विषयवस्तुका नकारात्मक असरबाट बच्ने चेतना प्रयोगकर्ता स्वयंमा विकसित गर्न माध्यम साक्षरता रामवाण हो भन्ने सञ्चार अनुसन्धाताको ठम्याइ हो ।

साथै प्रजातान्त्रिक समाजले अपेक्षा गर्ने सामाजिक जिम्मेवारी बोध माध्यम सामग्रीका हरचरणका विचारक वा सर्जक, उत्पादक, वितरक, उपभोक्ता वा प्रयोक्ताजस्ता पात्रहरूमा पैदा गरिदिन माध्यम साक्षरता केन्द्रित रहन्छ । यो माध्यम सामग्री समाजलाई बिगार्ने, बराल्ने, नकारात्मक उत्तेजनामा प्रवाहित गर्ने दिशामा नजाओस् भन्नेमा होसियार रहन्छ र त्यसका लागि यसले वकालत पनि गरेको हुन्छ ।

यसैले त भनिन्छ माध्यम साक्षरमा स्वस्थ, उपयोगी, गुणकारी सामग्री खोज्ने प्रवीणता विकसित हुन्छ । के हेर्ने, के सुन्ने, के पढ्ने, केमा विश्वास गर्नेमा ऊ स्पष्ट हुन्छ । माध्यमको स्वामित्व र उत्पादन प्रणालीबारे उसलाई जानकारी हुन्छ । माध्यम निरक्षर दूषित सामग्रीमा फस्ने, सामग्रीका शिकार हुने र कुशल चयन शक्तिको अभावमा गलत सामग्रीतिर भौंतारिरहने सम्भावना प्रबल रहन्छ ।

सैद्धान्तिक परिवेश
साहित्य समीक्षाका आधारमा माध्यम साक्षरतालाई अवलोकन गर्दा केही आधारभूत मूल्यमान्यतालाई पछ्याइएको देखिन्छ जसमा पाँच बुँदा प्रबल रूपमा अघि सारिएका हुन्छन् । माध्यमका सबै सामग्री सूचना, सन्देश र अन्य उत्पादन निर्माण गरिएका हुन्छन् । तिनलाई बनाउने क्रममा एकातिर व्यक्तिगत वा समूहगत वा संस्थागत सिर्जनात्मकता जोडिएको हुन्छ भने अर्काेतिर माध्यम विशेष र विधाविशेषका नियमको पालना गरिएको हुन्छ । यिनैका कारण हर प्रयोगकर्ताले हर माध्यमलाई आआफ्नै ढङ्गमा अनुभव गर्ने स्थिति बन्छ । सामग्रीमा माध्यमले आफ्ना आस्था, मूल्य, विश्वासलाई समेट्ने प्रवृत्ति स्थापित गरेसरह छ ।

माध्यमका उत्पादनपछाडि कि नाफा कि शक्ति कि निश्चित लाभको अपेक्षा टाँसिएको हुन्छ, सतहमा सेवा भाव रहेको भने देखाइन्छ । आमसञ्चार माध्यममा पत्रकारिता परिसर भने सूचना प्रवाह सेवाको रूपमा विकसित हुनुपर्छ । सूचना सत्य, तथ्यमा आधारित, विश्वसनीय र निष्पक्ष हुनुपर्छ भन्नेमा अडेको छ । सामाजिक सञ्जालमा प्रवाहित हुने सूचनामा सम्पादकीय द्वारपाल नहुने हुँदा व्यक्तिको अभिव्यक्ति र झुकाव हुन सक्छ । त्यस स्थितिलाई माध्यम साक्षरताले स्पष्ट पारेको हुन्छ र अपेक्षा गरेको हुन्छ, हरेक पोस्ट जिम्मेवारीका साथ हुनुपर्छ, मनमाफिक छाडापन हुनुहुँदैन ।

उपरोक्त पाँच बुँदाका अन्तर्यलाई बुझ्न र तदनुरूप माध्यमको उपभोग गर्न, त्यसमा सहभागी बन्नका लागि माध्यम साक्षरताले एक महत्वपूर्ण औजारसरह काम गर्छ भन्ने विज्ञहरूको दाबी हो । माध्यम साक्षरतालाई वैचारिक चिन्तनमा खेलाउने, नीतिनिर्णयमा व्यवस्थित गर्ने र खासै कार्यान्वयनमा लाने विविध जानिफकार र अनुभवीहरूले पनि केही महत्वपूर्ण धारलाई समातेको पाइन्छ । माध्यमबाट हुन सक्ने कुशिक्षा, कुसूचना, कुमनोरञ्जन, मिथ्या प्रचार, यौनको दुष्प्रचार, हिंसा, हेला घृणा फैलाउने प्रवृत्तिबाट प्रयोगकर्तालाई जोगाउन तिनले माध्यम साक्षरतालाई रक्षा कवचका रूपमा अघि सारेको स्पष्ट हुन्छ । प्रयोगकर्ता स्वयंलाई माध्यमबारे राम्ररी बुझाएर तिनलाई जिम्मेदार प्रयोगकर्ता बनाउने तिनको ध्येय हो । माध्यम साक्षरहरू माध्यमका सामग्रीमा रहेका कमीकमजोरी, स्वार्थ, एक पक्षीयता, प्रोपगण्डा, बेतुकका हल्ला पहिल्याउन सक्छन् र तिनबाट बच्न सक्छन् भन्ने यसको मान्यता हो ।

परम्परागत शिक्षा प्रणालीमा रहेका सामग्रीजस्तै डिजिटल युगमा आएका छापा, दृश्य श्रव्य, रेखाचित्र आदि र तिनको अनेक मिश्रित रूपलाई राम्ररी बुझ्नका लागि बेग्लै दृष्टिकोण विकसित गर्नुपर्छ र सो माध्यम साक्षरताले सम्भव हुन्छ भन्ने अर्काे धार छ । यसलाई धेरैले परम्परागत ३ आर रिडिङ, राइटिङ र रेथमेटिक अर्थात् पढ्न, लेख्न र हिसाब गर्न जान्ने साक्षरताकै विस्तरित रूपमा व्याख्या गर्छन् । माध्यममा नपाइने विषयवस्तुको खोजी होस् वा माध्यमका सामग्री कहाँनिर बटारिएको छ कहाँनिर बिना आधार बत्तिएको छ वा कहाँनिर गलत वा कृत्रिम रूपको छ पत्ता लगाउने क्षमता माध्यम साक्षरताले विकसित गर्छ । यसका कारण उपभोक्ताहरूले सचेत रूपमा माध्यमको उच्चतम उचित प्रयोग गर्ने र त्यसमा सहभागी हुने स्थिति बन्छ भन्ने यसको अडान हो ।

वर्तमान माध्यम मूलतः सूचना प्रविधिका अनेक जालोमा पेचिलो रूपले गाँसिएका हुन्छन्, तिनलाई बुझ्न सूचना सञ्चार प्रविधिको पूर्ण ज्ञान र सीप आवश्यक छ । त्यही उपलब्ध गराउने राजमार्ग माध्यम साक्षरता हो भनेर अघि बढेको धार प्रविधिप्रधान छ, यसमा विषयवस्तु अलि किनारामा धेकेलिन्छन् । परम्परागत साक्षरता आवश्यक भए पनि त्यतिले यसमा पुग्दैन प्रविधिमूलक अन्य सीप र ज्ञान चाहिन्छ । तिनलाई माध्यम साक्षरताले उपलब्ध गराएर प्रयोगकर्तालाई सहजीकरण गरिदिन्छ भन्ने अवधारणामा यो आधारित छ ।

साक्षरता—पोषण
नेपालमा माध्यम साक्षरता अनिवार्य भइसकेको छ, यो वास्तवमा पोषणसरह छ । अहिलेको समाजमा, बजारमा, व्यवसायमा, व्यक्तिगत जीवनमा, सामुदायिक सन्दर्भमा र राष्ट्रिय जीवनका अनेक फाँटमा योबिना काम नचल्ने स्थिति छ । प्रजातान्त्रिक प्रणालीमा नागरिक केन्द्रित शासन पद्धतिलाई सुदृढ पार्न यो अति नै गुनिलो छ ।

पूर्वाधार विकासका क्रममा होस् वा स्थानीय, प्रादेशिक, राष्ट्रिय विकास सन्दर्भमा होस् यो सान्दर्भिक छ । बाह्य विश्वलाई बुझ्न, नेपाल र नेपालीको आकाङ्क्षा संसारका मित्र राष्ट्र र अन्यलाई अवगत गराउन, भूराजनीतिका गहन परिवेशलाई सम्झन तथा सम्झाउन माध्यम साक्षरताले हर नागरिकलाई नजानिँदो रूपमा भरोसापूर्ण शक्ति दिइरहेको हुन्छ । दिगो विकासका १७ वटै लक्षतर्फ अग्रसर हुन पनि यसबाट भरपर्दाे सहजीकरण हुन्छ भन्ने विकासविद्हरूले औंल्याएको पाइन्छ ।

शैक्षिक कार्यक्रमसँग जोडेर माध्यम साक्षरतालाई संस्थागत गराउन सकिन्छ । साथै माध्यम उपभोग प्रक्रियालाई विविध उमेर समूहका जनतामाझ सचेत, सकारात्मक, सहभागितापूर्ण तथा जिम्मेवार बनाएर पनि यो साक्षरतालाई नियमित बनाउन सम्भव छ । विज्ञहरूले ठाउँ र समाजअनुरूपका माध्यम साक्षरताका प्रयोग पनि अघि सारेका छन् । नेपाली नीति निर्णयकर्ता, कार्यान्वयनकर्ता तथा माध्यम उपभोक्ताले प्रदेश र पालिकास्तरीय आवश्यकता हेरी यसलाई व्यवस्थित गर्दा सिँगो राष्ट्रलाई लाभ पुग्छ । यस दिशातिर प्रभावशाली पाइला चाल्न अबेर भइसकेन र ?

प्रतिक्रिया दिनुहोस्