आधा रातमा नायिकाको जिम्मा लिनुपर्ने पर्नेदेखि दिउंसै खलनायकले मार्न खोजेको कामनाको मान्छे



श्याम स्मृत
कामनासंगको मेरो पूर्वजुनीकै साइनो र संवन्ध रहेको जस्तो आभांस हुने गरेको छ। यसो हुनुमा म जहाँ–जता पुगेपनि मसंगै कामना जोडिनु गरेकोले हो । कामना मेरो साइनो तथा भावना मात्र नभई विश्वास पनि हो । यो विश्वास संभवत पूर्व जुनीकै साइनो र संवन्धले मात्र संभव हुन्छ भन्ने मलाई लागेको छ। शायद यो मेरो कामनाप्रतिको लगाव अनि माया तथा स्नेह हो ।

यो साइनो र संवन्ध अनि लगावमा नै मेरो चिनारी छ। कामनाबाट विदा भएको पनि एक दशकभन्दा बढी भैसकेको छ। तरपनि, नेपाली पत्रकारिता जगतले मलाई कामनाको मान्छे भनेर चिन्ने गरेको छ। जुन मेरो लागि गौरबको विषय हो । त्यसैले पनि अझै मैले भन्ने गरेको छु– हो म कामनाकै मान्छे हुँ । मलाई कामनाले नै बनाएको हो।

यसलाई मैले कामनामा १२ बर्ष निरन्तर काम गरेको उपलव्धी तथा पुरस्कारको रुपमा लिएको छु। जहाँ जता पुगेपनि तपाई त कामनाको मान्छे होइन भनेर सोधिहाल्छन्। म पनि मुसुक्क हाँसेर हो नि त म कामनाकै मान्छे हुँ भनेर गौरबताका साथ भन्ने गर्दछु। यो चिनारी र साइनोभित्र कामनाको ब्राण्ड मेरो नाममा परेको छ ।
यो नै कामना र मेरो नामको संवन्ध तथा चिनारीको रुपमा मैले लिएको छु। यसकारण पनि कामनासंग मेरो गहिरो नाता छ–संवन्ध छ । मलाई अझै सम्झना छ–कामनामा प्रवेश भएको त्यो दिन ! विसं.२०५०–०५१ सालतिर कामनाको सहप्रकाशन त्यतिबेलाको साँझको हटकेक महानगर दैनिकमा संवाददाता आवश्यकताको माग भएको थियो । जुन समयमा म सरकारी संस्थान नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिएँ । प्राधिकरणमा प्रशासनिक कर्मचारी भएर १०–५ को एकोहोरो कामको पट्यारलाग्दो लाइफस्टाइलवाट मलाई मेरो रुचिको क्षेत्रमा फड्को मार्न खोजिरहेको थिए।

सानैदेखि साहित्यमा रुचि तथा पत्रकारिताको चाहनाले त्यो बेला नै मातृभूमि साप्ताहिक, गोरखापत्र, युवा मञ्च जस्ता विभिन्न पत्र–पत्रिकामा मेरो लेख–रचना प्रकाशित हुने गर्दथ्यो । अझ प्राधिकरणकै मुखपत्र विद्युत पत्रिकामा पनि मेरो लेख–रचना प्रकाशित हुने गरेको त्यो बेला महानगर दैनिकको विज्ञापनले पत्रकारितामा फड्को मार्ने मेरो सोच जाग्यो । मनमा जागेपछि आँट पनि कहाँवाट आउँदाो रहेछ। त्यही आँटले महानगर दैनिकमा संवाददाता पदमा आवेदन दिए । झण्डै डेढ सयजनाले आवेदन दिएको दुईजनाको पदमा लिखित तथा अन्तरवार्ता पास गरेर कामनाको जागिरे भएको थिए । मलाई अझै याद छ–लिखित परीक्षा पास गरेपछि अन्तरवार्ताको क्रममा कामनाको तत्कालिन व्यवस्थापक विष्णुविक्रम गोगंजु, कला निर्देशक अशोकमान सिंह हुदै चलचित्र पत्रकारिताको भीष्मपितामह नै मानिएका समादरणिय प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठले मलाई एउटै मात्र प्रश्न गर्नुभएको थियो । त्यो हो–तपाई कामनाको लागि कति समय दिन सक्नुहुन्छ ? मैले तत्काल परि आएको खण्डमा चौविस घण्टा नै दिन तयार छु भनेको थिए । शायद यही मेरो जवाफले म अरुभन्दा पहिलो भएको हुनुपर्दछ ।

प्राधिकरणको सरकारी जागिरे जीवन छाडेर कामनामा पत्रकारिताको जागिरे जीवन शुरु गर्दा मलाई कुनै पछुतो लागेन । आफूले खोजेको र रहरको कामनाको जागिरे जीवनमा विलकुलै मज्जा लाग्यो । १०–५ को एकोहोरो पत्यारलाग्दो प्रशासनिक जागिरे जीवनवाट मुक्त बनेर मनले खोजेको जागिरे जीवन शुरुगर्दा म स्वतन्त्र आकाशमा उडिरहेको चरा जस्तो महशुश भएको थियो । त्यसमाथि, हरपल समादरणिय प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठको मार्गनिर्देशन तथा अगुवाइमा पत्रकारिता गर्न पाउँदा कहिले पनि हाकिम र कर्मचारीको अनुभव भएन । बाउ र छोराको जस्तो पारिवारिक अनुभव भयो । निडर भएर पत्रकारिता गर्न र गराउन सधँै प्रेरित गरिरहनु हुने उहाँ मेरो पत्रकारिताको गुरु पनि हुनुहुन्छ । मैले नेपाल प्रेस इन्ष्टिच्युटमा पत्रकारिताको अध्ययन गर्दा उहाँ गेष्ट लेक्चरर भएर आउने गर्नुहुन्थ्यो । उहाँको पत्रकारिताको लेक्चरवाट म ज्यादै प्रभावित थिएँ । यसकारण म उहाँलाई मेरो पत्रकारिताको गुरु नै मानेको छु । अझ गुरुकै छत्रछायाँमा पत्रकारिताकै जागिरे जीवन शुरु गर्दाको मज्जा बेग्लै थियो।

महानगर दैनिकमा पोष्टिङ भएतापनि पछि कामना सिने मासिकमा सरुवा भयो । कामना सिने मासिकले मलाई चलचित्र पत्रकार बनायो । कामनामा संवाददाता तथा उपसम्पादक हुदै सहसम्पादक बनेको केही बर्षपछि मेरो सरुवा तत्कालिन आजको समाचारपत्र दैनिक हालको नेपाल समाचारपत्र दैनिकमा भयो। नेपाल समाचारपत्र दैनिकमा खेलकुद र मनोरञ्जन पेज दुवैको जिम्मेवारी मेरो नै काँधमा आएको थियो । चलचित्र पत्रकारितावाट केही समय खेलकुद पत्रकारिता पनि गरँे । त्यसको अलावा कामनाकै अर्को सहप्रकाशन खोजमूलक मासिक पत्रिका साधनामा पनि बेलाबखत रोचक तथा खोजमूलक विषयमा कलम चलाउंदै आएको थिएँ । यस हिसावमा मैले कामनाका चारवटै प्रकाशनमा कलम चलाएको थिएँ । कामना सिने मासिकवाट सम्पादक धिरेन्द्र प्रेमर्षीको टिमले कामना छाडेपछि तत्कालिन कला निर्देशक तथा प्रकाशक अशोकमान सिंहको जबरजस्त सिफारिसवाट समादरणिय गुरु पुष्करलाल श्रेष्ठले कामना सिने मासिकलाई हाँक्न कामनाको कार्यकारी सम्पादकको जिम्मेवारी मलाई दिनुभएको थियो ।

कामना हाँक्ने जिम्मेवारी हातमा आएपछि कामनालाई अझ सर्वत्र लोकप्रिय बनाउन कुनै कसर बाँकी राखिन । समादरणिय गुरु पुष्करलाल श्रेष्ठ कामनाको प्रधान सम्पादक भएतापनि सर्वाधिकारको जिम्मेवारी सम्पादक कुशल गौतम र मलाई दिनुभएको थियो । जसको कारण कामनामा कस्तो कन्टेन्ट आउंदैछ भन्ने कुरा पुष्कर सरको व्यस्तताले उहाँलाई थाहा हुर्दैन्थ्यो । जुन हामीप्रतिको ठूलो विश्वास थियो । त्यो विश्वासको नाजायज फाइदा हाम्रो टिमले कहिले पनि लिएन । निष्ठाको पत्रकारिता गद गयौं । त्यो नै मेरो र मेरो टिमको सफलताको रहस्य थियो । चलचित्रको कुनैपनि सभा–समारोहमा जानुपर्दा पुष्कर सरले विशेषतः त्यो बेला मसंग जानकारी लिएर जानु हुन्थ्यो । एकदिन मैले चलचित्रको एक समारोहमा जानुअघि पुष्कर सरलाई कामनाको नयाँ अंकको बारेमा ब्रिफिङ गर्न पाएको थिइनँ ।

एक दिन प्रज्ञा भवनको कार्यक्रममा चलचित्र विकास वोर्डका प्रथम अध्यक्ष एवम् चलचित्र निर्देशक यादव खरेलले यो महिनाको कामनाको अंकमा फलानो विषयले त तहल्का नै मच्चायो भनेर भनिरहँदा पुष्कर सर अलमलमा परेजस्तो हुनु भएछ । उहाँको अलमलपछि यादव खरेलले प्रधान सम्पादक भएर पनि आफ्नो पत्रिकामा आएको कन्टेन्ट थाहा हुन तपाई छाड्यो है भनेर ठट्टा गरेको मैले अझै पनि विर्सेको छैन् । अनि उहाँले कामना टिमप्रतिको मेरो विश्वास तथा भरोसा छ भनेर प्रतिक्रिया दिएको त्यो क्षण गर्बले मेरो छाति ठूलो भएको थियो ।

कामनामा लगातार आठ बर्ष काम गर्दा चलचित्र क्षेत्र तथा चलचित्र वाहिरकामाझ समेत मेरो पहिचान बनेको थियो । त्यस क्रममा हुइँयामा छापेको एक कन्टेन्टमा ख्यातिप्राप्त फाइट डाइरेक्टर तथा खलनायक राजेन्द्र खड्गीले नायिका करिश्मा मानन्धरको निर्माणमा बनेको चलचित्र ढुकढुकीको गोदावरीमा भएको विशेष समारोहमा एकान्तमा लगेर घाँटी न्याँकेर निमोठ्न खोजेको त्यो नमिठो अतित मेरो आँखा अगाडि अझै छ । अनि फाइट डाइरेक्टर खड्गीले मलाई सिध्याउन चालिसजना फाइटहरु काठमाडौंभर घुमाइराखेको जस्ता धम्कीको सामना गर्दै कामनाको चलचित्र पत्रकारिता गरेको त्यो क्षण वाहेक पोखरामा आधारातसम्म नेपाली मोडलहरुले मदिराको मातमा गरेको रुवाबासीको स्थलगत रिपोर्टिङ कामनामा छाप्दा तीनदिनसम्म ज्यान मार्ने धम्की आएको पनि म विर्सन सक्तिन ।

तीनदिन पछि तीसजना भन्दा बढी मोडलको हुलमुलले मलाई मार्न भनेर कामना प्रवेश गर्दा तत्कालिन नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलगायतका सवै पत्रकार तथा कर्मचारी साथीको सहयोगले त्यो प्रतिकारको पनि सामना गरेर उनीहरुलाई सम्झाई–बुझाई पठाएर ज्यान जोगाएको क्षण पनि मेरो कामना पत्रकारिताको अविस्मरणीय थियो ।

अर्को डर तथा रोचक क्षण भनेको पचासको दशकको नंबरी नायिका रेखा थापाको अन्तरवार्ता प्रकाशित हुँदा भयो । बकाइदा टेपमा रेकर्ड गरेर मैले नायिका थापाको अन्तरवार्ता लिएको थिएँ । अन्तरवार्तामा नायिका थापाले चलचित्रमा राम्रो रोलमा कथाले मागेमा म बेश्या बन्न तयार छु भनेकी थिइन् । कामनाको हेडिङमा राम्रो रोल पाएमा नायिका रेखा थापा बेश्या बन्न तयार भनेर प्रकाशित भएको थियो ।

कामना बजारमा आउनु अघि नै नेपाल समाचारपत्र दैनिकमा कामनाको कन्टेन्ट हेडलाइन सहित विज्ञापन आउने गर्दथ्यो । कामनाको त्यो अंकको विज्ञापनमा नायिका रेखा थापा बेश्या बन्न तयार भनेर छापिएपछि बजार पिटिहाल्यो । नायिका थापाका तत्कालिन पति चलचित्र निर्माता छवि ओझाले त्यो विज्ञापन हेरेपछि रेखा थापालाई नराम्ररी गाली मात्र नगरि घरवाटै निकालिदिने धम्की दिएका रहेछन् । त्यो धम्कीवाट आजित नायिका थापाले त्यसपछि नन्स्टप फोन गरेर त्यो महिनाको कामना बन्द गर्न दवाव दिन थालिन् ।

प्रेसमा पत्रिका छापेर बजारमा जान तयार भएर बसेको अवस्थामा कुरा नै नबुझिकन त्यति मात्र दवाव नदिइ मेरो जिन्दगीकै जिम्मेवारी तपाईले लिनुप¥यो, छविले मलाई घरवाट निकालिदिने भयो भनेर समेत उनले भनेकी थिइन् । मैले कामना बजारमा आइसकेपछि मात्र यस्तो निर्णय लिनु–पत्रिका नै नपढ्किन त्यस्तो कुरा नगर्नुस् । तपाईले भनेकै कुरा जस्ताको तस्तै छापेको हुँ भनेर धैर्य गर्न अनुरोध गर्दा पनि दिनको सयौपटक फोन गरेर लाइफकै जिम्मा लिनुप¥यो भनेपछि मैले उल्टै मैले तपाईलाई पाल्नुपर्ने होइन, तपाईले नै मलाई पाल्नुपर्ने हो–म जिम्मा लिन्छु भने ।

मेरो जवाफवाट मौन रेखा थापाले पत्रिका निस्केको दिन उल्टै फोन गरेर धन्यवाद दिइन् । विज्ञापनको हेडलाइनवाट कुरा नबुझि उडाउने जमातको कारण नंबरी नायिका आगो बनेको त्यो समयको सामना गर्दाको क्षण रोचक तथा कठिन दुवै थियो । यस्ता धेरै घटना तथा परिघटनाले बनेको मेरो कामनाको पत्रकारिता साँच्चै भन्नुपर्दा अविस्मरणिय नै थियो । त्यसैले त म कामनाको मान्छे भएको हुँ ।

प्रतिक्रिया दिनुहोस्