दल र पत्रकार: विश्वसनियताको आधार व्यावसायिक सम्बन्ध



नेपालमा पत्रकार र दलहरुबीचको अन्तर सम्बन्धकाबारेमा बेलाबेला चर्चा हुने गर्दछ । कुनै घटना विशेषको प्रतिकृयास्वरुप देखापर्ने त्यस्ता चर्चा–परिचर्चा बेलाबेला निकै तात्ने गरेको छन । अनि समयक्रममा त्यसै सेलाउने गरेका छन् । केही दिन अघि यो दैनिक अखवारले फेरि एउटा शीर्षक उपलब्ध गरायो, पत्रकार कि राजनीतिक दलका एजेण्ट ? के हो समस्या? उत्तर सोझो छ, पत्रकार दलको एजेन्ट हुनु हुँदैन,र बदलिएको समयलाई चिन्न नसक्नु समस्या हो ।

तत्कालीन एमाले र माओवादीवीच एकता भएपछिको निर्वाचन परिणामका आधारमा बनेको केपी ओलीको सरकारको सुरुवाततिरकै कुरा हो । वालुवाटारमा सत्तारुढ नेकपाद्वारा पत्रकारहरुमाझ बनाइएका दुई जनवर्गीय संगठनहरुको एकीकरणपछि स्थापित संस्थाका पदाधिकारीहरुका लागि शपथ ग्रहण र प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । घटनालाई केही पत्रकारहरुले खिसीट्युरी गरे भने कतिपय पत्रकारहरु असमञ्जस्यमा परेको देखियो । खासगरी नवोदित पत्रकारहरुका लागि यस्ता विवादले रणभूल्लमा पार्दछ ।

आजको नेपालमा पत्रकारिताको विशिष्ट स्थान र पत्रकारहरुबाट गर्न सकिने अपेक्षाका बारेमा चिन्तन गर्ने हो भने यस्ता प्रश्नहरुबाट भागेर हुँदैन । यस्ता प्रश्नमा वहस गर्दा नै खासगरी नवोदित पत्रकारहरु आफ्नो व्यावसायिक बाटोका सम्बन्धमा प्रष्ट हुन सक्ने छन् । उल्लेख गरिएको प्रकृतिका अनेक कार्यक्रम हुँदै आएका छन् । यसप्रकारका आयोजनामाथिको टिप्पणीका आधारमा पत्रकार र राजनीतिक दलहरुबीच स्वभाविक र व्यावसायिक सम्बन्धको पक्षपोषण गर्न खोज्ने हो भने यस्ता विमर्श भविष्यका लागि पनि मार्गदर्शन गर्न सक्दछन् । तर राजनीतिक रुपमा विभाजित आमसञ्चार क्षितिजमा एकथरीले अर्काथरीलाई होच्याउन मात्र त्यस्तो चर्चा गर्ने हो भने हामी फेरि पनि कुनै निष्कर्शमा पुग्दैनौं ।

सधैं उदार लोकतन्त्र र खुला विचारको पक्षपोषण गर्ने कांग्रेसले ०४८ सालमा सत्तारोहणलगत्तै प्रेस युनियनका नाममा नेपाली पत्रकारहरुलाई जनवर्गीय संगठनमा बाँध्न थालेको हो । त्यसको सीको अरु पार्टीहरुबाट नहुने कुरै भएन, नेकपा (एमाले) ले पनि आफू निकट पत्रकारहरुलाई प्रेस चौतारीको गठन गर्न लगायो । समयक्रममा मधेसी र जनजाति पत्रकारका नाममा समेत संस्थाहरु बन्न थाले । त्यसैले हामी घुँडा–घुँडा डुबेका छौं भने तिमीहरु पनि कम्मरसम्मै चुर्लुम्म भइसकेका छौ भन्ने किसिमको सवाल जवाफले हामीलाईं कहीं पु¥याउँदैन । अनि यस्ता विषयमा समय, स्थान, प्रसंग हेरी बोल्नु पर्छ, अरुबेला अनुहार छोपेर चूप बस्नु पर्छ भन्ने प्रवृत्तिले पनि हामीलाई गैरजिम्मवार बनाउँद्छ । आफू संलग्न भएको पेशाका बारेमा आफ्नो समयको बुझाइका सम्बन्धमा प्रष्ट पार्न पनि यसका अभ्यासकर्ताहरु अग्रसर हुनु पर्दछ ।

त्यो समय नै बेग्लै थियो, त्यो बेलाको पत्रकारिता आधारभूत रुपमै फरक थियो । योङ इण्डिया र हरिजनको सम्पादन गर्ने गान्धीले पत्रकारिताको भूमिकाका बारेमा १९०८ तिरै इण्डियन ओपिनियनमा प्रष्ट पारेका थिए, अखवारको एउटा उद्देश्य लोकमतको वोध गर्नु र त्यसलाई अभिव्यक्त गर्नु हो । अर्को आमजनताबीच केही अपेक्षित सम्वेदना जागृत गराउनु हो । तेश्रो, सार्वजनिक चासोमा रहेका अनियमितताहरुलाई निर्भिकतापूर्वक उजागर गर्नुृ नै हो । पत्रकारिताको भूमिकालाई त्यसरी प्रष्ट्याउने गान्धीले त्यसको सात वर्षपश्चात भारत फर्किएपछि सुरु गरेको पत्रकारिता पनि आजको जस्तो थिएन । उनको यो विचार हिन्द स्वराज अर होम रुल नामको पुस्ताकाकार कृतिमा प्रश्नोत्तर शैलीमा प्रकाशित छ । गान्धीकैे हाराहारीमा अक्टोवर क्रान्तिका प्रणेता लेनिनले पनि इ«स्कालाई आन्दोलनको संगठकका रुपमा अथ्र्याएका थिए ।

पूर्व प्रारम्भिक वा प्रारम्भिक अवस्थादेखि गणना गर्दा पत्रकारिताको सबैभन्दा पुरानो माध्यम छापाको इतिहासलाई साढे तीन सय वर्ष जति पु¥याउन सकिन्छ । तर पत्रपत्रिका सीमित भूगोलमा थोरै अभिजातहरुलाई सेवा पु¥याउने माध्यमबाट ठूलो परिमाणमा आममानिसका लागि प्रकासित हुने आमसञ्चार माध्यममा परिणत हुन थालेको उन्नाइसौं शताब्दीको मध्यपछि मात्र हो । त्यही कालखण्डमा युरोप, अमेरिकामा पत्रकारिता क्रमशः पेशा, व्यावसाय र समाजको उल्लेखनीय संस्थाका रुपमा स्थापित हुन थाल्यो । त्यसपछि बल्ल बीसौं शताब्दीका प्रारम्भिक दशकहरुदेखि छुट्टै सोसल एन्टिटीका रुपमा यसका मूल्य, मान्यता र व्यावसायिक मापदण्डका विषयमा छलफल हुन थालेका हुन ।

संसारका सबै समाजमा सामाजिक चेतनाको वाहक, राजनीतिको एउटा उपक्रम वा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने माध्यमका रुपमा सुरु भएको पत्रकारिताको गौरवमय विगत लोकतन्त्रको वर्तमानसँग जोडिएको छ । तर विश्व इतिहासका कैयन मोडमा नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको संघर्षका माध्यम र थलो समेत बनेका पत्रपत्रिका प्रविधि र सामाजिक चेतनाको निरन्तर र समानान्तर विकासस्वरुप नौलो ठाउँमा आइपुगेका छ । छापाबाट सुरु भएको पत्रकारिताको माध्यम रेडियो र टेलिभिजन हुँदै इन्टरनेटमा आधारित अनलाइनसम्म विस्तारित हुन पुगेको छ । समय प्रवाहसँगै पत्रकारिताका अन्र्तवस्तु, यसका उपभोक्ता र यसको संस्थागत स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनलाई नेपाली वाहकहरुले पनि बुझ्न खोजेका छन् ।

दलहरुसँग पत्रकारहरुको संलग्नताका विषयमा बहस गर्न खोज्नुको कारण यही हो । पञ्चायत कालमा राजनीतिक पक्ष वा विपक्ष र पत्रकारिताको लक्ष्य एउटै हुने गर्दथ्यो, किनकी त्यो बेला पत्रकारिता मूलतः राजनीतिकै उपक्रम थियो । एकातिर पञ्चायतका पृष्ठपोषण गर्ने पत्रपत्रिका, अर्कातिर पञ्चायतविरोधी पत्रपत्रिका थिए । तर छयालीस सालको जनआन्दोलनको सफलतासँगै अलग भयो, पत्रकारिता र राजनीतिको बाटो । आजसम्म आइपुग्दा, पत्रकारिता आधुनिक समाजको एउटा विशिष्ट पेशा वा व्यवसायका रुपमा सुपरिचित भइसकेको छ, नेपालमा पनि यो एउटा पेशा वा व्यावसायका रुपमा स्थापित भइसकेको छ ।

अनेक तालिम केन्द्रहरु छन, विश्वविद्यालयहरुमा यसका ज्ञान, सीप, दक्षता र आधारभूत मूल्य र मान्यताका विषयमा पढाइन्छन् । यसको बजार झनझन फैंलदैछ र सूचना, ज्ञान र मनोरञ्जनको परम्परागत दायित्वमाथि पत्रकारिताले इन्फोटेनमेन्टको जिम्मा पनि लिएको छ । बजारसँगै यसको अर्थतन्त्र फराकिलो हुन पुगेको छ र वैंकिङ, वकालत वा अन्य रोजगारीका क्षेत्रजस्तै प्रशिक्षित जनशक्ति यहाँ पनि आउँछन् । आज पत्रकारिताका संस्थाहरुले कुनै सम्पादक वा पत्रकारलाई आवद्ध गर्र्दा निश्चय पनि जेल जान डर लाग्छ कि लाग्दैन भन्ने प्रश्न सोध्दैनन् । बरु त्यस संस्थाका मिडिया प्रडक्टहरुलाई कसरी अझ व्यापक बनाउन सकिन्छ भन्ने सोध्दछन । किनकी, आजको नेपालमा न पत्रपत्रिका वा कुनै पनि आमसञ्चार माध्यमको सुरुवात गर्न राजनीतिक वन्देजको समाना गर्नु पर्दछ । न कुनै राजनीतिक आलोचना गरेवापत प्रशसनिक झमेला र दमनको समाना गर्नु पर्दछ ।

अब नेपालमा पनि राजनीतिक दलको उपक्रम अथवा प्रचार संयन्त्रका रुपमा सञ्चालन गरिने पत्रकारिता इतिहासको पानामा सीमित भइसक्यो । अहिलेको नेपालमा बजारमा प्रतिस्पर्धा गरिरहेको कुनै पनि संस्थागत मिडियाले अमूक पार्टीको प्रचारयन्त्र भन्ने घोषणा गरेको पनि छैन । हरेक संस्था कम्तिमा सार्वजनिक रुपमा राजनीतिक क्षितिजका सबैसँग समान दूरी राख्ने सिद्धान्तकै पक्षपोषण गरिरहेको छ । हामीले व्यवहार वा अभ्यासबाटै प्रष्ट पारी सकेका छौं विश्वका धैरे भूभागमा झैं आज नेपालमा पनि मिडिया राजनीतिक दलहरुभन्दा स्वतन्त्र छन, कुनै बेला इतिहासमा थियो, आज कुनै दलको स्वामित्व कुनै मिडिया हाउसमा छैन । यस्तो अवस्थामा हिजोको, मुक्ति संग्रामको भारत वा पञ्चायतकालको नेपालमा जस्तो पार्टीको कार्यकर्ता–नेता–संगठनको संरचनामा पत्रकारको पहिचान कायम गर्न खोज्नु उपयुक्त हुँदैन ।

त्यसरी संगठित सञ्चारकर्मीले कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कारण पार्टीलाई पनि न्याय गर्न सक्दैन । तर यहींनेर प्रश्न उठाउन सकिन्छ, उसोभए पत्रकारितामा वहुलवादको अभ्यास गर्नु अनुपयुक्त हुन्छ र ? पत्रकारिता वहुलवादको पक्षपोषण गर्ने क्षेत्र मात्र होइन कुनै पनि समाजमा वहुलवाद र वहुविचारको स्तर परीक्षण गर्ने व्यारोमिटर समेत हो । त्यसैले दर्शन र आइडियोलोजीको तहमा पत्रकारहरु कुनै पनि दलसँग निकट रहन वा आफ्ना धारणा अभिव्यक्त गर्न स्वतन्त्र हुन्छन । कुनै पार्टीले अघि सारेको वाद वा साध्यको समर्थनमा खुलेर धारणा प्रस्तुत गर्नु वा आफूलाई पार्टीको शुभचिन्तकका रुपमा परिचित गराउनु राजनीतिक स्वतन्त्रताको प्रयोग हो, वहुलवादको अभ्यास हो ।

वस्तुतः पत्रकारिता आजसम्म पनि स्वतन्त्रताप्रेमी सामाजिक चेत र उत्तरदायित्ववोध गर्ने अनि जोखिमपूर्ण यात्रा मन पराउने मानिसहरुले रमाइलो मान्ने पेशा नै हो । यी विशिष्ट गुणहरुमा वाधा उत्पन्न गराउने जुनसुकै अवस्थाले स्वतन्त्रतालाई क्षति पुयाउँदछ । राजनीति र अर्थशास्त्रजस्ता यसका आधारहरुलाई बदलिएको प्रसंगमा सन्तुलनमा राख्नै पर्दछ । यस सन्दर्भमा बुझ्नै पर्ने कुरा के छ भने सत्य र स्वतन्त्रता पत्रकारिता आधारभूत पक्षहरु हुन । स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्न सकिंदैन, तर सत्यमा पनि सम्झौता गर्न थालियो भने विश्वसनियतामा आघात पर्दछ । पत्रकारिताले वामे सरेदेखि अहिलेसम्म राजनीतिक कारणले सामाना गर्नु परेका व्यवधानहरुलाई पत्रकारहरुको विश्वसनियताप्रतिको लगाव र समर्पणले मात्र परास्त गर्न सकेको हो ।

जहाँ विश्वसनियता कम्जोर भएको छ, त्यहाँ पत्रकारिता कम्जोर भएको छ । त्यसैले सय वर्ष अगाडि वेलायतका एक वरिष्ठ सम्पादक सीपी स्कटले पचास वर्ष सम्पादकको पदमा बसेपछि भने, फ्याक्ट्स आर स्याकरेड, कमेन्ट इज फ्री । समस्याहरु आजका व्यापारिक मिडियासँग पनि छन । मिडियाबाट उत्सर्जन भइरहेको डिसकर्सीव पावर अर्थात विमर्शबाट उत्पन्न शक्ति व्यापारिक घरना र कम्पनीको सेवामा समर्पित भइरहेको छ भन्ने विश्लेषण पनि उत्तिक्कै महत्वपूर्ण छ । तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको परिकल्पनासम्म गर्न नसकिने निरंकुश कालमा जस्तै आज पनि राजनीतिक कार्यकर्ताका रुपमा पत्रकारिता गर्न आवश्यक छैन ।

०१७ पछिको वन्देजको समयमा पनि वहुलवादको दियोलाई निभ्न नदिने वीपी, पुष्पलाल, मनमोहनको प्रयत्नलाई केही निर्भिक युवाहरुले, हाम्रा अग्रज पत्रकारहरुले साथ दिए । अखवारलाई राजनीतिक सम्वादको प्लेटफार्म बनाए । त्यसका लागि उनीहरु अभाव र कष्टको जीवन बिताउन तयार भए । कैयन अवसरमा सेन्सरसीपलाई छल्न संकेत र घुमाउरो भाषाको प्रयोग गरे । प्र र पु लेखेर भए पनि उनीहरुले पञ्चायतले नामेट गर्न चाहेका पार्टीहरुको नाम जनताको स्मृतिमा कायम राखे । प्रतिवन्धित भएकाले वा ०१७ साल अघि अस्तित्वमा रहेका पुरानो भएकाले त्यस्तो लेखेको भनेर सेन्सर गर्नेहरुलाई छक्याएर भए पनि त्यसबेलाका पत्रकारहरुले नेकपा र कांग्रेसको नाम छाप्नु नै ठूलो कुरा थियो ।

नेपालमा पत्रकारित पेशामा आवद्ध हुन चाहने युवाहरुले आफूलाई समयअनुसार परिष्कृत गर्नुपर्छ । यी पंक्तिहरु लेख्दै गर्दा मेरो मष्तिस्कमा पत्रकारिता कक्षामा तन्मयताका साथ व्याख्यान सुन्दै टिपोट गरिरहेका मेरा विद्यार्थीहरु झल्झलि आइरहेका छन । पत्रकार सम्मेलनहरुमा पूर्वाग्रहको भारीले थिचिएर काँप्दै प्रश्नका नाममा केही सोध्दै गरेका नयाँ युवाहरु पनि सम्झिरहेको छु ।

नेपाली पत्रकारिता हिजोको दमन, संघर्ष र श्रृजनशील परम्पराबाट यहाँसम्म आइपुगेको हो । आजको पत्रकारिता हृदयचन्द्र सिंह प्रधानको जागरण साप्ताहिक र तारणीप्रसाद कोइरालाको उज्यालो र कल्पना दैनिकबाटै अघि बढ्दै यहासम्म आइपुगेको लहरा हो । आजका पत्रकारहरुले नेपाली पत्रकारिताको यो गौरवमय परम्परालाई आत्मसात गर्दै आजको समयको माग पूरा गर्नु पर्दछ । यहाँसम्म आइपुग्दा संसारका अरु भूभागमा जस्तै नेपाली पत्रकारिता र यसका उपभोक्ताका प्रवृति र स्वरुपमा पनि व्यापक परिवर्तन भइसकको छन ।
( लेखक त्रिभूवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता एवं आमसञ्चार विभागका सहप्राध्यापक तथा स्वतन्त्र पत्रकार । .)

प्रतिक्रिया दिनुहोस्