संरचनागत विभेदका कारण पत्रकार महिला पछि



नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित कामना न्युज पब्लिकेसन्स् ३९ वर्ष पूरा गरी ४० औं वर्षमा प्रवेश गर्दे गर्दा पत्रकार महिला र छापा माध्यमको अवस्थाबारे सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष बिमला तुम्खेवाको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा पत्रकार महिलाको अवस्था कस्तो छ ?
सञ्चारिका समूह नेपालको स्थापना कालको अवस्था र अहिले अवस्थालाई मात्रै हेर्ने हो भनेपनि पत्रकार महिलाको संख्यात्मक वृद्वि र क्षमता अभिवृद्धिमा व्यापक रूपमा सुधार भइसकेको छ । सस्थाले आफ्नो करिब अडाई दशक बीचमा देशव्यापी रूपमा हजारौंं पत्रकार महिलाहरू उत्पादन गरिसकेको छ ।
अहिले पत्रकार महिला बिट वाईज पनि सबै तह र तप्कामा सयौं कार्यरत हुनुहुन्छ । तर, यति हुँदाहुँदै पनि सञ्चारगृहभित्र उहाँहरूले भोग्नु परेको समस्या र चुनौती अनेकौं छन् । आज पनि देशका गनिएको सञ्चारगृहरूले महिलाको क्षमतालाई विश्वास गरेका छैनन् । जसले गर्दा पत्रकार महिलाहरू सस्थागत नेपोटिजनको मारमा परिरहनु भएको छ ।

सञ्चारिका समूहले पत्रकार महिलाका विषयमा कसरी काम गर्दैछ ?
हामी सरकार र दातृ सस्था र नेपालकै पनि एनजीओहरूसँग मिलेर काम गर्छौं । २०४९ सालमा स्थापना भएको यो सस्था सबै पत्रकार महिलाको साझा संस्था हो । यो संस्थाले महिला र पत्रकार महिलाको मुद्दालाई मूलप्रवाहीकरण गर्न विशेष पहल गर्दै आउनुको साथै सञ्चारकर्मी पत्रकार महिलाहरूको पेशागत सुरक्षा, संख्यात्मक र गुणात्मक अभिवृद्धि गर्ने देशका सञ्चारगृहहरूको निर्णायक तहहरूमा उपस्थिति बढाउन महिलाको मुद्दालाई सञ्चार माध्यममार्फत् मूलप्रवाहीकरण गर्न, निरन्तर तालिम, अन्तरक्रिया र पैरवी गर्दै आएको छ । केन्द्र, प्रदेश, जिल्ला संरचनामा रहेर काम गर्दै आएको यस संस्थामा देशभरका छापा, रेडियो, टिभी र अनलाइनमा कार्यरत पत्रकार महिलाहरू आवद्व हुनु हुन्छ । पत्रकार महिलाहरूले देशको जुनसुकै परिस्थीति र परिवर्तनको समयमा सञ्चार माध्यमबाट समानता, मानव अधिकार, प्रेस स्वातत्रता यो सस्थाको मूख्य उद्देश्य हो ।

नेपालमा छापा माध्यमको अवस्था कस्तो देख्नुभएको छ ?
भूकम्प र कोरनाको कारण देश आर्थिक मन्दीबाट गुज्रिरहेको छ । यसको प्रतक्ष असर सञ्चार क्षेत्र र सञ्चारगृह सबैमा परेको छ । ठुला मिडिया हाउसहरूले आफ्ना पत्रकारलाई तलब खुवाउन नसकिरहेको अवस्था छ भने अर्को मुख्य चुनौती भनेको प्रविधिको विकास सहज पहुँचको कारण अवसर र चुनौती दुवै समानान्तर रूपमा थपिएको छ । प्रविधिको विकाससँगै पत्रकार महिलाहरूले आफूलाई पनि त्यतातर्फ ढाल्नुपर्ने अवस्था छ । हामीले हाम्रो पछिल्ला तालिमहरू त्यतातर्फ मोडिसकेका छौं । फेसबुक र युनेस्को नेपालसँगको सहकार्यमा पहिलोपल्ट नेपालमा सञ्चारिका समूहले तालिम गरेको थियो एक वर्षअघि । अवसर कमी छ तर साथीहरू धेरै हुनुहुन्छ तर देशव्यापी रूपमा हेर्ने हो पत्रकार महिला मात्र नभएर सयौंको सङ्ख्यामा पुरुष पत्रकारहरूले पनि कुनै न कुनै रूपमा सञ्चारिकासँग सहकार्य गर्नुभएको छ ।

हिजोको र आजको पत्रकारिताको अवस्था र पत्रकार महिलाहरूको स्थान कस्तो छ ?
धेरै परिवर्तन आइसकेको छ । सस्था स्थापना हुँदा अत्यन्त कम हुनुहुन्थ्यो त्यो संख्या हजारौंमा पुगेको छ । महत्वपूर्ण बिटहरू सम्हाली रहनु भएको छ । तर, संरचनागत विभेदको कारण पत्रकार महिलाहरूले उपयुक्त स्थान पाएका छैनन् । एउटै हाउसमा पनि आफूभन्दा निकै पछि आएका पुरुष पत्रकार सम्पादक भइसक्दा पत्रकार महिलामाथि विभेद भइरहेको छ । समस्या महिलाले काम गर्न नसकेर होइन यो देशको पितृसत्तात्मक सामाजिक सांस्कृतिक र परम्परागत संरचना हो ।

पत्रकारका महिलाको स्थान सुरक्षित र मर्यादित बनाउन राज्यले के गर्नुपर्छ ?
क्षमतावान पत्रकार महिलालाई अवसर दिनुपर्छ यसका लागि सञ्चार मन्त्रालय मिडिया हाउसहरू लगानीकर्ता र जिम्मेवार निकाय र व्यक्तित्वहरूले सकारात्मक पहल गर्न जरुरी छ ।

सञ्चारिका समूहले पत्रकार महिलाहरूका हकहित र अधिकारका क्षेत्रमा के कस्ता कामहरू गर्दै आएको छ ?
हामीले महिला र पत्रकार महिलाको मुद्दालाई सञ्चार माध्यममार्फत् निरन्तर रूपमा बहस पैरवी गरिरहेका छौं । स्थापित र आउँदै गरेका महिला पत्रकारका निम्ति निरन्तर रूपमा तालिम अन्तरक्रिया फेलोसिपहरू उपलब्ध गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्