प्रजातन्त्र पुनस्र्थापना पश्चात् नेपाली पत्रकारितामा नयाँ आयाम थपिएसँगै सञ्चारमा निजी लगानी पनि बढ्दै गयो । फलस्वरूप यसले उद्योगको रूप ग्रहण ग¥यो । मिसन पत्रकारिताबाट क्रमशः व्यावसायिक पत्रकारितामा रूपान्तरण हुँदै गर्दा साठीको दशकमा भएको राजनीतिक परिवर्तनपछि नेपाली पत्रकारिताको शैली र स्वरूप पनि परिवर्तन भएको छ ।
विश्वव्यापी रूपमा सूचना प्रविधिका क्षेत्रमा भएको विकासले नेपाली पत्रकारितालाई पनि ढपक्कै ढाकेको छ । छापा पत्रकारिताबाट रेडियो, टिभी हुँदै अहिले डिजिटल प्लेट फर्ममा सञ्चारकर्मीसहित पाठक तथा दर्शक, स्रोता अभ्यस्त भइरहेको स्थिति छ । राजनीतिक परिवर्तनसँगै नेपालको पत्रकारिताले पनि मुल विषय राजनीतिलाई मात्र नबनाएर अन्य विषयलाई प्रमुखता दिने क्रम जारी छ । राजनीतिभन्दा फरक विषय प्रधान सञ्चार माध्यमहरू पनि खुल्न पुगे ।
अर्थ, मनोरञ्जन, साहित्य, खेलकुद, स्वास्थ्य, शिक्षालगायतका विषय प्रधान सञ्चार माध्यमहरू खुल्ने क्रम अहिले पनि जारी छ । पछिल्लो एक दशकमा नेपालमा विषय प्रधान पत्रकारिताको विकास तीव्र गतिमा हुँदै गएको पाइन्छ । पुराना सञ्चार गृहहरू पनि बजारमा आफूलाई जोगाइराख्न विषय प्रधानका समाचारलाई प्राथमिकता दिने गरेका छन् । यद्यपि, ठूला सञ्चार गृहमा अझै पनि राजनीतिक विषयले अन्य विषयलाई ‘डोमिनेट’ गर्दै आएको छ ।
हिजोआज विशेषगरी आर्थिक विषयवस्तु सबै सञ्चार माध्यमको प्राथमिकतामा पर्ने गरेको छ । हरेक सञ्चार माध्यममा आर्थिक समाचारलाई प्राथमिकता दिइन्छ । हरेक नीतिको मूल नीति राजनीति मानिन्छ । तर, त्यो नीतिलाई कार्यान्वयन गर्नका निम्ति आर्थिक नीतिको पनि महत्वपूर्ण भूमिका रहन्छ ।
नेपालमा पनि राजनीतिक परिवर्तनको एउटा चरण पूरा भएको छ । त्यसैले अबको मुद्दा आर्थिक परिवर्तन गर्नुपर्ने खाँचो महशुस गरिएकाले आर्थिक विषयलाई प्राथमिकता दिने क्रममा आर्थिक पत्रकारिता फस्टाएको हुनसक्छ । तर, आर्थिक पत्रकारिताले आफ्नो मर्म र धर्म निर्वाह नगरेको पाइन्छ ।
पछिल्लो केही वर्षयता आर्थिक समाचार भनेको विभिन्न कम्पनी तथा कर्पोरेट हाउसको ‘प्रेस रिलिज’ हो भन्ने भाष्य सिर्जना भएको छ । पत्रपत्रिकाका पृष्ठ हुन् वा रेडियो टेलिभिजनका बुलेटिनमा अर्थतन्त्रका अन्य विषयले भन्दा कम्पनीका प्रेस रिलिजले प्राथमिकता पाउँदै आएका छन् । गहिरिएर हेर्ने हो भने सञ्चार माध्यमका आर्थिक समाचारमा सम्पादकको निर्देशनभन्दा बजार प्रबन्धकहरू हस्तक्षेप बढी हुने गरेको पाइन्छ । बजार प्रबन्धकको सिफारिसमा संवाददाताले समाचार तयार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
अर्थतन्त्रका नीतिगत विषय, कर, राजस्वमा भएका निर्णयलगायत अर्थतन्त्रका विभिन्न परिदृश्यलाई एउटा पत्रकारले समाचारको माध्यमबाट समाजलाई सुसूचित गर्नेपर्ने हो । तर, एउटा अमुक कम्पनीको उत्पादनको बजार प्रवद्र्धन गर्नुपर्ने बाध्यता उसलाई छ । यसैमा पत्रकार, सञ्चार गृह रमाउँदै आएका छन् । सम्पादकहरू बजार प्रबन्धकका अगाडि निरीह भनौं या कठपुतली भएका छन् ।
एउटा पत्रकार र बजार प्रबन्धकबीचका भिन्नता छुट्टिन सकेको छैन । कर्पोरेट कम्पनीहरूले आफ्नो कम्पनी र उत्पादनको बजार प्रवद्र्धन गर्नका निम्ति सञ्चारकर्मीलाई बलियो अस्त्रका रूपमा प्रयोग गरेको देखिन्छ ।उदाहरणका लागि कुनै एउटा अमुक कम्पनीले आफ्नो नयाँ उत्पादन वा बजार प्रवद्र्धनका निम्ति कुनै ‘स्किम’ ल्याउँछ । त्यसका निम्ति केहीले होटलमा पत्रकार सम्मेलन आयोजना गर्दछन् । केहीले त्यो पनि गर्दैनन् । अझ पत्रकार सम्मेलनसँगै डिलर मिटको पनि आयोजना हुन्छ । त्यस्ता कार्यक्रममा सहभागी हुनका निम्ति सम्पादकको निर्देशन र मार्केटिङको दबाब रोचक हुने गर्छ ।
समाचार नै नबन्ने तथा बनिहाले पनि सानो समाचार संकलनका लागि सञ्चार माध्यमहरूले आफ्नो ठूलो ‘रिर्साेस’ प्रयोग गरिरहेको पाइन्छ । अझै रोचक कुरा त के हुने गर्छ भने त्यस्ता कार्यक्रममा सम्पादन शाखाका मानिसभन्दा मार्केटिङका मानिसको उपस्थिति बाक्लो हुनेगर्छ ।
कुनै कम्पनीको सामान्य कार्यक्रममा सञ्चार माध्यमको असामान्य उपस्थितिले नेपालको सञ्चार जगत्लाई कर्पोरेट हाउसहरूले कसरी ‘म्यानुुप्लेट’ गरिरहेका छन् भन्ने एउटा उदाहरण मात्रै हो ।
त्यस्तै, कुनै कम्पनी वा वित्तीय संस्थाले कुनै संघसंस्थालाई ‘कर्पोरेट सोसल रेस्पोन्सबिलिटी’ (सीएसआर)अन्तर्गत एक लाख रुपियाँ सहयोग गर्छ । त्यसको प्रेस रिलिज छापा, अनलाइन, रेडियो टिभीमा गरी एक सयवटा भन्दा बढीमा आउँछ । सञ्चार गृहका मार्केटिङका कर्मचारीले भोलि आफूलाई विज्ञापन माग्न जान सजिलो हुन्छ, यो रिलिज प्रकाशित हुनै प¥यो । मेरो एग्रिमेन्ट हुनै लागेको छ । वा यतिको एग्रिमेट भएको छ भन्दै सम्पादन शाखामा दबाब दिन पुग्छन् ।
उक्त कम्पनीबाट त्यो सञ्चार गृहले कति विज्ञापन पाउँछ त्यो निश्चित छैन । तर, विज्ञापन पाउने आशामा सीईओको जन्मदिनदेखि, रक्तदान, वृक्षारोपण, जेष्ठ नागरिकलाई भोजन, फुटसल, रङ्गोली मनाएका समाचारहरू वर्षैभरी प्रकाशन प्रसारण हुन्छ । कुनै संस्थाले भूकम्पपीडित वा त्यस्तै कुनै विपत्तिमा ५० लाख रुपियाँ सहयोग ग¥यो, विद्यालय, अस्पताल वा मानव सेवाको कुनै रचनात्मक कार्य गरेमा प्रोत्साहनस्वरूप समाचार छाप्दा ठिकै होला । तर, बकम्फुसे कार्यक्रमका समाचार लेख्नु र छाप्दाचाहिँ सञ्चारकर्मीलाई हिनताबोध हुने गर्छ ।
यी त देखिने गरी कर्पोरेट हाउसका मार्केटिङले मिडिया हाउसका मार्केटिङमार्फत् गर्ने ‘मिडिया म्यानुप्लेट’ हुन् । त्यसबाहेक कर्पोरेट हाउसहरूले प्रतिस्पर्धीलाई सिध्याउनका निम्ति सञ्चार माध्यममा मिथ्या सूचनाको प्रवाह गराउन भरपूर प्रयोग हुन्छ । ‘कर्पोरेट गेम प्लान’को पहिलो अस्त्रका रूपमा मिडिया प्रयोग हुन्छ ।
कुनै कम्पनीको उत्पादनलाई बजारीकरण गर्न जसरी मिडियाको प्रयोग हुँदै आएको छ । त्यसैगरी, बजार बिर्गानका निम्ति पनि मिडियाको प्रयोग हुँदै आएको छ ।हुन त कर्पोरेट हाउसहरूले मिथ्या सूचना प्रवाह गराउने तथा आफू अनुकुलका सूचना चुहावट गराउने विश्वभरि नै छ । तर, तुलनात्मक रूपमा नेपालमा बढी देखिन्छ । एउटा सञ्चार माध्यममा कुनै समाचार आयो भने त्यसको प्रतिउत्तर अर्को सञ्चार माध्यममा आउँछ । यदि, समाचार गलत हो भने सोही सञ्चार माध्यममा खण्डन छपाउनुको साटो त्यसको काउन्टरमा अर्को सञ्चार माध्यममा हुने गर्छ । यसले सिंगो पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न सिर्जना गराउँछ । पाठक, दर्शक तथा स्रोतामा अन्योलता बढाएको छ ।
अर्कोतर्फ कुनै व्यक्ति वा कम्पनीलाई धरासयी बनाउनका निम्ति सञ्चार माध्यमहरूले पनि अदृश्य समूह निर्माण गरेका छन् । झुण्ड–झुण्डमा रहेका त्यस्ता समूहले समाजमा भ्रम सिर्जना गर्न भूमिका खेलिरहेका छन् । एउटै विषयमा कतै समर्थन कतै विरोधका समाचार आउँदा सर्वसाधारणमा अन्योलता सिर्जना भइरहेको स्थिति छ । साथसाथै, सञ्चार माध्यम र सञ्चारकर्मीको विश्वसनीयता पनि गुम्दै गएको तितो यथार्थ नेपाली पत्रकारिता हो । हुन कुनै घटनालाई विश्लेषण गर्ने व्यक्तिको आ–आफ्नो दृष्टिकोणमा भरपर्छ । तर, तथ्य र तथ्याङ्कलाई तोडमोड गरिनुचाहिँ नेपाली पत्रकारिताको गलत बाटो हो ।
विज्ञापन, मिडिया हाउसको आम्दानीको मुख्य स्रोत हो । विज्ञापनको माग गर्नु मिडिया हाउसको दायित्व हो भने विज्ञापन दिनु नदिनु कर्पोरेट हाउसको अधिकार हो । तर, विज्ञापनको प्रलोभनमा गरिने गैरव्यावसायिक हर्कतले सिगो सञ्चार उद्योग र कर्पोरेट जगत् दुवै बद्नाम हुँदै गएका छन् ।पछिल्लो आर्थिक मन्दीले नेपालको सञ्चार उद्योग संकटमा त परेको छ नै त्यो संकटबाट पार पाउन गरिएका गैरव्यावसायिक हर्कतले बद्नाम पनि हुँदै गएका छन् । स्थापित र ठूला सञ्चार गृहले समेत गैरव्यावसायिक हर्कत गर्दा नेपालको सञ्चार उद्योग धराशायी हुने खतरामा पुगेको छ ।
समस्या र समाधान
सञ्चार उद्योगमा कर्पोरेट हाउसद्वारा ‘म्यानुप्लेट’ गर्ने नेपालमा मात्रै होइन । यस्तो समस्या विश्वव्यापी रूपमा रहेको माथि उल्लेख भइसकेको छ । फरक यति हो कतै खुलेयाम त कतै गोप्य हुन्छ । नेपालमा चाहिँ खुलेयाम हुँदै आएको छ । सञ्चार गृह र व्यावसायिक समूहबीच व्यावसायिक सम्बन्ध हुनुपर्ने हो । तर, नेपालमा व्यावसायिकभन्दा व्यक्तिगत सम्बन्ध हुँदा एक–अर्कालाई प्रयोग गर्न सहज भएको पाइन्छ ।
व्यावसायिक घरानाले सञ्चार माध्यमलाई प्रयोग गर्नुको मुख्य कारण कमजोर धरातलमा सञ्चार गृह स्थापना हुनु नै हो । बजारको अध्ययन र स्रोेतको सुनिश्चितताबिना लहडमा सञ्चार माध्यम खुल्दा छोटो समयमा नै संकट उत्पन्न हुने गरेको छ । संकटमा परेपछि पार पाउन कसैसँग सम्झौता गर्नुपर्ने बाध्यता सञ्चार गृह सञ्चालकहरूसँग रहेको छ ।
यथार्थमा भन्ने हो भने नेपालको विज्ञापन बजारले धान्न सक्नेभन्दा धेरै संख्या सञ्चार माध्यम हुनु नै समस्याको मुल जड हो । नेपालको विज्ञापन बजारको आकारबारे कुनै औपचारिक अध्ययन त छैन । यद्यपि, साढे ५ सय करोड रुपियाँको हाराहारीमा नेपालमा विज्ञापन बजार रहेको अनुमानित आँकडा छ । उक्त आँकडाले विद्यमान सञ्चार माध्यमलाई ‘सर्भाइभ’ गर्न पर्याप्त छैन । त्यसमध्ये करिब ४० प्रतिशत सरकारी विज्ञापन हुनसक्छ । सरकारी विज्ञापनमा चरम अनियमितता रहेकाले सञ्चार गृह मर्कामा पर्दै आएका छन् । निजी क्षेत्रको विज्ञापन व्यवसाय प्रवद्र्धनका निम्तिभन्दा पनि अनुदानमा खर्च गर्नुपर्ने सोच छ ।
नेपालका आम सञ्चार माध्यमको अवस्था हेर्दा अधिकांश नोक्सानमा रहेको देखिन्छ । केही स्वभाविकरूपमा नोक्सान छन् भने केहीले नोक्सानमा रहेको बहाना गर्छन् । स्पष्ट व्यावसायिक खाकाबिना खुलेका सञ्चार माध्यमले व्यावसायिक चरित्र प्रदर्शन नगर्दा समस्या उत्पन्न भएको हो । वैज्ञानिक तथ्यका आधारमा प्रतिरोधात्मक क्षमता कमजोर हुँदा संक्रमण बढ्छ । नेपालका सञ्चार माध्यमको प्रतिरोधात्मक क्षमता भनेकै आर्थिक मजबुती हो । आर्थिक रूपमा सबल नभएको स्थितिमा प्रयोग गर्न सहज हुन्छ । मुख्यकुरा मिडिया सञ्चालकहरूले स्पष्ट मिडिया प्लान बनाएर लगानी गर्न तयार हुनुपर्छ । कम्तिमा पनि मिडिया सञ्चालकहरूसँग खर्च कति हुन्छ र आय कति गर्न सकिन्छ भन्ने ज्ञान हुनैपर्छ । अनि मात्रै व्यावसायिक पत्रकारिता फस्टाउँछ अन्यथा व्यापारिक पत्रकारिता मात्रै हुन्छ ।
प्रतिक्रिया