जाजरकोट भूकम्प

चिसोका कारण एक बालिकाको मृत्यु

त्रिपालमुनिको बसाइले अधिकांशमा स्वास्थ्य समस्या



जाजरकोट।

जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । कुशे गाउँपालिका–१ स्याङ्ग्रीस्थित सुनित बादीकी तीन वर्षीया छोरी रक्षा बादीको चिसोका कारण बुधबार मृत्यु भएको हो।

भूकम्पपीडित बालिका बिरामी परेपछि स्थानीय स्वास्थ्य संस्थामा चेकजाँच गर्दा निमोनिया भएकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा बाटोमै बालिकाको मृत्यु भएको कुशे गाउँपालिका–१ का वडा अध्यक्ष नरबहादुर सिंहले बताउनुभयो । वडा अध्यक्ष सिंहले त्रिपालमुनिको बसाइ तथा शीत र चिसो छल्ने न्यानो कपडा पर्याप्त नहँुदा खुला जमिनको चिसोले अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने, पखाला, रुघाखोकी, निमोनियाको लक्षण देखिएको बताउनुभयो ।

भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका पीडितहरू न्यानो कपडा, त्रिपालमुनिको बसाइ, अत्यधिक चिसो सिरेटो, लेकाली भेगका बालबालिका, सुत्केरी, गर्भवती, दीर्घरोगी समस्यामा परेका छन् । जाजरकोटमा भूकम्पपछि दीर्घरोगी, बालबालिका सुत्केरी गरी १८ जनाको मृत्यु भइसकेको छ ।

रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ स्केलको भुइँचालोमा परी रूकुम पश्चिम र जाजरकोटमा १ सय ५३ जनको मृत्यु भएको थियो भने ३ सय ४३ जना घाइते भएका थिए । नागरिकको अर्बांै बराबरको धनसम्पत्ति ध्वस्त भएको छ । भूकम्पले २६ हजार ५ सय ५७ घर पूर्णरूपमा, ३५ हजार ४ सय ५५ घर आंशिक क्षति भएका छन् ।

स्थानीय तहले क्षतिको विवरणको संकलनमा ढिलाइ गरेकाले वास्तविक क्षति आउन सकेको छैन । भेरी नगरपालिका–४ का वडाअध्यक्ष वसन्तप्रसाद शर्माले गाउँबस्तीमा भूकम्पले गरेको क्षतिको विवरण संकलनका लागि कर्मचारी स्वयम्सेवक परिचालन गरिएको छ, भौगोलिक विकटता, छरिएको बस्ती भएकाले तथ्याङ्क संकलनमा ढिलाइ भएकाले क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेकाले एक दुई दिनमै जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

भेरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख खेम पुनले गाउँबस्तीमा भूकम्पपछि खुला जमिनमा त्रिपालमुनि बस्न बाध्य अधिकांशमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य शाखाले पर्याप्त मात्रामा औषधि पठाएको बताउनुभयो । भूकम्पले गरिब, दलित, सुत्केरी, गर्भवती, बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । नलगाड नगरपालिका–८ का लोकेन्द्र केसीले चिसो बढ्दै गएको, त्रिपालमुनिको बसाइका कारण नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको बताउनुभयो ।

सरकारले न्यानो गरी बस्ने व्यवस्था मिलाउन अस्थायी टहराका लागि व्यवस्थापन नगर्दा रातमा चिसो दिनमा सूर्यको प्रकाशमा बस्न बाध्य छन् । चिसो हुने महिना आउँदै छ आकाशमा बादल लागेपछि प्रभावित क्षेत्रका नागरिक चिसोले बाँच्न सकिँदैन भन्नेबाहेक अन्य विकल्प छैन । उहाँले तत्काल चिसो छल्ने अस्थायी टहरा निर्माण गरी नागरिकलाई सुरक्षित राख्न आग्रह गर्नुभयो ।

भूकम्प अगाडि पनि प्रशस्त न्यानो लत्ता कपडा नपाउने गरिब विपन्न दलित वर्गका घरपरिवार घरभित्र आगो तापेर बस्ने गरेका उनीहरू हिजोआज खुला जमिनमा बस्ने बाध्य भएका छन् । सरकारका निकायले अस्थायी टहराका लागि दिने भनेको ५० हजार रुपियाँ ढिलासुस्ती गरेपछि नागरिकले कष्टपूर्ण जीवन बिताउनुपरको हो ।

प्रतिक्रिया दिनुहोस्