पत्रकारिता र कामना न्यूज पब्लिकेसन



टंक पन्त

नेपाली पत्रकारिता क्षेत्रको एक अग्रणी संस्था कामना पब्लिकेसनले एउटा इतिहास कायम गरेको छ यो इतिहास रच्न कामना पब्लिकेसनले निकै हण्डर र ठक्कर पनि खाएको छ । विभिन्न हण्डर ठक्कर खादै आज कामना पब्लिकेसन र त्यसअन्तर्गत सञ्चालित कामना फिल्म म्यागेजिन, हेल्थ मासिक साधना र राष्ट्रिय दैनिक नेपाल समाचारपत्र आफैमा पत्रकारिताका पर्याय बनेका छन् ।

यसर्थ, त्यो संस्थाको दुई दशक लामो समय परिवारको सदस्यको हैसियतले म आफुृलाई पनि भाग्यमानी सम्झेको छु । अहिले पनि त्यो संस्थाको परिवारकै सदस्य भन्न मन लाग्छ र त्यसमा गौरव गर्दछु । यो अवसरमा पब्लिकेसन परिवार र त्यसको नेतृत्वलाई बधाईसहित सम्मान व्यक्त गर्दछु र आगामी दिनमा थप सफलताको शुभकामना पनि ब्यक्त गर्दछु । त्यो संस्थामा आबद्ध कसरी भएँ र त्यसअघि पत्रकारिता कहाँबाट शुरु गरेको थिएँ भन्ने कुरा थोरै पनि नकोट्याउँदा अपूरो हुन सक्छ ।

पत्रकारिता अध्ययन गर्ने क्रममा मैले गोविन्द वियोगी, मणिराज उपाध्याय, मदनमणि दीक्षित, गोपालदासश्रेष्ठको नाम राम्ररी नै सुनेको थिए । सुन्ने मात्र होइन पत्रकारिता अध्ययन गर्दा ती नाम थाहा नपाई नहुने थियो । जब मैले रत्नराज्य क्याम्पसमा अध्ययन गर्दै थिए सयोग वा भाग्यमानी भन्नुपर्छ पत्रकारिता गर्ने पहिलो सस्था समाज दैनिक हुन पुग्यो भने दोस्रो सस्था हुन पुग्यो मातृभूमि साप्ताहिक । समाज दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार मणिराज उपाध्याय र मातृभुमि साप्ताहिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार गोविन्द वियोगी हुुनुहुन्थ्यो ।

पत्रकारिता क्षेत्रका हस्ती अर्थात् पत्रकारिताका सतीशाल नै भन्दा पनि हुने वरिष्ठ व्यक्तित्वका नजिक रहेर पत्रकारिता प्रारम्भ गर्ने अवसर पाएकै कारण भन्नुपर्छ पत्रकारिता क्षेत्रमा आज म यहा छु । ३० वर्ष अगाडि समाज दैनिकमा सर्व प्रथम प्रुफरिडिङ्घबाट काम शुरु गर्दा पत्रकार भइएला कि नभइएला भन्ने लाग्थ्यो । जब मणिराज उपाध्यायसँग नजिक रहेर काम गर्दे जांँदा दुई तीन वर्षमा नै पत्रकार हुने पक्कापक्की भएको थियो । मणिबाबु (पत्रकारितामा मणिराज उपाध्यायलाई मणिबाबु भनेर सम्बोधन गर्ने गरिन्छ )ले टंकजी तपाईंले अलिक मेहनत गर्नुस् तपार्इं प्रतिष्ठित पत्रकार भएरै छाड्नुहुन्छ भन्नुभएको थियो ।

जब दैनिक समाज बन्द भयो अनि समाचारपत्रका प्रधानसम्पादकक पुष्करलाल श्रेष्ठले मणिबाबुलाई फोन गरेर तपाईंकोमा काम गरेको राम्रो मान्छे हुनुहुन्छ भने पठाइदिनुस् मैले दैनिक अखबार निकाल्ने भएँ भन्नुभएछ अनि मणि बाबुले टंकजी हुन सक्नुहुन्छ उहाँ इमान्दार र मेहनती हुनुहुन्छ उहाँलाई सोध्छु गर्ने हुनुभयो भने तपाईंकोमा पठाइदिन्छु भन्नुभएछ अनि मणिबाबुले मलाई सोही डिल्लीबजार बाटुलेघर पछाडि रहेको आफ्नै घरमा बोलाएर पुस २७ बाट राष्ट्रिय दैनिक निस्किँदै रहेछ तपाईं जान चाहनुहुन्छ भने जानुस्पुष्करजीसँग कुरा भएको थियो भन्नुभयो । अनि पत्रिका प्रकाशनको दुई दिनअघि आजको समाचारपत्र(पछि नेपाल समाचारपत्र)का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई भेटेँ । उहाँले असाध्यै सकारात्मक रूपमा लिनुभयो । अनि सोही दिन देखि नै मैले काम गर्न थाले ।

०५२ साल पुस २७ गतेबाट प्रकाशनमा आएको राष्ट्रिय दैनिक अखबार नेपाल समाचारपत्र (त्यतिखेर आजको समाचारपत्र नाम थियो) प्रकाशनको शुरुमै जाने अबसर पनि मणिबाबुबाटै पाएको हुँ भने समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले शुरुमै महत्वपूर्ण जिम्मेबारी बिना हिच्किचाहट सहसम्पादक पदसहित संसद् र राजनीति हेर्ने गरी दिनुभयो ।

त्यो महत्वपूर्ण जिम्मेवारी पाएकोले समाचारपत्रमा पनि धेरै रिपोर्टिङ्घका समाचार मेन न्युज नै बने । नेपाल समाचारपत्रमा काम गर्न थालेको केही समय पछि साप्ताहिक रूपमा आर्टिकल पनि लेख्न थालेँ । विचार पृष्ठमा प्रकाशित पहिलो आर्टिकलमा मैले कसरी पत्रकारिता प्रारंभ गरे र कहाँबाट प्रेरित भए भन्ने कुरा सविस्तार पस्किएको थिएँ । जुन आर्टिकलमा मैले गोविन्द वियोगी, मणिराज उपाध्याय र पत्रकारिताका शुरुका सहकर्मीको योगदानबारे चर्चा गरेको थिएँ ।

दुई दशकभन्दा बढी समय नेपाल समाचारपत्रमा काम गर्दा कहिल्यै पनि कसैसँग पनि नराम्रो भएन किनकि कामना पब्लिकेसनमा काम गर्ने वातावरण अत्यन्त सौहाद्र्रपुर्ण थियो र अहिले पनि मलाई लाग्छ त्यो सौहार्दतामा कमी आएको छैन । मैले जति इमान्दार भएर काम गर्दे गए त्यत्तिकै रूपमा प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले गर्नुभएको माया र प्रेरणा अविस्मरणीय रहेको छ जसले गर्दा पत्रकारितामा म स्थापित पनि भएँ ।

त्यसैले, म स्थापित हुनमा प्रमुख भुमिका नेपाल समाचारपत्र दैनिक र सो पत्रिकाका प्रधानसम्पादक वरिष्ठ पत्रकार आदरणीय श्रेष्ठको रहेको छ त्यसैले उहाँलाई सम्झिन्छु र सम्मान गर्छु । राजनीतिक रिपोर्टिङको जिम्मेवारी भए पनि लैगिक समानता, सामाजिक न्याय, मानब अधिकार, महिला पुरुषबीच हुनुपर्ने समानअधिकार जस्ता विषयमा निरन्तर कलम चलाइरहेँत्यसैले पनि पत्रकारिता जगतमा मात्र होइन मलाई जान्ने हरेक क्षेत्रका विद्वानहरू र अधिकारकर्मीहरूले महिला पत्रकार पनि भन्ने गर्थें । पत्रकारितामा अहिलेसम्म क्रियाशील भैरहंँदा सबैभन्दा बढी इज्जत र प्रतिष्ठा कमाइयो जसलाई मैले सबैभन्दा ठूलो सम्पत्तिको रूपमा लिएको छु ।

मैले पत्रकारिता गर्दा खुराफाती दिमाग लगाउने कुरा कहिल्यै पनि सोचिनँ र स्वच्छ र निष्पक्षताका साथ ब्यालेन्स गर्ने कुरालाई धर्मको रूपमा लिएँ र लिइरहेको छु । पत्रकारिता अध्ययन गर्दा आर आर क्याम्पसमा प्रा। लालदेउसा राईले दिनुभएका सैद्धान्तिक ज्ञान र अग्रज पत्रकारले दिनुभएका व्यवहारिक ज्ञानलाई सधैं शिरोधार्य गर्ने काम गरे भन्ने मेरो दाबी छ । पत्रकारिता अध्ययन गर्नेहरूले नै विभिन्न लामो समयदेखि क्रियाशील पत्रकारहरूका बारेमा लेख्ने गरेका मध्ये मेरा सन्दर्भमा पनि कहिलेकाहीँअन्य पत्रिकामा प्रकाशित प्रसारित फिचर आर्टिकलले पनि मेरो बुझाइ र दाबीलाईसही सावित गरेको छ ।यसको श्रेय पनि अग्रज पत्रकार प्रति नै जान्छ र सबैभन्दा बढी श्रेय आदरणीय पुष्करलाल श्रेष्ठज्यूमा नै जान्छ ।

हुन त, वरिष्ठ पत्रकार गोपालदास श्रेष्ठ प्रधानसम्पादक रहनुभएको प्रजातन्त्र साप्ताहिकमा पनि मैले केही समय काम गरेँ । प्रत्येक बिहीबार प्रकाशित हुने सो पत्रिकाको प्रधानसम्पादक गोपालदासश्रेष्ठ भए पनि उहाँसँग नजिक रहेर पत्रकारिता भने गरिएन भन्दा पनि हुन्छ । दरबारमार्गमा सो साप्ताहिकको कार्यालय थियो, त्यहाँश्रेष्ठ त्यति आउनुहुन्थेन । पत्रिकाको व्यवस्थापकीय सम्पादन सयोजन राजेन्द्रबहादुर श्रेष्ठसहित तीन जनाले गर्नुहुन्थ्यो भने समाचारको संयोजन गुणराज लँुइटेल स्मित ले गर्नुहुन्थ्यो । मित्र लुइटेल हाल अमेरिकामा सरकारी तहकै सम्मानित अधिकारी हुनुहन्छ । ०५२ सम्म समाज दैनिक, मातृभुमि साप्ताहिक , प्रजातन्त्र साप्ताहिकमा समय मिलाएर काम गर्ने अवसर मिल्यो । समाचारपत्रमा राति २ बजेसम्म पनि काम गरिन्थ्यो । त्यसको केही समय पछिको दुई दशकभन्दा बढी समय पूर्ण रूपमा समाचारपत्रमा नै बित्यो ।

कामना म्यागेजिन, साधना, महानगर दैनिक हुंदै राष्ट्रिय दैनिक नेपाल समाचारपत्र एक ताका सबैभन्दा बढी बिक्री हुने पत्रिका थियो । जहाँ लेखिएका सामग्रीले राज्य संयन्त्रलाई गम्भीर बनाउने गथ्र्यो, तर पछिल्लो समय डिजिटल मिडियाले गर्दा प्रिन्ट पत्रकारितालाई छायांमा पार्न खोजेको जस्तो अनुभूति भएको छ । त्यस्तो अनुभुति भएपनि प्रिन्ट पत्रकारिताको आफ्नै महत्व र विशेषता छ । त्यही विशेषतालाई आदरणीय पुष्करलाल श्रेष्ठले समातेर नै अगाडि बढनुभयो । आजको यो विशेष दिनमा वरिष्ठ पत्रकार आदरणीय पुष्करलाल श्रेष्ठज्यूप्रति फेरि पनि श्रद्धासुमनसहित सम्मान अर्पण गर्दछु ।

पत्रकारितामा क्रियाशील हुँदाहुँदै उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँले पत्रकारितामा छोडनुभएको छाप कहिल्यै मेटिन सक्तैन । हामीसँगै काम गरेका मात्र होइन पत्रकारिता गर्ने पछिल्लो पुस्ताका लागि पनि पुष्करलाल श्रेष्ठ प्रेरणाको स्रोत र पत्रकारिताको पुञ्ज हो । समाचारपत्रमा सह सम्पादक, प्रमुख समाचारदाता, समाचार सम्पादक, डेस्क प्रमुख, कार्यकारी सम्पादक हुंदै पछिल्लो समय सम्पादक समेतको जिम्मेवारी निर्वाह गर्दा पुष्करलाल श्रेष्ठ र कामना पब्लिकेसनको सिंगो म्यानेजमेन्टले जसरी मलाई पत्रकारितामा अगाडि बढन सहजीकरण गरयो त्यो मेरा लागि अविस्मरणीय रहेको छ ।

समाचारपत्रको महत्वपुर्ण जिम्मेवारीमा रहेर काम गर्दा आदरणीय दिरेकलाल श्रेष्ठ, कपिल काफ्ले, दीपक रिजाल, किशोर सापकोटा, डा महेन्द्र विष्ट, कुशल गौतम, विनोद ढुंगेल, विदुर गिरी, बद्रि तिवारी, विष्णु शितल, शुभेच्छा बिन्दु, भगवती तिमिल्सिना, रोहिणी घिमिरे, लक्ष्मण अधिकारी, विकास भट्राई, कमल ढकाल, यदु भट्ट, राजु श्रेष्ठ, विमल नेपाल, रामचन्द्र भट्ट लगायतका सहकर्मीहरूले खेलेको भूमिका निकै दरिलो थियो । उहाँहरूलगायत थुप्रै साथीहरू समाचारपत्रका खम्बा हुन् । समाचार महामहाशाखा बाहेक अन्य शाखाका साथीहरूको त्यत्तिकै महत्वपूर्ण भुमिका रहेको छ ।

आदरणीय पुष्करलाल श्रेष्ठज्यूको निधनपश्चात् कतिपय मानिसले समाचारपत्रको भविष्य प्रति आशंका गरेका थिए । तर,बाहिरबाट अध्ययन पूरा गरेर फर्किनासाथ त्यो संस्थालाई नयां ढंगले अगाडि लैजाने गरी कामना पब्लिकेसनमा सक्रिय हुनुभएका पुष्करलाल श्रेष्ठज्यूकै ज्येष्ठ सुपुत्र दिरेकलाल श्रेष्ठले कतिपय मानिसहरूका आशंकालाई मेटाउनु मात्र भएन कि अहिले प्रिन्ट मिडियामा निकै व्यवस्थित र नयाँ स्वरूपमा पत्रिकालाई निरन्तर सञ्चालन गर्देै आउनुभएको छ ।

कामना पब्लिकेसनको नेतृत्वमा रहेर पत्रिकालाई जसरी व्यवस्थित रुपमा कसैलाई गुनासो गर्ने ठाउँ नराखी निरन्तर सञ्चालन गर्नुभएको छ त्यसका लागि उहाँलाई बधाईसहित आजको दिनमा सलाम गर्न चाहन्छु । दुई दशक बढी त्यो पत्रिकाको नेतृत्वदायी भुमिका रहेको र आज पनि आफ्नै भन्न मन लाग्ने नेपाल समाचारपत्रले सुशासन र समृद्धिका लागि अहं र प्रभावकारी भूमिका खेलेको छ । तर पनि कामना पब्लिकेसन अन्तर्गतका कामना, साधना र नेपाल समाचारपत्रलाई थप प्रभावकारी बनाउनुपर्ने खाचो छ ।

पत्रकारिताको जसरी विकास भइरहेको छ त्यो अनुसार पत्रकारिता क्षेत्रव्यवसायिक हुन भने सकेको छैन बिना स्रोत भाइरल हुनका लागि जसले जे लेखे पनि हुने, जे सामग्री प्रसारण गरे पनि हुने भन्ने भएको छ । यो अवस्थामा इमान्दार र व्यावसायिक पत्रकारिता गर्नेलाई सहज छैन, अझ पार्टीका नजिक भएर नेताका वरिपरि घुम्ने पार्टी पत्रकारले गर्दा पनि पत्रकारितामा दाग लाग्ने गरेको छ । यो अवस्थामा प्रिन्ट पत्रकारितालाई जोगाउन त्यति सहज छैन ।

डिजिटल, प्रविधिको बिकाससँगै हामी पनि अगाडि बढ्नुपर्ने आवश्यकतालाई अनुभूति गर्देै हिँड्नुपर्ने खाँचो छ । तर पनि प्रिण्ट पत्रकारिताको आफ्नै महत्व र विशेषता छ त्यसैले, प्रिण्ट पत्रकारितामाथि देखिएको चुनौतीलाई परिवर्तित परिस्थितिअनुसार सामना गर्देै अगाडि बढ्नुको विकल्प छैन । अराजक सोसियल मिडिया त्यसमा पनि कतिपय युट्युबहरूले गर्दा पत्रकारिताको धज्जी उडाउने काम भएको छ ।

यो अवस्थामा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन हामी पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुनेहरूले अहं भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । हामी अरुलाई परिवर्तन गर्न र सुशासनका लागि कलम चलाउनेहरूले आफू कहाँ छौ र के गरिरहेका छौं भन्ने कुरा एकपटक आफैंतिर पनि फर्केर गम्भीर भएर सोच्नुपर्ने छ ।

भ्रष्टाचारको विरोध गर्नेले आफूले के गरिरहेको छु भन्ने कुरा विचार गर्नुपर्ने कि नपर्ने ?यस्ता प्रश्न नागरिकबाट पत्रकार र पत्रकारिता क्षेत्र प्रति हुने गरेका छन् त्यसतर्फ हामीले ध्यान दिने कि नदिने ?समाजमा जति विकृति छन त्योभित्र पत्रकारिता पनि पर्दछ त्यसैले पत्रकारले आफूले आफैँलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ ।
वरिष्ठ पत्रकार पन्त नेपाल समाचार दैनिकका पूर्व सम्पादक हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्