आमसञ्चार माध्यमको वर्गीकरण र पुनःपरिभाषा जरुरी



नेपालमा अहिले रेडियो, टेलिभिजन, छापा र अनलाइन न्युजमात्र नभई फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलाई पनि आमसञ्चारको माध्यमका रूपमा बुझ्नेहरू धेरै छन् । त्यसैले, तीमध्ये कुन कुन आमसञ्चारका माध्यमहरू हुन् ? कुन कुन होइनन् भनेर छुट्ट्याउनु जरुरी छ।यसले गर्दा सर्वसाधारण जनताको बुझाइलाई मध्यनजर गरी नेपालको आम सञ्चार माध्यमहरूको पुनःपरिभाषा गर्नुपर्ने जरुरी छ।

नेपालमा आमसञ्चार माध्यमको प्रारम्भ जसरी गोरखापत्रबाट भयो, गोरखापत्र सरकारी छापा माध्यमका रूपमा आयो।नेपालमा २००७ सालको क्रान्तिपछि रेडियो माध्यम सञ्चालनमा आयो, पछि सरकारी माध्यमको रूपमा लामो समयसम्म रेडियोले विचरण गरेको छ।टेलिभिजन माध्यम पनि पहिले सरकारी माध्यमको रूपमा आयो,जुन बेला नेपाली दर्शकहरूले टेलिभिजनको परिकल्पनासमेत गरेका थिएनन्।भारतमा श्यामश्वेत टिभी हुँदाखेरी नेपालमा रंगीन टेलिभिजनको रूपमा आयो।त्यसपछि प्रविधिको विकाससँगै अनलाइनका माध्यमहरू आए।

अहिले अनलाइनहरूले पनि आफूलाई स्थापित गर्दै लगेको अवस्था हो। त्यसले गर्दा अब नेपाली जनमानसमा वा पाठक, दर्शक र स्रोतामा आम सञ्चारका माध्यमहरू भनेका के हुन्? व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिका माध्यमहरू के के हुन् भनेको दुवै भिन्नता छुट्ट्याउनु जरुरी रहेको छ। कुनै पनि आमसञ्चार माध्यमको खबर भन्नासाथ त्यो खबर बनाउने एउटा इकाई वा त्यसको प्रक्रिया हुन्छ।

एक जना संवाददाताले लिएर आएको रिपोर्ट डेस्कले परिमार्जन गरी सम्प्रेषण गर्ने एउटा प्रक्रिया हुन्छ।त्यस्ता खबरहरू छापाले प्रकाशन गरी, रेडियो र टेलिभिजन प्रसारण गर्ने गर्दछ। तर, अहिले के भइरहेको छ भने टिकटकमा,-फेसबुक- ट्विटर र इन्स्टाग्राममा आएका कुनै सूचना, विचार वा अभिव्यक्तिहरू पढ्दै सुन्दै गर्दा हामीले त्यसलाई पनि आमसञ्चारका माध्यम भनेर बुझिरहेका छौं।ती माध्यमहरूबाट दिएको अभिव्यक्ति मेरो व्यक्तिगत अभिव्यक्ति हो।त्यो सार्वजनिक अभिव्यक्ति होइन।

एउटा घटना खबर बन्नका लागि त्यसका प्रक्रियाहरू हुन्छन्।त्यो खबर कसरी बन्छन् भन्ने कुरो हुन्छ।एक जना रिपोर्टरले खबर लिएर आउँछ।उसले ल्याएको खबरलाई सम्पादकले काँटछाँट गर्दछ, त्यसको विश्वसनीयता हेर्छ, ती सामग्री पत्रकारिताको सिद्धान्तअनुरूप छन् कि छैनन् भनेर जाँच्ने गर्दछ।त्यसपछि त्यो खबर सम्प्रेषणमा जाने गर्दछ।त्यस्तो प्रक्रियाबाट गुज्ररेकोलाई खबर भनिन्छ।त्यो प्रसारण वा प्रकाशन गरिने माध्यमलाई आमसञ्चार माध्यम भनिन्छ।

अहिले विकसित भएका सामाजिक सञ्जाल, टिकटकमा त्यसरी खबर बनाउने प्रक्रिया अपनाएको हँदैन। त्यसरी खबर बनाउने अवस्था छैन।यसले गर्दा त्यसलाई आमसञ्चारका माध्यमका रूपमा बुझ्ने र बुझाउने कार्य सही छैनन्।यसो भनेर अहिलेको विज्ञान प्रविधिको विकाससँगै विकास भएका ती माध्यमको भूमिकालाई न्यूनीकरण गर्न खोेजेको पक्कै होइन।त्यसका पनि आफ्नो ठाउँमा महत्व हुुन्छ।त्यसलाई पनि सही रूपमा प्रयोग गरेर अघि बढ्नुपर्दछ।डिजिटल प्लेटफर्मलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने हुन्छ।अहिले सबै छापा, रेडियो, टेलिभिजनका अनलाइन न्युजहरू छन्।ती माध्यमबाट प्रकाशित र प्रसारण भएका सामग्रीहरू अनलाइन, युट्युबमार्फत् आइरहेका छन्।

यो भनेको आमसञ्चार माध्यमले अहिलेको अभिव्यक्तिका माध्यमहरूको प्रयोग गरेको वा सदुपयोग गरेको रूपमा लिन सकिन्छ।तर, एक जना युट्युबरले एउटा क्यामरा लिएर जसरी युट्बमार्फत् विभिन्न सूचना, विचारहरू सम्प्रेषण गरिरहेको हुन्छ,त्यसलाई पनि खबर र आमसञ्चारको माध्यमका रूपमा बुझिरहेका छौं।त्यसरी प्रसारण भएका सूचनाको न विश्वसनीयता छ, न त्यो सूचनाले कहीँकतै आफूलाई स्थापित गर्न सकेको छ ? भ्रमपूर्ण अभिव्यक्तिहरूलाई पनि खबर र सूचनाका रूपमा ग्रहण गरिरहेका छौं।त्यसका आधारमा जनमत बनाउने कार्य भइरहँदा त्यसले अनेक विकृति विसंगतिहरू जन्माइरहेका छन्।

समाजलाई नराम्ररी विभाजित गर्दै लगेको छ।जसले चर्का रूपमा बोल्छन् त्यसका आवाज ठूलो र सुनिन थालियो।जो बौद्धिक रूपमा छन्, जोसँग तथ्य, तथ्यांक छन्, जो खबर बन्ने र बनाउने प्रक्रिया अपनाएर खबर सम्प्रेषण गरिरहेका छन् त्यसका आवाज नसुनिने वा सानो हँदै गयो।अनि त्यसलाई नै आमसञ्चारको माध्यम भन्दै गयौं।एक जना मानिसले युट्युबको अगाडि बसेर नितान्त प्रवचन दिने, वा दिएका निजी अभिव्यक्तिलाई सामाजिक अभिव्यक्तिको रूपमा लिँदै गयौं।समाजलाई प्रतिविम्बित गर्ने विचारका रूपमा लिँदै गयो।यस्तो अवस्थामा आम सञ्चारमाध्यमबाट आएका आवाजहरू कमजोर बन्दै गएका छन्।

वास्तविक आमसञ्चारका माध्यमको विचार सम्प्रेषणको घेरा खुम्चिँदै गयो।विद्युतीय माध्यमका कारण आमसञ्चार माध्यमको प्रभाव साँघुरिँदै गएपछि तथ्य स्थापित गर्न चुनौती थपिँदै गयो।त्यस्ता माध्यमले हाम्रो समाजलाई परिवेशलाई फरक ढंगले व्याख्या गर्न थाल्यो।यो भनेको आजको चुनौती हो।यसले गर्दा मानिसहरूले अखबारहरूको दिन गयो, अखबारहरू हेर्न नपर्ने भनी भन्न थालेका छन्।विश्वको डिजिटाइजेसनको प्रक्रिया भनेको यस्तो छैन।जबकि, अमेरिकामा अहिले पनि न्यूयोर्कटाइम्सको सर्कुलेसन झन् बढ्दै गएको छ। मानिसको पत्रिका पढ्ने बानी हटेको छैन।त्यहाँ हामी कहाँ जस्तो डिजिटल माध्यमले पत्रपत्रिकाको क्रेज घटाएको छैन।उल्टै बढिरहेको छ।पत्रपत्रिकाको विश्वसनीयता कायमै छ।त्यहाँका आमसञ्चारका माध्यमले विद्युतीय माध्यमलाई अत्यधिक रूपमा प्रयोग गरिरहेको छ।

भारतमा भने छापाको माध्यम बढिरहेको छ।त्यसको उद्योग पनि राम्ररी फस्टाइरहेको छ।यद्यपि, त्यहाँ पनि आमसञ्चारका माध्यमले डिजिटल माध्यमलाई अत्यधिक रूपमा प्रयोग गरिरहेको छ।तैपनि छापा पढ्ने मानिसहरू घटेका छैनन्।यसको अर्थ के हो, छापाको विश्वसनीयता घटेको छैन। त्यहाँ पाठकले खबरको सत्यतथ्य, प्रमाण खोज्छ, भ्रमपूर्ण छ कि छैन भनेर सोच्ने गर्दछ।तर नेपालको परिप्रेक्ष्यमा यस्तो अवस्था पाइँदैन।सामाजिक सञ्जाल, ट्विटर,टिकटक, युट्युबले दिने सूचनाको आधारमा हरेक मानिस भट्किरहेका छन्। भनौं म टिभी सञ्चालक, सबै मानिसहरू टिकटक, इन्स्टाग्राममा झुण्डिरहँदा कहिलेकाँही मेरो टिभी कसैले हेरिरहेको छ कि छैन भनेर प्रश्न गर्न मन लाग्दछ।ट्विटर, युुुट्युबमा प्रतिक्रिया आएनन् भने टिभी हेरेको छैन जस्तो लाग्छ। वास्तवमा त्यस्तो होइन।सामाजिक सञ्जालहरूको व्यापकताले कहिलेकाहीँ यस्तो सोच विचार आउने गरेको छ।

मेरो मुख्य व्यवसाय भनेको खबर बनाएर सम्प्रेषण गर्ने हो।अहिले प्रविधिको विकाससँगै विभिन्न माध्यमहरू विकास हुँदै गए। त्यो माध्यम पनि हामीले प्रयोग गरिराखेका छौं।तर, त्यो प्रमुख माध्यम भने होइन। अहिले हाम्रो समाजमा टिकटकलाई जति धेरै चर्को स्वरमा बोल्यौं,त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको माध्यमका रूपमा लिइरहेका हुन्छौं।अहिले टिकटकलाई सरकारले प्रतिबन्ध लगाएको छ। टिकटकमा देखिने, आउने ८० प्रतिशत कन्टेट अश्लिल छन्, गालीगलौज गरिहेका छन् अश्लिल तरिकाले नाचिरहेका छन्, चर्काे स्वरमा बोलिरहेका छन् ।

गलत सूचना सम्प्रेषण गरिरहेका छन्।तथ्य तोडमोड गरेर भ्रम फैलाइरहेका छन्।त्यसमा आएका २० प्रतिशत सूचना र अभिव्यक्ति मात्र काम लाग्ने देखिन्छन्। त्यो सूचनाको आधिकारिकता, सत्यतथ्य खोज्नुपर्ने हुन्छ।त्यसलाई आमसञ्चारका माध्यम भनेर भनिरहेका हुन्छौं।त्यसले अब हामीले नेपालका आमसञ्चारका माध्यमहरूलाई पुनःपरिभाषा गर्नु जरुरी रहेको छ।विश्वव्यापी रूपमा त्यही नै भइरहेको छ।भारतमा हेर्ने हो भने अहिले पनि छापाको सर्कुलेसन बढिरहेको छ।विज्ञापन पनि बढिरहेको छ। र व्यवसाय पनि राम्रो भइरहेको छ।भारतको टेलिभिजन रेडियोमा पनि यही उदाहरण पाउँछौं।ती डिजटल अभिव्यक्ति माध्यम त हुन् तर आमसञ्चारका माध्यमहरू होइनन् भन्ने मान्यता भारतमा धेरै स्थापित भएको छ।तर, नेपालमा आमसञ्चारका माध्यमलाई भन्दा सामाजिक सञ्जाललाई पत्याउने कारणले अहिले आमसञ्चारका माध्यमहरूले थुप्रै चुनौती सामना गर्नुपरिरहेको छ।

अहिले आमसञ्चार माध्यमको व्यावसायिकतमा चुनौती थपिएको छ।यसले व्यावसायिकतामा मात्र गा¥हो भएको नभई समाजमा पनि नकारात्मक असर पु¥याइरहेको छ।हाम्रो समाज जसरी दिग्भ्रमित भइरहेको छ, जसरी अनावश्यक रूपमा विभाजन भइरहेको छ । चर्का आवाज सबै गलत छैनन्। कतिपय चर्का आवाजहरू सही पनि छन् होला, कतिका पीडा जायज छन् होला, कति जनताका कुरा छन्। तर, अधिकांश आवाजहरू भ्रमपूर्ण रहेका छन्।त्यसलाई आमसञ्चारका माध्यमका रूपमा ग्रहण गर्ने हो भने यसले झन् समाजलाई हानी पु¥याउँछ।त्यसको मुख्य कारण विभिन्न विद्युतीय माध्यमबाट आउने भ्रमपूर्ण खबरहरू हुन्।

हामी टेलिभिजन चलाइरहेका छन्।त्यहाँ संवाददाता, सम्पादक र प्राविधिक गरी डेढ दुई सय मानिस छन्। एउटा मानिसले ल्याएको सूचना धेरै ठाउँमा सत्यार्पन गरिन्छ, तर युट्युयुब आएको सूचनाको सत्यतथ्य जाँच्ने कसरी ? त्यसले गर्दा युट्युबहरूलाई नियन्त्रण गर्ने कसरी ? यस्तो अवस्था भारतमा छैन। त्यहाँ युट्युब सञ्चालनमा केही शर्तहरू राखिएको छ।नेपालमा निर्बाध रूपमा युुट्युब सञ्चालनले भ्रमपूर्ण खबरहरू सम्प्रेषण गरिरहेको छ।

आमसञ्चार माध्यमको खबर सम्प्रेषण गर्नेको पनि केही व्यावसायिक धर्म हुन्छ। जे मन लाग्यो, त्यही त लेख्न सक्नुहुन्न।यसको एउटा सीमा हुन्छ, धर्म हुन्छ। तर विद्युतीय माध्यमले समाजलाई नै दिग्भ्रमित ग¥यो।राजनीति ठीक छैन भन्ने हल्ला फैलाएको छ।तथ्यपरक आधार र कारण बिना जे पनि आइरहेको छ। यसले गर्दा आमसञ्चारको माध्यमको प्रभाव कमजोर हुँदै गएको छ।अहिले १०-१२ वटाबाहेक अनलाइन मिडियाहरूले आमसञ्चारको प्रक्रिया र खबरको बन्न आवश्यक प्रक्रिया अपनाएको छैन।

निजी सञ्चारका माध्यमहरू कसैको दानमा कसैको सहयोग र चन्दामा त चल्ने होइन नि ? त्यसले आफैंले व्यावसायिकताको चक्र चलाएर विज्ञापन र राजस्वको वितरणबाट चल्ने हो। अहिले समग्र अर्थतन्त्र संकटग्रस्त हँदै गएको प्रभाव निजी सञ्चारमाध्यममा परेको छ।आम सञ्चारमाध्यमलाई टिक्न गा¥हो भइरहेको छ।आम सञ्चारमाध्यम बन्द हँदा लगानीकर्ता मात्र नभई पत्रकार, प्राविधिक, कर्मचारी र उनीहरूबाट आश्रित परिवारहरू सबै डुब्ने हो।त्योभन्दा ठूलो कुरो के हो भने देशमा संगठित सञ्चार माध्यमहरू रहेनन् भने यस्ता माध्यमहरूले देशलाई कतातिर पु¥याउँछ ?

हामीले पञ्चायत देख्यौं, बहुदल देख्यौं, गणतन्त्र देख्यौं। अहिले संघीयता र गणतन्त्रको अभ्यास गरिरहेका छौं। अब यतिले पनि नपुगेर कहाँ जाऔं जाऔं भइरहेको छ।जसले अभिव्यक्ति दिइरहेका छन् त्यसलाई कहाँ पनि पु¥याउँदैन।त्यसैले नेपालका आमसञ्चार माध्यमलाई पुनः परिभाषा गर्नु जरुरी रहेको छ।

राज्यले आमसञ्चार माध्यमलाई व्यावसायिक, स्थापित सूचनाको प्रवाहको माध्यमका रूपमा व्याख्या गरिनुपर्दछ।यसले श्रमजीवीसँगै लगानीको सुरक्षाको कुरो उठाउनुपर्दछ।निजी आमसञ्चार माध्यमको व्यावसायिक चक्र चल्नका लागि विज्ञापन राजस्व र सर्कुलेसनको विषयलाई व्यावसायिक बनाउनुपर्दछ। अहिले नेपालमा भएका आमसञ्चारका माध्यम कतिन्जेल चल्छ भन्ने प्रश्नहरू उठ्ने गरेको छ।यस्तो अवस्था धेरै समयसम्म रहनदिनु हुन्न।

राज्यले निजी सञ्चार माध्यमको संस्थागत आयु, भए, गरेका लगानी, रोजगारी, वार्षिक कारोबार, प्रवाह गरेको सूचना र सर्कुलेसनको आधारमा वर्गीकरण गर्नुपर्दछ।युट्युब सञ्चालन हुने भने त्यसमा एक जना रिपोर्टर वा सम्पादक राख्नुपर्ने गरी व्यवस्थित गर्नुपर्दछ।

सरकारले त्यसको व्याख्या गरेर त्यसलाई स्थापित गर्नुपर्दछ।त्यसले राजस्व तिर्छ, रोजगारी प्रदान गर्नेछ, सही सूचना दिनेछ।सरकारले यस दिशामा केही प्रयास गरेको छ।सरकारले राष्ट्रिय विज्ञापन ऐन ल्याएर केहीहदसम्म व्यवस्थित गर्न खोजेको छ।अहिले मिडिया विधेयकका चर्चा चलेको छ।मिडिया काउन्सिलको जरुरी छ।प्रेस काउन्सिल त्यतिबेला ठीक थियो, अहिले सबै आमसञ्चार माध्यमलाई नियमन गर्ने मिडिया काउन्सिलको खाँचो छ।विश्वमा यही अभ्यास रहेको छ। त्यो भन्दा पनि सञ्चार माध्यमको वर्गीकरण जरुरी छ।

सञ्चार सम्बद्ध संस्थाहरूको भनाइ पनि एउटै छैन। राज्यले भर्खरै समाजिक सञ्जाल निर्देशिका ल्याएको छ। त्यसलाई अभिव्यक्ति स्वतन्त्रताविपरीतको रूपमा लिएका छन्।आम सञ्चार माध्यमको अभिव्यक्ति कुन हो, त्यसको सामाजिक दायित्व के हुन ? त्यसलाई स्पष्ट व्याख्या गर्नुपर्दछ।सीमाहीन स्वतन्त्रता भनेको कहीँ पनि हुन्न।प्रजातन्त्र भनेको जे पायो त्यही बोल्ने हो।अभिव्यक्ति स्वतन्त्रताका पनि मर्यादा हुन्छ।अभिव्यक्ति स्वतन्त्रता भनेको स्वेच्छाचारी हुनु होइन। राज्य र सञ्चारसम्बद्ध संस्था मिलेर सञ्चारमाध्यमको वर्गीकरण र व्यावसायिकतालाई विकास गर्ने ऐन ल्याउनुपर्दछ।

सञ्चारमाध्यमको भनेको कुनै डण्डी वा सिमेन्ट कारखाना जस्तो होइन।यो सामाजिक दायित्व र चेतनासँग जोडिएको उद्योग हो।विचार प्रवाह गर्ने उद्योग हो।यस हिसाबले आमसञ्चार माध्यमलाई परिभाषा गर्नुपर्दछ।व्यक्तिगत अभिव्यक्ति र आमसञ्चार माध्यमका अभिव्यक्तिको भिन्नता छुट्याउनु जरुरी छ।लगानीकर्ताको मापदण्डलाई व्यवस्थित गर्नुपर्दछ।यसलाई फरक किसिमका वा सञ्चार उद्योगको रूपमा विकसित गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्