शासकबाट मिडियामाथि हमला



सञ्चार माध्यमलाई लोकतन्त्रको प्राणवायुको पगरी गुथाइदिने तिनै लोकतन्त्रवादी भनिएका राजनीतिक दल र शासन सत्ताको नेतृत्वकर्ताबाटै नेपाली मिडियामाथि निरन्तर हुर्मत लिने काम भइरहेको छ । पहिलाका शासकदेखि वर्तमान व्यवस्था (स्थानीय, प्रदेश र सङ्घीय तह)का जनप्रतिनिधि, राजनीतिक दलका जिम्मेवार नेताहरू, कर्मचारी संयन्त्र, बिचौलिया र विभिन्न व्यापारिक घरानाका नजरमा समेत मिडिया तारो बन्ने गरेको छ ।

उनीहरूले प्रत्यक्ष परोक्षरूपमा सञ्चार माध्यम तथा पत्रकारमाथि विभिन्न ढङ्गबाट हमला गरिरहेका छन् । तर आज हामीले यस आलेखमा नेताहरूले सार्वजनिक कार्यक्रममा भाषण गर्दा वा विचारहरू व्यक्त गर्दा मिडियामाथि गर्ने गाली, टिप्पणी, पोख्ने असन्तुष्टिहरूका केही उदहारणसहितका विषयमा मात्रै चर्चा गर्नेछौं । नेपालमा नयाँ राजनीतिक दलहरूदेखि सात दशकभन्दा बढी समय मूलधारको राजनीतिमा क्रियाशील दलका नेताहरू सार्वजनिक भाषणबाट मिडियामाथि अस्वाभाविकरूपमा खनिने गरेका छन् । कतिपय दलका नेता कार्यकर्ताले त प्रत्यक्ष, परोक्षरूपमा पत्रकारलाई धम्की दिने, मिडियामाथि गालीबेइज्जती, टिप्पणी गर्दै मिडिया बन्द गर्नेसम्मका हर्कत गर्ने गरेका छन् ।

खास गरी शासन सत्तामा भएका जिम्मेवार व्यक्तिहरू, सत्तासीन दलका नेताहरू, सत्ताबाट बाहिरिन बाध्य भएका र चाँडै सत्तामा पुग्ने प्रयासमा रहेका दल तथा तिनका नेता कार्यकर्ताले मिडियालाई आफ्नो पक्षमा प्रयोग गर्न खोज्छन् । पक्षमा प्रस्तुत नभएको अवस्थामा वा गलत गतिविधिलाई मिडिया मार्फत समाजमा सूचित गरेकै भरमा त्यसको झ्वाँक फेरेर मज्जाले गाली गर्ने, मिडिया र मिडियाकर्मीमाथि आइलाग्ने, लाञ्छानायुक्त र द्वेषपूर्ण अभिव्यक्ति दिने गरेका छन् । अनि बढी क्रान्तिकारिता देखाउने र नागरिकलाई गलत अफवाह फैलाएर भ्रम सृजना गरिरहनेहरू राजनीतिक नेता कार्यकर्ताहरू मिडियामाथि सबैभन्दा बढी खरोरूपमा प्रस्तुत हुने गरेका तथ्यहरू छन् ।

मिडिया राज्यको चौथो अङ्ग मात्रै होइन, राज्यसत्ताको स्थायी प्रतिपक्षी र सकारात्मकताको सहयोगी पनि हो । यसले आलोचनात्मक दृष्टिकोण राख्दै गर्दा सम्बन्धित निकायबाट देश र नागरिकका पक्षमा भएका सकारात्मक विषयलाई समेत सँगै लैजान्छ । स्वस्थ आलोचनाबाट सुधारको बाटो देखाउनु पत्रकारिताको धर्म हो । यद्यपि कसैको पक्षमा रहेर गुणगान गाउनु उसको धर्मभित्र पर्दैन । यही कुरालाई दलहरूले नबुझ्दा र प्रयोग गर्न नसक्दा मिडियामाथि गालीको वर्षा ओकल्ने गरेका हुन् ।
माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा नेपाली मिडियाहरूले दुःख पाएका हजारौं घटनाहरू छन्, जुन यहाँ प्रस्तुत गर्न सम्भव छैन ।

राजाको शासन र माओवादी द्वन्द्वको चपेटामा परेका त्यस बेलाका मिडियामा पूरै सेन्सरसिप नै लगाइएको थियो । नागरिकका पक्षमा र शासकहरूको आलोचनामा मिडियाले स्वस्फूर्तरूपमा सामग्रीहरू पस्कन सक्दैनथे । पछि मधेस आन्दोलन र मधेस बन्दको समयमा समेत आन्दोलनकारीका समाचार छापिएन भनेर मिडियामाथि धम्की र आक्रमणकै घटनासमेत भएका थिए भने जनजाति आन्दोलनको समयमा पनि मिडियामाथि आक्रमण भएका घटनाहरू प्रशस्त छन् ।

आन्दोलन र विभिन्न घटनाक्रममा भएका घटनासँगै नेपाली मिडियाप्रति राजनीतिक दलका नेताहरूले समय समयमा गालीगलौज, टिप्पणी र असन्तुष्टिहरू सार्वजनीक भाषणमै पोख्ने गरेका केही तथ्यगत उदहारणसमेतलाई हामीले यहाँ प्रस्तुत गरेका छौं भने धेरै तथ्य तथ्याङ्कहरू अझै छुटेका छन् । प्रजातन्त्र स्थापनापश्चात् सबैखाले स्वतन्त्रताको बाढी नै आयो । यसैको प्रयोग गर्दै नेपालमा मिडियाहरूको आयतन पनि तीव्र गतिमा बढेको कुरा सत्य हो ।

तर, राजनीतिक नेतृत्वबाट पहिलादेखि नै हुँदै आएको मिडियालाई हेर्ने दृष्टिकोण र केही पक्षपाती व्यवहार गर्ने इतिहास दोहोरिइरहेको छ । कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, गिरिजाप्रसाद कोइरालासमेतले मिडियालाई आफ्नो पक्षमा नउभिएर आलोचना गरेकोप्रति टिप्पणी गर्ने गरेको इतिहास छ । पछिल्लो पुस्तामा आइपुग्दा यो क्रम अझ फराकिलो बन्दै गएको छ ।

पहिलाको भन्दा अहिलेका नेताहरू टिप्पणी, आलोचना र सुझावहरूलाई सुन्न सक्ने अवस्थामा छैनन् । राज्य संयन्त्रमा बसेकाहरूले समाचार सामग्रीहरू आफ्नो पक्षमा नपस्किएको अभियोगमा दैनिकजसो मिडियामाथि खनिने गरेका पछिल्ला केही तथ्यहरू हामीले यहाँ प्रस्तुत गरेका छौं । नेपालमा सबैभन्दा बढी मिडियालाई प्रयोग गर्ने, ठूलठूला तस्वीरहरू छाप्ने र मिडियामाथि नै निरन्तर रुखो गाली गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली देखिनुभएको छ । उहाँको तुलनामा अरू दलका नेताहरूको मिडियामाथिको गाली कम छ ।

मिडियामाथि भएका हमलाहरू
शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०७३ कात्तिक २४ मा आफ्नो भारत भ्रमणका क्रममा मिडियाले हुँदै नभएको कुरा लेखेको भन्दै आक्रोश पोख्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उहाँले ‘दलाई लामासँग एउटै मञ्चमा बसेको’ भनिएको समाचारको खरो टिप्पणी गर्दै पत्रकारहरूलाई गाली गर्नुभयो । ‘आफूले स्वतन्त्र तिब्बत पक्षधर दलाई लामासँग भेटेको विषय गलत हो, हुँदै नभएका कुरा शृङ्खलाबद्ध रूपमा आएको छ’, उहाँले भन्नुभयो– ‘दलाई लामासँग एउटै मञ्चमा बसेको भनिएको छ । त्यहाँ दलाई लामा आएकै छैनन् ।’
‘त्यसो भए प्रतिनिधिसँग कुरा पनि भएको होइन ?’ भन्ने पत्रकारको प्रश्नमा देउवा थप आक्रोशित हुँदै ‘कहाँ हुनु ? कोसँग कुरा भयो ? कुन कोठाबाट भयो ? हुँदै नभएका कुरा गर्ने ? ठूला कुरा गर्ने ?’ भनी प्रतिप्रश्न गर्नुभयो । मिडियाले पनि अनावश्यक रूपमा आफूलाई खेदिरहेको आक्रोश पोख्दै देउवाले भन्नुभएको थियो– ‘नेपालका मिडियाले हुँदै नभएको कुरा लेखिदिए, भित्तैसम्म पु¥याउने हो भने मैले पनि जानेको छु ।’

केपी ओली, अध्यक्ष, नेकपा एमाले
२०७७ पुस २६ मा राष्ट्रिय सभा बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मिडियामाथि खनिनुभयो । सञ्चारमाध्यम प्रयोग गरेर आफूलाई अध्यक्ष पद छोड्न दबाब दिएकोदेखि देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको समेत दाबी गर्नुभयो । त्यसबेला ओलीले भन्नुभएको थियो– ‘अखबारले विशाल जनसभाको फोटो छाप्दैन । सरकार विरोधी जमातको हाइलाइट गरेर फोटो छाप्छ । यो अस्थिरता सृजना गर्ने प्रयास हो । यो प्रयासलाई प्रतिनिधिसभा विघटन गरेर रोकिएको छ र ताजा जनादेशमा गएर देशलाई स्थायीत्व र लोकतान्त्रिक विधि र पद्धितअनुसार सुदृढ बनाउने अभ्यासमा लागिएको छ ।’ ओली मिडियामाथि खनिएको यो पहिलो पटक भने होइन । भाषणमा मिडियाप्रति आक्रोश, गाली, गुनासो वा टिप्पणीसहित बारम्बार खनिएका दृष्टान्त यहाँ प्रस्तुत छ ।

– १४ असोज २०७७ मा मिडिया एलायन्सका पदाधिकारीहरूसँग बालुवाटारमा भएको भेटमा ओली मिडियामाथि नै खनिनुभयो । ओलीले सञ्चार माध्यमका सम्पादकहरूप्रति गुनासो गर्नुभयो । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाउ दिँदा सहन्नँ भन्ने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो । ओलीले सञ्चार जगत्ले अरूलाई जे भने पनि छुट पाइने गरेको टिप्पणी गर्दै भन्नुभयो– ‘यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो ।’

– २८ असोज २०७६ मा ओलीले आफूलाई तपाईं नभनेकोमा असन्तुष्टि पोख्नुभयो । ‘अहिले नेपाली समाज र सामाजिक सन्जाल हे¥यो भने सभ्यताका पर्खाल भ्वाङभुङ भत्काइएको छ । शिष्टता, मर्यादा केही पनि छैन । नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ हो ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी, हजुरआमालाई पनि तिमी ! यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन ।’ ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् । तिमीभन्दा माथि उठ्दैन । यो एउटा ट्रेन्ड हो । भाषामा एउटा मर्यादा हुन्छ । तर हामी त्यो बिर्सन खोज्दै छौँ ।’, त्यतिबेला उहाँको भनाइ थियो, ‘हाम्रो समाज त एउटा शिष्ट, सभ्य, मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो ।’

– २९ पुस २०७६ मा ओलीले सरकारका राम्रा कामहरूको समाचार नै नबनेकोमा गुनासो पोख्दै भन्नुभयो– ‘राम्रो कामको प्रशंसा गर्ने मन मुटु भएका सम्पादक नै छैनन् । हामीले गरेका त्यस्ता कामको प्रशंसामा लेख्ने पत्रपत्रिका छैनन्, प्रसारण गर्ने टेलिभिजन छैनन् । यदि कसैले छ्यास्सछुस्स लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा गर्न थालिस्, सकारात्मक कुरा गर्न थालिस्, बिग्रिन्छस् भन्छन् ।’ मिडियाले सरकारले गरेका राम्रा कामको समाचार लेख्ने हिम्मत नगर्ने भन्दै मिडियालाई चर्को गाली गर्नुभयो ।

– ५ फागुन २०७६ मा काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले उक्त कामको समाचार नछापी आफूले बाँसुरी बजाएको न्युज छापेको टिप्पणी गर्नुभयो । ‘भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छ, यो फोटो नै छाप्दैन । मैले कुनै बुद्धिजीवी विकास भएको सहन नसकेर उल्टो उल्टो लेख्छन् भन्यो भने कुनै कुनैचाहिँ छोडिदिन्छन्, अनि सबै बुद्धिजीवीलाई भन्यो भन्छन् । मिडियाहरू सरकारले गरेका कामै देख्दैन ।’ ओलीले सार्वजनिकरूपमै भाषणमा गाली गर्नुभयो ।

– सुन तस्करीमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै २०८० साउन १० देखि करिब एक महिना एमालेकै कारण निरन्तर सदन अवरोध भएको विषयमा समाचारहरू आएकोप्रति आक्रोश पोख्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले यस्ता विषय अगाडि भइरहँदा पनि सञ्चार माध्यमले नदेखेर खालि एमालेले सदन अवरोध गरेको कुरालाई उचालेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘सञ्चारमाध्यममा कसको लगानी छ भन्ने अहिले छाडिदिऔँ, देशको पक्षमा को छ भन्ने हेरौँ ।’

रवि लामिछाने
– २०७९ माघ २२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने गरेको भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोख्नुभयो । सरकारबाट बाहिरिने निर्णय गर्दै उहाँले मूलधारका १२ वटा मिडियाको नाम नै किटान गरेर गाली गर्नुभयो ।

आफूप्रति मिडियाहरू प्रायोजितरूपमा लागेको आरोप लगाउँदै भन्नुभयो– ‘देश नेताले चलाउने हो मिडियाले होइन ।’ उहाँले कतिपय मिडियाका सञ्चालकलाई चुनावी प्रतिस्पर्धामा आउन पनि चुनौती दिनुभयो । मिडियाको कारण अदालतले आफू विरुद्धको मुद्दाको छिटो सुनुवाइ गरेको उहाँको टिप्पणी थियो । ‘अदालतमा कति मुद्दाको चाङ छ होला, तर मेरै मुद्दा अगाडि सुनुवाइ किन भयो ?’ लामिछानेले पत्रकार सम्मेलन नै गरेर देश बिग्रनुमा प्रमुख भनिएका मिडियाको पनि हात रहेको आरोप लगाउनुभयो । उहाँले करिब ३ घण्टाको भाषणमा अधिकांश समय मिडियामाथि गाली गर्नमै खर्चनुभएको थियो ।

नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न पत्रकारले टेलिफोनमार्फत सूचना माग गरेको विषयलाई लिएर २०८० कात्तिकमा पत्रकारमाथि खनिनुभयो । पत्रकारहरूले ठाडो भाषामा हेलो आजको निर्णय के भयो ? भनेर सिधै सोध्ने गरेको गुनासो गर्नुभयो । उहाँले पत्रकारहरूको प्रश्नलाई सङ्केत गर्दै भन्नुभयो– ‘हजुर नमस्कार म फलानो मिडियाबाट फलानो पत्रकार बोलेको, आजको निर्णय के भयो होला भन्न मिल्छ कि ? भन्नु पनि छैन, सामान्य औपचारिक आदरसमेत नगरी सिधै आज के भयो भन्नुस् त ? भनेर ठाडो भाषामा सिधै निर्णय खोजिन्छ । यो त भएन नि, सामान्य कड्सिप त म्येन्टेन गर्नुपर्ला नि ?’ पछिल्लो समयमा मिडियाले राजनीतिक दलहरूप्रति नकारात्मक आलोचना मात्रै गरेको र सरकारबाट भएका राम्रा कामहरूको विषयमा सकारात्मक ढङ्गले सामग्री प्रकाशन प्रसारण नगरेको भन्दै सार्वजनिकरूपमा अभिव्यक्ति दिनुभयो ।

मातृकाप्रसाद यादव
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा तत्कालीन नेपाल गुणस्तर परिषद्का अध्यक्ष मातृकाप्रसाद यादव २०७६ मा मिडियामाथि खनिनुभयो । सरकारका विरुद्धमा मिडियाहरू लागेको भन्दै उहाँले भन्नुभयो– ‘सरकारका मान्छेहरूले १ अर्ब ७० करोड खाए भनेर रातो पार्टीले लेखिदियो । रातो पार्टीले त रातै कुरा लेख्नुपर्ने तर, पुरै कालो कुरा लेखिदियो । मिडियाका मालिक पनि थुप्रै खालका व्यापारी छन् । कतिपय मालिकहरू त कालोबजारी र तस्करहरूको छ । विगतमा देश लुटेको पैसा लगानी गरेका मिडियाहरू पनि छन् । सरकारको विरोध र आलोचना गर्दा प्रमाणसहित गर्न आग्रह गर्दछु ।’

नेपाल गुणस्तर परिषद्का अध्यक्षसमेत रहनुभएका यादवले २०७६ असार १८ गते बसेको गुणस्तर परिषद्को बैठकले ३३ ग्रेड ओपीसी सिमेन्टको गुणस्तर मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको थियो । यादवले व्यापारीहरूसँगको मोटो रकमको चलखेलमा नेपाल गुणस्तर मापदण्ड २०४९ अनुसार ओपीसी सिमेन्टअन्तर्गतका ३३, ४३ र ५३ ग्रेडको गुणस्तर मापदण्ड परिमार्जन गर्ने निर्णय गर्नुभएको थियो । मिडियाहरूले समाचार प्रकाशन प्रसारण गरेपछि उक्त निर्णय सरकारले परिमार्जन गरेको थियो ।

जीवनबहादुर शाही
प्रदेश सभामा सधैंजसो नैतिकवान् आचरणका कुरा गर्ने कांग्रेस नेता जीवनबहादुर शाहीले आफूविरुद्ध समाचार लेखेको बताउँदै स्वकीय सचिवमार्फत सामाजिक सञ्जालमा गाली गर्न लगाउनुभएको थियो । मिडियामा ‘सरकारी प्राडोमा रातो नम्बर प्लेट’, ‘कांग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार’ शीर्षकमा समाचार आएको थियो ।

गिरिजाप्रसाद कोइराला
गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि बाहिर केही विरोधहरू भएका थिए । सोही क्रममा डा. शशाङ्क कोइरालाले गिरिजाबाबुकोमा गएर भन्नुभयो– ‘सानुबा यो त अतिभयो, सबैले यसको विरोध गरेका छन् ।’ शशाङ्कले यसो भन्नेबित्तिकै गिरिजाबाबुले ‘तँ पनि पत्रकारको सङ्गत गर्न थालिछस् । १५ दिन पत्रिका नपढी बस् केही हुन्न, त्यस्ता पत्रिकाले लेखेर केही हुनेवाला पनि छैन’ भनेको कुरा पत्रकार जगत नेपालले उल्लेख गर्नुभएको छ ।

महेश बस्नेत
२०७७ माघ १४ गते महेश बस्नेत बुटवलमा पत्रकारहरूमाथि खनिनुभयो । युवाहरूको सभालाई सम्बोधन गर्दै बस्नेतले गठन गरेको साइबर सेनालाई गलतरूपमा व्याख्या गरेको भन्दै मिडियालाई गाली गर्नुभयो । त्यस बेला इकागज अनलाइनले ‘मण्डले प्रतिरूपमा साइबर अपराधीहरू’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको विषयलाई लिएर बस्नेतले प्रधान सम्पादक हरिबहादुर थापा र कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मामाथि सार्वजनिकरूपमा चर्को भाषण गर्नुभएको थियो ।

द्वारिकलाल चौधरी
कर्मचारीले राम्रो काम नगरेको भन्दै कुटपिट गर्ने इटहरी उपमहानगरपलिकाका मेयर द्वारिकलाल चौधरीको समाचार प्रकाशन भएपछि पत्रकारलाई लोपारेर र नाकको डाँडी भाचिदिन्छु भन्दै सो प्रयोजनका लागि करोड खर्च गर्ने अभिव्यक्तिको अडियो सार्वजनिक भएको थियो ।

गोकुल बाँस्कोटा
२०७६ फाुगन ८ गते गोरखापत्रको कोहलपुर संस्करण शुरुआत गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सधैंझैं मिडियालाई होच्याउनुभयो । मिडियालाई एक आँखा चिम्लिएको सिकारीका रूपमा अथ्र्याउँदै उहाँले त्यसमा हुने आलोचनाले सरकारलाई फरक नपर्ने बताउनुभयो ।

‘एक आँखा चिम्लिने त सिकारी हुन्छ । प्रेसले दुईवटै आँखा खुला गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘अहिलेको प्रवृत्ति सिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ । तर जति ठोके पनि केही फरकै पर्दैन ।’ मिडियाहरूमा प्रिन्टिङ प्रेस खरिदसम्बन्धी ७० करोड कमिसनको डिल गरेको ‘सेटिङ’को अडियो सार्वजनिक भएपछि बाँस्कोटा मिडियामाथि खनिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्