गते त ठ्याक्कै बिर्सिएँ तर महिना भने फागुन हो, २०५५ सालको । जनआस्था र दृष्टि साप्ताहिक छोडिसकेको थिएँ । श्री सगरमाथा दैनिकमा काम गरेको एक महिना नबित्तै पत्रिका बन्द भयो । दैनिक पत्रिकामा काम गर्ने इच्छा जागृत भइसकेको थियो । त्यो बेला कान्तिपुर र नेपाल समाचारपत्रको मार्केट निकै राम्रो थियो । तँ चिता म पु¥याउँछु –साथी पंकज दाहालले नेपाल समाचारपत्र र सन्ध्याकालीन महानगरमा रिपोर्टरहरू मागेको विज्ञापन देखाए । लगत्तै कामना प्रकाशन समूहको दैनिक पत्रिका नेपाल समाचारपत्रको कार्यालय भीमसेनस्थान पुगेर अनुभवसहितको डकुमेन्ट बुझाएँ । लगत्तै लिखित परीक्षा भयो । ३० जना थिए होला जाँच दिने । पाँच जनाको नाम निस्कियो । मेरो नाम २ नम्बरमा थियो । पहिलो नम्बरमा थिए–दिनेश रेग्मी । तर, उनले कामनाकै महानगर पत्रिकाको लागि भनेर फर्म भरेका थिए । पछि उनी कान्तिपुर गए । लगत्तै मौखिक परीक्षा भयो । त्यसमा पनि ओके भएपछि नेपाल समाचारपत्रमा काम शुरू गरियो । त्यो बेला पहिल्यै चिनेका टंक पन्त, दीपक रिजाल, गजेन्द्र बुढाथोकीलगायतका साथीहरू काम गर्नुहुन्थ्यो ।
मलाई बचाउन अहोरात्र खटे कामना प्रकाशन समूहका साथीहरू
२०६७ को अन्तिमसम्म काम गरेको हिसाबले १२ वर्ष पुगे छ कामना प्रकाशन समूहमा विभिन्न जिम्मेवारी लिएर काम गरेको । पहिले रिपोर्टर, वरिष्ठ रिपोर्टर हुँदै सहसम्पादक एवं जिल्ला ब्युरो प्रमुख भएर अनुभव बटुल्ने काम भयो । जिम्मेवारीको हिसाबले १२ वर्ष एउटै संस्थामा काम गर्नुलाई धेरैले अचम्म मान्छन् । मेरो ऊर्जामय समय नेपाल समाचारपत्र दैनिकमा शब्द गोडमेल गर्र्दै बित्यो । कामना प्रकाशन समूहमा काम गर्दा तत्कालीन प्रधान सम्पादक स्वर्गीय पुष्करलाल श्रेष्ठ र सम्पादक कपिल काफ्लेको छत्र छायाँमा बसेर काम गर्दा १२ वर्ष बितेको पत्तै भएन । तत्कालीन सम्पादक बद्रि तिवारी, वरिष्ठ सम्पादक डा.महेन्द्र विष्टहरूसँगको सहकार्यले थप खारिन मद्दत मिल्यो ।
कामना प्रकाशन समूह छोडेको १० वर्षपछि २०७६ सालमा मलाई प्राणघातक ब्लड क्यान्सरले थला पा¥यो । पत्रकारिता आवाजविहीनहरूको आवाज हो भनेर कक्षामा हजारौंपटक आफैंले पढाएको कुरा पहिलोपटक व्यवहारमा आफ्नै जीवनमा भोग्दै थिएँ । अस्पतालमा आवाजविहीन भएर सुतिरहेका बेला मेरो मनको आवाज नेपाल समाचारपत्रका पूर्वसहकर्मीहरूले संसारभर फैलाइसक्नु भएको थियो । मेरा पूर्व सहकर्मीहरू करिब १५ दिन त भात पानी पनि नभनी आर्थिक सहयोग जुटाउन २४ घण्टासम्म खट्नुभयो । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा), डीसी नेपाल डटकम र इनेप्लिज डटकमले मेरो आर्थिक सहयोगका लागि स्वस्फूर्त रूपमा सहयोगका लागि गोफन्डमा खाता खोलेको र त्यसमा शुभेच्छुकहरूले लगातार सहयोग जम्मा गरेको देख्दा म भावविभोर भएँ । जतिजति रकम थपिँदै जान्थ्यो, मेरा आँखाबाट आँशु बर्सन्थे । मन झनझन् दह्रो हुँदै गयो । अस्पतालको बेडबाटै मैले लामो समय काम गरेको नेपाल समाचारपत्र दैनिकका साथीहरूले सहयोगका लागि आह्वान गर्नुभयो ।
मेरो उपचारलाई सहज बनाइदिन नेपाल समाचारपत्रका पूर्वसहकर्मी सम्पादक कपिल काफ्ले, वरिष्ठ पत्रकार दीपक रिजाल, टंक पन्त, विनोद ढुंगेल, सुन्दर खनाल, स्वागत नेपाल, अन्य सहकर्मीहरू अमेरिकाबाट किशोर सापकोटा, प्रेम बाँनिया, स्वीडेनबाट फोटो पत्रकार सुन्दर श्रेष्ठ, क्यानाडाबाट अनमोलमणि पौडेल, हङकङबाट डम्बरकृष्ण श्रेष्ठ अहोरात्र खटेको कुरालाई म कसरी भुल्न सक्छु र ! पूर्व नेपाल समाचारपत्रकर्मी एवं कान्तिपुरका विनोद पाण्डे, राजेश मिश्रको पनि ठूलो सहयोग रह्यो । मेरा लागि ती प्रिय हातहरू जुटेको देखेपछि मैले सोचेँ, अब म बाँच्नुपर्छ । आत्तिरहेको समयमा मेरा पछाडि धेरै शुभेच्छुकहरू हुनुहुन्छ भन्ने आभाष मैले बेडमा बाँच्नका लागि मृत्युसँग संर्घर्ष गरिरहेको अवस्थामा पाइसकेको थिएँ ।
अन्ततः अहिले म क्यान्सर मुक्त छु । म क्यान्सर मुक्त हुनुमा नेपाल समाचारपत्रकर्मीहरूको योगदान सबैभन्दा उच्च छ । १० वर्षअघि सहकार्य गरेको साथीका नाताले उहाँहरूले मलाई बचाउन गर्नुभएको पहल अभूतपूर्व छ । कामना प्रकाशनकै न्यूज अफ नेपाल अनलाइन पत्रिकाले पनि मलाई ठूलै रकम सहयोग गरेको थियो । पत्रकारिताको इतिहासमै पूर्व सहकर्मीलाई बचाउन साथीहरू एकजुट भएको यो पहिलो घटना थियो । कामाना न्युज पब्लिेकेसन ४० वर्ष पुगेको उपलक्ष्यमा यी शब्दहरू लेख्दै गर्दा मैले निकै गर्व महसुस गरेको छु । म पनि कुनै बेला त्यसको हिस्सा बनेकोमा अझै पनि गर्व लाग्छ । नेपाल समाचारपत्रले दरबार हत्याकाण्डको होस् या मनमोहन अधिकारीको मृत्युको खबर ब्रेक गरेको इतिहास सदैव गर्व गर्न लायक छन् । नेपाली मिडिया जगत्मा कामना प्रकाशसन समूह थप आवाजविहीनहरूको आवाज बन्न सकोस् धेरैधेरै शुभकामाना ।
प्रतिक्रिया