लाखौं नेपालीका प्रिय नेता मनमोहन अधिकारीको दुःखद् निधन

शिक्षण अस्पतालमा हजारौं शुभचिन्तक अश्रुपूर्ण अवस्थामा, पार्थिव शरीर १० बजेदेखि खुल्लामञ्चमा



काठमाडौं

नेपाली राजनीतिका शीर्ष पुरुष नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आज सोमबार बिहान २ः३२ बजे दुःखद निधन भयो । ठीक एक साताअघि गत सोमबार बिहान १०ः३० बजे आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ को गोठाटारमा आयोजित चुनावी सभा सम्पन्न गर्नासाथ उहाँ बेहोस हुनुभई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचारार्थ भर्ना हुनुभएको थियो ।

उहाँ अस्पतालमा भर्ना भएदेखि नै एकपटक पनि होसमा आउनुभएन । कृत्रिम श्वासप्रश्वास प्रक्रिया जारी रह्यो । प्रजातान्त्रिक आन्दोलनका नेता एवं नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष नेता अधिकारीलाई सोमाबारदेखि नै कृत्रिम श्वासयन्त्रमा राखी उपचार गरिएको थियो । तर हिजो राति १० बजेदेखि उहाँको स्वास्थ्य बढी खराब हुँदै गएको थियो ।

पार्टीका नेताहरू, परिवारका सदस्यहरू रातिदेखि नै अस्पतालमा हुनुहुन्थ्यो भने उपचारमा संलग्न चिकित्सकहरू आफ्नो सामथ्र्यले भ्याएसम्मको अन्तिम प्रयत्न गरिरहेका थिए तर पनि उहाँलाई राति २ः३२ बजेभन्दा बढी बचाउन सकेनन् । त्यसको खबर तत्काल सबैतिर भयो ।

खास गरी एमाले पार्टी पङ्क्तिमा ३ बजेसम्म खबर पुगिसकेको थियो । उपत्यकामा रातिदेखि फोन चलिरहेका थिए । साढे ३ बजेदेखि शिक्षण अस्पतालमा एमालेका कार्यकर्ता, शुभेच्छुकलगायतका मानिसहरूको भीड लाग्न थालेको थियो र बिहान त्यो सङ्ख्या निकै बढेको छ ।नेता अधिकारीको निधन भएको खबरले मानिसहरू घरघरमा रुवाबासी भएको र अस्पताल परिसरमा त कोही भावविह्वल भएर मूच्र्छितसमेत भएको पाइएको छ । पार्टीका नेताहरू केपी ओली, ईश्वर पोखरेल, प्रदीप नेपाल, अधिकारीका सुपुत्र डा. प्रकाश अधिकारीलगायतका परिवारका अन्य सदस्य राति अस्पतालमै हुनुहुन्थ्यो ।

आज बिहानसम्म विद्या भण्डारी, भीम रावललगायतका केन्द्रीय नेताहरू, अन्य विभिन्न राजनीतिक दलका नेताहरू संवैधानिक अङ्गका प्रमुख तथा सदस्यहरू, उच्च सरकारी अधिकृतलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू अस्पताल पुगिसक्नुभएको छ । एमाले महासचिव माधवकुमार नेपाल आजै केही बेरमा काठमाडौं आइपुग्दै हुनुहुन्छ । पार्टी केन्द्रीय कार्यालयले एमालेका कार्यकर्ता, शुभेच्छुक सबैमा यस दुःखद घडीमा धैर्यधारण गर्न आह्वान गरेको छ ।

अधिकारीलाई आज १० बजेदेखि भोलि ४ बजेसम्म सम्पूर्ण जनताका लागि अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न खुला मञ्चमा राख्ने कार्यक्रम रहेको छ । त्यस अगाडि कम्युनिस्ट आन्दोलनका धरोहर जनताका प्यारा नेतालाई पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा लगिँदै छ ।

नेकपा (एमाले) स्थायी समितिको आकस्मिक बैठक बसी पार्टीद्वारा गरिने अन्य कार्यक्रम आजै तय गरिने बुझिएको छ । त्यसै गरी पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम रावलले आज बिहान समाचारपत्रसँग कुराकानी गर्दै यस दुःखद घडीमा जनतालाई वर्तमान अस्थिर राजनीतिबाट मुक्त गर्न अध्यक्ष अधिकारीले एमालेलाई बहुमतमा पु¥याउने अठोट गर्नुभएको थियो, त्यो अठोट पूरा गर्न एमाले दृढ सङ्कल्पित छ भन्दै सम्पूर्ण कार्यकर्ता, शुभेच्छुकहरूलाई धैर्यधारण गर्न आह्वान गर्नुभएको छ ।

यसैबीच उपत्यका बाहिर रहनुभएका पार्टीका केन्द्रीय सदस्यहरू तथा शुभेच्छुकहरू आजै चुनावी कार्यक्रम स्थगित गरी नेता अधिकारीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न देशका विभिन्न भागबाट काठमाडौंतर्फ लाग्न थालिसकेको समाचार प्राप्त भएको छ ।

अधिकारीको उपचारभित्रका अनौठा घटनाहरू
काठमाडौं

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निधन हुनुअघिसम्म डाक्टरहरूले पूर्ण क्षमताका साथ आफ्नो उपचार कायम राखेका थिए । तर स्वास्थ्यस्थितिमा कुनै सुधार आएको थिएन । गत ६ गतेदेखि अचेत अवस्थामा रहनुभएका अधिकारीलाई पाइपको माध्यमबाट दैनिक १ हजार ६ सय क्यालोरी दिइएको थियो र उहाँको दिसा–पिसाब राम्ररी भइरहेको थियो ।

सामान्यतया मानिसलाई २ हजार ७ सयदेखि २ हजार ८ सय क्यालोरी आवश्यक पर्छ । त्यो हिँड्ने, काम गर्ने र स्वस्थ व्यक्तिका लागि भने लेबर गर्न नपर्नेलाई १ हजार ६ सय क्यालोरी पर्याप्त हुन्छ । अध्यक्ष अधिकारीले हिजो मात्रै ५ सय मिलिलिटर पिसाब गर्नुभयो । त्यो सधैं भइरहेको थियो भने तापक्रम ३६ दशमलव ८ रहेको थियो । साथै ब्लडप्रेसर ८०–९० को रूपमा थियो र हृदयगति राम्रो सञ्चालन भएको थियो ।

साथै अचेत अवस्थामा कृत्रिम श्वास दिएर राखिनुभएका अधिकारीको दाह्री दुईपटक सेभिङ भइसकेको थियो र दाह्री आउने गरिरहेको थियो । अस्ति मात्रै अधिकारीको दाह्री चिकित्सकहरूले काटिदिएका थिए र पुनः दाही आएको थियो । तर चिकित्सकहरूको फरकफरक कुरा बाहिर आएको थियो । न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले ‘साइन्टिफिकल्ली, टेक्निकल्ली डेड, वन्ली कल्चरल्ली स्टिल लिभिङ’ भन्नुभएको थियो भने शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. गोविन्द शर्मा उहाँ जीवित हुनुहुन्छ, जीवित नभएको भए हामी उपचार किन गथ्र्यौं र भन्नुहुन्थ्यो । डा. शर्माको भनाइ थियो– ‘उहाँको ब्रेनले काम नगरेको कुरा हो, हामी हृदयगति सञ्चालन हुँदासम्म उपचार गर्छौं ।’ डा. देवेकाटाले र अमेरिकी डा. वेगनले मृत्युसरह बताउनुभएको थियो भने अधिकारीले आवश्यक खाना पाइपबाट लिएर पचाइरहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्