छापा पत्रकारिता ‘डाइनोसर’ यात्रा



उज्वल शर्मा

अबका दिनमा सञ्चारगृहको सञ्चालन कुन रूपमा गर्न सकिन्छ ? छापा प्रकाशन गर्नेहरूले अस्तित्व रक्षा कसरी गर्ने हो ? एकातिर सरकारी नीति, अर्कातिर आन्तरिक युनियनवादको समन्वय कुन रूपमा गर्ने हो ? सानो लगानीका पत्रिका प्रकाशन गृहले ? श्रमजीवी पत्रकारहरूको न्यूनतम माग पूरा गर्ने व्यावहारिक अवस्था छ कि छैन ? विद्युतीय सञ्चार माध्यमहरूको वर्चस्वले निर्माण गरेको पाठकीय टेस्टलाई छापा माध्यमले कसरी आफूतिर आकर्षित गर्ने ? कागजी समाचारको हैसियत कमजोर हुने र वितरण प्रणाली प्रतिकूल रहेको अवस्थालाई कसरी अनुकूल गराउने ? निजी उद्योग व्यवसायीहरू प्रेसप्रति अनुदार हुने, सरकारी विज्ञापनको समानुपातिक र सन्तुलित वितरण नहुने, बिचौलियाहरूदेखि कर्मचारीहरूको मिलेमतोमा सरकारी विज्ञापनको ठूलो भाग बीचमा नै हराउने र पत्रपत्रिकाहरूमा नपुग्ने, नीति र नियमको पहुँच बाहिर भएका कार्यहरू कसरी रोक्ने र समाचार पत्रिका प्रकाशनलाई दीगो र सुरक्षित गर्ने ? डिजिटल युगले ल्याएको तीव्र प्रभावको सामना कुन रूपमा गर्ने ? आजका दिनमा प्रत्येक समाचार प्रकाशकहरूका लागि अनिवार्य, विवेच्य प्रश्नहरू भएका छन् यी । आज म यो लेखमा यी प्रश्नहरूको उत्तर खोज्न लागिरहेको छैन तर यसमा सम्बद्ध सबैले सूक्ष्मतर ढंगले विमर्श गर्नुपर्छ भनेर प्रस्तुत गरेको हुँ ।

यस सन्दर्भमा छापाखाना र पत्रपत्रिकाको विगत स्मरण गर्नु मैले उपयुक्त ठानेको छु । पत्रकारिताको विश्व इतिहास हेर्दा नेपालमा निकै नै पछि मात्र यसको विकास भएको पाइन्छ । हामीकहाँ छापाखानाको विकास पनि निकै ढिलो भएको थियो । हाम्रो छिमेकी देश भारतभन्दा झण्डै तीन सयवर्ष पछाडि हामीकहाँ छापाखानाले प्रवेश गरेको हो । भारतमा सन् १५५०मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८ (सन् १८५१) तिर जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्कदा फलामे हाते प्रेस ल्याएपछि मात्र विधिवत् रूपले प्रवेश पाएकोे इतिहासमा उल्लेख छ । यद्यपि, छापाखाना नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको इतिहास छ । यसपछिको अर्को छापाखानाको नाम हो ‘मनोरञ्जन छापाखाना’ ।

यसरी शुरू भएको नेपाली मुद्रण कार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतीराम भट्टद्वारा भएको हो । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.सं.१९५० ताका सुधासागरको प्रकाशन शुरू गर्नुभएको थियो । यसैबीच उहाँको १९५२ मा निधन भए पनि पण्डित नरराजहरूले १९५५मा सुधासागर प्रकाशित गर्नुभयो । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि वि.सं.१९४२ मा ‘गोर्खा भारत जीवन’ नामको पत्रिका मोतीराम भट्टले नै बनारसबाट प्रकाशन गर्नुभएको थियो । ‘सुधासागर’ पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । यो सन् १९०१ मा प्रकाशित भएको थियो ।

देशमा राजनीतिक परिवर्तनले स्थापित गरेको प्रजातन्त्र र गणतन्त्रसँगै प्रेस र समाचार पत्रिकाहरूको विकास तीव्र भएको छ । विसं. २००७ को जनक्रान्तिले ल्याएको बहुदलीय खुला प्रतिस्पर्धाले प्रेसलाई उत्साहित गरेको थियो । तर, ०१७ को निर्दलीय व्यवस्थाले प्रेसलाई अनेक गौंडागल्फा तयार पार्दै निरीह बनायो करिब तीस वर्षसम्म । हुन त ०३७ को जनमतसंग्रह पछिको संविधानमा व्यवस्था भएअनुरूप धेरै साप्ताहिक, सांस्कृतिक, मनोरञ्जनात्मक पत्रपत्रिकाहरूको बाढी नै चल्यो । जटिल कानुनका आँखा छल्दै स्वतन्त्रताको उपभोग हुन छाडेन । ०४८ को जन आन्दोलनको परिणाम ०४७ को संविधानमा नै अकण्टक र अविच्छिन मौलिक अधिकारको उद्घोष भएपछि प्रेसलाई खुला चउर मिलेको हो । ०६३ पछिको गणतन्त्रात्मक संविधानले त्यसलाई निरन्तरता दिएको छ ।

२०६३ साल वैशाख ११ को परिवर्तनपश्चात् विचार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन, प्रसारण र छापाखना र सूचनाको हकको उल्लेख गरियो र श्रमजीवी पत्रकारको हक, हित र अधिकार संरक्षण गर्ने उद्देश्यले श्रमजीवी पत्रकार ऐन २०६४ जारी गरियो । ०५० देखि नै शुरू भएको निजी सञ्चारमाध्यमहरूको प्रवाह त्यसपछि क्रमिक रूपमा लोकतन्त्र बहालीपछि देशमा एफएम रेडियो, निजी र सामुदायिक र टेलिभिजन खुल्ने क्रमले तीव्रता पायो । पछिल्लो समयसम्म झन्डै ५० वटा भन्दा बढी टेलिभिजन च्यानल र चारसयको हाराहारीमा एफएम रेडियो, आठ हजारको हाराहारीमा पत्रपत्रिका छन् भने वर्तमान अवस्थामा अनलाइन मिडिया र सामाजिक सञ्जालले झनै पत्रकारितालाई निकै माथि उठाएको छ ।

हामीकहाँ पत्रकारिताले केही फड्को त मारेको हो । तर, यो व्यावसायिक हुन भने सकेको देखिँदैन । खास गरी प्रकाशन गृह र प्रबद्र्धक संस्थाहरूले खेप्नुपरेका अनगिन्ती समस्याहरूका कारण संस्थाहरू दीगो हुननसक्ने अवस्था छ । संस्थाहरू नै दीगो हुन सकेका छैनन् , समर्थ हुनसकेका छैनन् भने पत्रकारिता संस्थागत कसरी हुनसक्छ ? संस्थामा आबद्धहरूको हित सुरक्षित कसरी हुन्छ ? यिनै प्रश्नहरूको सेरोफेरोमा विचार गर्दा एकातिर संकीर्ण दलगत दबाब र अर्कातिर आर्थिक, सामाजिक,राजनीतिक, भौगोलिक, व्यावसायिक नीतिको अभावजस्ता कारणले छापा पत्रकारिता अगाडि बढ्न नसकेको स्पष्ट हुन्छ । १५औं शताब्दीमा गुटेन वर्गले आविष्कार गरेको मुद्रण युगलाई अग्रगामी बनाए पनि आजको परिवेशले छापा पत्रकारितामाथि गम्भीर संकट उत्पन्न भएको देखिन्छ । प्रविधिको युगान्तकारी फड्कोले छापा पत्रकारिता पहिलाजस्तो नभएको एकातिर छ भने अर्कोतिर यो क्षेत्रमा रहेको सिन्डिकेटले यसलाई असर पु¥याएको छ ।

हरेक चुनौतिसँगै अवसर पनि हुने गर्दछन् । वर्तमानको चुनौतीलाई हामीले अवसरका रूपमा लिएर खोजमूलक पत्रकारिता र आफ्ना प्रकाशनलाई फरक शैलीमा प्रस्तुत नगर्ने हो भने छापा पत्रकारिताको भविष्य अन्यौल देखिन्छ । आजको समाचार सबैतिर आजै नै आइसकेको हुन्छ भोलिपल्ट किन अखबार पढ्ने ? हामीले भोलिपल्ट अखबार पढनका लागि त्यसैअनुसार विषयवस्तु प्रस्तुत गर्न सक्नुपर्छ । समय अनुसार चल्न सकेनौं भने छापा पत्रकारिता ‘डाइनोसर’ भन्ने निश्चित प्रायः छ । समय सन्दर्भसँग चल्न नसक्ने जोसुकै होस् असान्दर्भिक हुन्छ वा आफैँ सकिन्छ । यो हामीले समयमै विचार पु¥याउन आवश्यक छ ।

एकातिर छापा पत्रकारिताका आफ्नै समस्या रहेका छन् भने अर्कोतिर यसमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले पनि यसलाई असर पु¥याएको छ । सबै पत्रिकालाई एउटै टोकरीमा राखेर हेर्ने दृष्टिकोण पनि गलत छ । विज्ञापनलाई समानुपातिक हिसाबले वितरण गर्न नसक्नु पनि यसमा देखिएको समस्या मध्ये एक हो । विज्ञापन पारदर्शी हुन नसक्नु, यसभित्रका अनेक चलखेललाई नियन्त्रण गर्न नसक्नुले पनि केही सीमित व्यक्तिको हालीमुहाली यसमा रहेको छ । जिम्मेदार निकायहरूले अनुसन्धान गरी त्यस्तो चलखेललाई रोक्न नसकेमा प्रकाशन र प्रबद्र्धन गर्नेहरू धराशयी हुनेछन् । सबैका समाचार लेख्ने-प्रस्तुत गर्ने मिडिया हाउसले अवाञ्छित प्रतिस्पर्धाका बारेका समाचार सत्य तथ्य रूपमा बाहिर ल्याउन सकेको अवस्था छैन ।

योसँगै बजार र पाठकसम्म पु¥याउने उचित वातावरण अझै बन्न सकेको छैन । यातायातका साधन जतिसुकै विस्तार भए पनि ती पत्रपत्रिकाका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भएका छन् । पत्रपत्रिकालाई सहुलियतका साथ पाठकसमक्ष पु¥याउने वातावरण राज्यले नै बनाउनुपर्ने थियो । यो भन्दा पनि पत्रपत्रिका र प्रेसलाई उद्योगसरह मान्यता दिनुपर्छ भन्ने पुरानो माग हो । निश्चित आधारमा प्रेसले र पत्रपत्रिकाले सहुलियतपूर्ण लगानी खोज्ने नीति हुनुपर्ने थियो । समाचार प्रकाशकहरूका समस्याहरू के छन् ? कसरी संस्थाहरू चलिरहेका छन् ? तिनलाई नीतिगत समाधान कसरी गर्ने र हजारौंको संख्यामा संलग्न रोजगारहरूको भविष्य सुरक्षित गर्ने ? त्योभन्दा पनि सानो वा ठूलो गरी अरबौंको लगानी विगतमा भइसकेको छ निजी क्षेत्रका समाचार प्रकाशन र प्रबद्र्धन गर्ने संस्थाहरूमा । ऋणको बोझ उत्तिकै छ ।

समाचार पत्रिका प्रकाशनमा संलग्न भएको करीब चार दशकको मेरो अनुभवले अहिले पनि पत्रपत्रिकाको भविष्य सुरक्षित अनुभव गरिरहेको छैन । शुरूचि साप्ताहिक प्रकाशनबाट मेरो यात्रा आरम्भ भएको थियो । अहिले अनेक आरोह र आवरोह पार गर्दै हिमालय टाइम्स राष्ट्रिय दैनिक विगत २८ वर्षदेखि सञ्चालन गरिरहेको छु । मलाई के लाग्छ भने पत्रपत्रिका प्रकाशक, सञ्चालक र सम्बद्ध सञ्चारकर्मीसहित व्यवस्थापनमा संलग्नहरूले सामूहिक सोच र सामूहिक स्वार्थको प्रतिनिधित्व नगरेसम्म चुनौतीको पहाड आरोहण गर्न असम्भव प्रायः छ । हामी सबै चुनौतीको पहाडमुनि छौं । संघीय सरकार, उद्योगीव्यवसायी, स्थानीय र प्रदेश सरकार सबैले स्पष्ट नीतिकासाथ समवेतरूपमा सोच्नु जरुरी छ । यससँगै प्रकाशनगृहरूले पनि स्वस्थ प्रतिस्पर्धा गरी अस्वस्थ खेलहरूलाई निस्तेज गर्दै प्रकाशन प्रसारणको आफ्नो संस्थालाई सबल र निरन्तर बनाउन सामूहिक प्रयत्न गर्नु आवश्यक छ ।
कार्यकारी निर्देशक हिमालय टाइम्स् राष्ट्रिय दैनिक

प्रतिक्रिया दिनुहोस्