मेरो जीवनकै टर्निंग प्वाइन्ट बनेको समाचारपत्र



मलाई पत्रकारितामा चिनाउने नेपाल समाचारपत्र दैनिक । मलाई राजधानी काठमाडौंमा पत्रकारितामा स्थापित गराउने नेपाल समाचारपत्र । नेपालको अर्थतन्त्र, अर्थव्यबस्था, उद्योगधन्दाको गुदीसम्म पुगेर केलाउन सक्ने खुबी दिलाउने नेपाल समाचारपत्र ।
मलाई धेरै गुन लगाएको छ नेपाल समाचारपत्र अर्थात सुरुवातीताकाको आजको समाचारपत्रले । थुप्रै अवसर दिलाएको छ । संकटको घडीमा बाँच्न सिकाएको छ । धैर्यता के हो चिनाएको छ । समस्टीमा नेपाल बुझ्न सक्ने ल्याकत दिलाएको छ । तत्कालिन सहकर्मी दीपकजी (दीपक रिजाल) ले अघिल्लो साता मेसेन्जरमा एउटा सन्देश छोड्नुभएको थियो । उहाँले कल नै गर्नुभएको रहेछ । तर म नेपालभन्दा ठीक उल्टो गोलाद्र्दमा रहेको र समय झण्डै १२ घण्टाको अन्तरले गर्दा यता राति भएकोले कल आएको थाहा नपाएर कुराकानी हुन सकेन ।

मेसेज लामै थियो । सारांशमा कामना पब्लिकेसन्स ४० वर्षमा प्रवेश गर्न लागेकोले काम गर्दाको अनुभवलाई समेटेर एउटा लेख उपलव्ध गराइदिनुहोला भन्ने आग्रह थियो । डेडलाइन तोकिएको थियो मंसिर १५ गते शुक्रबारसम्म । माथिनै उल्लेख गरिसकेँ विगत १२ वर्षदेखि विपरित गोलार्धमा पर्ने अमेरिकामा रहँदै आएको छु । कामको चाप, पारिवारिक जिम्मेवारी, फेरि यही समयमा पर्ने अमेरिकी चाडपर्बमा साथीभाई परिवारलाई बढी समय दिनुपर्ने परिस्थिती थियो । फेरि दिइएको थिममा त्यो पनि चार दिनको समयसीमाभित्र लेख लेख्न भ्याइदैन कि भन्ने अवस्था थियो ।

मलाई स्थापित गराउन, चिनाउन र यहाँसम्म ल्याइपुर्याउन ठूलो हात रहेको मिडियाबाटै अनुरोध आएपछि लेख्नैपर्छ मेरो अन्तरआत्माले आदेश दियो । बरु थिमभन्दा तलमाथि, दायाँबाँयाँ लेखेपनि केही भएन । तर आफ्नो अनुभव, अनभूतिलाई लिपीवद्ध गर्नैपर्छ भन्ने लाग्यो । अनि कफी पिउँदै दीपकजीलाई मेसेज गरेँ ’हवस म लेख्नेछु’ ।

कहाँबाट सुरु गरौं ? कुन सन्दर्भबाट थालौं ? कुन मितिदेखिको लेखौं ?

लेख्न भनेर कम्प्युटर खोलेपछि फेरि अन्यौलमा परेँ । यति धेरै सन्दर्भ छन् । यति धेरै अटाचमेन्टहरु छन् । यति धेरै पारिवारिक माहौलका प्रसंगहरु छन् । २६ बर्ष भएछ नेपाल समाचारपत्रसँग जोडिएको । अर्को मिडियासँगको सम्बन्ध अनायाश, अकस्मात टुटेपछि नेपाल समाचारपत्रसँग जोडिन पुगेको थिएँ । गृहजिल्ला नुवाकोटबाट श्री सगरमाथा दैनिकमा रिपोर्टिंग गर्दै आएको थिएँ । तर २०५४ को बैशाख अन्तिमताका अकस्मात श्री सगरमाथा बन्द भयो । अघिल्लो दिनसम्म प्रकाशित पत्रिका एक्कासी बन्द हुँदा दिनमा कम्तिमा दुईवटा समाचार संकलन गरेर पठाउँदै आएको मेरो मन बेचैन भयो ।

बेचैन हुनुका दुई कारण थिए । पहिलो, पत्रकारिताको नशा लागिसकेको थियो । जिल्लामा पत्रकारका रुपमा परिचय स्थापित भैसकेको थियो । अब के परिचय बनाउनु ? दोस्रो, झण्डै ६ महिनादेखि श्री सगरमाथाबाट पारिश्रमिक पाएको थिइन । समाचार गिन्तीका आधारमा पारिश्रमिक पाउने नियम थियो । ६ महिनादेखि समाचारको र समाचार पठाएको फ्याक्स खर्च, हुलाक खर्च समेत लिन बाँकी थियो । अब यो रकम उठाउन कहाँ जानु ? त्यतिखेर नुवाकोटबाट काठमाडौँ समाचार पठाउँदा एक पेजको १५ रुपैयाँ तिर्नुपर्थ्यो । जुन रकम आजको सन्दर्भमा निकै थोरै लाग्नसक्छ । तर तीन रुपैयाँ कप चिया भएको समयमा १५ रुपैयाँ धेरै ठूलो रकम थियो ।

त्यतिखेर आजको समाचारपत्रका नुवाकोटबाट कोही संवाददाताहरु थिएनन् । कतै यसमा अवसर पाइहालिन्छ कि भन्ने लाग्यो । सिधै समाचारपत्रको कार्यालयमा फोन गरेँ । परिस्थिती कस्तो परेछ भने मैले गरेको कल सिधै सम्पादक कपिल काफ्ले सरले उठाउनुभयो । नत्र अघिपछि रिसेप्सनिष्ट हुँदै कल ट्रान्सफर हुनुपर्नेमा कुन परिस्थितीले हो कपिल सरको एक्सटेन्सनमा मेरो कल सिधै पुगेछ ।
’कपिल काफ्ले सरलाई पाउँन सकिएला’ मेरो अनुरोध थियो । ’अँ म कपिल काफ्लेनै नै बोल्दैछु’ उहाँले यसो भन्दा कसैले जिस्काए जस्तो लाग्न पुग्यो । तर विश्वास गर्नैपर्यो । मैले नुवाकोटमा संवाददाता हुन चाहेको नलुकाई बताएँ । उहाँले नुवाकोटबाट अरुको पनि आवेदन परेकोले नमूना समाचार दुई चारवटा पठाउन र निवेदन समेत पठाउन भन्नुभयो । त्यतिखेर नुवाकोटमा पत्रकारिता गर्ने जम्माजम्मी म समेत ५ जना थियौ । रासस, नेपाल टेलिभिजन, कान्तिपुर र एउटा स्थानीय साप्ताहिकका पत्रकार । गोरखापत्रको समेत संवाददाता थिएनन् जिल्लामा ।

जिल्लामा स्थानीय चुनावको माहौल तातिरहेको थियो । समाचारको अभाव थिएन । स्थानीय निकायको चुनावको तत्कालिन अवस्थाका बारेमा एउटा विश्लेषणात्मक समाचार र अर्को फिचर लेखेर त्यही दिन साँझमा फ्याक्स गरेँ । भोलिपल्ट सदरमुकाम नपुग्दै आफ्नो बाइलाइनमा एउटा चाँही समाचार प्रकाशित भएको समाचारपत्रमा देखेँ ।शायद मेरो लेखाई राम्रै लागेर होला धेरै काटछाँट समेत भएको थिएन । पहिलो समाचारनै बाइलाइनमा छापिएपछि मलाई उत्साह बढ्यो, जाँगर थपियो । अब दिनदिनै समाचार पठाउन थालेँ ।

त्यतिखेर जिल्लाबाट प्रेशित समाचार हेर्ने, सम्पादक गर्ने डेस्कको उपसम्पादक दीपकजीनै हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरेर उहाँले पनि हौसला, समाचारका संभावित विषयहरु दिनुहुन्थ्यो । अंग नपुगेका समाचारहरुमा थप विवरण जुटाउन उहाँलेनै सल्लाह सुझावहरु दिनुहुन्थ्यो । २०५४ जेठको सुरुवातबाट आजको समाचारपत्रमा जोडिन पुगेको मैले नुवाकोटबाट साढे चार वर्ष स्ट्रिन्जरका रुपमा काम गरेँ ।

एउटा यहाँ जोड्नै पर्ने सन्दर्भ के छ भने २०५४ को भदौको कुनै दिन थियो । त्यही दिन बेलायती युवराज्ञी लेडी डायनाको निधन भएको थियो । परिचयपत्र बनाउनका लागि काठमाडौं आएको समयमा म प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ सरको चेम्बरमा कुरिरहँदा लेडी डायनाको निधन भएको समाचार बिबिसीमा त्यतिबेलै हेरेँ । समाचारपत्रको सहप्रकाशनका रुपमा महानगर सन्ध्याकालिन दैनिक प्रकाशित हुने कारणले गर्दा महानगरमा त्यो समाचार तयार गर्न साथीहरुको दौडधुप, तयारीलाई मैले त्यतिखेर त्यहीँ रहेर नजिकैबाटै देख्ने मौका समेत मिलेको थियो ।

समाचारपत्रको कार्यालय भीमसेनस्थानमा परिचयपत्र, नियुक्ति, केही निर्देशन, सुझावहरु लिएर फर्कदै गर्दा न्यूरोडमा महानगर दैनिक हाताहाती बिक्री भैरहेको दृश्य देख्ने अवसर पनि पाएँ । त्यतिखेर सन्ध्याकालिन दैनिकको पिक सिजन थियो । अहिले जस्तो नत अनलाइनको कल्पना गरिएको थियो, नत सोसल मिडियाले तत्काल स्कूप दिने कुरा सोचिएको थियो । त्यहि दिनको तातोतातो समाचार दिने सन्ध्याकालिन भन्दा अरु कुनै थिएनन् ।

मेरो पत्रकारितालाई निखार्न, तिखार्न जिल्लामै रहँदा पनि नेपाल समाचारपत्रका तत्कालिन प्रधानसम्पादक पुष्कर सरले गर्नुभएको सहयोगलाई आज पनि म त्यतिकै सम्झिरहेको छु । नेपाल प्रेस इन्स्टिच्यूटले प्रदान गर्ने एक महिने आर्थिक पत्रकारिता तालिममा मलाई सहभागी हुनका लागि उहाँलेनै सुझाव अनि प्रेरणा दिनुभएको थियो । त्यही तालिमका कारण मलाई पछि आर्थिक पत्रकारितामा लाग्न रुची पनि ब्ढ्यो । किनकी अंक खेलाउने, तथ्यांकलाई अध्ययन गरेर समाचार लेख्ने काम धेरैका लागि अहिले त रुचीकर हुँदैन भने त्यतिखेर गतिलोसँग आर्थिक पत्रकारिताले एउटा विटको रुप समेत ग्रहण गरिसकेको थिएन ।

जिल्लाबाट साढे चार वर्ष नेपाल समाचारपत्रमा रिपोटिंग गरिसकेपछि मलाई अझै पत्रकारिता तिखार्न मन लाग्यो । नेपाल प्रेस इन्सिच्यूटले दिने एक वर्ष ’डिप्लोमा इन जर्नालिज्म कोर्स’ लिने तयारी गरेँ । छनौट भएर भर्ना पनि भएँ । एक वर्ष काठमाडौंमा टिक्न मैले गर्न सक्ने काम पत्रकारिता भन्दा अरु केही थिएन । त्यो अवस्थामा मलाई समाचारपत्रले निकै ठूलो भरथेग नगरेको भए आज म कुन पेशामा हुन्थे, कहाँ हुन्थे अनुमान समेत पनि लगाउन सक्दिन ।

किनकी मानिसको जीवन, पेशा भन्ने कुरामा एउटा सामान्य घटना, एउटा टर्निंग प्वाइन्टले समेत ठूलो असर पार्छ । त्यतिखेर नेपाल समाचारपत्रमा ओभर स्टाफिङ्ग भएका कारण भरखरै केही साथीहरुले बिदा पाएको अवस्था थियो । मैले सुरुमा सम्पादक कपिल सरसँग आफूलाई समाचारपत्रमै काम गर्ने मौका दिनका लागि आग्रह गरेँ । प्रेस इन्स्टिच्युटको तालिम संयोजक उहाँनै भएका कारण उहाँले मेरो वाध्यता बुझ्नुभएको थियो । ’मान्छे धेरै भएर भरखरै अस्तिमात्र कृष्ण भट्टराईजीलाई बिदा गरियो । अरु पनि धेरैलाई गएको महिना बिदा गरियो । एकपटक तपाई पुष्कर सरसँगै गएर कुरा राख्नुहोला’ कपिल सरले सुझाव दिनुभयो ।
उहाँको भनाईले म निराश जस्तै भैसकेको थिएँ । समाचारपत्रको भीमसेनस्थान अफिसको पाँचौ तल्लामा रहेको पुष्कर सरको कार्यकक्षमा जानुपूर्ब तलबाटै फोन गरेँ ।आउनुस् न आउनुस् माथि नै उहाँले भन्नुभयो ।

भगवती दिदी उहाँको सेक्रेटरी हुनुहुन्थ्यो । दिदीले सदाझैँ मुस्कुराउँदै भित्र सरकोमा जान संकेत गर्नुभयो । सर म एक वर्षे तालिमका लागि काठमाडौं बस्नुपर्ने अवस्था भयो । मलाई यही काम गर्ने मौका दिनुपर्यो मैले पुष्कर सरलाई पनि त्यही अनुरोध दोहोर्याए जुन कपिल सरलाई गरिसकेको थिएँ । पुष्कर सरले केही सोच्दै सोध्नुभयो–’कुन बिटमा काम गर्ने तपाईको चाहना छ ?’ मैले दायाँ बायाँ सोच्दै नसोची जवाफ दिएँ–’खेलकुद बाहेक सबै बिटमा गर्नसक्छु । तर आर्थिक बिटमा भयो भने अझै क्षमता देखाउन सक्ने थिएँ । किनकी मैले क्याम्पसमा पढेको पनि अर्थशास्त्र हो । प्लस प्रेस इन्स्टिच्युटबाट एक महिने आर्थिक पत्रकारिता तालिम पनि लिइसकेको छु ।’

मेरो जवाफले उहाँ मुस्कुराउनुभयो । ‘हुन्छ तपाईलाई कसरी एडजष्ट गर्ने म कपिलजीसँग सल्लाह गरौंला । अहिलेलाई काम गर्दैगर्नुहोला । आर्थिक बिटमा रहेर काम गर्नुस् । गजेन्द्रलाई पनि म भनिदिन्छु’ उहाँको विश्वास बोकेर म तल झरेँ । त्यतिखेर आर्थिक व्यूरोमा गजेन्द्र बुढाथोकी, भीमसेन सापकोटा, विष्णु शीतल र जयराम सुवेदी कार्यरत थिए । आर्थिकका पनि सब सेक्टरहरु छुट्याएर सबैले जिम्मेवारी लिएका थिए । कोर इकोनमी, अर्थमन्त्रालय, योजना आयोग, राष्ट्र बैंकका समाचार गजेन्द्रको जिम्मामा थियो ।

शीतलजी उपभोक्ता, उद्योग व्यबसाय, आपूर्तिका बारेमा लेख्नहुन्थ्षे । भीमसेनजी पर्यटन, होटल लगायतको क्षेत्रमा समाचार लेख्नुहुन्थ्यो भने जयरामजी कृषि क्षेत्रका बारेमा । म चाँही उहाँहरुले रिपोर्टिंग गर्न जान नभ्याउनुभएको, उहाँहरुले अह्राउनुभएको क्षेत्रमा रिपोर्टिंगका लागि जान थालेँ । मैले यो कार्यक्रममा ठूलो र महत्वपूर्ण समाचार मिल्छ, यसमा ठूला पोलिसीमेकरहरुसँग चिनजान हुन्छ भन्ने हिसाबले सोच लिइन ।

मलाई राजधानीमा सानो चिनजान र क्षेत्रबाट पसेर बिस्तारै समाचारको स्रोत बनाउनु थियो । कसैले नहेर्ने सहकारी क्षेत्र, सार्वजनिक यातायातमा खोजेर समाचार बनाउन थालेँ । केन्द्रमा रिपोर्टिंग गर्ने सबै सहकर्मीहरु मासिक तलवी हुनुहुन्थ्यो । तर म भने स्टिन्जरनै थिएँ । २०५८ माघदेखि २०५९ माघसम्मै म स्टिन्जर भएर रिपोटिंग गरे केन्द्रमा । स्टिन्जर हुँदा पनि मलाई आर्थिक रुपमा भने मैले तलवी साथीहरु भन्दा पनि बढी रकम हात पार्थे । किनकी धेरैभन्दा धेरै ठाउँमा रिपोर्टिंगका लागि जान्थे । कम्तिमा तीनवटा समाचार लेखेकै हुन्थेँ ।

त्यतिखेर नेपाल र भारतका बीचमा बाणिज्य वार्ता निकै हुन्थ्यो । कहिले काठमाडौंमा, कहिले नयाँदिल्लीमा । भारतले नेपाली उत्पादनहरु बनस्पती घिउ, जिंक अक्साइड, धागोमा घरिघरि दुःख दिइरहन्थ्यो । त्यसको लागि बार्षिक काटानै निर्धारण भएको थियो । त्यो कोटाले गर्दा नेपालमा बनस्पति घिउका उद्योगहरु बने, कतिले कोटा दुरुपयोग नगरेका पनि होइनन् ।

राति १० बजे सिंहदरबारमा रहेको उद्योग बाणिज्य मन्त्रालयमा वार्ता सकिन्थ्यो । हिँडेर भीमसेनस्थानको अफिसमा आइपुगेर समाचार लेख्दा एकपटक त रातीको एक पनि बजेको थियो । डेरामा पुग्दा राति साढे २ बज्थ्यो । यद्यपी त्यो घटना, सन्दर्भले मलाई आर्थिक पत्रकारितामा चिनाउन र समाचार स्रोत बनाउन, विश्वास जित्न निकै सघाउ पुग्यो ।

बीरगञ्जमा त्यतिखेर भरखरै तयार भएको सुक्खा बन्दरगाह सञ्चालनका लागि कैंयौ पटक नेपाली र भारतीय अधिकारीहरुका बीचमा बैठक भए । लामो समयसम्म सुक्खा बन्दरगाहको सञ्चालनमा आउन सकेन । विश्व बैंकको ऋणमा तयार भएका यी प्रोजेक्टहरु सञ्चालनमा नआउँदा नेपाललाई आर्थिक रुपमा व्ययभार थपिदै गएको थियो ।

एक वर्षका बीचमा मैले लेखेका समाचारहरुका कारण पुष्कर सर सन्तुष्ट हुनुभएको थियो । कतिपय कार्यक्रमहरु, जुन उहाँले निकै महत्वपूर्ण ठानेकाहरुमा रिपोटिंगमा जान मलाई असाइन गर्नुहुन्थ्यो । उहाँ पुग्नैपर्ने प्रोग्रामहरुमा मलाई आफ्नै गाडीमा लिएर जानुहुन्थ्यो ।

२०५९ माघमा स्टिन्जर भएको एक वर्ष पुरा हुन लाग्दैथियो । एक दिन प्रशासनबाट नियुक्ति पत्र बुझ्न बोलावट भयो । कुमार नेपाल प्रशासनको प्रमुख हुनुहुन्थ्यो । उहाँले बोलाएर पत्र दिनुभयो । मेरो पारिश्रमिक त्यसमा ८ हजार रुपैयाँ तोकिएको थियो । जबकी धेरै सहकर्मीहरुको ६ हजार ५ सय, सातहजार भन्दा बढी कसैको थिएन । मेरो पारिश्रमिक देखेर शंका लागेर कुमारजीले पुष्कर सरसँगै कन्फर्म हो भनेर सोध्न मात्र बाँकी रहेछ । पुष्कर सरकै हस्ताक्षर भएको पत्र भएकोले कुमारजीनै मलाई पत्र दिँदा चित खानुभएको थियो । तर अर्को महिनादेखि अरु साथीको तलव ८ हजारकै हाराहारीमा भयो ।

२०६० सालमा भीमसेनस्थानबाट कामना प्रकाशन समूह सोल्टीमोडमा सर्यो । निकै भव्य अफिस भवन, सबैलाई पायक पर्ने ठाउँ थियो । हरेक व्यूरोलाई व्यबस्थित गर्ने काम त्यतिखेर भयो । आफ्नो बिटमा गहिरो ज्ञान भएका पत्रकारहरुका कारण त्यतिखेर नेपाल समाचारपत्रले निकै राम्रो पिक लिएको महसुस हामी पत्रकारहरुले पनि गरेका थियौँ । सिर्जनशील समूहको नाममा नेपालका उद्योगी व्यबसायीहरु (पदम ज्योति, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, प्रदीपजंग पाण्डे लगायत) लगानीकर्ताका रुपमा प्रवेश गरे ।

सिर्जनशील समूह प्रवेशकै सन्दर्भमा मेरो पत्रकारिता जीवनमा घटेको एउटा अविस्मरणीय सन्दर्भ पनि छ । सिर्जनशील समूह नयाँ लगानीकर्ताहरुको रुपमा प्रवेशको तयारी भैरहेको रहेछ । त्यसैबेला बुटवल पावर कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा स्टक मार्केटमा बढ्न सुरु गर्यो । स्टक एक्सचेन्जकै अधिकारीहरुले यो शेयर मूल्य वृद्धिलाई कुनै चलखेलको रुपमा संकेत गरे । त्यतिखेरसम्म मैले स्टक मार्केटको रिपोर्टिग गर्न थालिसकेको थिएँ । शेयर ब्रोकर, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जमा स्रोतहरु थिए । बुटवल पावरको शेयरमूल्यमा भएको बृद्धिलाई लिएर समाचार तयार पारेँ । लगातार तीन चार दिनसम्म फलोअप समाचार पनि दिइरहेँ ।

एक दिन पुष्कर सरले सम्पादन आफ्नो चेम्बरमा बोलाउनुभयो । उहाँ अलिक निराश र हतास मुद्रामा देखिनुहुन्थ्यो । बर्बादै हुने भयो नि यी समाचारले उहाँले त्यसै दिन प्रकाशित बुटवल पावरको शेयर संबन्धि समाचारलाई देखाउँदै भन्नुभयो ।
किन र सर ? मेरो स्रोतले गलत समाचार दिएको जस्तो लाग्दैन ? मैले जिज्ञासा राखेँ । उहाँले सिर्जनशील समूहकै केही सदस्यहरुको लगानी बुटवल पावरमा रहेको र यही समाचारका कारण उनीहरु कामना प्रकाशनमा लगानी गर्न भड्किएको जानकारी दिनुभयो । उहाँले मेरो समाचार प्रति शंका गर्नुभएन । तर परिस्थितीलाई दर्शाउनुभयो मात्र ।

बुटवल पावरको शेयर बजारको उछाल पनि बन्द भयो । मैले फलोअप समाचार खासै गरिन । किनकी साम्य भैसकेको थियो । पुष्कर सरको बानी सहकर्मी, पत्रकारहरुलाई निकै विश्वास गर्ने खालको थियो । मेरा केही समाचारले लाखौ रुपैयाँको विज्ञापन आउन बन्द भयो । तर उहाँले कहिल्यै पनि पत्रकारहरुलाई नलेख्न निर्देशन दिने, विज्ञापन गुम्यो भनेर हतोत्साही बनाउनु भएन ।
सहकर्मी गजेन्द्रले समाचारपत्र छाडेर राजधानी जाने निर्णय लिनुभयो ।

गजेन्द्रले व्यूरो चिफको जिम्मेवारी लामो समयदेखि सम्हालि रहनुभएको थियो । गजेन्द्रले छाडेपछिको भ्याकुमलाई पुरा गर्न पुष्कर सरले मलाई जिम्मेवारी दिनुभयो । व्यूरोमा म भन्दा निकै सिनियर सहकर्मीहरु हुनुहुन्थ्यो । तर मेरो इमान्दारिता र क्षमता देखेर उहाँले मलाई विश्वास गर्नुभएको थियो ।मैले जिल्ला र केन्द्रमा रहेर झण्डै १२ बर्ष नेपाल समाचारपत्रमा बिताएँ । मैले पत्रकारितामा जे जति ज्ञान सिकेँ, मानिसहरु चिनेँ त्यसमा ८० प्रतिशत नेपाल समाचारपत्रको देन रह्यो । २०६५ पुसमा नेपाल समाचारपत्र छाडेर नयाँ खुल्न लागेको नागरिकमा जाने निर्णय लिन मलाई निकै कठिनाई परेको थियो । पुष्कर सरको विश्वास, मिडियामा रहेको त्यस खालेका पारिवारिक वातावरण छाडेर नयाँ मिडियामा जाने निर्णय लिनु अघि दुई हप्तासम्म मैले निकै सोचेँ ।

मेरो निर्णय सुनेर पुष्कर सर समेत निकै भावुक हुनुभएको थियो त्यतिखेर । मैले आफ्नो वाध्यता, आर्थिक रुपमा समेत नयाँ मिडियामा अलिक सुविधा भएको र नयाँ पाठशाला भएकोले उहाँलाई पछि कुनै पनि समय नेपाल समाचारपत्रमा फर्किन सक्ने विश्वास दिलाएको थिएँ ।

आज पुष्कर सर यो दुनियामा हुनुहुन्न । तर उहाँको सादगीपन, काम गर्ने पत्रकारहरुलाई परिवारकै सदस्य मान्ने सोच मैले अरु मिडियामा काम गर्दा भेट्न सकिन । नेपाल समाचारपत्र मेरो जीवनको एउटा टर्निंग प्वाइन्ट भयो । जस्ले मलाई पत्रकारिता तिखार्ने प्लाटफर्म मात्र दिएन, मलाई देश चिन्न सिकायो, मान्छे चिनायो । समष्टीमा देशको अर्थतन्त्र, उद्योग, व्यापारको अवस्थाका बारेमा सतहसम्म पुगेर जान्ने एउटा ठूलो अवसर दियो ।

भौतिक रुपले टाढा भएपनि आज पनि मेरो मन त्यही भीमसेनस्थानको कामना प्लाजा, सम्पादक बिभागमा पुष्कर सरको आगमन र साथीहरु छलफल गर्ने बानी, ऋषि दाईले प्याज हालेर बनाइदिएको रारा चाउचाउ, कालो चिया अमिट छाप बनेर बसेका छन् ।

संस्थापक भरतलाल अंकल नहुनुभएपनि, प्रधान सम्पादक पुष्कर सरले छाडेर जानुभएपनि यो प्रकाशन सदीयौसम्म नयाँ प्रविधिलाई अवलम्बन गरेर पाठकहरुको विश्वासले टिकिरहोस् । ताकी मैले पनि कुनै बेला समाचारपत्रमा काम गरेको थिएँ भन्दा गर्व गर्ने अवस्था बनिरहोस् । आजको दिनमा विगतदेखि वर्तमानसम्म यस प्रकाशनमा जोडिएका सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्