व्यावसायिक पत्रकारिताको प्राण

सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार



बद्री तिवारी

पत्रकारिता यात्राको साढे तीन दशकमध्ये दुई दशक त तत्कालीन कामना प्रकाशनसमूह (हालको कामना न्यूज पब्लिकेशन्स्)मै बित्यो यस पंक्तिकारको । नेपाल प्रेस इन्स्टिच्युटमा दश महिने पत्रकारिता तालिमपछि फाटफुट रुपमा समाचार तथा लेखहरु प्रकाशन गर्ने क्रमले कामना प्रकाशन समूहमा आवद्ध भएपछि निरन्तरता पाएको हो ।

प्रकाशन शुरु भएको आठौं वर्षको उत्तराद्र्धतिर (२०४८ कार्तिक) मा यस प्रतिष्ठानमा काम शुरु गर्दादेखि हासम्म आइपुग्दा धेरैखाले उतारचढाव आए । यद्यपि कामना प्रकाशन समूहले ती उतारचढावको एक–एक गरी सामना गर्दै देशकै एक प्रतिष्ठित संस्था बन्न सक्नुमा यसका प्रत्यक्ष तथा परोक्ष सरोकारवालाको सहयात्रा नै महत्वपूर्ण पक्ष हो भन्न हिच्किचाइरहनुपर्दैन ।

यस लेखमा पंक्तिकारले भोगेको विगत र नेपाली मिडियाको अभ्यासलाई थोरै चर्चा गर्ने प्रयास गर्नेछ । यस संस्थाबाट नियमित रुपमा प्रकाशित हुँदै आएका कामना सिने मासिक र साधना मासिकमा अभ्यास गर्दा गर्दै एक वर्षभित्रै महानगर सन्ध्याकालीन दैनिकको प्रकाशन शुरु भयो ।

संस्थाले २०४९ सालमा शुरु भएको महानगरमा सह–सम्पादकको जिम्मेवारी प्रदान ग¥यो, देशकै चर्चित सन्ध्याकालीन दैनिक पत्रिका महानगर छोटो अवधिमै यति धेरै लोकप्रिय भयो कि राजधानीमा यसलाई खोजी खोजी पढ्ने पाठकको संख्या ह्वात्तै बढ्न पुग्यो । महानगर काठमाडौंबाट प्रकाशित हुँदै आए पनि यसले नजिकका जिल्लाहरुमा पनि प्रभाव जमाएको थियो । अझ अन्य राष्ट्रिय दैनिकमा जस्तै महानगरमा विज्ञापन छपाउन विज्ञापनदाताको दौडधूप चल्थ्यो, राज्यका अंगले पनि अन्य राष्ट्रिय दैनिक सरह नै महानगरमा प्रकाशित विज्ञापनको मान्यता दिने गर्दथे ।

बजारको माग बढ्दै जाँदा दिनको तीन पटकसम्म छापेर पनि नियमित पाठकको हातमा पुग्नै नपाई सडकमै बिक्री भइसक्ने महानगरसँग हाम्रो यतिसम्म लगाव थियो कि भोलिपल्ट भित्री पृष्ठमा छापिने सामग्री अघिल्लै साँझ तयार पार्ने र प्रथम तथा अन्तिम पृष्ठका लागि ताजा समाचार भोलिपल्ट बिहानैदेखि संकलन, लेखन, सम्पादन र प्रकाशन गर्ने कार्यमा दिनरात लागेकोले समय व्यतित भएको पत्तै हुँदैनथ्यो । महानगर दैनिकको सफलतासँगै प्रकाशन गृहले २०५२ सालमा ब्रोडशिट (ठूलो आकारको राष्ट्रिय दैनिक) ‘आजको समाचारपत्र’ (हाल नेपाल समाचारपत्र) को प्रकाशन शुरु गर्ने निर्णय ग¥यो । सो निर्णयसँगै जिम्मेवारी बढ्दै गयो ।

महानगरका संस्थापक प्रकाशक÷प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र सम्पादक कपिल काफ्लेको नेतृत्वमा समाचारपत्र राष्ट्रिय दैनिकको यात्रा शुरु भयो । त्यसपछि महानगरको जिम्मेवारी सम्पादक आर.के.धर्मस्थली र कार्यकारी सम्पादक बद्री तिवारीलाई सुम्पिएर उहाँहरु पूर्ण रुपले राष्ट्रिय दैनिकमा केन्द्रित हुनुभयो । यो पंक्तिकार यसका लागि व्यक्तिगत रुपमा प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठ र सम्पादक मित्र कपिल काफ्लेप्रति आभारी छ ।

यसरी विश्वासका साथ पत्रिकाको प्रिन्टलाइनमा नाम नै आइसकेपछि स्वाभाविक रुपमा कामप्रति उत्साह बढ्ने नै भयो । मुलुकमा सम्वैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनर्बहालीसँगै पत्रकारिताको यात्रा रोचक, उत्साहवद्र्धक त थियो तर सहज भने थिएन । पाइला पाइलामा चुनौतीको सामना गर्दै अघि बढेको प्रकाशनका लगानीकर्ता, पत्रकार र कर्मचारी पनि त्यसबाट अछुतो रहेनन् ।

ठूलो आकारको राष्ट्रिय दैनिककोलोकप्रियता त बढ्दै थियो तर त्यससँगै निजी क्षेत्रबाट अन्य राष्ट्रिय दैनिक पत्रिकाहरु पनि बजारमा आए पछि त प्रतिस्पर्धा बढ्दै गयो । विज्ञापन विना कुनै पनि सञ्चार माध्यमले आर्थिक रुपमा फट्को मार्न सक्दैन भन्ने कुरा यहाँहरुलाई भन्नु परोइन । विज्ञापनको सीमित बजारबाटै दिनानुदिन बढ्दै गएका पत्रपत्रिका तथा रेडियो, टेलिभिजनलगायत सञ्चार माध्यम बाँच्नुपर्ने अवस्थामा पुगेपछि आर्थिक पाटोसँग जोडिएका चुनौतीहरु बढ्न थाले । यद्यपि कामना प्रकाशन गृहका प्रकाशनहरु कामना, साधना, महानगर र नेपाल समाचारपत्रको लोकप्रियतामा कुनै कमी आउन नदिन कामना परिवार दत्तचित्त भएर लागिरहेको सबै पाठक वर्ग, विज्ञापनदाता, शुभेच्छुकलगायत सम्बद्ध सबै सरोकारवालासमक्ष जगजाहेर छ ।

सरकारी मिडियालाई जस्तो सजिलो थिएन निजी क्षेत्रबाट प्रवद्र्धित मिडियालाई बाँच्नका लागि । दिनानुदिन बढ्दो खर्च धान्नका लागि कठिन भएर नै होला प्रधानसम्पादक श्रेष्ठ सहकर्मीमाझ कुराकानीका क्रममा समाचारपत्रलाई सेतो हात्तीको संज्ञा दिनुहुन्थ्यो । सेतो हात्ती पाल्न जति गाह्रो हुन्छ, आफैं कमाएर बाँच्नुपर्ने मिडियालाई टिक्न पनि त्यत्ति नै गाह्रो हुँदोरहेछ भन्ने पाठ समाचारपत्रले सिकायो ।

चुनौतीसँगै अवसर

चुनौतीसँग भिड्दै अघि बढ्ने क्रममा संस्थालाई आर्थिक संकट पर्नु अस्वाभाविक थिएन । परिणामतः पत्रकार तथा कर्मचारीहरुको सेवासुविधा तथा वृत्ति विकासका कार्यहरु पनि अपेक्षाकृत अगाडि बढ्न सकेनन् । सोही अवस्थालाई मध्यनजर गर्दै प्रधानसम्पादक श्रेष्ठले प्रकाशन समूह सञ्चालक समितिको बैठकमा साझेदारहरु भित्र्याउने प्रस्ताव पारित गराएर देशका प्रतिष्ठित औद्योगिक घराना दुगड ग्रुप र मुरारका अर्गनाइजेसनलाई स्वागत गरियो, लगानी त वृद्धि भयो तर खर्च पनि त्यत्तिकै अनुपातमा बढेर होला, सोचेजस्तो उपलब्धि हात लागेन ।

अनि मुलुकका तीसजनाभन्दा बढी प्रतिष्ठित उद्योगपति र व्यापारीहरुलाई साथ लिएर लगानी बढाउने काम गरियो । यस वीचमा केही पूर्व लगानीकर्ता र केही पत्रकारहरुले प्रकाशन छोडिसकेका थिए ।

केही वर्ष नियमित रुपमा प्रकाशन संस्थाले पत्रकार-कर्मचारीहरुलाई भुक्तानी गर्दै आएको थियो तर संस्थाको दीगो विकासको पक्ष थप अनिश्चित बन्दै गयो ।

यहाँसम्म कि तलब भत्ता तथा सुविधाका विषयलाई लिएर व्यवस्थापन एक्लैले नसकेपछि पत्रकार-कर्मचारीहरुको प्रतिनिधिमण्डल कहिले उद्योगपति पदम ज्योति नेतृत्वको ज्योति ग्रुप त कहिले प्रदीपकुमार श्रेष्ठले नेतृत्व गरेको पञ्चकन्या समूहमा डेलिगेसन जानुपरेको घटनाका साक्षात्कार सहकर्मी मित्रहरुलाई अहिले पनि ताजै होला ।

सञ्चालकहरु र व्यवस्थापनमा बेला–बेला आइपर्ने सम्वादहीनताका कारण उत्पन्न समस्याको समाधानका लागि पत्रकार र कर्मचारीहरुको सल्लाह पनि लिने गरिन्थ्यो, यसलाई कामना व्यवस्थापनको सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । व्यक्तिगत रुपमा भन्नुपर्दा यस पंक्तिकारले महानगरको सम्पादक भए पनि अतिरिक्त कार्यका रुपमा नेपाल समाचारपत्रको र्आिर्थक पृष्ठको जिम्मेवारी पनि सम्हालेको थियो । आर्थिक ब्यूरोमा कार्यरत परिपक्व साथीहरुको सहयोगबाट कार्य सम्पादन गर्न सकिएका कैयौं उदाहरणहरु छन् ।

यस प्रकाशन समूहमा कार्यरत रहँदा विभिन्न ब्यूरोमा आवश्यक पर्ने पत्रकार छनोट गर्ने कार्य पनि आफ्नै जिम्मेवारीमा आएको थियो । प्रधानसम्पादक श्रेष्ठ र सम्पादक काफ्लेसँगको सरसल्लाहमा पत्रकार आवश्यकताको विज्ञापन, उम्मेदवारहरुको निवेदन संकलन, प्रश्नपत्र निर्माण, लिखित परीक्षा सञ्चालन र लिखित परीक्षामा उत्तीर्ण हुनेहरुलाई उहाँहरुकै संलग्नतामा अन्तर्वार्तालगायत परीक्षाहरु निष्पक्षरुपमा सम्पन्न गरिएको थियो ।

वास्तवमा कुनै पनि उद्योग-व्यवसाय-प्रतिष्ठानमा सञ्चालित कार्यहरु सम्पन्न गर्नका लागि सबैभन्दा आवश्यक पर्ने स्रोत भनेको मानव स्रोत नै हो । भौतिक, आर्थिक, सूचना प्रविधिलगायत स्रोतहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने र त्यसको जिम्मेवारी मानव स्रोतकै हुने भएकोले पनि यसको छनोट गर्ने कार्य कम चुनौतीपूर्ण थिएन ।

यसरी भर्ना गएिका पत्रकारहरु सिफारिसमा आएका÷ल्याइएकाभन्दा बढी क्षमतावान भेटिए, त्यसैले यसलाई गौरबपूर्ण कार्य नै गरिएछ भन्ने लाग्दछ । संस्थामा कार्यरत पत्रकारहरुको पद अहिले पनि त्यहीबेला व्यवस्था गरिएअनुसार नै रहेको, केहीको पदोन्नति भएको पनि जानकारी प्राप्त भएको छ ।

त्यसबेला छानिएर वैकल्पिकमा परेका पत्रकारलाई आवश्यकताअनुसार अर्को वर्ष पनि बोलाएर काममा लगाइएका उदाहरणहरु पनि छन् । यद्यपि छनोट भएका केही पत्रकारले कार्य गर्न नसकेका कारण आफैं छोडेर गएका उदाहरण पनि छन् । त्यसो त काठमाडौंलगायत देशका विभिन्न प्रतिष्ठित सञ्चार प्रतिष्ठानहरुमा कामना प्रकाशनमै काम गरेका पत्रकारहरुको वर्चस्व रहेको देखिनु हाम्रा लागि थप गौरवको विषय हो ।

अझ कतिपयले आ–आफ्नै प्रिन्ट तथा अनलाइन मिडिया सञ्चालन गरिरहेका, रेडियो र टेलिभिजनमा पनि आवद्ध भई काम गरिरहेका साथीहरु भेटिनुहुन्छ, त्यसलाई पनि उपलब्धिकै रुपमा लिन सकिन्छ । यसरी हेर्दा कामना प्रकाशन समूह÷कामना न्यूज पब्लिकेशन्सले पत्रकारिता पाठशालाको भूमिका पनि निर्वाह गर्दै आएको छ भन्दा अत्युक्ति नहोला ।

महानगरमै कार्यरत रहँदा फिलिपिन्सको मनिला विश्वविद्यालयको सेन्टर फर जर्नालिजमबाट समाचारकक्ष व्यवस्थापनमा अनलाइन कोर्स गर्ने अवसर प्राप्त गरी लाभान्वित हुने मौका मिल्यो । जीवनमा सिकाइ कहिल्यै पनि सकिने होइन, यो निरन्तर चलिरहने प्रक्रिया भएकोले त्यो सिकाइ व्यावसायिक जीवनमा निक्कै नै महत्वपूर्ण बनेको छ ।

२०६० देखि २०६८ सम्म नेपाल समाचारपत्रको सम्पादकको जिम्मेवारी सम्हाल्न थालेपछि त समाचारपत्र व्यवस्थापन सम्बन्धी अध्ययनले निक्कै ठूलो सहयोग पु¥याएको अनुभव गर्न पाइयो । त्यही सिकाइले सक्रिय पत्रकारिताबाट अलग रहेर पत्रकारिता प्रशिक्षकको रुपमा विभिन्न जिल्लाहरुमा पत्रकारलाई तालिम दिन जाँदा पनि धेरै सहयोग गरेको छ ।

अझ कामना प्रकाशनमै आफ्नै नेतृत्वमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई स्रोत व्यक्ति चयन गरी बेला बेलामा पत्रकारिताको पुनर्ताजगी तालिम सञ्चालन गर्दाको अनुभव पनि कम उपलब्धिमूलक रहेन । यस्ता हरेक कार्यका अनुभवले मान्छेलाई थप परिपक्व बनाउँदै आफ्नो क्षेत्रमा व्यावसायिक बनाउँदै लग्दोरहेछ ।दुईदशक लामो पत्रकारिताको पेशागत यात्राका अनुभव एकै लेखमा समेटेर सकिने विषय भने होइन । यी त तत्काल सम्झनामा आएका गतिविधिहरुको संक्षिप्त विवरण मात्र हुन् ।

दबावमा सम्पादक
प्रकाशन गृहको नीति निर्देशनलाई पत्रकारसामु पु¥याउनु पर्ने, त्यसको कार्यान्वयन गनुपर्र्ने र व्यवस्थापनप्रति उत्तरदायी बन्नुपर्ने बाध्यात्मक परिस्थिति एकातिर खडा हुन्छ भने अर्कोतर्फ पत्रकारका आवाज,समस्या÷गुनासोलाई व्यवस्थापन समक्ष राख्नुपर्ने हुन्छ । अलिकति कलात्मक सीप भएका सम्पादकहरुले त त्यस्तो परिस्थितिलाई सन्तुलित बनाएर दुवै पक्षलाई सन्तुष्ट पार्न सक्लान्, व्यवस्थापनको भनाइ जस्ताको तस्तै पत्रकारलाई सुनाइदिने र पत्रकारको असन्तुष्टिलाई पनि जस्ताको तस्तै गरी व्यवस्थापनसमक्ष राखिदिने यो पंक्तिकार जस्ता सम्पादकलाई भने कहिलेकाहिँ अप्ठेरोमा पार्दो रहेछ भन्ने पाठ पनि सिकायो कार्यानुभवले ।

यही क्रममा दुईवटा सामान्य उदाहरण प्रस्तुत गर्न चाहान्छु– तलब सुविधा वृद्धि गरिदिनुपर्ने, समयमा तलब भुक्तानी दिनुपर्ने र अन्य प्रकाशन गृहको जस्तै सुविधाको व्यवस्था गरिदिनुपर्ने माग पत्रकारले अघि सार्दा व्यवस्थापन पक्षको जवाफ हुन्थ्यो–पत्रकारिता पनि कुनै जागिर हो र ? यो त व्यक्तित्व विकास गर्ने एक माध्यम हो, र आफ्नो पकड भएको बिटमा प्रभावशाली भएर निस्कँदा जहाँसुकै आफ्नो माग भइरहन्छ । अनि, यही पेशालाई परिवार पाल्नुपर्ने वाध्यता भएका पत्रकारका लागि त यो मान्यताले भोलिपल्टै विदा लिएर हिँड्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

अनि अर्को कुरा– व्यवस्थापनले विभिन्न अवसरमा पत्रिकाको अतिरिक्तांक प्रकाशित गर्ने वा अन्य रचनात्मक कार्यका लागि योजना बनाएको हुन्छ । त्यही क्रममा सबै बिटका पत्रकारलाई उनीहरुसँगको विज्ञताको आधारमा लेख तथा समाचार सामग्री तथा अन्तर्वार्ता तयार पार्न लगाउनुपर्ने दायित्व हुन्थ्यो । तोकिएको समयमा नबुझाउने पत्रकारलाई सम्झाएर सकेसम्म छिटो बुझाउन लगाउने काम सम्पादककै हुने गर्दथ्यो ।

त्यसो गर्दा आफ्ना सम्वाददाता सहकर्मीहरुबाट अनपेक्षित जवाफ पाएर अवाक् हुनुपर्ने अवस्था पनि भोगियो । त्यसपछि वास्तवमा देखेको भरमा हुने बुझाइ र व्यवहारबाट देखिने भोगाइ फरक हुँदोरहेछ भन्ने पाठ पनि सिकायो भलाद्मी साथीहरुसँगको संगतले । यस्तो पाठ न पैसा खर्च गरेर सिक्न पाइन्छ न त चाहनेवित्तिकै सकिन्छ ।त्यसपछि लाग्यो कुनै पनि व्यक्तिले प्रस्तुत गर्ने व्यवहारको पछाडि कुनै न कुनै कारण हुँदोरहेछ । समाज विज्ञान-व्यावहारिक विज्ञानको यो पाटो थाहा पाउन सक्ने सम्पादक मात्र त्यस्ता व्यक्तिहरुसँग सम्झौता गर्न सक्दछ ।

गलत अभ्यासबाट उत्पन्न विकृति
नेपालमा व्यावसायिक पत्रकारिता अभ्यासको उद्देश्यका साथ अगाडि बढेको कामना प्रकाशनले एकाध घटनाहरुलाई छोडी वास्तविकतामै व्यावसायिक अभ्यासमा जोड दिँदै आएको छ । व्यावसायिक पत्रकारिताको मुटु भनौं वा मूल मन्त्र भनेको सत्य तथ्य सूचना सामग्रीको खोजी, सन्तुलन, विश्वसनीयता र सामाजिक उत्तरदायित्वहुन् । पत्रकारको ज्ञान, शीप, क्षमता र गुण तथा सकारात्मक दृष्टिकोणबाट नै व्यावसायिक पत्रकारिताको यात्रा तय गर्न सकिन्छ भन्ने आम मान्यता छ । अर्को एकथरि विद्वानहरुका अनुसार पेशागत आचारसंहिता नै व्यावसायिक पत्रकारिताको आधारभूत आवश्यकता हो, मूल मर्म हो ।

‘लेनदेन पत्रकारिता’को अभ्यासमा लिप्तहरुलाई यो सिद्दान्त-आदर्शका कुराले छुँदैन, किनकि उनीहरुले त्यस्तो पत्रकारिता अभ्यास नै जीविकोपार्जनको माध्यम बनाएका हुन्छन्, मिडियालाई दुरुपयोग गरी ‘जसरी हुन्छ कमाउ’ धन्दा गर्न पछि पर्दैनन् । कुनै विषयलाई लिएर कसैको बारेमा सकारात्मक समाचार छाप्न होस् वा कसैको बारेमा उसले गरेका कर्तुतलाई प्रकाशमा ल्याइदिने धम्की दिएर होस्, दुवै किसिमबाट आर्थिक लेनदेन गर्ने विकृतिलाई नै लेनदेन पत्रकारिताको नाम दिँदा फरक नपर्ला ।
पछिल्ला वर्षहरुमा यस्ता विकृति विसंगतिका कारण नेपालमा पत्रकारलाई हेर्ने आम दृष्टिकोण नै धमिलिएको छ । आचारसंहिता उल्लंघन भएको छ, कहीं कसैको मतलव नराखी जसो मन लाग्यो त्यसो गरेर समाचार बनाइने गरिएको छ र हरेक विषयलाई बार्गेनिङमा लगेर टुंग्याइएकोजस्ता गलत अभ्यासहरुबाट नै नेपाली सञ्चारकर्मी तथा पत्रकारहरुको छवि धुमिल भएको हो ।

पेशागत सुरक्षाको सवाल
नेपाली मिडिया कहाँ चुक्यो? यो निक्कै गहन अध्ययनको विषय हो । विना अध्ययन÷विश्लेषण हचुवाका भरमा यसै हो भन्न सकिँदैन, तैपनि नभनी नहुने कुरा चाहिँ फेरि पनि पेशागत धर्म निर्वाहका लागि व्यावसायिकताको विकास र सञ्चार कर्ममा त्यसको अविछिन्न प्रयोगको आवश्यकता चाहिँ छ । एक डेढ दशक अघिसम्म पत्रकारिता पढ्नेविद्यार्थीहरुको भीड लाग्दथ्यो कलेजहरुमा र तालिम लिनेहरु तँछाड् मछाड् गर्दै ट्रेनिङ इन्स्टिच्युटहरुमा पुग्थे, तर अहिले त्यो स्थिति रहेन ।

त्यो आकर्षण एकाएक हराउँदै गयो । अहिले पत्रकारिता पढाउने कलेजका धेरैजसो डेस्क बेन्च खालि छन्, तालिम प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरु प्रशिक्षार्थीको अभावमा कार्यालयको भाडासमेत तिर्नसक्ने अवस्थामा छैनन् । यसो हुनुको पछाडि पनि कारणहरु छन् । खोजी गरिनुपर्दछ ।

मिडियाले पत्रकारहरुको पेशागत भविष्यलाई खासै वास्ता नगर्दा, महिना भुक्तान हुनेवित्तिकै तलब भत्ता प्रदान नगर्दा, विना तालिम प्रशिक्षणका सिकारुहरुलाई काममा भर्ना गरेर काम लगाउँदा, व्यावसायिकताको विकासका लागि तालिम, गोष्ठी, कार्यशालाहरुको आयोजना नगर्नु र स्थायी नगर्नु, सरकारले तोकेको न्यूनतम तलब सुविधा पनि प्रदान नगर्नु, सरकारी सञ्चारमाध्यम बाहेक अन्य निजी प्रतिष्ठानहरुमा सञ्चयकोष, उपदान, स्वास्थ्य सुविधा, वीमाजस्ता कोषको व्यवस्था गर्न नसक्नु र पेशागत वृत्ति विकासका लागि कुनै पनि खालका योजना, नीति तथा कार्यक्रमहरु ल्याउन नसक्नुले पत्रकारिताप्रति नैराश्यता बढिरहेको विषयलाई गम्भीर रुपमा नलिएसम्म विद्यमान अवस्था परिवर्तन हुने सम्भावना एकदम न्यून छ भन्दा फरक नपर्ला ।

स्वच्छ,स्वस्थ र व्यावसायिक पत्रकारिताको विकास किन पनि अनिवार्य भइसकेको छ भने मिडियाका नाममा जथाभावी रुपमा गैर व्यावसायिक अभ्यासहरु हुनपुग्दा यसक्षेत्रको मानमर्दन भइरहेको छ । पत्रकार अनुशासित नहुनु, मिडियाहरुले नितान्त निजी स्वार्थलाई प्रश्रय दिएर छाडा छोडिदिनु र नियामक निकायहरु प्रभावकारी बन्न नसक्नुको कारण वर्तमान अवस्था उतपन्न हुन पुगेको हो । साथै, राजनीतिक आवरणमा पत्रकारिता गरेर निजी, गुटगत तथा दलगत स्वार्थ पूर्ति गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएकोले पनि मिडियाको क्षेत्रमा चिन्ताजनक अवस्था उत्पन्न भएको छ । त्यसकारण पत्रकारहरुको पेशागत भविष्य सुरक्षित गर्दै उनीहरुको वृत्ति विकास तथा सामाजिक सुरक्षाको पाटोलाई पूर्णरुपमा सम्वोधन तथा व्यवस्थापनको आवश्यकता देखिन्छ ।

दबमचष्उत२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्