कामना प्रकाशन समूह

पारिवारिक वातावरणमा बिताएका ६ वर्ष



रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्दै गर्दा पढाइसँगै पत्रकारिता गर्ने रहर जाग्न थाल्यो । यो २०५७ को कुरा हो । त्यसबेला केही औंलामा गन्न सकिने दैनिक र साप्ताहिक पत्रिका प्रकाशित हुन्थे । पत्रकारिताको फिल्ड अनुभव लिने रहरले २०५७ माघमा समदृष्टि साप्ताहिकमा पुगेको थिएँ ।
२०५८ को दरबार हत्याकाण्डसँगै काठमाडौंमा कफ्र्यु लाग्यो । अहिले पनि याद छ, अनामनगरमा गोली चलेछ । साना नानीहरू घाइते भए । त्यस बेलाको समदृष्टि साप्ताहिकमा मेरो बाइलाइन प्रथम पृष्ठमा फिचर छापियो ‘कफ्र्यु उल्लंघन गरेवापत गोली खाने बच्चाहरू ।’त्यस प्रकारले स्थान पाएपछि समाचार लेख्ने थप चाहना जाँगर र प्रेरणा मिलेको थियो ।
समदृष्टि साप्ताहिकमा काम गर्दागर्दै अन्नपूर्ण पोस्ट भर्खर प्रकाशित हुँदै थियो, र म अन्नपूर्ण पोस्टमा काम गर्न पुगेँ । त्यसवेला अन्नपूर्ण पोस्ट दैनिकमाप्रकाशक तथा प्रधान सम्पादक गोविन्द प्रधान हुनुहुन्थ्यो भने निर्देशक शशि प्रधान । अन्नपूर्ण पोस्टमा छोटो समयका लागि काम गरेपनि सानो टिम थियो भने अझै याद छ, मासिक तलब आधा–आधा गरेर १५-१५ दिनमा प्राप्त हुन्थ्यो ।
त्यहाँ केही समय काम गरेपछि अन्नपूर्ण पोस्ट दैनिक छोडेर म फ्रिर्लन्सरको रूपमा नेपाल समाचारपत्र दैनिकमा जोडिन पुगेँ । त्यसवेला नेपाल समाचारपत्र दैनिकमा हरेक दिन शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका आदि शीर्षकमा एक पेज फिचर प्रकाशन हुन्थ्यो । त्यसै पेजमा विशेष गरी महिला बालबालिकासम्बन्धी विषयमा मैले लेखेको थुप्रै फिचर समेत प्रकाशित भएका थिए । खासगरी सडक बालबालिका, पत्रिका बेच्ने हकर बालकहरू, सडक छेउमा मकै पोल्ने, टेप्पो चलाउने महिलाहरूको दैनिकी र भोगाइ मेरा फिचरको मुख्य विषयवस्तु हुने गरेका थिए । जुन फिचर लेखे वापत पारिश्रमिक समेत प्राप्त हुन्थ्यो । यसरी कामना प्रकशन समुहसँग अप्रत्यक्ष रुपले जोडिएको थिएँ ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह अध्ययन गर्दा कुनै पनि मिडिया हाउसमा ३ महिनाको इन्टरसिप गर्नुपर्ने हुन्थ्यो । त्यसै क्रममा मैले पत्रकारिताका मेरा गुरु बद्री पौड्याललाई नेपाल समाचारपत्रमा इन्टरसिप गर्ने भनेर नाम टिपाएँ । त्यसपछि नेपाल समाचारपत्र दैनिकमा आधिकारिक रूपमा नै रिपोर्टिङ गर्ने अवसर प्राप्त भयो । कामना प्रकाशन समूहबाट प्रकाशित नेपाल समाचारपत्र दैनिक, कामना सिने मासिक, साधना मासिक र महानगर सन्ध्याकालीन जुनसुकैमा लेख्न सकिने वातावरण थियो । यसका साथै कामना प्रकाशन समूहमा एक किसिमको पारिवारिक वातावरणमा काम गर्ने अवसर प्राप्त भएको महशुस गरेको छु ।
त्यस समयमा सम्पादक बद्री तिवारी, कुशल गौतम, डा.महेन्द्र विष्ट, टंक पन्त, दानदास श्रेष्ठ, कमल पौडेल, दीपक रिजाल, गजेन्द्र बुढाथोकी, स्वागत नेपाललगायत सिनियरहरू सँग काम गर्न पाउनु एउटा अवसर पनि थियो । इन्टरसिपको करिब ३ महिनापछि एक दिन पुष्करलाल श्रेष्ठ सरलाई भेटेर अब नियुक्तिसहित काम गर्न इच्छुक रहेको बताएँ । सरले तत्काल कुनै प्रतिक्रिया दिनुभएन । भोलि भेट्न भन्नुभयो ।
भोलिपल्ट पुष्कर सरलाई भेट्नु मेरो लागि अर्कोे एक अविस्मरणीय समय हुनपुग्यो । त्यस दिन पुष्कर सरले भन्नुभएको थियो – तपाईले २-४ दिनअघि भन्नुभएन केही साथीहरूलाई मैले नियुक्ति दिएँ । मैले तपाईंलाई हुँदैन भन्न पनि सक्दिन किनकि तपाई राम्रो रिपोर्टिङ गरिरहनु भएको छ ।
अब म तपाईंलाई एउटा अवसर दिन्छु जुन चुनौतीपूर्ण छ, के गर्नुहुन्छ ? मैले कस्तो चुनौतीपूर्ण अवसर हो, भन्ने जिज्ञासा राखे । त्यसवेला पुष्कर सरले भन्नुभएको थियो–तपाईं यहाँ पढ्दै हुनुहुन्छ, तर संकटकालको समय छ, गोरखाबाट राम्रो रिपोर्टिङ भएको छैन । केही समय गोरखा बसेर काम गर्नुस् । सधैं बस्नुपर्ने पनि होइन महिनामा एक हप्ता वा १० दिन जति बस्दा पनि भयो । अरु समय यहीँबाट गोरखाको समाचार कभर गर्ने वातावण बनाउनुस् ।
अहो ! साँच्चै यो मेरो लागि अवसर र चुनौतीपूर्ण दुवै थियो । नजाऊँ समाचारपत्र छोड्ने मन छैन, जाऊँ यता क्याम्पसको पढाइ, फेरि संकटकालको बेला, कति आउजाउ गर्नु ? तर मैले एकै शब्दमा हुन्छ भनिदिएँ । त्यसको केही दिनपछि म गोरखा गएँ । साँच्चै भन्नुपर्दा त्यसबेला गोरखाको पत्रकारिता भर्खर वामे सर्दै थियो । असाध्यै कम अर्थात् २-४ जना पत्रकार स्थापित हुने संघर्षमा थिए भन्दा फरक नपर्ला । त्यसवेला गोरखाको रिपोर्टिङ साँच्चै चुनौतीपूर्ण थियो । कतिसम्म भन्ने त्यहाँको सार्वजनिक चासोको विषयमा समेत यथार्थ समाचार आएपछि आश्चर्य मानिने वा भनौ नकारात्मक समाचार भनेर आलोचना गरिने अवस्था थियो ।
 केही सार्वजनिक विकृतिका समाचार लेखेपछि आएका प्रतिक्रियाले मलाई त्यस्तै महशुस गराएको थियो । ती समाचार आजसम्म पनि संग्रह गरेर राखेको छु । द्वन्द्वकालको समयमा गोरखा बसेर गरेको रिपोर्टिङका केही स्मरण तथा अझै ताजै छन् । तर, त्यसबेलाका प्रमुख जिल्ला अधिकारी माधव ओझा तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ईश्वरबाबु कार्की (जो केही वर्षअघि डीआईजी पदबाट अवकाश हुनुभएको छ ।),जिल्लामा कार्यरत पत्रकार साथीहरू कैलाशबाबु श्रेष्ठ,किशोरजंग थापा रभीमलाल श्रेष्ठ सँगको सहकार्य तथा कतिपय अवस्थामा विद्रोही साथीहरू सँगको निरन्तर सम्पर्कले पनि कठिन समयमा रिपोर्टिङ सहज भएको थियो ।
त्यसबेला गोरखा काठमाडौं महिनाको २-३ पटक हुने गथ्र्यो । त्यसबेला पुष्कर सरले दिएको त्यो चुनौतीले आज पनि संकटकालको बेला गोरखामा बसेर पत्रकारिता गरेको अनुभव गौरवकासाथ भन्न पाइएको छ । जुन एक चुनौतीसँगै फरक अनुभव र स्मरणयोग्य पनि छ ।
करिब एक वर्षको यो निरन्तरता पछि अब काठमाडौंमै बसेर पत्रकारिता गर्ने सोच बनाएँ । त्यति नै बेलाकामना प्रकाशन समूहबाट प्रकाशित चर्चित मासिक पत्रिका ‘साधना हेल्थ’को नामबाट प्रकाशित हुँदै थियो । अब साधनाका लागि रिपोर्टिङ गर्ने अवसर प्राप्तभयो ।
आजसम्मसबै विषयमा कलम चलाएको मलाई अब भने स्वास्थ्य बिटमा मात्रै लेखे पुग्नेभयो । स्वास्थ्यमा पनि विशेष गरी नीति निर्माणका तहमा भएका राम्रा–नराम्रा सबै कुरामा कलम चलाउने मेरो रहर थियो । त्यसवेला सम्पादक लक्ष्मण अधिकारी, कार्यकारी सम्पादक रोहिणी घिमिरे, रिपोर्टिङमा ध्रुव पौडेल र म गरी ४-५ जनाको सानो र पारिवारिक टिम थियो । म अलि बोलिरहने रोहिणी सर हाँसिरहने यस्तै–यस्तै गरेर काम गरिन्थ्यो । रोचक के थियो भने, ध्रुव पौडेल नाच्दै अफिस कोठा छिर्ने अनि आउनेबित्तिकै हासा आए हासा? भनेर रोहिणी सरलाई सोध्थे । (हासा भनेको हाकिम सावको छोटकरीरूप) अनि लक्ष्मण सरलाई नदेखेपछि उनी थप नाच्थे किनकि, सम्पादक लक्ष्मण अधिकारीसँग हामी खुब डराउथ्यौं ।
त्यही डरले होला सायद हामीले समाचार लेख्नमा थप तिखारिने र निखारिने अवसर पाएको । त्यसबेला साधनाको टिम पारिवारिक वातावरणको थियो ।  साधना मासिकको रिपोर्टिङ पनि अवस्मिणीय रह्यो । विकृतिका विरुद्ध लेख्दा कार्यकक्षमै आक्रमण हुन खोजेकोदेखि आर्थिक प्रलोभन देखाइएका अनेक अनुभव रहे । एकपटक हाइट पढाउने भनेर गरिएका विज्ञापन झुट्टा हुन् भनेर लेख्दा अचानक ३ जना युवा समाचार कक्षमा छिरेर आक्रमण गर्न खोजेको र रोहिणी सरले चलाखीपूर्ण ढंगले सुरक्षा गार्ड बोलाएरको स्मरण मै छ ।
यसका साथै नक्कली डाक्टरको बिगबिगी, अवैध गर्भपतन, औषधि भन्दै चियाको व्यापार, दुर्गममा डाक्टर नगएको, सरकारी खर्चमा पढेका डाक्टर सम्पर्कविहीन भएको आदि विषयमा लेखिएका खोजी रिपोर्टिङ अहिलेसम्म पनि संग्रहित छन् । म काठमाडौंमा अवैध गर्भपतन गराउने ठाउँको खोजीमा थिए । त्यसवेला बागबजारको केही औषधि पसलमा गलफ्रेन्ड गर्भवती भएकोले गोप्यरूपमा गर्भपतन गराउनुपर्ने भन्दै बनावटी ग्राहक बनेकोदेखि अन्य कतिपय रिपोर्टिङ्गमा समेत ग्राहकको भेषमा पुगेको स्मरण ताजै छन् । यसैगरी, नक्कली डाक्टरको बिगबिगीका विषयमा रिर्पोटिङ्ग गर्दा आर्थिक प्रलोभन देखाइएको कुरा इमान्दारिताका साथ सम्पादक लक्ष्मण अधिकारीसँग सेयर गरेको थिएँ ।
त्यसैवेला हो, रेडियो नेपालको १०० मेगाहर्जमा स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने अवसर मिलेको । त्यसबेला स्टार एफएमको नाममा रहेको १०० सय मेगाहर्जमा करिब ३ वर्षभन्दा बढी ‘हेल्थ फोरम’ नामक अन्तर्वार्तामूलक कार्यक्रम सञ्चालन गर्दथेँ । खासगरी, स्वास्थ्य क्षेत्रमा भएका नीतिगत स्तरका कुराहरू त्यसमा भएका समस्या र समाधानका उपायहरूबारे कार्यक्रमका मुख्य विषयवस्तुभित्र पर्दथे ।  स्वास्थ्य पत्रकारिता गर्दा चिनजान भएका डाक्टरहरूमध्ये असाध्यै नजिक र साथीजस्ता भएका दुई वरिष्ठ डाक्टरहरू न्युरो सर्जन डा. बालकृष्ण थापा जो बंगलादेश एयर लायन्सको विमान दुर्घटनामा बित्नुभयो भने अर्थोपेडिक सर्जन डा. सरोजकृष्ण श्रेष्ठको केही समयअघि हृदयाघातको कारण बित्नुभयो ।
स्वास्थ्य पत्रकारिता गर्दाका नजिकका साथी जस्ता उहाँहरूको निधन मेरो लागि नमिठो याद गरी रहिरहेको छ ।  यसरी ६ वर्षभन्दा बढी कामना प्रकाशन समूहमा रहेर काम गर्दा पत्रकारितामा थुप्रै सिक्ने अवसर पाइयो । अहिले लाग्छ, कामना प्रकाशन समूह वास्तवमा सक्षम पत्रकार उत्पादन गर्ने कारखाना नै हो । किनकि, त्यहाँ काम गरेका सयाैं पत्रकार आज विभिन्न मिडिया र मिडियासम्बन्धी क्षेत्रमा अझै क्रियाशील छन् ।
यसरी काम गर्दा गर्दै कम्ब्याटको मोह जाग्यो क्यारे अब पत्रकारितालाई विट मार्दै सुरक्षा निकायममा प्रवेश गर्ने इच्छाले २०६३ मा फारम भरेसँगै २०६४ जेठबाट सक्रिय पत्रकारिताबाट बिदा भएँ । यहीँबाट पत्रकारिता बिट मारेको हुँ । नेपालसमाचारपत्रमा पहिलो समाचार के लेखेँ त थाहा छैन । तर, २०६४ जेठ महिनामा‘पशुपतिमा दुई सय बेडको अस्पताल भन्ने’शीर्षकसँगै पत्रकारिता को औपचारिक यात्रा टुंगिएको हो ।
तर, जति समय विभिन्न मिडियामा र विशेष  गरी केही लामो समय कामना प्रकाशन समूहमा रहेर जति पत्रकारिता गरियो निष्ठा र इमान्दारिताकासाथ गरियो भन्दा मलाई कुनै हिच्किचाहट हुँदैन । अहिले पनि गौरवकासाथ भन्न सक्छु, पत्रकारिता अध्ययनसँगै फिल्डमा गरिएको काम नैतिकता र आचरणभित्र रहेर गरिएको थियो । सुरक्षा निकायमा आएपछि पनि फ्री रुपमा दर्जनौं लेख लेखेको छु । जुन प्रायः धेरै दैनिक पत्रिका र अनलाइनसँगै नेपाल समाचारपत्रमा पनि प्रकाशित भएका छन् । आज पनि कामना परिवार सँगको निकटता उस्तै छ । पुराना साथीहरूसँगको भेटघाट र सहकार्य उस्तै छ, त्यसैले समय समयमा मरुटोलस्थित कामना प्लाजा पुगेर उही पुराना साथी र सिनियर सरहरूसँगै गफ गर्दै चिया खाने र पुराना दिन सम्झिएर गफिने वातावरण उस्तै छ ।
यस लेखमा उल्लेख भएका बाहेक पनि त्यहाँ काम गर्दा अन्य थुप्रै साथीहरू र सिनियरसँगको सहकार्य स्मरणीय छन् । यसकासाथै वर्तमानमा आफ्ना केही जिम्मेवारीले फेरि पनि मिडियासँगको सामिप्यता, भेटघाट, सहकार्य आदि सबै निरन्तर नै छन् र पत्रकारिता एक किसिमको नशाकै रूपमा अझै कायमै छ र त यसैमा भिज्न पाउनु अझै खुसीको कुरा लाग्छ । परिणाम स्वरूप भर्खरै मात्र आम सञ्चार तथा पत्रकारिता विषयमा डिस्टिङ्सनसहित स्नातकोत्तरको पढाइसमेत पूरा गरेँ । जुन मिडियाका साथीहरूले प्रेरणाले पनि सम्भव भएको हो ।
कामना प्रकाशन समूहका पूर्व सहकर्मी थापा सशस्त्र प्रहरी बल, नेपालका डीएसपी तथा सह–प्रवक्ता हुन् ।  

प्रतिक्रिया दिनुहोस्