नेपालको सञ्चार जगत् हिजोदेखि आजसम्म



नेपालको छापा माध्यमको इतिहास १ सय ७२ वर्षको भएको छ। विश्वका विकसित देशमा सञ्चारका माध्यमको प्रभाव जनमानसमा परिसकेपछि मात्र नेपालमा सञ्चारमाध्यमका रूपमा छापा माध्यम शुरू भएको पाइन्छ। विश्वमा पन्ध्रौं शताब्दीमा आधुनिक छपाई शुरू भए पनि नेपालमा प्रेस अँइपुग्न भने ४ सय वर्ष लागेको इतिहासले देखाउँछ। १९०८ सालमा राणा प्रधानमन्त्री जंगबहादु्रले बेलायत भ्रमणमाबाट फर्किएका बेला आफ्नो साथमा हाते प्रेस ल्याएका थिए। त्यो नै नेपालको पहिलो प्रेस थियो। उक्त प्रेसको माथिल्लो भागमा गिद्धको आकृति भएकाले त्यसलाई गिद्धेप्रेस पनि भनिन्थ्यो। सो प्रेसमा हुलाकपत्र, टिकटलगायत सरकारी कागजात छापिन्थ्यो। गिद्धेप्रेसपछि भने सरकारीस्तरबाट दोस्रो प्रेसका रूपमा मनोरञ्जन प्रेस सञ्चालनमा आएको थियो। प्रेस भित्रिएपछि पनि नेपालमै पत्रिका छापिन भने ४७ वर्ष लाग्यो।

रश्मी थापा

१९५५ सालमा छापिएको साहित्यिक मासिक सुधा सागर नेपालमा छापिएको पहिलो नेपाली पत्रिका हो। त्यसअघि भने १९४५ मा मोतीराम भट्टले बनारसबाट छापेको गोरखा भारत जीवनलाई पहिलो नेपाली भाषाको पत्रिकाका रूपमा लिइन्छ। कठोर राणा शासनका कारण नेपालमा पत्रपत्रिका छाप्ने वातावरण नभएकाले त्यो बेला शिक्षित वर्ग, युवा तथा साहित्यकारहरुले प्रवासमा रहेर राणाहरुको विरोधमा नेपाली पत्रपत्रिका छाप्ने गर्थे।

सुधा सागरपछिको दोस्रो नेपाली पत्रिकाका रूपमा भने १९५८ साल जेठमा सरकारी तवरबाट गोरखापत्र प्रकाशनमा आयो। शुरूमा हप्तामा एकपटक प्रकाशन हुने गोरखापत्र १९९१ मा र २००० सालमा हप्ताको दुईपटक निस्कियो। गोरखापत्र शुरूमा साप्ताहिक र पछि अर्धसाप्ताहिक हुँदै २०१७ सालदेखि भने हालसम्म दैनिक रूपमा प्रकाशन भइरहेको छ। सरकारी तवरबाट छापिएको गोरखापत्र नै नेपालको सबैभन्दा जेठो र हालसम्म निरन्तर छापिइरहने सबैभन्दा पुरानो पत्रिका भएको छ।

गोरखापत्र प्रकाशन हुँदा त्यसलाई व्यवस्थित गर्ने उद्देश्यले सनद सवाल जारी गरियो। जसलाई नेपालको प्रेस कानुनको पहिलो शुरुआत मानिन्छ। त्यसमा गोरखापत्रमा के छाप्न हु्ने र के छाप्न नहुने भन्ने व्यवस्था गरिएको थियो। नेपालमा तेस्रो पत्रिकाका रूपमा ऋद्धिबहादुर मल्लको सम्पादनमा १९९१ मा शारदा मासिकको प्रकाशन भयो। सरकारद्वारा आर्थिक सहयोग प्राप्त भएकाले त्यस पत्रिकामा देशभित्र र बाहिरका महत्वपूर्ण खवर छाप्नुको साटो सवारी भित्रियोे बाहिरियो, सुपुत्र जन्मियोलगायत राणा प्रधानमन्त्री र दरबारका खबर छापिन्थे भने उनीहरुका जन्मोत्सवका अवसरमा तस्विरहरु छापिन्थे। नेपाली साहित्यमा यस पत्रिकाको योगदान भने ठूलो छ।

सोही पत्रिकामार्फत नेपालमा चेतनशील लेखकहरु देखिन बाहिर थालेका थिए। राणा शासकहरुको सहयोग पाएर पनि यो पत्रिका आर्थिक संकटका कारण २० वर्षपछि बन्द भएको थियो। त्यस्तै, १९९२ मा उद्योग नामक पाक्षिक पत्रिकाको प्रकाशन भयो। जसले उद्योगसम्बन्धी समाचार छाप्थ्यो।

त्यस पत्रिकाले राणाहरुको सहयोग पाए पनि ग्राहकको सख्याको कमीले दुई वर्ष नपुग्दै बन्द हुन पुग्यो। २००४ सालमा हृदयश चन्द्रसिंह प्रधानको सम्पादनमा साहित्य स्रोत नामक मासिक पत्रिका प्रकाशनमा आयो। जसमा जनचेतना फैलाउने खालका लेख रचना प्रकाशित हुन्छ। तर, प्रकाशनको दुई वर्षपछि सो पत्रिका बन्द भयो। २००४ सालमै घरेलु इलम पत्रिका र शिक्षा पाक्षिक प्रकाशन भए। सोही वर्ष काठमाडौं म्युनिसिपल नामक पत्रिका प्रकाशन भएको थियो।

पत्रपत्रिकालाई नियन्त्रण गर्नका लागि नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेर जंगबहादुर राणाको शासनकालमा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी भयो। जसलाई नेपालको पहिलो छापाखना र प्रकाशनसम्बन्धी ऐन मानिन्छ। २००५ सालमा सरकारबाट आर्थिक सहयोग लिई देवीप्रसाद रिमालको सम्पादनमा आँखा मासिक पत्रिका प्रकाशन भयो। जसमा विद्यालयका छात्रछात्रा र शिक्षक शिक्षिकालाई लेख रचना लेख्न अवसर दिइन्थ्यो। सो पत्रिका पनि दुई वर्षमा बन्द भयो भने २००६ सालमा बुद्धिसागर शर्मा र शेषराज शर्माको सम्पादनमा पुरुषार्थ मासिक प्रकाशन हुन थाल्यो।

जुन २०१० सालपछि बन्द भयो। त्यस्तै, शिक्षा विभागद्वारा २००५ सालमा प्रकाशित नेपाल शिक्षा मासिक, वीरगंजबाट प्रकाशन हुने सेवा मासिक आदिलाई पनि सो बेलामा योगदान दिने पत्रिकाका रूपमा लिइन्छ। राणाकालमा प्रकाशन भएका प्रायः पत्रपत्रिका सरकारको आर्थिक सहयोग र उनीहरुको रोहवरमा प्रकाशन हुने गर्थे। जहानिया राणा शासनका कारण राजनीतिक विचारधारा बोकेको समाचारपत्रभन्दा पनि साहित्य लगायत अन्य विषयका केही पत्रपत्रिका छापिने र बन्द हुने भइरह्यो।

राणा शासनकालमा सरकारी तवरबाट गोरखापत्र तथा विभिन्न संघ–संस्था र व्यक्तिहरुको पहलमा निस्किएका एकाध पत्रपत्रिका बाहेक खासै पत्रपत्रिकाको विकास भएको पाइँदैन। तर, सोही समयमा भारतको विभिन्न स्थानबाट युगवाणी, नेपाल पुकारजस्ता पत्रपत्रिका प्रकाशन भई राणा शासनविरुद्ध आवाज उठाएको पाइन्छ। २००७ सालमा १ सय ४ वर्षीय राणा शासनको अन्त्य भएपछि भने विभिन्न क्षेत्रसहित सञ्चारको क्षेत्रमा पनि उल्लेख्य विकास भएको इतिहासले देखाउँछ। एक प्रकारले भन्नुपर्दा त्यसपश्चात् नेपालमा पत्रपत्रिकाको बाढी नै आएको थियो।

२००७ साल फागुन ७ गते भएको शाही घोषणाले नेपाली जनतालाई वाक र प्रकाशन स्वतन्त्रतासहितको मौलिक अधिकार दियो। प्रजातन्त्र आउनु तीन दिनअघि हृदयशसिंह प्रधानको सम्पादनमा जागरण साप्ताहिकको प्रकाशन भयो। जुन नेपालमा राजनीतिक दृष्टिकोणको पहिलो पत्रिका मानिन्छ। प्रजातन्त्रको उदयपछि प्रकाशन भएको यो पत्रिकाको लोकप्रियता बढ्दै जाँदा दैनिक १ हजारदेखि १५ सय प्रतिसम्म छपिने गरेको थियो। सो पत्रिका पूर्वदेखि पश्चिमसम्म पुग्ने गथ्र्यो। यसले नेपाली पाठकमा पत्रिका पढ्ने बानीको विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो। त्यस पत्रिकाले सरकारबाट आर्थिक सहयोग प्राप्त गरे पनि दुई वर्षभन्दा बढी निरन्तरता दिन सकेन।

फागुन ८ गते सिद्धिचरण श्रेष्ठको सम्पादनमा प्रकाशन भएको आवाज नेपालको पहिलो दैनिक पत्रिका बन्न पुग्यो। नेपाली पत्रकारिताको इतिहासमा प्रथम महिला पत्रकारको प्रवेश २००८ सालमा प्रकाशन भएको महिला नामक मासिकमार्फत भएको पाइन्छ। सर्वश्री कुमारी, कामाक्षी, कुमारी साहना प्रधानद्वारा प्रकाशित उक्त पत्रिका महिलाद्वारा प्रकाशित पहिलो पत्रिकासमेत हो। त्यस्तै वरुण शमशेर जंगबहादुर राणाको सम्पादनमा द गार्जियन मासिकको प्रकाशनबाट नेपालमा अंग्रेजी भाषाको पत्रिकाको प्रकाशन २०१० सालमा शुरू भयो। त्यसपछि २०१२ सालमा द कमनर नामक अंग्रजी भाषाको पहिलो दैनिक पत्रिका छापियो भने त्यसपछि डेली मिरर, एभरेस्ट न्युज, द मदरल्यान्ड, द राइजिङ नेपाल, हिमालयन टाइम्सजस्ता दैनिक पत्रिका प्रकाशनमा आएका छन्। २०११ सालमा मणिराज उपाध्यायको सम्पपादनमा समाज नामक दैनिक पत्रिका छापियो।

त्यसपछि प्रकाशन भएका दैनिक पत्रिकामा दैनिक समाचार, सत्याग्रह, नेपाल समाचार, समय, हाल खबर, सही सन्देश, दियालो गोरेटो, फिलिंगो, जनमत, जनता, उज्यालो, बाछिटा, सही बाटो, हाम्रो देश, नयाँ नेपाल लगायतका पत्रिका रहे। जुन केही समय निरन्तर प्रकाशनपछि देखिन छोडे। यी पत्रपत्रिका कुनै न कुनै राजनीतिक दल र विचारधारासँग सम्बन्धित रहेर प्रकाशन हुने गर्थे।

२०१७ सालको राजनीतिक परिवर्तनपछि भने पत्रकरिताको क्षेत्र साँघुरिन पुग्यो। त्यति बेला प्रकाशन हँदै आएका पार्टीका मुखपत्र तथा पञ्चायतविरोधी विचार धाराका पत्रपत्रिकालाई प्रतिबन्ध लगाइएको थियो। कडा पञ्चायती व्यवस्थाका कारण त्यसताका राजनीतिकभन्दा बढी साहित्यिक पत्रपत्रिका प्रकाशन हुन्थे। राजनीतिक समाचारमूलक पत्रपत्रिका पनि पञ्चायती शासनको गुणगान गाएकाले मात्र प्रकाशन हुन सकेका थिए। २०१७ देखि २०३६ सालसम्मको पत्रकारीताको इतिहास हेर्दा वाक स्वतन्त्रताका विषयलाई पूर्णतया बन्देज लगाएको देखिन्छ। सो अवधिमा नेपाली रूपरेखा, धरती, हिसनाद बगैंचा, स्वास्नीमान्छे, फूलपाती, रत्नश्रीजस्ता साहित्यिक पत्रपत्रिका प्रकाशन भएका थिए।

२०३६ सालको जनमत संग्रहका लागि गरिएको शाही घोषणापछि भने नेपाली पत्रकारिता नयाँ चरणमा प्रवेश ग¥यो। जनमतसँग्रहको घोषणाले प्रचारप्रसारका लागि छुट दिने व्यवस्था गरेको थियो। वाक तथा प्रकाशन स्वतन्त्रता ऐन २०३७ को दफा ३ (१) मा कसैले आमसभा, जुलुश वा प्रदर्शन गर्दा जनसाधारणको सुविधा र सार्वजानिक हितलाई ध्यानमा राखी स्थानीय प्रशासनद्वारा मनाही गरिएको ठाउँ र समयमा बाहेक अन्य ठाउँ र समयमा आमसभा, जुलस वा प्रदर्शन गर्न पाउने भन्ने व्यवस्था गरिएको थियो भने सोही ऐनको दफा ३ (२) मा “कसैले पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्दा वा भित्तामा लेख्नेजस्तो काम गर्दा जनसाधारणको सुविधा र सार्वजनिक हितलाई ध्यानमा राखी स्थानीय प्रशासनद्वारा मनाही गरिएको ठाउँमा बाहेक अन्य ठाउँमा टाँस्न वा लेख्ने काम गर्न पाउने भन्ने व्यवस्था गरेसँगै पत्रपत्रिकामाथि लागेका बन्देज हटे।

यससँगै नेपाली पत्रकारिता दुई धारमा बाँडिए। एकाथरि पत्रपत्रिकाले पञ्चायती व्यवस्थाको पक्षमा लेख्न थाले भने अर्कोथरिले प्रजातन्त्रको पक्षमा वकालत गर्न गरे। २०४१ सालमा पत्रकार स्व. पुष्करलाल श्रेष्ठले नेपालकै पहिलो निजी पकाशन गृहकाका रूपमा कामना प्रकाशन समूहको स्थापना गरी फिल्मसम्बन्धी कामना मासिक पत्रिकाको प्रकाशन शुरू गरे। त्यस्तै, खोजमूलक अर्को मासिक पत्रिका साधना, सन्ध्याकालीन दैनिक महानगरको पनि प्रकाशन हुन थाल्यो। यस अवधिमा देशान्तर, राजधानी, जनसंवाद, माध्यम, रातो युगधारा, नेपाल टाइम्स, कमनर, प्रतिध्वनि, जन्मभूमि, विमर्श, नेपाल पोस्ट दृष्टि, प्रकाश, छलफल, समीक्षा, पुनर्जागरण, समाज, मातृभूमिलगायतका पत्रपत्रिका प्रकाशन भए।

त्यो बेला साप्ताहिक तथा मासिक पत्रिकाको लोकप्रियता बढी थियो। २०४७ सालमा प्रजातन्त्रको पुनर्बहाली स्थापनपछि भने नेपालमा पत्रपत्रिका प्रकाशन गर्ने लहर नै छायो। २०४७ सालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई स्थापित गरिदिएपछि नेपालमा पत्रकारिता क्षेत्रमा नयाँ–नयाँ प्रविधि र प्रयोग भित्रियो भने पत्रकारिता क्षेत्रमा दक्ष पत्रकारको प्रवेश भयो। यस क्रममा निजी क्षेत्रबाट ठूलो लगानीमा दैनिक पत्रपत्रिका निस्किन थाले।

पत्रकारितामा व्यावसायिकता, ठूला लगानीकर्ताको आकर्षण, सरकारी एकाधिकारको अन्त्य भई प्रकाशन र प्रसारण क्षेत्रमा निजी क्षेत्रको पनि प्रवेश वृद्धि हुन पुग्यो। २०४९ मा निजी लगानीको कान्तिपुर र द काठमाडौं पोस्ट दैनिक प्रकाशन भएपछि दैनिक पत्रिकामा सरकारी एकाधिकार तोडियो। जसले गर्दा अन्य निजी मिडियामा लगानीको लागि बाटो खुल्यो। २०५२ सालमा कामना प्रकाशन समूहले दैनिक पत्रिका आजको समाचारपत्रको प्रकाशन शुरू ग¥यो। जुन हाल नेपाल समाचारपत्रका रूपमा निरन्तर प्रकाशन भइरहेको छ ।

सोही वर्ष द हिमालय टाइम्स, लोकपत्र, एभरेस्ट हेराल्डर श्रीसगरमाथा दैनिक गरी पाँच ब्रोडसिट दैनिक बजारमा आए। यीमध्ये नेपाल समाचारपत्र र हिमालय टाइम्स हालसम्म निरन्तर प्रकाशनमा छन् भने सगरमाथा, एभरेस्ट हेराल्ड र लोकपत्रचाहिँ प्रकाशनको केही समयमै बन्द भयो।

२०५२ साल फागुनबाट नेकपा (माओवादी) ले शुरू गरेको जनयुद्ध र त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले चालेको कदमका कारण नेपाली मिडियाले ठूलो सास्ती खेप्नु प¥यो। २०५८ साल मंसिरमा लागू भएको संकटकालमा प्रेसमाथि सेन्सरसिप लादिएकाले प्रेसले समाजमा भएका वास्तविक घटनालाई सहीरूपमा सम्प्रेषण गर्न पाएनन्। ठूला लगानीका दैनिक पत्रपत्रिका बन्द हुने र खूल्ने क्रम चलिररहँदा २०५७ सालमा स्पेसटाइम दैनिक र स्पेसटाइम टुडे एकसाथ प्रकाशन शुरू भयो भने २०५८ सालमा राजधानी दैनिक, त्यसपछि द हिमालयन टाइम्स अंग्रेजी दैनिक र अन्नपूर्ण पोस्ट, नयाँ पत्रिकालगायत दैनिक पत्रिका प्रकाशनमा आए। यीमध्ये स्पेसटाइम र स्पेसटाइम टुडे बन्द भए।

हाल नेपालमा दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक गरी करिब ९ सय पत्रपत्रिका प्रकाशन भइरहेका छन्। राजनीतिक घटनाक्रमको सिलसिलामा २०६१ साल माघ १ मा राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि नेपाली प्रेसले अर्को ज्यादती सहनु प¥यो। सो समयमा सैनिक परिचालन गरी सूचना प्रकाशन र प्रसारणमा रोक तथा विभिन्न सञ्चारमाध्यममा छापा मारेर सञ्चार उपकरणको जफत गरिएको घटना ताजै छ।

२०६३ साल वैशाख ११ गते राजाले प्रत्यक्ष शासन छोडेर प्रतिनिधिसभा पुनःस्थापना गरेको घोषणापछि भने नेपाली पत्रकारिताले अर्को मोड लियो। योसँगै नेपालमा पत्रपत्रिका दर्ता, एफएम तथा टेलिभिजनले प्रसारण अनुमति लिने र सञ्चालन गर्ने सख्यामा वृद्धि भयो। हाल नेपालमा करिब ९ सय पत्रपत्रिका निरन्तर प्रकाशन भइरहेका छन्। निरन्तर प्रकाशन हँदे आएको सरकारी तवरको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई पत्रकारिता दिवसका रूपमा मनाइने गरिएको छ। केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकलले निर्णय गरेअनुसार २०७४ वैशाख २४ गते पहिलोपटक पत्रकारिता दिवस मनाइएको थियो भने सोही वर्षदेखि पत्रकारिता दिवस मनाइँदै आइएको छ।

हल्यान्डबाट चन्द्र शमशेरले ल्याएका थिए रेडियो

नेपालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा हल्यान्डमा उत्पादिन रेडियो भित्र्याएको पाइन्छ। त्यति बेला रेडियो धनाढ्य तथा राणा परिवारले मात्र राख्न सक्ने थिए। रेडियो राख्न राणा सरकारसँग अनुमति लिनुपर्ने र अनुमति नलिई रेडियो राखेको पाइएमा जेल सजायसमेत हुने गथ्र्यो। १९९२-९३ ताका राणा प्रधानमन्त्री जुद्धशमशेरले इलेक्ट्रिकल इन्जिनियर काशीराज पाण्डेलाई विदेशी रेडियो सुनेर समाचार संकलन गरी द न्युज रिल तयार गर्न लगाएका थिए। जुन राणाहरुको दरबारमा सुनिन्थ्यो।

त्यसरी समाचारको महत्व बुझेका राणाहरुले जनताले भने समाचार सुुन्न अनुमति लिनुपर्ने नियम राखेका थिए। जनता जान्ने बुझ्ने भए भने एकतन्त्रिय शासनलाई असर गर्छ भनेर राणाहरुले सर्वसाधरणलाई रेडियो राख्न प्रतिबन्ध गरेका थिए। दोस्रो विश्वयुद्धताका अंग्रेजविरुद्धको समाचारले चर्चा पाउँदा राणाहरुको पनि जनताले विरोध गर्ने डरले जनतालाई रेडियो सुुन्न नै बन्देज लगाएका थिए। १९९८ मा जुद्ध शमशेरले नै जनताका साथमा भएको रेडियो जफत गरेका थिए। जसको सख्या ४ सय थियो। दोस्रँे विश्वयुद्धको समाप्त भएपछि सो रेडियो फिर्ता गरिएको थियो।

अन्य प्रधानमन्त्री केहीभन्दा उदार देखिएका पद्म शमशेरले भने जनताले रेडियो राख्न छुट दिँदै २००३ सालमा बागबजारस्थित बिजुली अड्डाबाट नेपाल ब्रोडकास्टिङ नामक रेडियो प्रसारणको आरम्भ नै गरेका थिए। दोस्रो विश्वयुद्धबाट नेपाल फर्किएका सैनिकले आफ्नो साथमा लिएर आएको वायरलेस सेटबाट प्रसारण गरिएको रेडियो रामायणका श्लोकहरु बजाएर शुरू गरिएको थियो। दिउँसो एक बजेदेखि आधा घण्टासम्म प्रसारण हुने सो रेडियो पछि दुई घण्टासम्म प्रसारण हुन्थ्यो।

नेपालको पहिलो रेडियो प्रस्तोताका रूपमा रेडियोमा काशिराज पाण्डेले बोलेका थिए भने उनलाई तत्कालीन गोरखापत्रका सम्पादक प्रेमराजा शर्माले साथ दिएका थिए। सो रेडियोबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले समेत कविता वाचन गर्दथे। २००७ सालको क्रान्तिपछि नेपालमा प्रजातन्त्र रेडियोको नामबाट प्रसारण हुँदै आएको रेडियो नेपालका रूपमा सञ्चालन हुन थाल्यो। शुरूमा भोजपुरमा स्थापना भएको रेडियो प्रजातान्त्रिक योद्धाहरुले विराटनगर जुटमिलबाट प्रसारण गरेका थिए। सोही रेडियोलाई २००७ साल चैत २० गते सिंहदरबारमा सारेपछि रेडियो नेपाल भन्न थालिएको थियो।

शिक्षा, मनोरञ्जन र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको रेडियो नेपाल शुरूमा २५० वाटको ट्रान्समिटरबाट चार घण्टा प्रसारण हुन्थ्यो भने २०१७ सालबाट दिनको पाच घण्टा र २०२५ सालमा दिनमा १३ घण्टा प्रसारण हुन थालेको थियो। २०१७ सालमा पञ्चायती शासनमा पञ्चायती शासकहरुले आफ्नो प्रचार र जनमत तयारका लागि रेडियो निकै प्रयोग गरेको पाइन्छ। २०२८ सालमा पञ्चायती सरकारले विकासका लागि सञ्चार भन्ने नाराका साथ राष्ट्रिय सञ्चार नीति लागू गरी रेडीयो नेपालको उद्देश्य तोकिदिएको थियो।

रेडियो नेपालले २०२९ सालमा सर्टवेभ प्रणालीअन्र्तगत प्रसारण शुरू गरेको थियो। सूचना तथा प्रसारण विभागअन्र्तगत रहेको रेडियो नेपाल २०४१ सालदेखि रेडियो प्रसार सेवा विकास समितिका रूपमा सञ्चालन हुन थालेको थियो। प्रजातन्त्र पुनःस्थापनापश्चात् २०४९ सालमा जारी प्रसारण ऐनपछि निजी क्षेत्रले पनि रेडियो प्रसारणका लागि लाइसेन्स पाउने व्यवस्था भयो। रेडियो नेपालले २०५० सालदेखि क्षेत्रीय प्रसारण शुरू ग¥यो भने सञ्चार नीतिअनुसार तामाङ, लिम्बु, राई, भोजपुरीलगायत विभिन्न भाषामा समाचार प्रसारण शुरू ग¥यो। नेपालमा रेडियो नेपालले नै २०५२ सालमा भीएचएफ ब्यान्डबाट १०० मेगाहर्जमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एफएम प्रसारण शुरू गरेको थियो। जुन केही समयपछि बन्द भयो। २०४५ सालमा रेडियो सगरमाथा प्रसारण भयो। जुन दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो थियो भने नेपालको पहिलो गैरसरकारी रेडियोका रूपमा रह्यो। त्यसपछि निजीस्तरबाट कान्तिपुर, इमेज एफएमलगायतका व्यवसायिक रेडियो स्थापना हुन थाले।

सरकारीदेखि निजीसम्मका समाचाार एजेन्सी
समाचार संकलन र वितरण गर्ने उद्देश्यले समाचार समितिको गठन भएको पाइन्छ। २०१६ सालमा स्थापित नेपाल संवाद समिति र २०१७ सालमा स्थापित सगरमाथा संवाद समिति दुवैलाई समेटेर २०१८ साल फागुन १७ गते राष्ट्रिय समाचार समितिको स्थापना भएको थियो। रासस ऐन २०१८ अनुसार राष्ट्रिय दुष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारीक, शुद्ध पक्षपातरहित समाचार संकलन र वितरण गर्नु यसको कार्य हुने ऐनमा उल्लेख छ।

तर, पञ्चायतकालमा गठन भएको राससले पञ्चायतकालभरि पञ्चायत शासनको गुणगान गाउने खालका समाचार मात्र संकनल तथा वितरण ग¥यो भने २०४६ सालमा प्रजातन्त्र स्थापनापश्चात् प्रजातान्त्रिक गतिविधिलाई साथ दिँदै र २०५८ सालको संकटकाल तथा तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा अधिनायकवादी मान्यताअनुुसार कार्य ग¥यो। लोकतन्पश्चात् पनि यसले सरकारी गतिविधिलाई प्रमुखताका साथ प्रस्तुत गर्दै आएको छ। नेपालको एकमात्र सरकारी समाचार समितिका रूपमा लामो समयसम्म एकाधिकार जमाएको राससको प्रतिस्पर्धिका रूपमा पछिल्लो समय न्युज कारखाना, नेपाल न्युज बैंकजस्ता निजी समाचार एजेन्सीको स्थापना भएका छन्।

शुरूमै रंगिन दृश्यसहित टेलिभिजन प्रसारण

विश्वमा सन् १९३० को दशकमा टेलभिजिन प्रसारणको शुरुआत भएको करिब आधा शताब्दीपछि मात्र नेपालमा टेलिभिजन प्रसारण शुरू भएको पाइन्छ। २०३८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गर्दै नेपालमा टेलभिजिनको आवश्यकता र स्थापना गर्नेतर्फ पहल गर्ने कुरा राखेका थिए। उक्त समय भारतमा टेलिभिजनकोे लोकप्रियता बढ्दै गइरहेको थियो भने राजधानीका केही हुनेखाने मानसिले टेलिभिजन राखेर भारतीय दूरदर्शन च्यानल हेर्ने गर्थे।

त्यति बेला नेपालीमा भारतीय संस्कृति र जीवनशैलीको प्रभाव पर्ने भएकाले नेपालमा पनि टेलिभिजनको शु्रुआत गर्नुपर्छ भन्ने बहस शुरु भएको थियो। सोहीअनुरूप विकासका लागि सञ्चार भन्ने नाराका साथ २०४१ माघ १७ गते नेपाल टेलभिजनको स्थापना भएको थियो। नेपालमा टेलिभिजन ढिला भित्रिएकाले शुरूमै रंगिन टेलिभिजन भित्रिएको थियो। तर, पहुँचबाट टाढा भएकाले लामो समयसम्म सर्वसाधारणले श्यामश्वेत टेलिभिजन नै हेर्ने गर्थे।

शुरूमा नेपालको आफ्नै टेलभिजिन प्रसारण नभएकाले नेपाली दर्शक भारतीय टेलभिजिन च्यानल दूरदर्शनबाट प्रसारण हुने हिन्दी कार्यक्रम हेर्न बाध्य हुन्थे। २०४१ सालमा परियोजनाका रूपमा नेपाल टेलभिजिनको स्थापना गरिएको थियो। जसको नेतृत्व तत्कालीन शाही नेपाल चलचत्रि संस्थानका नायव महाप्रबन्धक तथा अभिनेता नीर शाहलाई दिइएको थियो। नेपाल टेलभिजिन नेपालको पहिलो टेलभिजिन च्यानल हो। टेलभिजिनको नियमित प्रसारण भने २०४२ पुस १४ बाट शुरू भएको थियो। शुरूमा यूएचएफ र पछि भीएचएफ प्रविधिबाट प्रसारण भएको नेपाल टेलिभिजनको २०५८ सालबाट भने भू–उपग्रहबाट प्रसारण आरम्भ भएको थियो। हाल नेपाल टेलिभिजनका पाँच च्यानल प्रसारणमा छन्।

राष्ट्रिय प्रसारण ऐन–२०४९ र राष्ट्रिय प्रसारण नियमावली–२०५२ ले स्पष्टरूपमा निजी क्षेत्रलाई पनि टेलिभिजन प्रसारणका लागि बाटो खोलिदियो। सोहीअनुरूप २०५७ असोजमा राष्ट्रिय प्रसारण नियमावली–२०५२ को नियम ३ बमोजिम पहिलोपटक द राइजिङ नेपालमा सूचना प्रकाशित गरी निजि क्षेत्रबाट च्यानल सञ्चालन गर्न प्रस्ताव आब्हान गरिएको थियो। जसमा नेपाल वातावरण पत्रकार समूह, सगरमाथा टेलिभिजन, इमेज च्यानल, प्राइम ब्रोडकास्टिड, स्पेस टाइम नेटवर्क प्रालि, हिमालयन टिभी, कान्तिपुर टेलिभिजन नेटवर्क, अन्नपूर्ण मिडिया ट्रान्समिसन, सांग्रिला च्यानल प्रालि, प्रोफेसनल ब्रोडकास्टिड प्रालि गरी नौ संघ–संस्थाले आवेदन दिएका थिए।

सांग्रिला च्यानल प्रालिलाई २०५९ वैशाख ४ मा स्याटलाइट तथा कान्तिपुर टेलिभिजन नेटवर्क र इमेज च्यानललाई टेरेस्टेरियल प्रविधिमा तगा २०६० मा एड एभेन्युज र च्यानल नेपाललाई गरी अनुमति गरी कुल पाँच वटा च्यानललाई अनुमति प्रदान गरेको थियो। हाल भने नेपालमा करिब चार दर्जन टेलिभिजनले प्रसारणका लागि अनुमति प्राप्त गरिसकेका छन्। हाल करिव दुई दर्जन टेलिभिजन च्यानलले नियमित प्रसारण गरिरहेका छन्।

अनलाइन पत्रकारिता: परम्परागत सञ्चारमाध्यमका लागि चुनौती

पत्रकारितामा सबैभन्दा पछिल्लो माध्यमका रूपमा अनलाइन पर्दछ। समाचार उत्पादन गरी इन्टरनेटको माध्यमबाट सम्प्रेषण गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ। यो माध्यम शब्द तथा दृश्य सम्पूर्ण सामग्री एउटै स्थानमा पाइने भएकाले सबैभन्दा पछि विकास भए पनि सर्वाधिक छिटो लोकप्रिय भएको छ। परम्परागत सञ्चारमाध्यमका लागि यो चुनौतीको विषय भएको छ भने ती सञ्चारमाध्यमले पनि अनलाइनको माध्यमबाट आफ्ना सामग्री प्रस्तुत गरिरहेका छन्। विश्वमा सन् १९६९ मा इन्टरनेटको विकास भए पनि जनमानसमाझ आइपुग्न भने तीन दशक लाग्यो।

सन् १९९२ मा अमेरिकामा पहिलोपटक अनलाइन पोर्टल सिकागो अनलाई शुरू भएको थियो। नेपालमा भने पहिलोपटक मर्कन्टाइलले सन् १९९५ मा साउथ एसिया डट कम र १९९९ मा नेपाल न्युज डट कममार्फत समाचार सामग्री इन्टनेटमा राखेर अनलाइन पत्रकारिताको शुरूआत गरेको थियो।

सोही बेला द काठमाडौं पोस्टले पनि इन्टरनेटमा आफ्ना सामग्री राख्न शुरू गरेको थियो। १९९९ मा धर्म अधिकारीले न्युज लुक म्याग डट कमको शुरुआत गरेका थिए भने पछि नेपाल मनिटर डट कमका रूपमा सञ्चालन भएको थियो। सन् २००० मा कान्तिपुर पब्लिकेसन्सले कान्तिपुर अनलाइनको शुरुआत गरेको थियो भने कामना पब्लिकेसन्स्ले सन् २००३ मा न्युजअफ नेपाल डटकमको शुरूआत गरेको थियो। सन् २००६ मा अनलाइन खबर डट कमको शुरुआत भएको थियो।

पछिल्लो समय पत्रपत्रिका रेडियो, टेलिभिजन जस्ता परम्परागत सञ्चारमाध्यमले पनि इन्टरनेटमा सामग्री राखेर अनलाइन पत्रकारिताको उपयोग गर्दै एकसाथ विश्वभर समाचार छरिरहेका छन्। नेपालमा हाल ४ हजार २ सय २६ अनलाइन सञ्चारमाध्यम दर्ता भएका छन्।
(सन्दर्भ सामग्री: श्रीराम खनालद्वारा लिखित मिडिया नीतिशास्त्र र कानुन, ग्रिष्मबहादुर देवकोटाद्वारा लिखित नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास)

प्रतिक्रिया दिनुहोस्