प्रिन्ट मिडिया बचाउन सरकारको भूमिका महत्वपूर्ण : ईश्वरी ओझा



आम सञ्चार तथा पत्रकारिता विषयका प्रोफेसर, पत्रकार, नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य ईश्वरीप्रसाद ओझा विगत लामो समयदेखि पत्रकारिता गर्दै काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्यापन गर्नुहुन्छ । उहाँले पत्रकारिता अध्ययनकै क्रममा कामना न्युज पब्लिकेसन्स्मा प्रशिक्षार्थी पत्रकारका रूपमा काम गरेको र स्व.पुष्करलाल श्रेष्ठको पत्रकारिता प्रतिको लगनशीलताबाट प्रभावित भएर पत्रकारिता पेशालाई निरन्तरता दिएको बताउनुहुन्छ ।

पहिला र अहिलेको छापा पत्रकारिताको बारेमा ओझाको विचार

सर्वप्रथमतः कामना न्युज पब्लिकेसन्स् प्रालिको ४०औं वार्षिकोत्सवका अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यो प्रकाशनको नेपालको पत्रकारितामा आफ्नै अस्तित्व, भूमिका, महत्व र प्रभाव रहेकोछ । मेरो पत्रकारिताको सुरुवात पनि यसै पब्लिकेसनबाट प्रकाशित हुने सन्ध्याकालीन महानगर र तत्कालीन आजको समाचारपत्रबाट प्रशिक्षार्थी पत्रकारका रूपमा गरेको हुँ ।

श्रदेय स्व.पुष्करलाल श्रेष्ठको नेतृत्वमा चलेको कामना न्युज पब्लिकेसन्स्बाट नेपालको पत्रकारिता क्षेत्रमा कामना फिल्मी म्यागेजिन, साधना डाइजेस्ट हाल स्वास्थ्य मासिक पत्रिका, महानगर सन्ध्याकालीन दैनिक आजको आजै समाचार पढ्न पाइने नेपालमा पहिलो पत्रिका, तत्कालीन आजको समाचारपत्र राष्ट्रिय दैनिक र समय सापेक्ष नेपालमा पहिलो पटक युनिकोड प्रयोग गरी न्युज अफ नेपाल अनलाइन सञ्चालन गरेको पब्लिकेसन्स् नेपाली पत्रकारिताको इतिहासलाई राज्यपक्ष र नागरिक तथा पाठकले मूल्यांकन गर्ने बेला आएको छ ।

यतिबेला, छापा माध्यम (प्रिन्ट) का मिडिया रुग्ण अवस्थामा छ । यसको पछाडिको प्रमुख कारण प्रविधिको विकाससँगै बढेको डिजिटलाइजेसन नै हो । डिजिटलाइजेसनका कारण विश्व नै एउटा गाउँको रूपमा स्थापित हुँदा छापा माध्यमहरू कमजोर हुने कुरालाई नकार्न सकिँदैन ।

यो समस्याका कारण भारतबाट प्रकाशित हुने पंजाबकेशरी, हिन्दुस्तान टाइम्स, चीन, जापानबाट प्रकाशित हुने पत्रपत्रिकाहरू, अमेरिकाबाट प्रकाशित हुने वासिङ्टन पोस्ट, बेलायतबाट प्रकाशित हुने लन्डन गजेट जस्ता छापा माध्यमको बिक्री वितरण कमजोर भएको छ । नेपाल सानो बजार भएकाले अनलाइन, सामाजिक सञ्जाल, एफएम रेडियो, टेलिभिजनले गर्दा छापा माध्यम संकटमा परेको अवस्था छ ।

विगतमा कामना न्युज पब्लिकेसन्स्ले व्यावसायिक रूपमा निजी क्षेत्रमा ठूूला प्रकाशन गृह सञ्चालन गर्न सक्ने सम्भावना देखाएकै हो । मेरो ३० वर्षको पत्रकारिता इतिहासमा एक पत्रकार, प्रशिक्षक, पाठक भएर हेर्दा यहाँबाट प्रकाशित हुने विभिन्न विद्याका पत्र–पत्रिका, अनलाइनबाट प्रकाशित हुने समाचार, विषयवस्तुमा सन्तुलन कायम भएको पाएको छु । हिजो पुष्करलाल श्रेष्ठको नेतृत्वमा रहेका दीग्गज दर्जनाैं पत्रकारहरूको एउटा बलियो समूह थियो । उनीहरूले गरेको परिकल्पना, मेहनत म आफैंँ ६ महिना प्रशिक्षार्थी पत्रकार भएर काम गर्दा देखेकै हो ।

आज देश, विदेशमा समेत कामनाका सयौ पत्रकारहरू आफ्नो क्यारियर बनाएर अघि बढेका छन् । नेपालका ठूला मिडियामा कामनाकै उत्पादन प्रमुख पदमा छन् । कामना प्रकाशन गृह पत्रकारिताको अघोषित विश्व विद्यालय नै हो । नामै लिनुपर्दा पुष्कर सरको नेतृत्वमा कपिल काफ्ले, बद्री तिवारी, कुशल गौतमजस्ता सयौं पत्रकार हुनुहुन्थ्यो । कामनाकै पत्रकार यशोदा तिम्सिना नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुँदै सूचना आयोगको आयुक्तसम्म हुनुभयो ।

महेन्द्र विष्ट पत्रकार महासंघको अध्यक्ष हुँदै नेपाल टेलिभिजनको अध्यक्ष हुनुभयो । यस्ता थुप्रै पत्रकार अहिले पनि कामनामै कृयाशील हुनुहुन्छ । यो कृयाशील समूले व्यावसायिक पत्रकारिताको विकासका लागि महत्वपूर्ण भूमिका खेलेकै कारण आजसम्म छाप कायमै छ । यतिबेला पाठकहरूको सामाजिक सञ्जाल मोह र राज्यले आम सञ्चारका माध्यमलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउँन नसक्दा छापा माध्यममा निकै ठूलो चुनौती थपिएको छ ।

सुधारका बारेमा उहाँले दिनुभएको सुझाव

सामाजिक सञ्जाललाई मिडिया मान्ने कि नमान्ने भन्ने डिबेट नेपाल सरकारसँग पनि छ र बेला–बेलामा बहस चल्ने गरेको छ र यो अथाह देखिन्छ । भर्खरै नेपाल सरकारले टिकटक बन्द गरेको छ । त्यसपछि आएका अभिमत अदालतको ढोका ढक्ढक्याउन पुग्दैछ । विश्व परिवेश र प्रविधिको माध्यमहरू बन्द गर्नु भनेको युगको चुनौतीको सामना गर्न नसक्नु हो भन्ने लाग्छ । यसलाई व्यवस्थित र निगमन गर्न राज्य लाग्नुपर्छ । साथै सरकारले रुग्ण अवस्थामा रहेका मिडियालाई बचाइराख्ने महत्वपूर्ण सवाल हो । पत्रपत्रिका बन्द गर्नु भनेको पत्रकारिताको इतिहास मार्नु हो ।

अहिलेको परिवेश, प्रविधि नआउँदा देशको राजनीतिक, आर्थिक, सामाजिक बिकासको नियमन गर्ने सबैभन्दा ठूलो छापा माध्यम नै थियो ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र प्राप्तिका कुरा, आन्दोलनमा जनताको सहभागिताका कुरा, विश्वव्यापी रूपमा भइरहेका विकास निमार्णका कुराहरू छापा माध्यमबाटै सार्वजनिक हुन्थे र आम नागरिकले जानकारी पाएर आफ्ना धारणा बनाएर अघि बढ्थे । कतिपय पाठकहरूले पाठक पत्रमार्फत आफ्नो धारणा राख्थे, साहित्यकारहरूले साहित्यको माध्यमबाट समाजलाई जनचेतना जगाउने, सचेत बनाउने काम हुन्थ्यो ।

आज यो विषयमा राज्यले ध्यान पु¥याउनुपर्छ । प्रेस काउन्सिलको रेकर्डमा ८ हजार बढी पत्रपत्रिका दर्ता देखिन्छ त्यस मध्ये १ हजारको हाराहारीमा मात्र प्रकाशन भएको देखिन्छ । किन यति ठूलो ग्याप भयो भन्दा यिनै र यस्तै ठूला कारणहरू होलान् । अहिले युगसँगै प्रविधिको विकासले गर्दा पत्रपत्रिकाहरू विस्तापित हुन बाध्य भए । पाठकहरूले पनि मल्टिपल छनोट गर्ने अवसर पाए । पत्रकार पनि छिटोका नाममा यतै अलमल्लिए ।

प्रकाशित पत्रपत्रिकालाई देशव्यापी बनाउन सक्ने अवस्थाका लागि नेपालका कुना कुनामा सूचना पु¥याउन नसक्ने र विज्ञापन पनि लिन नसक्दा आर्थिक रूपमा जर्जर भएको अवस्था छ । सरकारले अनुदान दिने विषय परिवर्तन हुनुपर्छ । सरकारले दिने अनुदान लिनकै लागि मात्र दर्ता भएका पत्रपत्रिकाहरू प्रकाशन नै हुँदैनन तर उनीहरूले नै राज्यको ठूलो धनराशी विज्ञापनका नाममा प्राप्त गर्छन ।

अनुदानका लिनका लागि प्रेस काउन्सिलमा बुझाउनका लागि मात्र एउटै प्रकाशनले थुप्रै पत्रिका निकालेको अवस्था छ । यसको मूल्यांकन गरि जिम्मेवारपूर्ण तरिकाले पत्रकारिता गरिरहेका मिडिया टिकाइराख्न सरकारले अनुगमन, मूल्यांकन गर्नुपर्छ । लोक कल्याणकारी विज्ञापनका नाममा दुरुपयोग भएको छ ।

कतिपय अवस्थामा आकलझुकल झुल्कने मिडियाले बिचौलियाको काम गरिरहेका छन् भन्दा अन्यथा नहुने जटिल अवस्था छ । राज्यको ध्यान यतातर्फपनि पुगोस् । साथै सामाजिक सञ्जाललाई स्रोत मानी समाचार लेख्ने पत्रकारको अल्छिपनाको सुधार गरिएन भने प्रिन्ट मिडियाको विश्वसनियता गुम्छ । राज्य आर्थिक मन्दीमा छ भनिरहँदा पत्रकारिता पनि सेवामा नभै नाफामुखी उद्योगका रूपमा विकास हुने उद्देश्यले प्रेरित हुँदा थप संकटमा परेको छ । ठूला मिडिया हाउसका बीच हुने अस्वस्थ प्रतिस्पर्धा, कालो धनलाई सेतो बनाउन लगानी गर्ने माध्यम मिडिया बन्दा थप धराशायी बन्दै गएको छ ।

विज्ञापनको बजार उद्योगले इच्छाएको मिडियामा विज्ञापन दिनसक्ने अवस्था छैन । एउटामा विज्ञापन छापिना साथ अर्कोले नेगेटिभ हेर्ने प्रचलन अत्यन्तै गम्भीर बन्दै छ र मिडियालाई धराशायी बनाउन यो ट्रेन बढ्दो छ । हिजो मिडियाको भूमिकाकै कारण उद्योग धन्दाको विकास भएको कुरा आज बिर्सनुहुन्न । उद्योग, कल, कारखानाले पत्रकारिताको इतिहासलाई मर्न दिनुहुन्न र जोगाइराख्नुपर्छ भन्ने धर्म बिर्सनुहुन्न ।

अन्तमा कामना प्रकाशन गृहलाई हार्दिक शुभेच्छा प्रकट गर्न चाहन्छु । नेपालको पत्रकारिता क्षेत्रमा यसले हजारौं पत्रकार, प्रशिक्षकहरू उत्पादन गरेको छ । आज देशका ठूला, साना सञ्चार माध्यमहरूमा पत्रकार पुगेका छन् र पत्रकारिता क्षेत्रको नेतृत्वमा पुग्ने, मूल्यांकन गर्ने ठाउँमा पुग्ने परिस्थिति बनेको छ । यसका लागि कामना प्रकाशन गृहलाई हार्दिक आभार प्रकट गर्दै सुभेच्छा प्रकट गर्न चाहन्छु । यो अवसरमा संस्थापक, प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई सम्झन चाहन्छु । साथै, सबै सहकर्मी पत्रकार साथीहरूलाई शुभेच्छा प्रकट गर्न चाहन्छु । हार्दिक धन्यवाद !

प्रतिक्रिया दिनुहोस्