२०५८ भदौ ३

नयाँ राजाले अब जनताको दुःख–दर्द मूकदर्शक भएर नहेर्ने



पुष्करलाल श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस धनकुटा जिल्ला समितिद्वारा साउन ३० गते मङ्गलबार पाख्रीवासमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा राजसंस्थाप्रति सम्पूर्ण नेपालीको आस्था, श्रद्धा र विश्वास रहेकाले आ–आफ्नो सिद्धान्त, आदर्श जेसुकै भए पनि राजसंस्थाप्रति सम्पूर्ण नेपालीको सम्मानलाई उच्च राख्नुपर्ने बताउँदै राजतन्त्र कमजोर भयो भने नेपाल राष्ट्र नै कमजोर हुने बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवाको उक्त भाषणको आशयलाई कतिले प्रधानमन्त्रीकी श्रीमती आरजु देउवाको दरबारको निकट सम्बन्धलाई जोडेर हेरेका पनि होलान् । संयोगले प्रधानमन्त्रीले धनकुटामा राजसंस्थाप्रति नेपाली जनताको आस्था बढाउनुपर्ने कुरालाई जोड दिएर भाषण गरिरहेका बेला श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवसँग मेरो दर्शनभेट चलिरहेको थियो ।

करिब एक घण्टा लामो दर्शन भेटपछि श्री ५ को कार्यकक्षबाट अत्यन्त उत्साह र उमंग बोकेर फर्किरहेको बेला बाटोभरि मेरो दिमागमा पनि एउटै प्रश्न घुमिरहेको थियो कि राजा र राजसंस्थाको देश र जनताप्रति यति अगाध माया–ममता रहेको थाहा पाउँदापाउँदै पनि नेपालका नेताहरू जनताप्रति राजसंस्थाको यस्तो उदार भावनालाई किन गुमराहमा राख्ने दुष्प्रयास गरिरहन्छन् ?

समय र परिस्थितिले आज नेपाली जनतासामु राजा वीरेन्द्र होइन, नेपालको राजसिंहासनमा राजा ज्ञानेन्द्र विराजमान होइबक्सन्छ । एक वर्षको अन्तरालभित्रै देशका दुई फरक राजासँग दर्शनभेट पाउने अत्यन्त थोरैमध्येको भाग्यमानी नागरिक बन्ने अवसर पाउनु आफैँमा एउटा सुखद अनुभूति त छँदै थियो, त्यसमा पनि नयाँ राजाबाट औपचारिक रूपमा दर्शनभेट पाउने देशकै पहिलो पत्रकार बन्ने सौभाग्य पनि आफूलाई प्राप्त होला भन्नेचाहिँ कल्पनाभन्दा बाहिरकै कुरा थियो ।

श्री ५ सँगको दर्शनभेटको अवसरमा श्री ५ बाट मलाई प्राप्त भएको आत्मीयता, स्नेह, निष्पक्ष पत्रकारितामा लागिरहन बक्स भएका प्रेरणादायी सुझावहरू अनि राष्ट्र र जनताका खातिर समर्पित हुन प्रेसले निर्वाह गर्नुपर्ने भूमिका एवम् जिम्मेवारीबारे व्याख्यात्मक रूपमा राखिबक्सेका स्पष्ट धारणालाई केलाएर हेर्दा मलाई वर्तमान राजासँगको आफ्नो पहिलो दर्शनभेट पत्रकारिताको माध्यमबाट विगत दुई दशकदेखि राष्ट्र, राष्ट्रियता र जनताका लागि पु¥याउँदै आएको योगदानको प्रतिकूल भएको महसुस गराएको छ ।

स्वर्गीय राजा वीरेन्द्रभन्दा अनुदार, हक्की स्वभाव, कडा मिजास आदि आदि विशेषणबाट चर्चित राजाबाट आपूmलाई कस्तो व्यवहार हुने होला भन्नेजस्ता कुरा मनमा खेलाउँदै श्री ५ को कार्यकक्षमा पुगेको म श्री ५ बाट सुरुमै ‘पुष्करजी’ भनेर सम्बोधन गरिबक्सेको सुनेपछि प्राप्त भएको अप्रत्याशित हौसलाले गर्दा नै होला, म त श्री ५ को अगाडिको खालि कुर्सीमा बस्नेबित्तिकै कतै पनि विश्राम नलिइकन लगातार झन्डै एकनासले १५ मिनेटजति बोल्न पुगेछु ।

बीचमा सरकारले नै ‘पुष्कर’ भनेर आफ्नो कुरा सुरु गरिबक्सेपछि पो म त झसङ्गै भएँ । आफँैलाई लाज पनि लाग्यो । बिन्ती गरेँ, ‘सरकार ! म त आफैँ पो बोलेको बोल्यै गरिरहेँ ।’ प्रतिक्रियामा सरकार मुसुक्क मात्र हाँसिबक्स्यो, केही बोलिबक्सेन । बरु मलाई नै इसाराले पुनः बोल्न प्रेरित गरिबक्स्यो । धेरै बोलिसकेको हुँदा राजाले उदारता देखाइबक्से पनि मैले त्यसको फाइदा लिन चाहिनँ । लामो समयसम्म म नबोलीकन बसेकाले होला, सरकारले नै यसरी कुरा सुरु गरिबक्स्यो, ‘पुष्कर ! यो संविधान के राजा र जनताका लागि मात्र बनाइएको हो र ? राजनीतिक पार्टी र त्यसभित्रका नेताहरूलाई यो संविधानको परिधिभित्र रहेर काम गर्नु आवश्यक हुँदैन ।’

कुराकानी अघि बढ्दै जाँदा अहिले सरकारले जनगणतन्त्रको नारा दिएर अघि बढ्दै आइरहेको माओवादीसँग गर्न खोजिरहेको वार्ताका लागि श्री ५ सँग आवश्यक परामर्श र राम्रो समझदारी नबनाएको हो कि भन्ने आभाष स्पष्ट झल्किन्थ्यो । बीच–बीचमा सरकारले धेरैपल्ट एउटै कुरामा विशेष जोड दिँदै भनिबक्सन्थ्यो, ‘नेपाली जनताको चाहनाअनुसार यो संविधान स्वर्गीय राजा वीरेन्द्रको समेत सहभागितामा सबै पार्टीहरूको सहमतिमा बनेको हो भने राष्ट्रका महत्त्वपूर्ण सवालहरूमा छलफल हुँदा यसमा राजाको सहभागिताको आवश्यकता पर्छ कि पर्दैन ?’

हुन पनि हो, माओवादीसँगको वार्ताका लागि सर्वदलीय बैठक, सर्वदलीय सहमतिको चर्चा÷प्रयासको कुरा जति बाहिर आए पनि यस विषयमा सर्वसाधारणले राजा वा राजदरबारको धारणा के हो त भनेर बुझ्ने अवसर प्राप्त गर्न सकिरहेका छैनन् ।
माओवादीको जनगणतन्त्रको प्रसङ्ग उठाउँदै सरकारले मसँग जिज्ञासा राखिबक्सेको थियो, ‘पुष्कर ! माओवादीले उठाइरहेको यो जनगणतन्त्रको वास्तविक कुरा के हो ? के हुन सक्छ यसमा नेपाली जनताको धारणा ?’

सरकारले राखिबक्सेको यस जिज्ञासामा सरकार स्वयंको विचार भने यस्तो थियो, ‘न त राजाले चाहँदैमा यो देशमा गणतन्त्र आउने हो, न माओवादीले चाहँदैमा । पहिले त यसमा जनताको चाहना नै अघि आउनुप¥यो । म त आफैँ संविधानभित्र बाँधिएको छु । जसको अक्षरशः पालना राजसंस्थाबाट त भइरहेकै छ । त्यसै गरी अरु राजनीतिक पार्टीहरू पनि संविधानभित्रै बसेर अघि बढ्नुपर्ने हो । तर, सबैले यसरी संविधानको परिधिभित्र रहेर काम गरिरहेका छन् जस्तो मलाई लाग्दैन ।’

यस प्रसङ्गमा थप कुरा अघि बढ्दा राजनीतिक पार्टीहरूले बेला–बेलामा संविधान मिचेर काम गरेजस्तै संविधानको पालना गर्नुपर्ने अन्य निकायहरू पनि त्यसैबाट प्रोत्साहित भएर संविधानलाई मिच्ने काम गर्न थाले भने यो मुलुककै लागि दुर्भाग्य हुने कुरामा श्री ५ चिन्तित होइबक्सेको देखियो ।

एउटा प्रसङ्गमा सरकारले अति दुःखी हुँदै भनिबक्सेको थियो, ‘पुष्कर ! यो संविधानमा राजाको के भूमिका छ ? संविधानअनुसार राजाले के–के गर्न सक्छ, के–के गर्न सक्तैन ? संविधानमा राजाको काम, कर्तव्य र अधिकारहरू के–के तोकिएका छन् भन्ने कुरा थाहा हुँदाहुँदै पनि त्यसबारेमा चर्चा हुँदा नेताहरू जनतालाई किन स्पष्ट जानकारी गराउँदैनन् ? मलाई यसैमा आश्चर्य लागिरहेको छ । संविधानको पालना त सबैबाट समान रूपमा हुनुपर्ने होइन र ?’

दिनदिनै खस्किँदै गइरहेको देशको पर्यटन उद्योगको दुर्दशाबाट साह्रै नै चिन्तित देखिइबक्सेका सरकारले आफ्नो अतितलाई सम्झिँदै आफ्ना पुर्खाले देशमा पर्यटन उद्योग विकासको अवधारणालाई ख्याल गरेरै देशको पहिलो पाँचतारे होटलको रूपमा सोल्टी होटलको स्थापना गरिएका रमाइला प्रसङ्गहरू पनि सुनाइबक्सेको थियो । सोल्टी होटलको स्थापना हुँदा आफू विदेशमा विद्यार्थी जीवन बिताइरहेको र अध्ययन सकेर स्वदेश फर्कंदा मात्र काकाबाट ‘तिमीले सोल्टी होटलको व्यवस्थापन हेर्नुपर्छ’ भन्ने मर्जी भएपछि मात्र आफूलाई सोबारे जानकारी हुन आएको स्मरण पनि श्री ५ ले गरिबक्स्यो ।

व्यापारकै प्रसङ्ग चल्दा राजा उद्योगहरूमा प्रत्यक्ष संलग्न हुन पाइने-नपाइने आदिबारे पनि बेलायत र थाइल्यान्डका राजाहरूको उदाहरणसहित लामो चर्चा चलेको थियो । यसरी चर्चा चल्दा श्री ५ बाट देशमा अहिले श्री ५ संलग्न भएका उद्योगहरूबाटै पारदर्शी रूपमा बढी राजस्व सङ्कलन भइरहेको पनि जानकारी गराइबक्सेको थियो ।

यदि नेपाली जनताले आफ्नो राजा कुनै उद्योग, व्यापारमा प्रत्यक्षरूपमा संलग्न नहून् भन्ने चाहेमा पनि आफ्नो लगानी कहाँ के–कसरी कुन रूपमा हस्तान्तरण गर्न सकिन्छ भन्ने कुरालाई लिएर आफूले गम्भीर रूपमा सोचिरहेको जानकारी गराइबक्सँदै छलफलमा सरकारको लगानी भएका उद्योगहरूबाट प्राप्त हुने सबै नाफा एउटा गुठीमार्फत सामाजिक कार्य र नेपाली जनताको भलाइ हुने कार्यहरूमै लगानी गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरिएको थियो ।

यसरी चर्चा चल्दा मैले विश्वको एक मात्र हिन्दू राज्यका राजा र श्री ५ स्वयम् वातावरणतिर चासो राखिबक्सने व्यक्तित्व होइबक्सेकाले यदि सम्भव भए यस्तो नाफाको रकम सर्वप्रथम वागमती नदीलाई स्वच्छ बनाउनेतिर प्राथमिकता दिनुपर्ने बिन्ती जाहेर गर्दा श्री ५ बाट पनि यस सुझावलाई अत्यन्त सकारात्मक रूपमा ग्रहण गरिबक्सेको थियो ।

समसामयिक जुनसुकै विषयमा कुरा चल्दा पनि अत्यन्त ध्यानपूर्वक सुनिबक्सी गहिराइसम्म पुगेर व्याख्यात्मक रूपमा जवाफ दिन रुचि राखिबक्सने वर्तमान राजासँग विभिन्न विषयमा करिब एक घण्टा भएको छलफलको आधारमा मौसुफकै स्वर्गीय दाजु राजा वीरेन्द्रसँग मौसुफको तुलना गरी हेर्दा बोली, वचन, व्यवहारका साथै राष्ट्र र जनतालाई माया गर्ने आदि सबै कुरामा हुबहु समानता पाइए पनि राजनीतिलाई हेर्ने दृष्टिकोणमा भने आकाश–जमिनको भिन्नता रहेको महसुस भयो ।

एउटा उदाहरणका लागि मात्र, स्वर्गीय राजा वीरेन्द्रसँगको दर्शनभेटमा देशको गिर्दै गइरहेको अवस्थाबारे छलफल हुँदा मौसुफ नेताहरूको भ्रष्ट र अनैतिक क्रियाकलापबाट साहै्र चिन्तित देखिइबक्से पनि नेपाली जनतालाई दुःख दिने त्यस्ता नेताहरूलाई समयले आफैँ सजाय दिने कुरामा विश्वास राखिबक्सन्थ्यो भने वर्तमान राजाले यस विषयमा चर्चा चल्दा जनताको दुःख–दर्दलाई आफूले मूकदर्शक भएर हेर्न नसक्ने स्पष्ट धारणा राखिबक्सेको थियो ।

सवा २ करोड नेपाली जनताको भावना आफैँले राम्ररी बुझेको प्रसङ्ग उठाइबक्सँदै श्री ५ बाट मेरो एउटा जिज्ञासाको उत्तर दिने क्रममा अत्यन्त गम्भीर मुद्रामा भनिबक्सेको थियो, ‘पुष्कर ! देश अहिले अत्यन्त नाजुक अवस्थामा पुगिसकेको छ । सबै नेपाली जनताको अवस्था बेहाल देखिरहेको छु ।

प्रजातन्त्र सीमित व्यक्तिका लागि मात्र सुख–सुविधा दिलाउन ल्याएको व्यवस्थाजस्तो हुनुहुन्न । नेपाली जनताको भित्री चाहनाअनुसार सबै राजनीतिक पार्टीहरू र राजा मिलेर देश र जनताको भलाइका लागि ल्याइएको यो व्यवस्थामा सबैभन्दा पहिला सुख पाउने अधिकार भनेको नेपाली जनताकै हो । तर, अहिले यहाँ प्रजातन्त्रको नाममा नेपाली जनतालाई जसरी उपहासको पात्र बनाई शोषण भइरहेको भन्ने जनगुनासो छ, त्यसले परिस्थिति अत्यन्त गम्भीर भएको देखाउँछ । शान्ति सुरक्षा नहुँदा जनता चैनसँग बस्न सकिरहेका छैनन् । स्थिति आज सुध्रेला कि, भोलि सुध्रेला भनेर सहँदासहँदै नेपाली जनताको उज्यालो अनुहार हेर्ने सपना अधुरो छोडेर दाजु यस संसारबाट बिदा होइबक्स्यो ।’

‘पुष्कर ! देश र जनताको यस्तो अवस्था हेरेर म दाजुजस्तै चुप लागेर बस्न सक्तिनँ । हो, बहुदलीय व्यवस्थाका लागि दाजुले हिँडिबक्सेको पथप्रदर्शनबाट म विचलित हुन्नँ । तर, जनताको दुःख–दर्दलाई म त्यसै मूकदर्शक भएर हेरिरहन पनि सक्तिनँ । त्यसैले, संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रका लागि बनेको संविधानको भावना अनुकूल रहेरै देश र जनताका लागि राजाले खेल्न सक्ने भूमिकाको अधिकतम अभ्यास गर्ने सोच म बनाउँदै छु ।’

पाठकवृन्द ! मैले यस लेखको शुरुमै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो उपत्यका बाहिरको पहिलो भ्रमणमै राजसंस्थाप्रति व्यक्त गरेको उद्गारलाई किन प्राथमिकता दिएको होला भनी अब यहाँ उल्लेख गरिरहनु आवश्यक नपर्ला । पहिलो दर्शनभेटमै राजाको भावनालाई मैले यसरी बुझ्ने अवसर पाएको छु भने झन् प्रधानमन्त्रीज्यूको त यसबीचमा नियमित कामकै लागि पनि राजासँग धेरैपटक दर्शनभेट भइसकेका कारण राजाको भावना बुझेरै उहाँले पनि आफ्ना भाषणहरूमा राजसंस्थाप्रति आदर जगाउने खालका उद्गारहरू व्यक्त गर्नमा प्राथमिकता दिन थाल्नुभएको हुन सक्छ ।

माओवादीसँगको वार्ताका लागि सरकारले गठन गरेको वार्ता समितिपछि सरकारले वार्तालाई सफल बनाउन तथा वार्ताको वातावरण बिग्रन नदिन राजसंस्थाको मर्यादाप्रति प्रतिकुल हुने खालका अभिव्यक्तिहरू व्यक्त नगर्न सबैसँग आग्रह गरेबाट पनि प्रधानमन्त्री देउवाले राजाको भावना राम्ररी बुझिसक्नुभएको महसुस गर्न सकिन्छ ।

हिजोसम्म देशमा जतिसुकै हिंसा, हत्या र अराजकता भए पनि हाम्रा राजा ‘गौप्राणी’ जस्तै भएर किन सहेर बसेका होलान् ? भनी मनमा कुरा खेलाएर बस्ने नेपाली जनतालाई यो लेख पढेपछि ‘यस संविधानको भावनाको प्रतिकूल नहुने गरी यसै संविधानको परिधिभित्र रहेर देश र जनताका लागि… जनताको दुःख–दर्दलाई म त्यसै मूकदर्शक भएर हेरिरहन सक्तिनँ’ भन्ने नयाँ राजाबाट देश र जनताका लागि व्यक्त गरिबक्सेका भावना र प्रतिबद्धताबाट लाग्छ– प्रजातन्त्रको नाममा देशमा अराजकता र ब्रह्मलुट गर्न पल्केका भ्रष्ट नेताहरूबाट पीडित सबै नेपाली जनता अझै पनि असल अभिभावकबाट वञ्चित भइसकेकै चाहिँ रहेनछन् ।

प्रतिक्रिया दिनुहोस्