कामनाको इतिहास बचाइराख : मोहन दुवाल



जनमत मासिकका संस्थापक प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार मोहन दुवाल कामना न्युज पब्लिकेसन्स प्रालिको सुरुवातीदेखि अनवरत रूपमा पाठक तथा नेपाल समाचारपत्रमा सात वर्ष साहित्यिक पृष्ठ संयोजनसमेत गरिसक्नुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँले देखेको कामना प्रकाशन उहाँकै शब्दमा जस्ताको तस्तै उतारिएको छ ।
कामना पब्लिकेसन्स् प्रा.लि. नेपाली पत्रकारिताको इतिहास बोकेको प्रकाशन भएकाले यसलाई जोगाउने प्रयत्न गर्नुपर्छ । पत्रकारिता जगतमा निजी क्षेत्रबाट पत्रिका निकाल्ने पहिलो पब्लिकेसन हो र यसलाई यति माथि उठाउन पुष्करलालजीले धेरै संघर्ष गर्नुभएको हो । उहाँको आफ्नै ढंगको इतिहास छ । त्यो इतिहासलाई जोगाउने काम अब नयाँ पुस्ताले गर्नुप¥यो । त्यो भइराखेको छैन । पुष्करलालजीले जुन किसिमको जोगाइराखेको गरिमा छ, त्यो गरिमालाई बचाइराख्न सकिराखेको छैन कि भन्ने प्रश्न उठेको छ । यो पब्लिकेशन्सबाट प्रकाशित हुने कामना, साधना, नेपाल समाचारपत्रले राम्रो बजार लिनुप¥यो । पाठकले पत्रपत्रिका खरिद गर्न खोज्दा पाउनुपर्छ । यसका साथै, नेपाल समाचारपत्रको लेख रचना कमजोर भयो, राम्रो हुनुपर्छ । स्तरीयता जोगाउने समस्या बढेकोछ ।
पुष्करलालजीले बनाइसकेको फ्रेमलाई घटाउने हैन बढाउनुप¥यो । पहिलाको दाजोमा समाचारको स्तरीयता निकै खस्किएको छ । आर्थिक अवस्थाको कमजोरीले पनि हुन सक्छ । यसलाई बचाएर लैजान प्रत्येक हप्तामा पाठकले पढ्ने, रुचाउने खालको लेख, रचना हनुपर्छ । पाठक नै पत्रपत्रिकाका देवता हुन । पत्रिकालाई माथि उठाउन फूर्ति गरेर हुन्न गुणस्तरीयता दिनुपर्छ । पाठकले नेताका भाषण मात्र हेर्दैनन् खोजी समाचार खोज्छन् । संकल्प चाहिन्छ, नेतृत्व राम्रो हुनुपर्छ, खोजी आफैँले गर्ने, आफूले नसके विज्ञहरूको सल्लाह सुझाव पनि लिने गर्नुपर्छ ।
प्रिन्ट मिडियाको अवस्था
अव्यवस्थित अनलाइनले गर्दा अहिलेको समयमा पत्रपत्रिका निकाल्नु धेरै नै संघर्षको समय हो । पत्रिका पसलहरूसँग सोध्दा पनि धेरै पत्रिका पढ्ने पाठकहरू छैनन् भन्छन् । बनेपामा निकै पुरानो र नाम चलेको प्रगति पुस्तक पसलेसँग बुझ्दा पनि पत्रिका पढ्ने मान्छे नै छैन भन्न थालेको छ । मलाई यस्तो परिस्थितिमा पत्रिका निकालिरहनु धेरै संघर्षको बाटोजस्तो लाग्छ । मान्छेले सस्तो समाचार पढ्ने भए पत्रिका किनेर किन पढ्ने भन्ने बखत छ । यो चुनौतीपूर्ण समयमा पत्रिकाको पनि स्तर बढ्दै जानुपर्नेमा कामना पब्लिकेसन्स्को स्तर घट्दै गएको छ ।
स्पष्ट भन्नुपर्दा म एक साहित्यकार भएको नाताले साहित्यिक पृष्ठहरू खोज्छु । मैले सबैभन्दा रुचाउने साहित्यिक पृष्ठ राख्नेमा कान्तिपुरलाई रोजिराखेको छु । उसले वाङ्मयको खोजी गरेको छ, अरु पत्रिकाले गरेको छैन । नेपाल समाचारपत्रले नेपाल भाषालाई निरन्तरता दिएको छ । यसले नेवारहरूको बाहुल्यताले टिकेको जस्तो महसुस हुन्छ । नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिका भन्छौं, शनिबार एक दिन बिदा राख्ने प्रचलन कहाँबाट ल्यायो यो पटक्कै चित्त नबुझेको विषय हो । राष्ट्रिय दैनिक पत्रिका भनेको छ, विश्वमै नभएको चलन सातामा एक दिन बिदा राख्ने कुरा चित्त बुझेन । सबैको शनिबार अंक निकाल्छन्, राष्ट्रिय दैनिक एउटा नेपाल समाचारपत्रले शनिबार पत्रिका निकाल्दैन ।
म एउटा पाठक सबै पत्रिका शनिबार पढ्छु समाचारपत्र पढ्न पाउदिनँ । के कारणले हो नेपाल समाचारपत्रले साहित्यलाई नै तिरस्कार गरेको जस्तो देखियो यो म एक साहित्यकार भएकाले चित्त दुख्ने विषय भएकोछ । कामना पब्लिकेसन्स्का संस्थापक प्रधान सम्पादक स्व.पुष्करलाल श्रेष्ठको अनुरोधमा मैले नेपाल समाचार पत्रमा ७ वर्ष साहित्यिक पृष्ठ स्वयमसेवी भएर अनवरत रूपमा चलाएको हँु । त्यसको प्रभाव पनि धेरैलाई परेको थियो । मेरो पनि आफ्नै तरिकाको खोजी थियो । पुष्करलालजीको देहावसान पछि नयाँ आउनुभएका सम्पादकज्यूले अचानक शनिबारको पत्रिका र साहित्यिक पृष्ठ नै बन्द गराउनुभयो ।
यतिबेलादेखि नै पत्रिकाको स्ट्यान्डर्ड बढ्दै जानुपर्नेमा घट्दै आएको छ । यस्तो अवस्थामा पाठकहरू बढाउनुपर्ने बेलामा पत्रिकाको गुणस्तरनै घटाउँदै गएपछि पत्रिका कसरी पढ्छ । म पनि एउटा साहित्यिक पत्रिका निकाल्ने पत्रकार हुँ र त्यसलाई स्ट्यान्डर्ड कसरी बनाउन सकिन्छ भनेर लागिरहन्छु । यदि, त्यसो गरेन भने कुनै पनि पत्रिका पढ्ने पाठक हुँदैन र विज्ञापनदाताको आँखामा पनि पर्दैन र पत्रिका चलाउन सकिन्न । अरुको भन्दा स्तरीय बनाउन के के गर्नुपर्छ भन्ने विषयमा खोजी गर्नुपर्छ । मैले विभिन्न भागको विशेषांक निकाल्छु र राष्ट्र तथा अन्तर्राष्ट्रमा समेत पु¥याउने काम गर्छु त्यसैले गुणस्तर कायम राख्दै पाठक बढाउन सफल भएको छु । राष्ट्रिय पत्रिकाले यस्ता विषयको खोजी गर्नुपर्छ । राष्ट्रिय पत्रिका भनेका छन् जे–जे टेबुलमा आएको छ त्यति मात्र छाप्ने हो भने त्यो राष्ट्रिय पत्रिकाको अर्थ रहँदैन । त्यसैले, राष्ट्रिय संकट खोजी गर्ने, राष्ट्रिय पहिचान आफ्नो बनाउने, ढंग नपुगेको राजनीति छ भने त्यसको विरोध गर्ने तागत हुनुप¥यो । खोजी हुनुप¥यो ।
समग्रमा भन्नुपर्दा गुणस्तर कायम गर्दै पत्रकारिताको विकास गर्दै लग्यो भने त्यो पत्रकारिताको विकास पनि हुन्छ र पाठकाले रुचाउँछ । अहिलेका पाठक धेरै सचेत छन् र सबै छुट्याउँछन् । यस्तो बखतमा व्यक्तिगत रूपमा म सबै पत्रिका पढ्छु । पढेकै कारणले पत्रिकाको स्ट्यान्डर देख्छु र छुट्याउँछु । नेपाल समाचारपत्रको स्ट्यान्डर्ड खस्केको जस्तो लाग्छ । मेरो सुझाव पत्रिकाको स्ट्यान्डर्ड बढाउनुपर्ने बेलामा खस्किनुचाहिँ राम्रो होइन । यो विषयमा प्रकाशक, सम्पादकले खोज्नुपर्छ । अरु पत्रिकाले यस्तो संकटको बेलामा पनि इजरायलसम्म पत्रकार पठाएर पाठकलाई नयाँ–नयाँ समाचार पस्किरहेका छन् । त्यो तागत बनाउनुपर्छ लरतरोले सक्दैन ।
त्यो स्ट्यान्डर्डमा हामी पनि जानुपर्छ । बजारको प्रतिष्पर्धा गर्ने कुरा ती हुन् । म साहित्यिक पत्रिका निकाल्छु ६२ जिल्लामा नियमित पु¥याउँछु अरु कुनै पनि साहित्यिक पत्रिका पुग्दैनन् । जिल्ला जिल्लाको कन्टेन्न खोज्छु कसैले गर्न सकेका छैनन् । व्यक्तिका अंक निकाल्ने, खोज्ने क्षमता राखेको छु । मैले जहाँ पुग्दा पनि छाती खोलेर बोल्न सक्छु । साहित्यिक क्षेत्रमा तारिफ भएकै छ । यो प्रतिस्पर्धाको जवानामा खोजी खोजी पढ्ने पत्रिका नेपाल समाचारपत्रलाई बनाउनुपर्छ भन्ने मेरो अर्को सुझाव हो । पत्रिकाको स्तर खसाल्दै जाने हैन बढाउँदै जाने हो । एकपटक ग्राहक भएको पाठकले फेरि ग्राहक बन्न रुचि राख्नुपर्छ । पुष्करलालजीले बचाइराखेको पत्रकारिताको इतिहास उहाँको छोराले बचाइराख्न सकून् यही मेरो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्