हालान्डको कीर्तिमानी गोलमा सिटीको जित



लन्डन, (एजेन्सी)

अर्लिङ हालान्डले यृुरोपियन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान राख्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । जर्मन क्लब आरबी लिइपजिगसँग २–० ले पछि परेको सिटीले ३–२ को जित हात पारेको हो ।

यो जित दिलाउन नर्वेली फरवार्ड हालान्डले एक गोलको योगदान दिए । उक्त गोलसँगै उनले कम खेल खेलेर ४० गोलसंख्यामा पुग्दै च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान समेत राखे । यसअघि कीर्तिमान राखेका रुड भान निस्टेलरोएले यति गोलसंख्यामा पुग्न हालान्डले भन्दा १० बढी खेल खेलेका थिए ।

हालान्डले ५४ औं मिनेटमा गोल गरेपछि सिटीले अग्रतालाई २–१ मा खुम्च्यायो । पहिल्यै समूह जी बाट अन्तिम १६ मा पुगिसकेको सिटीका लागि फिल फोडेनले ७० औं मिनेटमा गोल गरे । जुजियन अल्भारेजले ८७ औं मिनेटमा गोल गरेपछि सिटीले लिइपजिगविरुद्ध ३–२ को अग्रता बनायो । यसपछि गोल हुन नसक्दा सिटीले पुनरागमन जित हासिल गरेको थियो ।

लिइपजिगले ५३ औं मिनेटसम्म २–० को अग्रता लिँदा सिटीको घरेलु मैदानमा लगातार २८ खेलमा अपराजेय रहेको युरोपेली कीर्तिमान समाप्त हुनेतिर थियो । लिइपजिगको लागि लुइस ओपेन्डाले दुबै गोल गरेका थिए । उनले पहिलो गोल १३ औं मिनेटमा र दोस्रो गोल ३३ औं मिनेटमा गरेका थिए ।

बार्सिलोना अन्तिम १६ मा

क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक एक गोल गरे ।

३०औं मिनेटमा पोर्टोले खेलमा अग्रता लियो । गलेनोको प्रहार बार्सिलोनाका गोलरक्षक इनाकी पेनाले बचाएपछि ब्राजिलियन खेलाडी पेपेले रिबाउन्डमा गोल गर्दै अग्रता दिलाएका थिए । बार्सिलोनाले दुई मिनेटपछि नै खेलमा बराबरी गर्यो । डिफेन्डर जोआओ क्यान्सेलोले सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका थिए। उनले पेड्रीको पास लिँदै एक डिफेन्डरलाई बिट गर्दै फार पोस्टमा गोल गरेका थिए ।

३५औं मिनेटमा राफिन्हाको पासमा फेलिक्सले बक्स भित्र बाट सहज मौकालाई पोस्टमाथि प्रहार गरे । दोस्रो हाफको सुरुवाती समयमै जोआओ फेलिक्सले प्रहार गरेको शक्तिशाली प्रहार पोस्टमा लागेर बाहिरियो । ५७औं मिनेटमा भने बार्सिलोनाले खेलमा अग्रता लिन सफल भयो । जोआओ क्यान्सेलोको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गर्दै फेलिक्सले बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।

समूह एच मा बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ । पोर्टो र शाख्तर दोनेत्स्कको समान ९–९ अंक छ । यी दुई टोली अन्तिम खेलमा एकअर्का सँग भिड्ने छन् । समूहमा पुछारमा रहेको रोयल एन्टवर्पको भने कुनै अंक रहेको छैन ।

न्युक्यासल जितबाट वंचित

अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध जितबाट बन्चित भएको छ । पेरिसको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १–१ को बराबरीमा सकिएको हो । जबकी पहिलो लेग खेलमा न्युक्यासलले पीएसजीलाई ४–१ ले हराएको थियो ।
यस बराबरीले न्यृुक्यासलको लागि दोस्रो स्थानमा आउने मौका गुमेको छ । न्युक्यासलको ५ अंक छ भने पीएसजीको ७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डको १० अंकसहित अन्तिम १६ मा पुगिसकेको छ । पुछारको टोली एसी मिलानको पनि ५ अंक नै छ । यस समूह एफ मा अन्तिम चरणको लिग खेलबाट दोस्रो टोली अन्तिम १६ को लागि छनोट हुनेछ ।

जितको नतिजा न्युक्यासलतर्फ जाने लगभग पक्का थियो । न्युक्यासलका डिफेन्डर टोनी लिभ्रामेन्टोले ह्यान्डबल गरेपछि पेनाल्टी भएको थियो । इन्ज्युरी समयको आठौं मिनेटमा कीलियन एम्बाप्पेले पेनाल्टी गोल गर्दै न्युक्यासलको जितको पार्टी गर्ने तयारीलाई भताभुंग बनाइदिए ।
यसअघि २४औं मिनेटमा न्युक्यासलले अलेकज्यान्डर ईसाकको गोलमा अग्रता लिएको थियो । मिगेल एल्मिरोनको प्रहार पिएसजी गोलरक्षक डोनारुमाले बचाएपछि रिबाउन्डमा ईसाकले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्