बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् प्रणाली जडान



काठमाडाैं ।

काठमाडौँ  महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ । यो, जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो ।

यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो । ‘यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमूना परीक्षणका लागि राख्ने योजना बनेको हो । बबरमहललाई दुर्घटनाबाट बचाउने प्रणाली चाहिएको थियो । आज प्राप्त भयो । प्रणाली शुभारम्भ अवसरमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको छ ।’

महानगरपालिकाका सडक सुरक्षा बिज्ञ प्रशान्त खरेलका अनुसार, सडकको चौडाइ धेरै भएकोले बबरमहलमा ४ वटा पोल राखिएका छन् । ‘पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ । यसलाई ४० सेकेण्ड बनाउने हो कि भन्ने छलफल भइरहेको छ ।’ खरेल भन्नुहुन्छ, ‘पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । अर्थात्, २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ ।’

यसबाट प्राप्त नतिजाका आधारका महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना छ । खरेल भन्नुहुन्छ, ‘यसका २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकाहरुलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् ।’ प्रणाली जडानका लागि वडाहरुबाट पनि माग आउन थालेको खरेलको भनाइ छ ।

बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । २ वटा मात्र पोल राख्ने हो भने ५ लाख ४० हजार रुपैयाँ लागत आउँछ । खरेलको भनाइ छ । बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट विजुलीको आपूर्ति गरिएको छ ।

यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्