कर्मचारीको आचरणमा सुधार जरुरी



जनताको लामो त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सफलतम कार्यान्वयनमा सबै पक्षको भूमिका प्रभावकारी हुन्छ । अहिले विशेष गरी राजनीतिक नेतृत्व र प्रशासनिक क्षेत्रमा रहेका आम कर्मचारीको भूमिका प्रभावकारी हुन नसक्दा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा नै विभिन्न खाले टीकाटिप्पणी भइरहेका छन् । यो शासकीय व्यवस्थालाई सफल बनाउने प्रमुख दायित्व भने राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको हो । स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रको भूमिका अझै बढी महत्वपूर्ण छ । किनकि सरकारका नीति, योजना र कार्यक्रमलाई जनतासमक्ष लैजाने काम नै कर्मचारीतन्त्रको हो । त्यसैले संघीय शासनलाई सफल बनाउन हाम्रो कर्मचारीतन्त्रमा आमूल रुपान्तरण जरुरी छ ।

संघीय शासन प्रणाली सफलताको प्रमु्ख आधारको रुपमा रहेको कर्मचारीतन्त्रमा सबैभन्दा पहिला आचरणमा सुधार हुन जरुरी छ । हाम्रा कर्मचारीहरु ज्ञान, सीप र क्षमताका हिसाबले निकै माथि छन् तर ती सबैलाई सत्मार्गमा लैजानका लागि राम्रो आचरण हुन सकेन भने ज्ञान र सीपले मात्रै केही गर्न सक्दैन । त्यसैले आम कर्मचारीमा आचरणको क्यापासिटी हुन जरुरी छ । उनीहरु आचरण सुधार्ने क्षमता नै राख्न नसक्ने भएकाले हिजोका दिनमा कर्मचारीप्रति आम जनताको आस्था घट्न पुगेको हो । अधिकांश कर्मचारीहरुमा कामप्रति लगावसमेत देखिँदैन । त्यसैका कारण जनताका काममा विभिन्न प्रकारका सास्ती दिने गरिरहेका छन् ।

संघीयता सफल बनाउने हो र यो शासन प्रणालीले आत्मसात् गरेका मूल्य र मान्यतालाई जनतासमक्ष सफल किसिमले लैजाने हो भने विद्यमान कर्मचारीतन्त्रमा नभएका तीनवटा चरित्रको विकास गराउन जरुरी छ । आम कर्मचारीलाई राष्ट्रप्रतिको समर्पणको भावानाले ओतप्रोत गराउन सक्नुपर्छ । त्यसै गरी आम कर्मचारीहरुमा राष्ट्रियताप्रतिको सम्मान भावना सिर्जना गराउन सक्नुपर्छ भने अर्को महत्वपूर्ण विषय भनेको आम कर्मचारीमा जनताप्रतिको सेवाभावको अत्यधिक विकास गराउन सक्नुपर्छ । अब यी विषयहरु सबै कर्मचारीका लागि पूर्वसर्त नै बनाइनुपर्छ । यसो त माथिका ती महत्वपूर्ण चरित्रहरु राजनीतिक नेता, नागरिक समाजलगायत समाजका सबै वर्ग र क्षेत्रमा उत्तिकै जरुरी रहन्छ । तर स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेको निजामती प्रशासनमा ती चरित्रहरु समाहित हुन पुगे भने मुलुकमा विकास र प्रगतिको ढोका चाँडै खुल्न सक्ने निश्चित छ ।

कर्मचारीलाई देशप्रति जिम्मेवार बनाएर उनीहरुमा सच्चरित्रताको विकास गराउनका लागि ऐन नियममा नै सेवा प्रवाहको पाटो, जिम्मेवारी र जवाफदेहिताको पाटोलाई स्पष्ट व्यवस्था गरिनुपर्छ । यसै गरी कर्मचारीले काम बिगार्दा हुने कारबाहीको व्यवस्था, नागरिक क्षतिपूर्तिको पाटो पनि ऐन नियममा नै समाविष्ट गर्नुपर्छ । अनि मात्रै कर्मचारीलाई कामप्रति समर्पित बनाउन सकिन्छ । राजनीतिक नेतृत्व जसले शासन सञ्चालन चलाइरहेका छन् उनीहरु पनि आमूलरुपमा सच्चिएर कर्मचारीलाई पनि सही बाटोमा डो¥याउन सक्नुपर्छ ।

सबै क्षेत्रमा सबैभन्दा ठूलो आवश्यकता भनेकै अनुशासन हो । धेरै कर्मचारीहरु व्यक्तिगत फाइदामा डुब्ने र अराजक प्रवृत्तिका पनि छन् । अबका कर्मचारीले जनताले अपेक्षा गरेअनुसार आफूलाई रुपान्तरण गर्नै पर्छ । हाम्रो कर्मचारीतन्त्रले विगतदेखि नै सबै खाले परिवर्तनलाई नजिकबाट नियाल्दै आइरहेका छन् । तर परिवर्तनले स्थापित गरेका राजनीतिक मूल्य र मान्यताहरुलाई जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरुले त्यो महत्वपूर्ण भूमिकालाई आत्मसात् गर्न नसक्दा मुलुकले विगतमा धेरै प्रकारका समस्याहरु भोग्नुपरेको तीतो यथार्थ हामीसामु छ । त्यसैले अब भने संघीय लोकतान्त्रिक गणतन्त्रले स्थापित गरेका मूल्य र मान्यताहरुलाई जनतासमक्ष पु¥याउने कार्यमा कर्मचारीतन्त्र चुक्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्