स्वीजरल्यान्डको ६५ करोड अनुदान

७ प्रदेश र ७ सय ५३ स्थानीय तहमा पठाइने

0
Shares

काठमाडौं।

सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्यान्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड रुपियाँको थप अनुदान रकम स्वीकृत गरी अर्थ मन्त्रालयमार्फत् ७ प्रदेश र ७५३ स्थानीय तहमा पठाउने भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्यान्ड सरकारले प्रदान गर्ने ४४ लाख ६५ हजार स्वीस फ्रेंक अर्थात् करिब ६५ करोड रुपियाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

पिछडिएको समूहलगायत महिला र पुरुषलाई प्राविधिक रूपमा सक्षम बनाउने उद्देश्यले स्वीजरल्यान्ड सरकारले सञ्चालन गरेको राष्ट्रिय व्यावसायिक योग्यता पद्धतिसम्बन्धी परियोजना (नेसनल भोकेसनल क्वालिफिकेसन सिस्टम सपोर्ट प्रोजेक्ट) कार्यान्वयनका लागि उक्त थप अनुदान आएको शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले जनाएको छ ।

उक्त अनुदान रकम अर्थ मन्त्रालयमार्फत् प्रदेश सामाजिक विकास मन्त्रालय तथा स्थनीय तहमा पठाइने बताइएको छ । स्थानीय तहमा सीप सिकिसकेकाहरूलाई मान्यता प्रदान गर्ने र सीप कार्यान्वयन गर्ने विषयमा रकम खर्च गरिने शिक्षा मन्त्रालयले जनाएको छ । यसै गरी ‘इन्स्योर परियोजना’ अन्तर्गतका विद्यार्थीलाई कार्यथलोमा बसेर सीप सिक्ने, पढ्ने र ‘क्वालिटी’ परियोजनाले युवालाई तालिम दिनेजस्ता काममा उक्त रकम खर्च गरिनेछ ।

१० वर्षे दीर्घकालीन उक्त परियोजनाले बढ्दो रोजगारी र स्वरोजगारीमा पहुँच बढाउने, उच्च आय वृद्धि गर्ने, उन्नत जीविकोपार्जन गर्नसक्ने बनाई गरिबी निवारणमा सहयोग पु¥याउने र समावेशीताको प्रवद्र्धनमा सहयोग गर्नेछ ।