जाजरकोट भूकम्प

१३ स्थानीय तहमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

एसईई दिने विद्यार्थीसँग छैन पाठ्यपुस्तक



– केन्द्र भन्छ : एकदुई दिनमा रकम निकासा हुन्छ
– प्रदेश समाजिक विकास मन्त्रालय भन्छ : स्थानीय तहसँग रकम लिएर प्रअले पुस्तक व्यवस्था गर्नुपर्छ

काठमाडौं।

गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय भत्किएर त्रिपालमुनि पढाउन बाध्य ती विद्यालयहरूलाई १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक पर्नेभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उक्त संख्यामा पाठ्यपुस्तक आवश्यक देखिएको हो । ती पुस्तक कार्तिक १७ गते गएको भूकम्पले पुरिएका हुन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार रूकुम पश्चिमको ६ र जाजरकोटको ७ स्थानीय तहमा पाठ्यपुस्तक पुग्न सकेको छैन । रूकुम पश्चिमको आठबिसकोट, सानीभेरी, त्रिवेणी, चौरजहारी र बाफीकोटको स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको हो । त्यसै गरी जाजरकोटको जुनिचाँदे, कुशे, नलगाड, छेडागाड, शिवालय, भेरी र बारेकोट स्थानीय तहमा पुस्तक पुग्न सकेको छैन ।

तथ्याङ्कअनुसार ती स्थानीय तहमा कक्षा १ को १ हजार ९ सय १३, कक्षा २ मा १ हजार ७ सय ४९, कक्षा ३ मा १ हजार ७ सय ११, कक्षा ४ मा १ हजार ५ सय ४७, कक्षा ५ मा १ हजार ५ सय ६१, कक्षा ६ मा १ हजार ३ सय २९, कक्षा ७ मा १ हजार २ सय ८३, कक्षा ८ मा १ हजार १ सय ८७, कक्षा ९ मा १ हजार ४ सय २१ र कक्षा १० कक्षामा ९ सय ४ सेट पाठ्यपुस्तकको आवश्यक्ता छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लेले नेपाल समाचारपत्रसँग आवश्यकपर्ने पुस्तक खरिद गर्न रकम अभाव भएका कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुस्तक पुग्न नसकेको बताउनुभयो । सानो कक्षामा बढी पुस्तक आवश्यक पर्ने देखिएको जानकारी दिँदै उहाँले विद्यालयका प्रधान अध्यापकहरूले स्थानीय तहमा पुगेर रकम निकासा माग गरी पाठ्यपुस्तक खरिद गरे समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै स्टेसनरीमा पाठ्यपुस्तक छ, विद्यार्थीसँग पैसा छैन । प्रधान अध्यापकहरूले पहल नगेसम्म पुस्तक पाउन कठिन हुनेछ ।’

उहाँका अनुसार सरकारले आगामी शैक्षिक सत्रको लागि पाठ्यपुस्तकको रकम निकासा गरीसकेको छ, अहिले सोही रकम खर्च गरेर पुस्तक खरिद गर्दा केही समस्या हुँदैन ।

करिब १५ हजार विद्यार्थीका लागि करिब १ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने जानकारी दिँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले पुस्तक खरिद गर्न एक दुई दिनमा रकम निकासा हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘बजेट निकासा दिने विषयमा फाइल उठिसकेको छ, सदर भएपछि सबै पालिकामा रकम पुग्नेछ ।’

पाठ्यपुस्तक नभएका कारण चैतमा एसईई दिने तयारी गरेका विद्यार्र्थी समस्यामा परेको छ । यद्यपि, केन्द्रले जतिसक्यो चाँडै सबै विद्यार्थीको हातमा पाठ्यपुस्त पुग्ने दाबी गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आवश्यक पर्ने सबै पाठ्यपुस्तक सुर्खेतस्थित बिक्री केन्द्रमा पु¥याइसकेको छ । केन्द्रका महाप्रबन्धक अनिल झाले मन्त्रालय र केन्द्रको निर्देशनपछि सबै आवश्यक पाठ्यपुस्तक सुर्खेत पु¥याइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी विद्यार्थीको हातमा पुस्तक पु¥याउन तयार छौं, सुर्खेतमा सबै पुस्तक पु¥याइसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्