लमजुङमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

0
Shares

लमजुङ।

लमजुङमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्बद्धता’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आइतबारदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिन्छ ।
अभियानको आइतबार मनाङगे चौतारबाट सचेतनामुलक र्‍याली निकालिएको हो । र्‍याली बेसीशहर ७ मनाङगे चौतारबाट भिमसेन स्थान, नारायण स्थान चोक हुँदै सेरा चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कार्यक्रम बेसीशहहर नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय, समाजिक विकास कार्यालय, ग्रामीण सामुदायिक विकास केन्द्र(आरसिडिसि) संचारीका समुह, कोशिस नेपालको सहआयोजनमा भएको हो ।

कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले सदियौँदेखि चलिआएका संस्कार संस्कृति र परम्पराले कतिपय कुरामा लैङ्गिक विवेद उत्पन्न गरेको बताए । निरन्तर रुपमा चल्दै आएका यस्ता परम्परा र रितिथितीलाई एकैचोटी तोड्न तथा परिवर्तन गर्न नसकिने नगरप्रमुख अर्यालको भनाई थियो । हिंसा न्यूनीकरणका लागि यस्ता खाले अभियान र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले हिंसमा परेका महिलाहरुले समाजको डरले अजै पनि आफूमाथि परेको हिंसालाई बाहिर ल्याउन नसकेको बताइन् । हिंसामा परेका महिला दिदी बहिनीले हिंसा सहनुको सट्टा कानुनी रुपमा अघि बढ्नु पर्ने पनि उनको भनाई थियो ।

कार्यक्रममा बेसीशहर नगरपालिका अन्त्रगतका वडाध्यक्षहरु नगर कार्यपालिका पदाधिकारी, वडासदस्यहरु, महिला सञ्जाल तथा आमा समुह,सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले कोण सभाको सहजिकरण सँगै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभूमिका वारेमा जानकारी गराएका  थिए ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।