राजनीतिक दलहरुका कारण नेता बने प्रसाईं



विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही महिनाअघि एउटा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३० अर्ब रुपियाँ लगानी भएको बताएका थिए ।

सो अभिव्यक्तिपछि केन्द्रीय अनुसन्धान ब्यूरोले बोलाएर सोधपुछ पनि ग¥यो । यता, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रसाईंलाई तत्काल पक्राउ गर्न आग्रह गरे । तर, प्रधानमन्त्री प्रचण्डले प्रसाईंलाई समात्न निर्देशन दिएनन् । त्यसमै झोकमा आएर ओली र एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले सडक आन्दोलनको घोषणा गरे । जुन दिन प्रसाईंले आन्दोलनको मिति घोषणा गरेका थिए, एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पनि सोही दिन अर्थात् मंसिर ७ गते आन्दोलन गर्ने भयो । एमालेको आन्दोलनको एउटै उद्देश्य हो दुर्गा प्रसाईंको विरोध गर्ने ।

दुवै पक्षले एकै दिन आन्दोलन गर्ने भएपछि सरकारले समेत निषेधाज्ञा जारी गर्नुपरेको हो । प्रसाईंले आन्दोलन गर्ने दिन नै युवा संघले पनि शक्ति प्रदर्शनको घोषणा गर्नु ठीक होइन । युवा संघले एजेन्डा त विभिन्न बनाएको हो तर प्रसाईंसँग भिडन्तका लागि आन्दोलन गर्न थालिएझैँ देखिन्छ । एमालेको कारणले प्रसाईं झन् चर्चामा आएका छन् । एमालेले प्रसाईंलाई चर्चामा ल्याएर ‘आफ्नो खुट्टामा आफैं बन्चरो’ हानेको छ ।

अहिले एमालेका कार्यकर्ता नै यो आन्दोलनदेखि सन्तुष्ट छैनन् । ओली र बस्नेतकै कारण एमाले तहसनहस हुने अवस्थामा पुगेको आरोप उनीहरुले लगाइरहेका छन् । पछिल्लो समय एमाले यस्तै हर्कतका कारण बद्नाम बन्दै गएको छ । ओली र बस्नेतलाई जोसँग पनि जुहारी खेल्ने बानी बसिसकेको छ । जसको असर २०८४ सालको चुनावमा देखिने निश्चित छ । २०७४ सालमा पहिलो पार्टी भएको एमाले त्यसपछि एक तह तल झरेको छ । २०७९ सालमा एमाले दोस्रो पार्टी बनेको छ । ओली र बस्नेतको बोलीले नै एमालेलाई क्षति पुगेको एमाले कार्यकर्ताहरुको भनाइ छ । ओली र बस्नेतलाई पार्टीबाट ननिकालेमा पार्टी सिद्धिने उनीहरु बताउँछन् । अहिले एमाले सदनमा प्रमुख विपक्षी छ । तर, सदनमा एमालेका सांसदहरुले जनता र राष्ट्रका कुरा उठाएको पाइँदैन ।

ओलीले आफू प्रधानमन्त्री हुँदा दुईपटक संसद् विघटन गरे । अदालतले दुवैपटक संसद् ब्यूँताइदियो । ९ महिनासम्म एमालेले सदन अवरोध ग¥यो । त्यति बेलासम्म एउटा कानुन पारित हुन सकेन । तर, एमालेका सांसदले तलबभत्ता लिए, सरकारी गाडी चढे । यो गल्तीको माफी न ओलीले मागेका छन् न एमालेका सांसदले । ओलीलाई त अर्कामाथि ‘बोलीको गाली’ प्रहार गरेर भ्याइ नभ्याइ छ, के माफी माग्थे ?

बस्नेतको त झन् कुरै नगरौं । कुनै कार्यक्रममा पुगे भने गुण्डा भाषाको झटारो दिइहाल्छन् । एमालेका अन्य सांसद पनि ‘उही ड्याङका मुला’ हुन् । २०४६ सालअघि राजनीतिक परिवर्तनमा लागेका, जेल बसेका नेताहरु निकै चिन्तित छन् । ओली र बस्नेतको कारणले पार्टी नै सिद्धिने हो कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ । एमालेलाई जनताको आवश्यकता नै छैन । २०७९ सालको चुनावअघि एमालेले ओलीलाई प्रधानमन्त्रीको घोषणा ग¥यो । जनताले मतदान गरेकै छैनन्, उताबाट प्रधानमन्त्री घोषणा भइसके । यता, मंसिर ४ गतेको चुनावपछि म प्रधानमन्त्री हुँ भन्दै ओली कुर्लिंदै हिँडे । तर, जनताले भोट दिएनन् । महेश बस्नेतको पृष्ठभूमि केलाउने हो भने उनी हप्ता उठाउने गुण्डा हुन् । २०७० सालअघि उनीसँग केही पनि थिएन । यी दुईलाई कूटनीति र राजनीतिबारे केही पनि थाहा छैन । यिनीहरुलाई बोल्न र एक–अर्कामाथि हिलो छ्याप्न मात्रै आउँछ ।

बस्नेतले केही दिनअघि एउटा कार्यक्रममा एमालेको विरोध गर्नेलाई जुम्रा किचेझैं किच्छु भनेर भाषण गरेका थिए । ओली आफूमाथि आरोप लाग्नेबित्तिकै प्रधानमन्त्रीकहाँ धाउने, समात्न खोज्ने, सडक आन्दोलनको घोषणा गर्ने । यही हो राजनीति र कुटनीति ? दुर्गा प्रसाईं एउटा व्यक्ति हुन् । न उनको कुनै पार्टी छ, उनलाई सिध्याउन यति बेला समग्र एमाले लागिपरेको छ । एमालेको यो आन्दोलन घोषणापछि औंला ओलीमाथि नै आएर तेर्सिएको छ । सर्वसाधारण भन्छन्, ‘आफूमाथि लागेको आरोप ढाकछोप गर्नका लागि ओलीले कार्यकर्ता सडकमा उतार्न थालेका हुन् ।’ एमाले बनाउन धेरै व्यक्तिको योगदान छ । एमाले त्यत्तिकै एमाले बनेको होइन । तर, ओली र बस्नेत मिलेर एमाले सिध्याइदिए । एमालेप्रति आस्था राख्ने र मतदान गर्नेहरु ओली र बस्नेतको कारणले निराश बनेका छन् ।

ओली आफूलाई व्यङ्ग्यकार ठान्छन् । जति बेला पनि अर्कामाथि व्यङ्ग्य गरिरहेका हुन्छन् । उनको बोलीले जनतामा धेरै प्रभाव पार्छ । उनी पार्टीका अध्यक्ष, विपक्षी दलका नेतामात्रै नभएर पूर्वप्रधानमन्त्रीसमेत हुन् । प्रधानमन्त्रीको बोल्ने शैली यस्तो हुन्छ ? २०४६ सालपछि सबै पार्टी सरकारमा गएका छन् । भर्खर उम्रेका पार्टीसमेत सरकारमा पुगेका छन् । सबै पार्टी मिलेर देश सकाइएको हो । तर, अहिले एउटाले अर्कोमाथि हिलो छ्यापेर आफू बच्न खोजेका छन् ।

देश यो अवस्थामा पु¥याउनुमा सबैको बराबरको हिस्सेदारी छ । सबैले जिम्मेवारी लिनुपर्छ । कुनै पनि पार्टीले जनताको विषयमा सोचेकै छैनन् । यदि पार्टीहरुले जनता र राष्ट्रको हितमा काम गरेको भए, भ्रष्टाचार नगरेको भए, महँगा गाडी नचढेको भए, दुर्गा प्रसाईंको पछाडि केलाई जनता लाग्थे ? प्रसाईंदेखि किन राजनीतिक दल डराउनुपथ्र्यो ? राजनीतिक पार्टीहरुले कहिल्यै सोचका छन् ? जुन साथ र समर्थन राजनीतिक दलहरुले पाउनुपथ्र्यो त्यो आज एउटा व्यक्तिले पाएको छ । किनकि प्रसाईंले जनताको समस्या बोलिदिएका छन् । बैंक तथा वित्तीय संस्थाको ज्यादती, सहकारीको ठगी, भ्रष्टाचार, महँगीको विषयमा उनले आवाज उठाएका छन् । यो व्यवस्थालाई टिकाइराख्ने हो भने अब माओवादीसहितका नेताहरु सुध्रिनुपर्छ । जनताको हितमा काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्