बैंक डुबाउने चलखेल सरकारले कहिले बुझ्ने ?



सर्वसाधारण भन्छन्, ‘भाटभटेनी, सुपरमार्केट, बिगमार्टलगायतमा सामान अत्यधिक महँगो छ । किन्नै सकिन्न ।’ बाहिर पन्ध्र सयदेखि दुई हजार पर्ने जुत्ता भाटभटेनीमा त्यसको दोब्बर-तेब्बर पर्ने उनीहरुको ठम्याइ छ । भाटभटेनीमा लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा सबै महँगो छ । बजारमा त्यही सामान हजार रुपियाँमा आउनेमा भाटभटेनीमा पाँच हजार पर्न जान्छ ।

भाटभटेनीमा सामानको मूल्य घटाउन पाइँदैन । जति मूल्य लेखिएको हुन्छ, त्यति नै तिर्नुपर्छ । भाटभटेनीमा आफूखुशी सामानको मूल्य निर्धारण गरी राखिएको छ । सरकारले त्यहाँ सामानको मूल्य तोकेको छैन । सर्वसाधारण जनता भाटभटेनीमा बजारभन्दा निकै महँगो सामान रहनुका साथै कमसल, गुणस्तरहीन तथा म्याद सकिएको समेत बताउँछन् ।

जनतासँग पैसा नभएर हो कि भाटभटेनीको सामान महँगो र गुणस्तरहीन रहेको भनेर थाहा पाएर अहिले भाटभटेनीमा ग्राहक जाँदैनन् । व्यापारीहरुले तबसम्म जनता ठग्छन्, जबसम्म जनताले साँचो कुरा थाहा पाउँदैनन् । भाटभटेनीको बारेमा थाहा पाएपछि मानिसहरु त्यहाँ जान छोडेका छन् । स्वदेशी ग्राहक एकजना पनि भाटभटेनी जाँदैनन् । विदेशीहरु भने थाहा नपाएर भाटभटेनी घुमफिर गर्न जाने र थोरै सामान किन्ने गरेको भेटिन्छ । भाटभटेनीमा पाइने सामानको तौल कम हुन्छ भनेर सबैलाई थाहा छ । त्यस्तै, म्याद सकिएको सामानमा पनि नयाँ मिति राखिएको हुन्छ ।

भाटभटेनीमा उधारोमा सामान पाइँदैन । यसले आर्थिक समस्या, बेरोजगारी, महँगी र गरिबीका कारण पनि भाटभटेनीमा मानिसहरु सामान किन्न जान छोडेका हुन् । बाहिर बजारमा चिनजानको आधारमा उधारोमा सामान पाइन्छ । एकातिर उधारो पाइने, अर्कोतिर गुणस्तरीय सामान पाउने हुँदा अहिले मानिसहरु आफैं घरवरपरको पसलमा जान्छन् ।

भाटभटेनी निश्चित ठाउँमा छ । यसले गर्दा भाटभटेनी जान धेरै हिँड्नुपर्ने तथा सवारीसाधनको समेत प्रयोग हुनुपर्ने समस्या भएपछि पनि मानिसहरु सामान किन्न जाँदैनन् । बजारमा आर्थिक मन्दी छ । लत्ताकपडा, जुत्ता व्यापारीहरुले सामानको मूल्य घटाइरहेका छन् । यसले भाटभटेनीमा पाँच हजार पर्ने ज्याकेट तथा जुत्ता बाहिर हजार रुपियाँमै पाइन्छ ।

भाटभटेनीमा भन्दा बजारमा खाद्यान्न, कपडालगायत सामग्रीको मूल्य सस्तो छ । काठमाडौं उपत्यकाभित्र सञ्चालित भाटभटेनीमा ग्राहक देखिँदैनन् । बैंकको भाटभटेनीमाथि खर्बौं लगानी छ । भाटभटेनीको व्यापार भने सुक्दै गएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेपश्चात् सर्वसाधारण भाटभटेनीमा सामान किन्न जान छोडेका छन् ।

अहिले सर्वसाधारण भन्छन्, ‘ललिता निवासको जग्गा त गुरुङले छोडेनन् भने गुठी, सरकारी, मठमन्दिरलगायतका सार्वजनिक जग्गा उनले के गरे होला ? यत्तिकै उनको यत्रो सम्पत्ति भएको हो त ?’ जनता मीनबहादुर गुरुङलाई भूमाफिया भन्छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकले १० अर्ब कर्जा लगानी ग¥यो । बैंकको ऋण तिर्नुपर्छ भनेर प्रसाईंले अहिले राजावादी भएर जनता सडकमा उतार्ने काम गरिरहेका छन् । उनी बैंक डुबाउन लागिपरेका छन् । त्यसकारण अब बैंकले प्रसाईंलाई केही गर्न सक्दैन । उनकै कारण अब कतिपय बैंक डुब्छन् त कतिपय बन्द हुन्छन् । बैंकमा भएको रकम बचतकर्ता अर्थात् आम नागरिकको हो ।

बैंकले दश करोडको धितो राखेर प्रसाईंलाई तीन अर्बसम्म कर्जा दिएको छ । भाटभटेनीलाई कर्जा लगानी गर्ने बैंकको पनि अब यही हालत हुनेछ । किनकि भाटभटेनीले कर्जा तिर्न सक्नेछैन । भाटभटेनीका साहु मीनबहादुर गुरुङले विभिन्न बैंकबाट ३८ अर्ब कर्जा लिएको सर्वसाधारण बताउँछन् । मुलुकभर २७ वटा भाटभटेनी सञ्चालनमा छन् । एउटा भाटभटेनी बेच्दा एक अर्ब आउँदैन । तीन वर्षअघि आनाको ६० लाख पर्ने जग्गा अहिले पाँच लाखमा बिक्री हुँदैन । दुई वर्षअघि तीन करोडमा किनेको घर अहिले ४०–४५ लाखमा बिक्दैन । किनकि मानिससँग पैसा छैन । घरजग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने कोही छैन ।

मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्प भइरहेको छ । अब बैंकले भाटभटेनीमाथि गरेको लगानी कसरी उठाउँछ ? दुर्गा प्रसाईंले जस्तै भाटभटेनीका साहु मीनबहादुरले पनि बैंकको ऋण तिर्दिन भनेमा भाटभटेनी बैंकले लिलाम गरे पनि कसले किन्छ ? अहिले मन्दीका कारण मानिसले लत्ताकपडा किन्न छोडिसके । दही, दूध, मासुको पनि निकै कम खपत गर्छन्, उपभोक्ता । त्यस्तै होटल, रेस्टुरेन्ट पनि कोही जाँदैन । उपत्यकाभित्र जताततै कोठा, सटर र फ्ल्याट खाली भएको देखिन्छ । सहकारी बचतकर्ताको रकम फिर्ता नगरी भागेको कुरा पनि यथावत् नै छ । शेयर लगानीकर्ताहरु पनि ३२ सयमा किनेको शेयर सय रुपियाँमा समेत बिक्री नभई रोएर बसेका छन् ।

बीस लाखमा किनेको सवारीसाधन अहिले एक लाखमा बिक्री हुँदैन । विभिन्न संस्था, फार्महरुले पनि तलब दिन नसकेपछि कामदारलाई निकाल्नुका साथै संस्था नै बन्द गरेको पाइन्छ । सर्वसाधारण जनताले आफूसँग भएको रकम बैंकमा बचत गर्न छोडेका छन् । उल्टो बैंकमा भएको रकम निकालेर घरमा लुकाउन थालेका छन् ।

बैंकमा घरजग्गा, गाडी र शेयर धितो राखेर कर्जा लिने कोही छैन । मुलुकको राजनीति कतातिर जान्छ भनेर सबैमा अन्यौल छ । हजारौं नेपाली युवा दिनहुँ खाडी उडेका छन् । उपत्यका तथा जिल्लाको सदरमुकाम बस्दै आएका पनि महँगी र बेरोजगारीका कारण आफ्नै गाउँघर फर्किएका छन् । अर्थविद्, विज्ञहरु मुलुकको अर्थतन्त्र डामाडोल भइसकेको बताउँछन् । सहकारीका कारण करोडौं बचतकर्ताको रुवाबासी भयो । कतिपय त सुकुम्बासी हुनुपर्ने अवस्थामा पुगे भने कतिपयले आत्महत्यासमेत गरे । अहिले बैंकका बचतकर्ता पनि यही अवस्थामा पुग्ने संकेत देखा परेको छ । हिजो घूसको आडमा धितोसमेत नहेरी बैंकका सञ्चालकहरुले दुर्गा प्रसाईं, मीनबहादुर गुरुङजस्ता व्यक्तिलाई अर्बौं कर्जा दिए । आज प्रसार्इं बैंकको ऋण तिर्दिन भन्दै हिँडेका छन् । अनि यसरी बैंक डुबाउन पाइन्छ ?

ललिता निवासको सरकारी जग्गा सरकारले आफ्नै नाममा ल्यायो । तर त्यहाँ बैंकले लगानी गरेको दुई अर्ब ८५ करोड रकम डुबेको छ । बैंक लगभग डुबिसक्यो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । बैंकबाट कर्जा लिएका व्यवसायीहरुले किस्ता तिरेका छन् । बैंकको ऋण तिर्नुपर्छ भनेर उनीहरुले आन्दोलनसमेत चर्काए । बैंकले राखेको धितो बेच्दा अहिले आउँछ एक करोड तर सावाँ–ब्याज जोडेर उठाउनु छ तीन करोड । बैंकले लिलाम गरेको शेयर, घरजग्गा र गाडी किन्ने बजारमा कोही छैन ।

ऋणीको तीन पुस्ते पत्रिकामा निकाल्ने र कालोसूचीमा राख्नेबाहेक बैंकसँग कुनै विकल्प छैन । बचतकर्ताहरु आफ्नो रकम निकाल्न जाँदा बैंकका कर्मचारीहरु फर्काउँछन् । आफ्नै पैसा निकाल्न खोज्दासमेत बैंकका कर्मचारीहरु बचतकर्तासँग केरकार गर्छन् । बैंक र सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीले हिजो घूसको आडमा आँखा चिम्लेर कर्जा प्रवाह गरे । एक करोड पर्ने धितोलाई घूस पाएर डेढ÷दुई करोडसम्म कर्जा लगानी गरेको पाइन्छ । घूस दिन सक्नेले यसरी कर्जा लिए ।

५० लाखको धितो साहुको नाममा पास गरिदिएर पाँच लाख ऋण, त्यसमाथि मासिक पाँच हजारदेखि ३० हजारसम्म ब्याज तिर्नुपर्ने । तोकिएको समय अर्थात् एक वर्षसम्म ऋण नतिरे ५० लाखको धितो पाँच लाखमा पचाइदिन्थे मिटरब्याजीहरुले । बैंकले घूसको आडमा ठूल्ठूल्ला व्यापारी तथा व्यवसायीलाई मात्र कर्जा प्रवाह ग¥यो । जसमा दुर्गा प्रसार्इं र मीनबहादुर गुरुङ पनि पर्छन् । त्यसैले, अब यिनीहरुको कारण पनि अधिंकाश बैंक डुब्ने अवस्थामा पुगेको छ । करोडौं बचतकर्ताको रुवाबासी हुनेछ ।

सहकारीका बचतकर्ताको जस्तै हालत हुनेछ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले दुर्गा प्रसाईं र मीनबहादुर गुरुङलाई कस्तो धितो राखेर कति कर्जा प्रवाह गरेको छ ? त्यसको विवरण पेस गर्न बैंकलाई निर्देशन दिएको छैन । दुर्गा र मीनबहादुर त उदाहरण मात्र हुन् । यस्ता धेरै व्यापारी तथा व्यवसायी छन्, जसले गर्दा आज बैंक डुब्दै छन् । अमेरिकालगायत अन्य मुलुकमा बैंक टाट पल्टिएझैँ नेपालमा बैंक पनि डुब्ने अवस्थामा पुगिसकेको छ । सरकार र सर्वसाधारण चनाखो नभए यस्ता माफियाहरुले नराम्ररी डुबाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्