सनातन पदमार्गको दुःखद अवसान



गएको असारको कुरा हो । नाति ¥युकिकोको प्रवेशिका परीक्षा सकिएको थियो । फुर्सदमा कतै घुम्न जाने इच्छा थियो नातिको । बर्सात् हल्का शुरु भइसकेको थियो । एक्लै पठाउन पनि मन मानेन । काठमाडौं निकटतम गन्तव्यमा जाने सोच बनायौँ । हामी बूढाबूढी, छोरी र नाति चारजना जाने योजना बन्यो । गन्तव्य खोज्दा चित्लाङ सबै कोणबाट ठीक लाग्यो ।  काठमाडौंबाट चित्लाङ, चित्लाङबाट काठमाडांैका लागि प्याकेजमा गाडी पाइँदो रहेछ । बुक गरियो । हाम्रोनिर आइपुग्न ढिलै ग¥यो । गाडी चढ्दा दिउँसो झन्डै तीन बजेको थियो ।

झन्डै डेढ सय वर्षअघि काठमाडौं मच्छेगाउँका शिखर पण्डित एवम् पद्यकार शिखरनाथ सुवेदीले आफ्नो श्लोकबद्ध अति उपयोगी ज्ञान–विज्ञान सङ्ग्रह ‘शिखरनाथ भाष्य’मा काठमाडौंबाट वीरगन्ज निस्केर इन्डियन चारधाम चहार्ने विधि र बाटो बताउने क्रममा लेखिएका श्लोकहरु सम्भेmँ । लाग्यो– यो ऐतिहासिक मात्र नभएर पौराणिक एवम् सांस्कृतिक महत्वको पैदल बाटो भएको महिमाशाली गन्तव्य हो ।

‘श्री ५ का दरबारदेखि चितलाङ् ५ कोस छ बस्नु त्यहाँ
ताहाँबाट हिँडेर मार्खु पउवा आउँछ डेढ कोसमा ।
डेढ कोसमा कुलिखानी आउँछ बजार पौवा नदी पुल भई
चीसापानी गढी पुगिन्छ बिचमा कोस्भर् उकालो गई ।
ओरालो पनि कोसभर् छ कलको पानी छ भीम्फेदीमा
ढोकाफेदी र कोसभर् छ निबुआटार् दुइ कोस यत्तिमा ।
कोस्भर्मा भइँसे छ जानु पुलपार राहदानी हेर्छन् यहाँ
पक्का श्री तीनचन्द्र पुल् छ मजबुत् सारा फलाम्को तहाँ ।
भैँसेबाट गएर कोसभरिमा सुपारीटार् सामरी
एकै कोस छ हेटुँडा नदी बजार रातमा छ डर बाघको ।’

विलक्षण प्रतिभाका देशभक्त कविले वर्णन गर्नुभएको काठमाडौं–भीमफेदी पदमार्ग आजको पर्यटकीय दृष्टिले पनि अति नै महत्वपूर्ण रहेको लागेको थियो । हेर्ने–बुझ्ने अवसर मिलेको थिएन । काठमाडौंदेखि चित्लाङ हुँदै हेटौँडासम्मको त्यो ऐतिहासिक पदमार्ग राष्ट्रिय सम्पदाका रुपमा नेपालको ऐतिहासिक एवम् पर्यावरणीय पर्यटन गर्न चाहनेहरुका लागि विधिवत् सुरक्षित राखिएको होला । चलनचल्तीमै होला । यसपाला देख्ने, हेर्ने र पाइला राख्ने सौभाग्य पाइने भयो भन्ने कल्पनाले पनि उचालिएँ ।

दिउँसो सवा तीन बजे रिसोर्टकै गाडीमा काठमाडौँबाट गुड्यौँ । थानकोट पुगेपछि सडक चित्लाङतिर मोडियो । खन्दाखन्दैको भद्रगोल सडक, जताततै ढुङ्गैढुङ्गा । ठाउँ–ठाउँमा गाडी बडो मजाले नाच्थ्यो, नाच्दै गुड्थ्यो । ढुङ्ग्यान भए पनि सडकको मैदान त्यति साँगुरो थिएन । गाडी जसोतसो अगाडि बढ्दै गयो । अनेकौँ घुम्तीहरुको परिक्रमा गर्दै माथि भन्ज्याङ पुग्यो गाडी । चिया चमेना पसलहरु देखिए । गाडी रोकियो । ओर्लेर चिया पिइयो । सडकमाथि डाँडाचुलीमा भव्य महलहरु देखेर पसलेलाई सोधेँ– बडो भव्य ठाउँमा भव्य ठानमानसाथ सरकारले भवनहरु बनाएछ ।

त्यहाँ के अफिस छ हँ ? पसलेले भन्यो– ती भवन सरकारी होइनन्, व्यक्तिकै हुन् । सुनेर दुःख लाग्यो । काठमाडौँ उपत्यका र वरिपरिका स–साना अधित्यका डाँडाकाँडा हिमचुलीहरु देखिने यति महत्वपूर्ण डाँडाचुली ! प्राकृतिक भ्यूटावर । यहाँ त अन्तर्राष्ट्रिय सम्मेलन घर बन्नुपर्ने । दृश्यावलोकन चौतारी बन्नुपर्ने । जङ्गलका बीचको यो पहाडचुली सरासर सरकारी जग्गा हो । यो कसैले बिर्ता पाउने प्रकृतिको ठाउँ नै होइन । यस्तो राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वको ठाउँ व्यक्तिको भन्ने सुन्दा दुःख लाग्यो ।

साँच्चै होला त ? शङ्का पनि लाग्यो । झलक्क सम्झेँ– यती काण्ड, गिरिबन्धु टी–स्टेट काण्ड, ललितानिवास काण्डलगायत सरकारले भूमाफियाहरुसँग मिलेर गरेका अनगिन्ती खाऊ–पचाऊ काण्डैकाण्डका बीच यी एक–दुईवटा डाँडाचुली त के ठूला कुरा भए र ? कुनै धनपति साहूले केही करोड नजराना दिएर लालपुर्जा लियोे होला ! नेपाललाई प्रतीकात्मकरुपमा बर्थडे केक बनाएर किस्तीमा सजाउँदै काटी खान पनि सक्ने मानसिकताका इन्डोअमेरिकी भक्त महिमामण्डित राजनीतिक व्यक्तित्वहरु सत्तासीन हुने बिचरो देश नेपालमा यस्ता चुचुरा कति जिप्टानमा परेर निम्ठिएका होलान् । कसले खोजी गर्छ र ? कठैबरा देश ! यति भन्दै पीडानुभूतिको सुस्केरा भन्ज्याङमाथि बिसाउँदै गाडी चढियो । जति आँखा घुमाउँदा पनि गाडीमार्गबाट पदमार्ग कतै देखिएन ।

अब गाडी ओरालो लाग्यो । बाटो साँगुुरो थियो । साइड दिन कतै पछि हटुनुपथ्र्याे त कतै जोखिम पार गर्न उकालो चढ्दा अगाडिबाट आउँदैको गाडीसँग भुँडी जोडेर पनि अगाडि घँचेटिने आँटै गर्नुपथ्र्यो । यस्ता क्षणमा यात्रुहरु सास रोकेर मनमनै राम राम ! भन्थे । साँगुरो सडकमा तन–मन हल्लाइँदैका हामी यात्रीहरुलाई बोकेर गाडी अपराह्न पाँच नबज्दै चित्लाङ रिसोर्टको आँगनमा बिसिन पुग्यो । यात्रीहरुलाई अब त बाँचियो भन्ने लाग्नु स्वाभाविक थियो । सबैले लामो सास फेरे ।

अरु यात्रीहरुसँगै हामी पनि डरजति गाडीमै छोडेर अस्वस्थ हुँदै ओर्लियौँ र चिया–चमेना खान रेस्टुराँतिर छि¥यौँ । आकाशमा बादल भए पनि त्यसलाई छलेर चित्लाङमा झलमल्ल घाम लागिरहेको थियो । हरिया डाँडाहरुका बीच चित्लाङको तरुण दृश्य साँच्चिकै मनोरम थियो । चिसो हावा–पानी सुन्दर मनोरम बादलको चित्रकारीले चिरिच्याट्ट जादु भरी आकाश । जता हे¥यो त्यतै हेरिररहुँ जस्तो रमाइलो । रेस्टुराँको बार्दलीबाट हेर्दै हल्का नास्तापानी पेटतिर पठाइयो ।

सडकमा निस्केपछि मैले एकजना स्थानीय वृद्धजनसँग सोधेँ, ‘पण्डित शिखरनाथले बयान गर्नुभएको यहाँको सनातन पदमार्ग कहाँ छ खै देखाउनुहोस् न, एकछिन् पौराणिक अतीतमा हिँडेर हेरौँँ ।’ ‘ए ! त्यो त अब कतै टुक्राटाक्री पनि बाँकी छैन । त्यसैलाई मासेर सरकारले यी मोटर गुड्ने सडक बनायो । सनातन बाटो त के ? यी माथि देखिएका डाँडाकाँडा पनि चोखा बाँकी छैनन् । विदेशी पर्यटकहरु सोध्छन् । हामी बताउँछौँ । सुनेर यति लामो जिब्रो काढ्छन् ।

विश्वसम्पदा बनाइनुपर्ने यस्ता पुरातन राष्ट्रिय सम्पदा पनि हिनामिना गर्ने तपाईंहरुका सरकारमा काम गर्ने मान्छे सबै विदेशी ठेकेदारमात्र छन् कि कसो ? स्वदेशी कुनै छैनन् ? स्वदेशी स्वाभिमानी नेपाली भएका भए ‘त्यत्रो ऐतिहासिक महत्वको सम्पदा कसरी मास्न सक्दा हुन् ? भन्नुहोस् त ? हामीलाई प्रश्न गर्छन् । हामी तिनीहरुको जिब्रो देखेर र प्रश्न सुनेर ट्वाल्ल पर्छौं । सरकारमा त सम्पदाको मूल्य, महत्व बुझेका बुद्धिमान् मानिसहरु हुनुपर्ने, किन नभएका होलान् जस्तो लाग्छ । धेरै दुःख लाग्छ । आफ्नै आँखाअगाडि राष्ट्रिय पहिचानयुक्त स्मारकहरुका घाँटी निमोठेको दृश्य टुलुटुलु हेर्नुपर्दा दुःख लाग्छ !’ स्थानीय वृद्ध भन्नुहुन्छ ।

भोलिपल्ट बिहान, हामीलाई रिसोर्टको गाडीले इन्द्रसरोवर लाने भन्छ र कुलेखानी पु¥याएर फर्काउँछ । सरोवर भनेको सरोवर नामको होटल र पसल त होइन । यी चालक महोदयले हामी यात्रीलाई के ठानेका होलान् ? मानिसजस्ता देखिने भेडा नै ठानेका होलान् त ? चालकको कमजोर मानसिकताप्रति दया लाग्छ । फर्कंदा मार्खुपौवा खै त ? सोध्न मन लाग्छ तर सोध्दिन । सनातन पदमार्ग अन्तध्र्यान भएजस्तै पौवा पनि कतै अन्तध्र्यान भयो होला । दुई–चार तेलिया इँटाहरु कतै कसैका घरमा पसेर बूढाबूढीका कम्मर सेकिरहेका होलान् । खलियै इँट्टा कुनै सामन्त साहूको घरगोठतिर जुटेर तिनको शोभा बढाइरहेका होलान् ।

इतिहास खण्डहर बनाउँदा बोल्नै पर्ने जिउँदा जनता त मृतवत् निरीह बनेका देशमा ती भाषाविहीन र वाणीविहीन इँटाहरु के गरुन् ? मनमा यस्तै कुरा खेलाउँदै रिसोर्ट आइपुगियो । त्यसपछि रिसोर्ट मालिक आफैंले हामीलाई सातधारा क्षेत्र घुमाउँदै त्यहाँको श्रुति परम्परामा रहेको नाग माहात्म्य सुनाउनुभयो । त्यस भेगमा हरियाली अक्षुण्ण रहनुमा यसै नाग माहात्म्यको भूमिका रहेको जानकारी पाएर हामीलाई रमाइलो लाग्यो । चित्लाङ आइपुगेर पनि अशोकपुत्री र नेपालकी महारानी चारुमतीले निर्माण गरेको भनिएको चित्लाङको मध्यवर्ती पुराना गाउँमा रहेको अशोकस्तम्भ हेर्न भ्याइएन । रिसोर्टले त्यहाँसम्म पु¥याउने र देखाउने व्यवस्था गर्ला भन्ने विश्वास थियो ।

व्यवस्थापनको कर्तव्यसूचीमा थिएन कि भ्याएन । थाहा भएन । थाहा भूमिमा आएर यत्ति पनि थाहा नपाई फर्कनुपर्दा मनले हाइसन्चो भने अनुभव गरेको थिएन । यसै बीच रिसोर्ट मालिकले रिसोर्टको आँगनबाटै पारि जङ्गलमुनि बनेका केही कङ्क्रीट महलहरु देखाउँदै भन्नुभयो, ‘त्यहाँ सरकारी जग्गा प्रशस्त अधिग्रहण गरेर विदेशीहरुले मदन भण्डारी विश्वविद्यालय बनाउँदै छन् केही भवन बनिसकेका छन् । थप भवनहरु बन्दै छन् । यहाँ हजाराँै विद्यार्थी अटाउने छात्रावास भवनहरु पनि बन्दै छन् ।’

यो सानो कुलकुले पानी खोल्साले त्यति ठूलो विश्वविद्यालयको मलमूत्रको भारी हैँ हैँ गर्दै बोक्नुपर्ने होला, अनि यी पहाड र बस्तीहरुले दुर्गन्धको मुस्लोलाई नाकका फोहरा फुलाउँदै नस–व्यसनीले नस तानेभैmँ तान्नुपर्ने होला !’ मैले भनेँ । मेरो भनाइमा रिसोर्ट मालिककोे ध्यान थिएन । कतै जान पर्नुको हतार थियो उहाँको । ममनमनै सोचेँ, ‘मदन भण्डारी आपैmँ जीवित हुनुहुँदो हो त यो सुन्दर प्रकृतिको तारुण्य भन्जन र चीरहरण गर्ने कथित विश्वविद्यालयका योजना यहाँ ल्याउन नदिनुहुँदो हो । ग्वार्को त यसै प्रदूषित थियो । यहाँ पनि त्यहाँका प्रदूषणको महाविस्तार किन ?’

यहाँ त यी रिसोर्ट र होमस्टेहरुको पनि विस्तार विकास र प्रबन्धको मर्यादा तोकिनुपर्छ । कडाइका साथ लागू गरिनुपर्छ । वातावरण दुर्गन्धित नहुने किसिमबाट यहाँका रिसोर्ट, होमस्टे र विद्यालय, महाविद्यालयहरुमा सेफ्टी ट्याङ्कहरुको व्यवस्था गर्न लगाइनुपर्छ । व्यवसायी आतिथेयहरुले आगन्तुक अतिथिहरुलाई हार्दिकताका साथ स्थानीय पूmलपातीका गुच्छाले स्वागत गर्ने र जुटाउन सकिएसम्म रैथाने खानपान पस्किने व्यवस्था गरिनुपर्छ । यसो गर्दा आकर्षण बढ्छ । रमाइलो बढ्छ । यसतर्फ भने यहाँका व्यवसायीहरुको जानुपर्ने जति ध्यान गएको देखिएन ।

फर्कंदा बाटोमा नाति ¥युकिले भन्यो, ‘कति सुन्दर मनोहर ठाउँ ! काठमाडौंको यति नजिक रहेर पनि काठमाडौंभन्दा कति पृथक् ! मलाई त यतै कतै घर बनाएर बस्नुजस्तो लाग्यो ।’ हो, काठमाडौंको नजिक र काठमाडौंको विषाक्तताले अभैm उकुसमुकुस पार्न नभ्याएको र निर्जर तरुण प्रकृतिले बाँच्न मुस्कुराउन पाएको रमणीयताको दृष्टान्त स्थलजस्तो देखियो चित्लाङ । यो भव्य छ । यहाँ आउन पाउनु यसको मनोरमताभित्रको शान्तता अनुभूत गर्न पाउनु ठूलो सौभाग्य हो । हेर्दै काव्यभूमिजस्तो छ चित्लाङ । यसको सुकुमार कौमार्य र निर्मल सौन्दर्यमाथि उपभोगवादी उच्छृङ्खल पापीहरुको आक्रामक आँखा नपरिदिनुमा प्रकृतिप्रेमी कवि, कलाकार, पर्यटनी सबैको कल्याण छ । नेपालमा धेरैजसो सत्तासीन हुन पुग्ने स्वभावनिष्ठुर भस्मासुरका पापी आँखाहरुलाई रोक्ने कसले ? समस्या यहाँनिर छ ।

प्रतिक्रिया दिनुहोस्