भूकम्पपीडितको स्वास्थ्यमा उदासीनता

0
Shares

जाजरकोटमा गत महिना गएको भूकम्पका कारण धेरै धनजनको क्षति भयो । यस भूकम्पमा परी ठूलो संख्यामा घाइते भएका मानिसहरु यति बेला अस्पतालबाट त्रिपालमुनिको बासमा फर्किएका छन् ।

घरबास भूकम्पले क्षति पुगेका यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि राज्यले अस्थायी टहरा–पाल होइन, छिटोभन्दा छिटो राज्यको संयन्त्र र राजनीतिक दलका कार्यकर्ता, स्वयंसेवकहरुसमेतको सेवा लिई स्थायी बसोबासको बन्दोबस्त गरोस् । नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गरियोस् ।

दैवी प्रकोपलाई कसैको धन कमाउने र नाफामुखी व्यापार गर्ने अवसर नबनोस् । भूकम्पपीडितका नाममा नेपालका ठूला–साना उद्योग व्यवसायीले भन्सार छुटको माग गर्दै राज्यबाट ठूलो धनराशी फाइदा उठाउने माध्यम नबनोस् । सरकारले यस्ता विषयमा अनुगमन, अध्ययन गरी आवश्यक सरसामान भित्र्याउने र छिटोभन्दा छिटो काम गरेर नमुना बासको व्यवस्था गरोस् । कुनै पनि नागरिकले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउनु नपरोस् ।

आपत्मा सरकारले अभिभावक भएर जति भूमिका खेल्नुपर्ने हो त्यसमा कमी आउनु दुःखद कुरा हो । आर्थिक, सामाजिक, शारीरिक, मानसिकरुपमा परेको समस्याको घडीमा राज्य अभिभावक बन्न सकोस् । जाजरकोट र दैलेखका बासिन्दालाई यति बेला आश्वासन हैन सुरक्षित बासको खाँचो छ । शारीरिक र स्वास्थ्य सुरक्षाका लागि छट्पटाइरहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सरकारले स्वास्थ्य सुरक्षाको प्रत्याभूत गराउन जस्तोसुकै मूल्य चुकाउनुपरे पनि पछि पर्नुहुन्न । देशका हरेक नागरिकको रक्षाका लागि आम राजनीतिक दल, नागरिक, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाहरु राजनीतिभन्दा माथि उठेर मानवीय भावनाका साथ मानव रक्षार्थ खट्ने वातावरण बनाउन राज्य लाग्न ढिलो भइसक्यो ।

राज्यबाट सञ्चालित अस्पतालमा आवश्यक जनशक्ति, उपकरण, भौतिक संरचनालगायतका नभई नहुने विषयवस्तुतर्फ अनेक बहानाबाजी गरी ढिलासुस्ती नगरियोस् । औषधि खरिद, अस्पताल, स्वास्थ्यकर्मी, उपकरण, एम्बुलेन्सजस्ता व्यवस्थापनमा राजनीतिक भागवण्डा नगरियोस् । जनताको नैसर्गिक अधिकारमाथि कुनै पनि राजनीतिक दल र सरकारले खेलबाड नगरोस् । नागरिकको सुरक्षित भएर बाच्न पाउने अधिकारको हनन नहोस् । जाजरकोटमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या देखाएर राजनीति नगरियोस् ।

भूकम्पपछि पालमा बसेका एक महिनाकी बालिकामात्र नभएर ज्येष्ठ नागरिकको समेत चिसोका कारण मृत्यु भएका समाचार बाहिरिएको छ । यो अत्यन्तै दुःखद हो । मंगलबारसम्म ११ जनाको मृत्यु भइसकेको यो अवस्थामा आकस्मिक व्यवस्थापन गरी नागरिकलाई चिसोबाट बचाइयोस् । देशमा संकट पर्दा राजनीतिबाट माथि उठेर काम गर्न सिकौँ ।

डा. तोसिमा कार्कीले घटनालगत्तै जाजरकोट पुगेर उपचारका राथै त्यहाँ रहेका स्वास्थ्य संस्थामा आवश्यक उपकरण, जनशक्तिलगायत सम्पूर्ण कुरा सम्बोधन गरी लागतसमेत स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइसकेको अवस्थामा पार्टीगतरुपमा नहेरी व्यवस्थापन गरियोस् । देशका हरेक नागरिकले सरकारको प्रशंसा गर्ने सुवर्ण अवसरलाई ध्यान दिइयोस् । चिसो बढेसँगै जाजरकोटमा बिरामीको संख्या दिनानुदिन बढ्दै छ । औषधिको अभाव, स्वास्थ्य संस्थासम्म पुग्ने समस्या, पालको बासले असुरक्षा भैरहेको कुरामा ध्यान दिइयोस् ।