अवैध लागूऔषध कोकिनसहित विदेशी महिला पक्राउ 

0
Shares

काठमाडौँ।

प्रहरीले अवैध लागूऔषध कोकिनसहित एक विदेशी महिलालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षीया किमरोसाङ्गी रहेकी छन्। उनलाई प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले सोमबार राति ११ : ४५ बजे पक्राउ गरेको हो।

विषेश सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा उनको लगेज खानतलासी गर्दा कालो रङको सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई कालो प्लाष्टिकको प्याकेटमा लुकाई छिपाई राखेको अवस्थामा अबैध लागूऔषध कोकिन १ किलो ९७३ ग्राम फेला पारी बरामद गरेको छ।

बरामद उक्त समानको बजार मूल्य अन्दाजी ४,९३,२५,००० (चार करोड त्रियानब्बे लाख पच्चीस हजार ) रहेको छ।

उनीमाथि लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए।