उदयपुरमा छठ पूजाको रौनक, हजारौँको भीड 

0
Shares

उदयपुर । 

उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदीमा छठको व्रत बस्नेहरुको अत्यधिक घुँइचो लागेको छ ।
गत वर्षको तुलनामा यस वर्ष धेरै ब्रतालुहरु रहेको र पूजा  गर्ने स्थल बढी भएकोले त्रियुगा नदीको उत्तरी किनाराको बगर भरी मानव सागर उर्लिएको थियो ।
त्रियुगा नदीको पुल माथिबाट छठ पूजा  र नदीमा ब्रतालुहरु उभिएर पूजा  गर्दै गरेको दृश्यहरू पनि सयौँको संख्यामा रहेको थिए ।

त्रियुगा नदीमा छठ पूजा व्यवस्थापन समितिले पाँचसय पूजा गर्ने घाट निर्माण गरेकोमा अपुग भएपछि थप ३० बटा पूजाघाट निर्माण गरिएको छ । शनिवार साँझसम्ममा चारसय ८० पूजास्थल बुक भएकोमा आइतबार बिहान नपुग भएपछि थप ३० वटा पूजास्थल घाट निर्माण गरी ब्रतालुहरुलाई उपलब्ध गराएको व्यवस्थापन समितिले जनाएको छ ।

छठ पूजा  व्यवस्थापन समितिका अध्यक्ष चन्दन साहले ब्रतालुहरुको संख्या प्रत्येक वर्ष बढ्ने गरेकोले अनुमान गरेर पूजा स्थल बनाउँदा अपुग हुने गरेको बताए ।
त्रियुगा नदीमा मनाइएको छठ पूजामा मधेसी समुदाय थारु समुदाय र स्थानीय क्षत्री ब्राह्मण तथा राई लिम्बु लगायतका जातीको बाक्लो उपस्थिति रहेको देखिन्छ ।

२०७२ सालदेखि व्यवस्थित रुपले गाईघाटमा समिति गठन गरेर छठ पूजा मनाउन थालिएको जानकारी दिंदै छठ पूजा  व्यवस्थापन समितिका संस्गापक अध्यक्ष राहुल यादवले प्रत्येक वर्ष ब्रतालुको संख्या बढ्दै गएकोले केही कुरामा कमी कमजोरी हुने तर ती सबै समस्यालाई समाधान गर्दै गएको बताए ।
त्रियुगाको छठ पूजाकालागि आवश्यकता अनुसारको सबै खाले व्यवस्थापन गरिएको र स्वास्थ्य सेवा एमबुलेन्स, मानवीय उद्धार सेवा तथा आवश्यक सामान खरिदकालागि अस्थायी पसल स्टल समेत व्यवस्था गरिएको छ ।

त्रियुगा बसपार्कसँगै रहेका त्रियुगा नदीको बगरमा रातभरी ब्रतालुहरु आ-आफ्नो पूजा  स्थलमा नै जागराम बस्ने र नाँचगान सहितको सांस्कृतिक कार्यक्रम गरेर ब्रतालुहरुलाई मनोरञ्जन दिने र त्यसकालागि आवश्यक सम्पूर्ण कुराको व्वस्थापन गरिएको छठ पूजा व्यवसथापन समितिका अर्का सदस्य सुरज साहले बताए ।
प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएकोले राती नौ बजेसम्ममा सकिने र त्यसपछि ब्रतालुहरुका लागि नाच गान सहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको अध्यष चन्दन साहले बताए ।

आफूले चिताएको मनोकामना पूरा हुने र शरीरमा रोग व्याध नलागोस्। सबैमा  सुख शान्ति होस् र अन्नपात फलफूल लगायतका बालीनाली राम्रो उब्जाहोस् भन्ने कामनासहित मनाइने छठ पर्व तराईको मात्र नभएर सिंगो देशकै राष्ट्रिय पर्वका रुपमा मनाउन थालिएको छठ पूजा  समितिका अर्का सदस्य सुरज साहले बताए ।

प्रत्येक वर्ष व्यवस्थित रुपले त्रियुगा नदीमा छठ पूजाको आयोजना गर्दे आएको समितिले टेन्ट त्रिपाल विद्युत्, स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, औषधी उपचार सहितको चिकित्सक सेवा, खानेपानी, शौचालय, स्टल पसल सेवा लगायतका सेवा सुविधा सहित छठ पूजा आयोजना गर्ने गरेको संस्थापक अध्यक्ष राहुल यादवले बताए ।