विद्यार्थीहरुको बौद्धिक यात्रा

0
Shares

दोलखा। 

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर– ५ माटीका वडा अध्यक्ष बासु श्रेष्ठले वडाबाट आफूले पाउने रकमबाट विद्यार्थीहरुलाई काठमाडौँसम्मको बौद्धिक यात्रामा लागेका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर– ५ मा रहेको महेन्द्रोदय मावि, बुढा भीमसेन मावि र आँकुरा बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ९ र १० का एक सय दुई जना विद्यार्थीलाई काठमाडौँसम्मको यात्रामा लगिएको र त्यहाँ विभिन्न बौद्धिक व्यक्तित्वसंग भेट गराई विभिन्न विषयमा अनुभाव आदान– प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताए । यात्रामा तीन वटा विद्यालयका तीन जना शिक्षक, पत्रकार र वडाका कर्मचारी गरी छ-सात जना थप सहभागी रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

यो नितान्त बौद्धिक यात्रा हो वडा अध्यक्ष श्रेष्ठले भने– यो यात्राको क्रममा विद्यार्थीहरुले नेपालका स्थापित अग्रजहरुसंगबाट विभिन्न विषयको अतिरिक्त ज्ञान प्राप्त गर्न सक्छन् भन्ने अपेक्षा लिइएको छ । तीन दिनको यो यात्राको क्रममा विद्यार्थीहरुले काठमाडौँमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, डाक्टर सन्दुक रुईत, वैज्ञानिक महावीर पुन, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आजार्च (मह जोडी), वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतसँग भेट गर्ने छन् । विशिष्ट व्यक्तिहरु संगको भेटको क्रममा विद्यार्थीहरुले सम्बन्धित विषयमा छलफल गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

तीन दिनको भ्रमणमा झन्डै पाँच लाख रुपैयाँ  खर्च हुने अनुमान आफूले गरेको वडा अध्यक्ष श्रेष्ठले बताए । मेरो बार्षिक पारिश्रमिक (मासिक २० हजार) दुई लाख ४० हजार हुन्छ, वडा अध्यक्ष श्रेष्ठले भने– नपुगेको पैसा म आफ्नो नीजि स्रोतबाट थप गर्ने छु ।

बौद्धिक यात्रामा सहभागी विद्यार्थीहरुलाई आईतवार पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले खादा लगाएर दोलखा सदरमुकाम चरिकोटबाट बिदाइ गरेका थिए ।

वडा अध्यक्ष श्रेष्ठले गत वर्ष आफ्नो पारिश्रमिक रकमबाट वडाका ज्येष्ठ नागरिकहरुलाई पशुपति नाथ मन्दिरसम्मको धार्मिक भ्रमणमा लागेका थिए । सो क्रममा ज्येष्ठ नागरिकहरुले तत्कालीन  राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका विशिष्ट व्यक्तिहरूसँग समेत भेट गराएका थिए ।