शान्तिको कामना गर्दै नख्खुमा कथिन चीवरदान

56
Shares

ललितपुर।

देशमा दिगो शान्ति, मैत्री र समृद्धिको कामना गर्दै ललितपुर – १३ नख्खुको रिडोरस्थित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा भिक्षुसंघलाई आइतबार कथिन चीवर दान गरियो ।

केन्द्रका जग्गा दातासमेत रहेका पूर्णचण्डी निवासी दशलाल डंगाल र उनकी श्रीमती राममाया डंगोल तथा केन्द्रका अध्यक्ष समेत रहेका रामकाजी अवाले र उनकी श्रीमती पूर्णलक्ष्मी अवाले परिवारले सो दान कार्यक्रम आयोजना गरेको हो ।

 दाता परिवारको आहवानमा भेला भएका करिब डेढ सय जना भिक्षु भिक्षुणी र सयौं उपासकउपासिकाको उपस्थितिका माझ शीलप्रार्थना, बुद्धपुजा, प्रवचन र दानप्रदान कार्यक्रम गरिएको थियो । त्यसपछि मुख्य दाता परिवारले भिक्षुसंघलाई चीवरदान गरेका थिए।दान दिइएको चीवर यसअघि बुद्धमूर्ति खटसंगै राखेर दाता परिवारको निवास नख्खु उकालोबाट परम्परागत बाजागाजा र उपासकउपासिकाहरुको लावालस्करका साथ जात्रा गरी केन्द्रको परिसरमा ल्याइएको थियो।

करिब ८० जना बुद्ध धर्मप्रति आस्था राख्ने महानुभावहरुले भिक्षुभिक्षुणीहरुलाई दैनिक जीवनमा अत्यावश्यक पर्ने आठ वटा सामग्री (अष्टपरिष्टकार) दान गरेका थिए । दानबाट मनमा रहेको लोभ र कञ्जुस भाव हट्ने विश्वासका साथ उपस्थित महानुभावहरुले पनि आ–आफ्नो गच्छे अनुदान नगद र विभिन्न सामग्री दान गरेको थिए । दानको महिमा जगाउने सो पर्वमा अष्टपरिष्टकार दानमा प्राप्त हुने रकम लुम्बिनीमा नेपालीहरुको तर्फबाट बनाउँदै गरेको थेरवाद बुद्ध विहारको निर्माणमा खर्च गर्दै आएको छ।

भिक्षुहरु असार पूर्णिमादेखि कोजाग्रत पूर्णिमासम्म एकै विहारमा बसेर ध्यान र ज्ञानको अभ्यासगरे (वर्षावास) पछि मात्र सो दान प्रदान गर्ने परम्परा रहेकोले स्थविरवाद बुद्ध धर्ममा सो दानलाई दुर्लभ प्रकारको दानको रुपमा लिईन्छ।सो परम्परा गौतम बुद्धको पालादेखि चल्दै आएको हो ।

सोही परम्परा अनुरुप यस पटक सो विहारमा भिक्षु सोम स्थविर वर्षावास बस्नु भएको थियो।केन्द्रमा यस किसिमको दान कार्यक्रम आयोजना गरिएको यो दोस्रो पटक हो। यस अघि २०७५ सालमा भिक्षु विमलधम्म वर्षावास बसेपछि कथिन चीवर दानको आयोजना गरिएको थियो। सो अवसरमा कथिन चीवरदाता परिवारलाई भिक्षु सोम स्थविरले प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा भिक्षु संकिच्चले मानिसको ह्दयमा रहेका विकारहरु रहेसम्म शान्तपूर्वक बस्न नसकिने भन्दै आफूले आफैलाई नबुझेसम्म मनका विकारहरु नहट्ने बताउँदै ध्यान र ज्ञानको अभ्यासमा खारिदै जानुपर्नेमा जोड दिए।

सो अवसरमा केन्द्रका अध्यक्ष रामकाजी अवालेले श्रद्धालु दाता तथा राज्यका विभिन्न निकायको समेत सहयोगमा केन्द्रको भवन भइरहेका बताउँदै धार्मिक र आध्यामिक वातावरण बनाउनको लागि कथिन चीवर दान गरेको बताए। केन्द्रले मानिसहरुमा ध्यान र ज्ञानको अभ्यास गराई सचेत र विवेकशील मानिस तयार गर्न भूमिका निर्वाह गर्दै आएको पनि अध्यक्ष अवालेको भनाई रहेको छ ।

समारोहमा वाग्मती प्रदेशका पूर्व सांसद् एवं केन्द्रका उपाध्यक्ष शोमा शाक्य, अर्का उपाध्यक्ष अजरमान जोशीले केन्द्रले गर्दै आएको गतिविधिको सन्दर्भ जोड्दै मानिसहरुमा आध्यात्मिक भावनाको विकास गर्न केन्द्र क्रियाशील रहेको बताए।

सो अवसरमा ललितपुर क्षेत्र नं २ का संघीय सांसद् प्रेमबहादुर महर्जन, वाग्मती प्रदेशसभा सदस्य प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्य, ज्यापू समाजका अध्यक्ष तीर्थलाल महर्जन, ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार लगायत विभिन्न सामाजिक तथा बौद्ध संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

चीवर दाता डंगोल परिवारले १ रोपनी २ आना जग्गा दान दिएपछि  सो केन्द्र स्थापना भएको थियो। स्वर्गीय दोलेन्द्ररत्न शाक्यको नियमित धर्मचर्चामा सहभागी हुँर्दै आएका उपासक दशलाल डंगोलले म्यानमारका प्रसिद्ध ध्यान गुरु भिक्षु प्रज्ञाश्रीको धम्मोपदेश श्रवण गरीे तथागत गौतम बुद्धको ज्ञान र ध्यानको अभ्यास गराउन, विभिन्न देशबाट आउने भिक्षुहरुलाई राख्ने उद्देश्यले सो जग्गा दान दिएका हुन्। सो केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र र विभिन्न देशबाट आउने भिक्षुहरुलाई राख्ने, युवावर्गमा बुद्ध धर्मको ज्ञान सम्प्रेषण गर्ने उद्देश्यले गतिविधिहरु भइरहेको महासचिव सुनील महर्जनले बताए।