खातुनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइयो 

0
Shares

सर्लाही। 

सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले ७ दिनपछि चिहानबाट निकालेर पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । युवतीको मृत्यु शङ्कास्पद देखिएकाले  स्थानीय जनप्रतिनिधि र मुस्लिम अगुवाहरुको रोहवरमा आज बिहान खाल्डोबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

खातुनको कात्तिक २६ गते राति रहस्यमय  मृत्यु भएको थियो । खातुनको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले  मृतककी सौतेनी आमा सकिना खातुन, मृतकको मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाइ शेख चाँद फरार भएका छन् । फरार भएका दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चिहानबाट निकालिएको खातुनको शव परीक्षणपछि पुनः मुस्लिम परम्परा अनुसार नै  अन्त्येष्टि गरिने सहमति भएको बताइएको  छ। चिहानमा गाडिएको शवलाई हिजो नै निकाल्ने प्रहरीले प्रयास गरेको भएपनि स्थानीय मुस्लिम समुदायका अगुवाले विरोध गरेपछि रोकिएको थियो ।