भारतीय राजदूतावासद्वारा मंगलादेवी वर्थिङ सेन्टर हस्तान्तरण 



काठमाडौँ। 

नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसूति) सेन्टर एक कार्यक्रमका बीच  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन् ।

 उक्त समारोहमा राजनीतिक प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरुको पनि सहभागिता रहेको थियो । सोही अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत नेरु. १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरियो ।

 नेपाल–भारत विकास सहकार्य ढाँचा अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु. ४.४०४ करोड लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलादेवी बर्थिङ सेन्टरको निर्माण गरिएको हो ।  कोभिड–१९ महामारीको समय ताका र यस अस्पतालका विभिन्न विभागलाई २ थान ४० केभीए डिजल जेनेरेटर, ५ वटा बस र २ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ। जसमध्ये एउटा एम्बुलेन्समा एडभान्स लाइफ सर्पोटको सुविधा रहेको छ ।

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुले यो बर्थिङ सेन्टर नर्सद्वारा रेखदेख गरिने बताए । नेपालका अन्य क्षेत्रमा कार्यान्वयनका लागि यो बर्थिङ सेन्टर नमुना बर्थिङ सेन्टरको रुपमा काम गर्न सक्ने बताउँदै उनीहरुले  यसले मातृ मृत्युदर घटाउन मद्दत पुग्ने जनाए ।

स्थानीय तहमा कार्यरत नेपाली संस्थामार्फत भारतको अनुदान सहयोगमा साना विकास परियोजनाको कार्यान्वयन गर्न नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय सम्झौतामार्फत वि.सं २०६० कार्तिक २१ गते उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सुरुवात गरिएको थियो जसलाई पहिले साना विकास परियोजनाको नामले चिनिन्थ्यो ।

 यी परियोजनाहरु नेपालसँगको विकास साझेदारीको नवीन एवम् महत्वपूर्ण अंशको रुपमा रहेको छ । नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरुमा पूर्वाधार निर्माण गरी नेपालका भुँइतहका मानिसहरुको जीवनस्तर सुधार्न यी परियोजनाहरुको कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा बोल्दै  अर्थमन्त्री महतले नेपालमा विकास पूर्वाधार निर्माणमा निरन्तर सहयोग गरेकोमा भारतलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपाली जनताको जीविकोपार्जनमा प्रभाव पार्नेे यी परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

.कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले विगत बीस वर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निकै सफल रहेको बताए । सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी प्रशिक्षण, खानेपानी, विद्युत, सिंचाइ, संस्कृति, समाज कल्याण जस्ता विविध क्षेत्रमा करिब ५५० वटा परियोजना यस ढाँचा अन्तर्गत अघि बढेकोमा सन्तोष व्यक्त गर्दै राजदूत श्रीवास्तवले यसले मानिसहरुको जीवनमा प्रत्यक्ष प्रभाव पारेका स्पष्ट पारे ।

नेपालका सबै प्रदेशमा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाइएको छ । कोशी प्रदेशमा ८४ वटा परियोजना, मधेस प्रदेशमा ८१ वटा परियोजना, बाग्मती प्रदेशमा १०५ वटा परियोजना, गण्डकी प्रदेशमा ६१ वटा परियोजना, लुम्बिनी प्रदेशमा ६० वटा परियोजना, कर्णाली प्रदेशमा १४ वटा परियोजना र सुदूरपश्चिम प्रदेशमा ४१ वटा परियोजनाहरु सञ्चालित छन् । यी परियोजनाहरु एकभन्दा बढी प्रदेशमा फैलिएका १०७ वटा परियोजना बाहेकका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले यस्ता परियोजनाको मुख्य पक्ष भनेकै छोटो समयमा निर्माण सम्पन्न भई प्रतिफल दिने र स्थानीय तहको आर्थिक विकासमा यसले प्रभावकारी भूमिका  खेल्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्