शुक्रबार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर आफन्त गुमाएको पीडा अर्कोतर्फ विस्थापित हु्नुपर्दा गाँस, बास र कपासकै समस्याले आक्रान्त छन् त्यहाँका हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरू । उनीहरूले अहिले जीवनकै सबैभन्दा ठूलो पीडा भोग्नुपरिरहेको छ । उनीहरूको पीडा हामी सबै नेपालीको साझा पीडा हो ।
शुक्रबार सबै काम सकेर भोलिको सुन्दर जीवनको कल्पना गर्दै ओच्छ्यानमा गएकाहरुले क्षणभरमै जीवन गुमाउनुपर्ला भनेर सोचेका थिएनन् । तर, हुनेहुनामी भएरै छोड्यो । निर्दोष जीवन आफ्नै घरभित्र पुरिन विवश भयो । खुनी भूकम्प रातको समयमा आउँदा धेरैले अकल्पनीय जीवन गुमाउनुप¥यो । सिंगो देश एकाएक शोकमा डुब्यो ।
प्रकृतिको लीला कसले पो टार्न सक्छ र ? त्यसैले अब जाजरकोट र पश्चिम रूकुममा सहानुभूतिका शब्दहरू होइन सहयोगी मन र हातहरूको खाँचो छ । एउटा नेपालीलाई दुख्दा अर्को नेपालीको मन मुटु पनि दुख्नुपर्छ । यो हामी नेपालीको संस्कार हो । यस्तो विपतिको बेलामा सबैले सहयोगी र हातेमालोको संस्कार देखाउनुपर्छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै नेपालीले जाजरकोट र पश्चिम रूकुमबासीले भोग्नुपरेको समस्यालाई आफ्नै समस्या सम्झेर राहत र सहयोगमा हातेमालो गर्नु अहिलेको अहम् आवश्यकता हो । आ–आफ्नो ठाउँबाट आफ्नो गच्छेअनुसार राहत प्रदान गरौं । भूकम्पबाट पीडित भएर चहराइरहेको घाउमा राहतरूपी मलहम लगाऊँ ।
सरकारले पनि आफ्ना सबै संयन्त्रहरू प्रयोग गरेर खोज, उद्धार र राहतलाई जादुमय किसिमले अघि बढाउनुपर्छ । ताकि पीडितले मुलुकमा वास्तविक र आफ्नै सरकार भएको अनुभूति गर्न सकून् । हामी विनम्र आग्रह गर्दछांै यो शोकको घडीमा सबै सहयोगी मन र हातहरू भूकम्पपीडितको सेवामा समर्पित बनौं ।
प्रतिक्रिया