भूकम्प अपडेट : तीन घाइतेलाई उपचारका लागि सुर्खेत पठाइयो

0
Shares

रुकुम पश्चिम।

भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए ।

उनका अनुसार घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ । नगरपालिकाको वडा नं ११, १२, १३ र १४ मा हालसम्म ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको उनको भनाइ छ । सुर्खेतबाट आएको एक जना डाक्टरसहित तीन जनाको स्वास्थ्यकर्मीको समूहले नगर अस्पताल उपचार गरिरहेको शाहले जानकारी दिए ।

शुक्रबार राति जाजरकोटको केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ । क्षतिको विवरण सङ¬्कलन भइरहेको र उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
सानीभेरी गाउँपालिका–२ मा नौ जनाको मृत्यु भएको छ ।