हमासले आत्मसमर्पण नगरेसम्म युद्ध विराम हुँदैन (भिडियोसहित )

0
Shares

काठमाडौँ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत आइतबारदेखि बुधबारसम्म नेपालमा रहँदा इजरायललाइ गाजा क्षेत्रमा जारी आक्रमण रोक्न पटकपटक आग्रह गरेका थिए । उनले त्यहाँ करिब २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएका र असुरक्षित जीवन बिताइरहेका भन्दै आपतकालीन मानवीय युद्धविरामको लागि पटकपटक अपिल गरेका थिए ।

गुटेरेस स्वदेश फर्केलगतै बिहीबार नेपालका लागि इजरायलका राजदूत खनान गोदारले राष्ट्रसंघलाई प्रश्न गरे– ‘सर्पलाई आफूसंगै राखेर युद्धविराम गर्छु भनेर ढुक्कले निदाउन सकिन्छ ? सर्पले टोकिहाल्छ ।’

उनले इजरायलमाथि गत अक्टोबर ७ मा जमिन, समुद्र र हवाईमार्गबाट आतंककारी आक्रमण गर्ने हमासले आत्मसमर्पण गरेर हतियार नबुझाएसम्म इजरायलले कुनै पनि हालतमा युद्ध विराम नगर्ने बताए । उनले हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शान्तिको कामना गर्दै विशालनगरस्थित आफ्नो निवासमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा भने– ‘घरघरमा घुसेर सर्वसाधारणलाई मार्ने, बृद्धबृद्धा र बच्चाहरूको अपहरण गर्ने, गर्भवती महिला र दुधे बालकलाई समेत नछाड्ने आतंककारी हमासलाई खत्तम नगरिकन इजरायलले आफ्नो नागरिकको सुरक्षा गर्न सक्दैन । हामी प्यालेष्टिनी नागरिक र बालबालिकाहरूलाई नियतपूर्वक मार्ने वा दुःख पु¥याउने काम गर्दैनौं । हामीले उनीहरूलाई गाजा क्षेत्र छाडेर सुरक्षित स्थानमा जान दुई साताको समय दिएका छौं । तर हामी त्यहाँ छिरेपछि हमाससँग युद्ध त हुन्छ नै, दुवै पक्षबाट अन्धधुन्द गोलाबारुद हुन्छ, त्यतिबेला निर्दोष नागरिकहरू पनि पर्नेछ, त्यसको हामीलाई चिन्ता र खेद छ । तर हामीसँग अरु उपाय छैन, हामी युद्ध विराम गरेर निरीह बन्न सक्दैनौं ।’

इजरायली राजदूत गोदेरले प्यालेष्टिनीहरूको सहअस्तित्वलाई स्वीकार गर्दै इजरायल पटकपटक युद्धबाट पछि हटेको तर,यसलाई हमासले इजरायलको कमजोरीको रुपमा लिएको टिप्पणी गर्दै भने– ‘हामीले नरम हुनुको मूल्य चुकाएका छौं । यस पटक पनि हामीले यसैको मूल्य चुकाउनु परिरहेको छ । हामीले यो युद्धमा अझै धेरै मूल्य चुकाउनु पर्नेछ, त्यसको हामीलाई आभास छ।  तर, हामी बाध्य छौं, युद्धबाट इजरायल पछि हट्न सक्दैन ।’

कार्यक्रममा हमासको आक्रमणबाट ज्यान जोगाएर फर्केका तीन जना नेपाली विद्यार्थीले आफ्नै आँखाअगाडि आफ्ना १० साथीहरू मारिएका अवस्थामा आफूहरू भाग्यले बाँच्न सफल भएको बताए ।

यसैबीच गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट बुधबार थुप्रै विदेशी राहदानीबाहक र घाइते प्यालेष्टिनीहरू बाहिरिएका छन् । इजिप्टको मध्यस्थतामा नियन्त्रित रुपमा दुई सातासम्मको लागि खुलिएको उक्त नाकाबाट साढे सात हजार विदेशी नागरिकहरूले गाजा छाड्न सक्ने अनुमान गरिएको छ ।

हमासले इजरायलमा आक्रमण गरेपछि बन्द भएको उक्त सीमा नाका ३ सातापछि खुलेकोमा अमेरिकी राष्ट्रपति जो बाइडनले कतारलाई धन्यवाद दिएका छन् । उनले हप्तौंदेखि गाजामा फसिरहेका गैर सैनिकहरूलाई गाजाबाट बाहिरिने व्यवस्थाका लागि कतारले गरेको कूटनीतिक प्रयासका लागि कतारलाई धन्यवाद दिएका हुन् ।