मस्तिष्कघात न्यूनीकरणमा निष्क्रियता


विश्व मस्तिष्कघात दिवस मनाइरहँदा मस्तिष्कघातमा कमी ल्याउन जनचेतनाको अभाव भएको विज्ञहरुको भनाइ सुन्ने कार्य अनि केही संघसंस्थाबाट सञ्चालित अस्पतालद्वारा ‘प्रभात फेरी’ कार्यक्रमका साथै सीमित व्यक्तिहरुसँग अन्तरक्रिया गरेर देशको इज्जत बचाइयो ।

राज्यको नागरिकप्रतिको दायित्व यही हो त ? विश्वमा प्रत्येक वर्ष १ करोड ५० लाख मानिस मस्तिष्कघातबाट पीडित हुन्छन् । प्रभावितमध्ये ५० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने ५० लाख बिरामी अशक्त जीवन जिउन बाध्य छन् । ४ जनामध्ये १ जनामा कुनै न कुनै प्रकारको मस्तिष्कघात हुने गरेको अनुसन्धानले औँल्याइसकेको अवस्थामा सरकार किन मौन ?

‘स्केमिक स्ट्रोक’ जहाँ मस्तिष्कमा भएका रक्तनलीहरुमा अन्य कुराहरु जस्तै– बोसो (कोलेस्टेरोल), रगतको ढिक्का जम्मा हुने र त्यसले रक्तनली बन्द गर्ने हुनाले मस्तिष्कको तन्तु मर्छ र मस्तिष्कघातको लक्षण देखा पर्छ । त्यस्तै दोस्रोमा ‘हेमोरेजिक स्ट्रोक’ ले रक्तनली बेलुनजसरी फुल्ने या फुट्ने हुन्छ ।

यस्ता समस्या विशेष गरी उच्च रक्तचाप भएका व्यक्तिहरुमा हुने गरेको तथ्यांकमा हरेक उमेर समूह पर्ने स्पष्ट छ । त्यसमा पनि पक्षघातका बिरामीमध्ये ८० प्रतिशतलाई ‘स्केमिक स्ट्रोक’ हुने गर्दछ भने २० प्रतिशतलाई हेमोरेजिक स्ट्रोक भएको पाइएको छ । मस्तिष्कघातपूर्वका लक्षणहरु हुन्– शारीरिक सन्तुलन गुम्नु, आँखा धमिलो हुनु, ज्योति गुम्नु, मुख बाङ्गो हुनु, शरीरको एकतर्फ लुलो हुनु, दुख्नु, झमझमाउनु, बोली लरबराउनु र रोकिनु आदि ।

यस्ता लक्षण भएको थाहा पाएपछि जतिसक्दो छिटो अस्पताल जान सके जटिलता हुनबाट जोगिन्छ भन्ने जनचेतना जगाउनु आजको आवश्यकता हो । यो उपचार अत्यन्तै महँगो र शहर केन्द्रित हुने हुनाले सरकारले सहुलियत दिएमा पक्षघातलाई कमी ल्याउनुका साथै जटिल अवस्था पुग्नबाट बचाउन सकिन्छ । विश्वमा मृत्युको दोस्रो ठूलो कारण मस्तिष्कघात बन्दै छ । मस्तिष्कघात, पक्षघातलाई पनि हार्ट अट्याकलाई जस्तै प्राथमिकतामा राखी सरकारले जनचेतनाका साथ आर्थिक सहयोगको व्यवस्था गरोस् ।

पछिल्लो समय खानपान, रहनसहनलगायत बढी तनावग्रस्त जीवन जिउन बाध्य मानिसहरुमा मस्तिष्कघात एउटा जटिल स्वास्थ्य समस्याका रुपमा मौलाएको छ । यो रक्तप्रवाहमा अवरोध भएपछि हुने गम्भीर समस्या हो । मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुटेर मस्तिष्कघात हुन्छ र पक्षघातसमेत हुने अनि मानिसको ज्यान नै जान्छ ।

उच्च रक्तचाप, मधुमेहजस्ता जटिल समस्याको विषयमा सरकारले प्राथमिकतामा राखी जनचेतना जगाउनुका साथै उपचारका लागि सर्वसुलभरुपमा चिकित्सक, स्वास्थ्य संस्था र औषधि, उपकरण उपलब्ध गराइयोस् । यस्तो गम्भीर स्वास्थ्य समस्याका विषयमा सरकारले खासै ध्यान दिएको छैन ।

जसरी सरकारले मुटु, मृगौला रोगीका लागि उपचार गर्न आर्थिक सहयोग गर्छ र जनचेतनामूलक योजनाहरु बनाउँछ तर मस्तिष्कघात र पक्षघातका विषयमा चासो नै दिएको पाइन्न । यसै कारणले मस्तिष्कघात र पक्षघातका बिरामीले समयमै समस्या पहिचान गर्न नसक्ने र समस्या आएपछि उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, परीक्षण विधि, औजारको अभावमा ज्यान गुमाउने अनि बाँचेकाहरु पनि जीवनभर विकलांग हुन बाध्य भएका छन् ।

सरकारले यस्तो गम्भीर विषयमा जनचेतना जगाउन ध्यान देओस् । जनचेतनाको अभावमा समयमा उपचार नपाउँदा मस्तिष्कघात भएका धेरैजसो बिरामी पक्षघातको सिकार भएका छन् । यस्ता बिरामीलाई जतिसक्दो छिटो उपचार गर्न सकेमात्रै उनीहरुको ज्यान बचाउन सकिन्छ । साथै मस्तिष्कघातको जटिलताबाट जोगाउन सकिन्छ । सरकारले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न नसक्दा बिरामीले समयमा समस्या पहिचान र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्नेतर्फ ध्यान देओस् ।