संक्रमणकालीन न्यायको काम पूरा गर्न सघाउने प्रतिबद्धता

0
Shares

 काठमाडौं ।

आठ वर्षपछि विदेशी पाहुनाका रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसद्मा सम्बोधन गर्नुभएको छ । मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा महासचिव गुटेरेसले सम्बोधन गर्नुभएको हो ।

यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्बाट सम्बोधन गर्नुभएको थियो । त्यसयता अहिलेसम्म कुनै पनि विदेशी पाहुनाले संसद्मा सम्बोधन गरेको तथ्यांक नरहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा महासचिव गुटेरेसले नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पु¥याउन आग्रह गर्नुभयो । उहाँले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लंैगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।

नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका गुटेरेसले शान्तिप्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायको काम पूरा गर्न राष्ट्रसंघले सहायोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँकै सम्बोधनका लागि चलाइएको सदनमा सम्बोधन गरेका गुटेरेसले जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

‘नेपालको प्रयास र प्रगति सराहनीय छ’, उहाँले भन्नुभयो– ‘यसमा तपाईंहरु एक्लै हुनुहुन्न । संयुक्त राष्ट्रसंघ नेपालका राजनीतिक नेतृत्वको पहललाई सम्मान गर्दै सहयोग गर्न तयार छ । नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म शान्ति प्रक्रियामा संलग्न नेपालका नेताहरुप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्दछु ।’

गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको विश्वास व्यक्त गर्नुभयो । ‘शान्ति र प्रगतिको यात्रामा तपाईंहरु एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ’, महासचिव गुटेरेसले भन्न्ुभयो– ‘संक्रमणकालीन न्यायमा पीडितकेन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरुको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ ।’

गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताउनुभयो । सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उहाँले सदनबाटै सुनाउनुभयो । ‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु’, गुटेरेसले भन्नुभयो– ‘वनविनाश हुन नदिई भइरहेका संरक्षण प्रयासहरुले सकारात्मक प्रभाव पार्नेछन् । हिमालहरुमा सूर्यको प्रकाश देख्न पाइरहनेछौं भन्ने आशा छ ।’

गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा उल्लेख्य योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने भन्दै विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरीलगायत योद्धाहरुको सम्झनामा एक मिनेट मौनधारण आह्वान गर्नुभएको थियो । उहाँको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनमा ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए ।

गुटेरेसले पश्चिम एसियामा भइरहेको द्वन्द्वलाई आफूले नजिकैबाट हेरिरहेको भन्दै हमासको क्रूर आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाउने नेपालीहरुप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभयो । उहाँले त्यस क्रममा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीबारे चासो राख्दै सुरक्षित रिहाइको कामना गर्नुभयो । उहाँले नेपालका नागरिकको मुस्कान, सांस्कृतिक विविधताको पनि प्रशंसा गर्नुभयो ।

महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित प्रतिनिधि तथा राष्ट्रियसभाका सांसदहरुले स्वागत गरेका थिए । चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका महासचिव गुटेरेस बुधबार बिहान १०ः१५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि सन् २००८ नोभेम्बरमा वान की मुन संयुक्त राष्ट्रसंघको महासचिवका रुपमा नेपाल आउनुभएको थियो । त्यस बेला शान्तिप्रक्रिया टुंगोमा पु¥याउन संयुक्त राष्ट्रसंघले विशेष भूमिका खेलेको थियो ।

शान्ति क्षेत्र लुम्बिनीमा गुटेरेस
संसारभर भइरहेका द्वन्द्व अन्त्यको कामना
यमलाल भुसाल, बुटवल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि विश्व शान्तिको कामना गर्नुभएको छ । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि बोल्दै महासचिव गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि यहींबाट शान्तिको कामना गर्दछु भन्नुभयो ।
महासचिव गुटरेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वानसमेत गर्नुभयोे । बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गर्दै उहाँले बुद्धको पञ्चशीलको दर्शन र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो भएको उल्लेख गर्नुभयोे ।

‘शान्ति र मानवता अपरिहार्य विषय हो, मानवीयता मर्न दिनुहुन्न’, उहाँले भन्नुभयो– ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौं ।’ बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उहाँले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर रोक्न सामूहिक पहलको आवश्यकता रहेको बताउनुभयो । मंगलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका महासचिव गुटेरेसले शान्ति दीपमा दीप प्रज्ज्वलन, मायादेवी मन्दिरमा पुगेर दर्शन र वृक्षरोपण गर्नुभएको थियो ।

महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।
यसै गरी महासचिव गुटेरेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामालगायतले स्वागत गर्नुभएको थियो ।