रंगेलीको प्रिमियर अमेरिकामा हुने



छायाँकनको अन्तिम चरणमा रहेको फिल्म रंगेलीको अमेरिका वितरण अधिकार बिक्री भएको छ। अमेरिकाको लागि फिल्मको वितरण अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो।

वितरण अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भीआईपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराए।

ती प्रिमियरमा फिल्मका प्रमुख कलाकार सहभागी हुने सुवेदीले बताए। फिल्मको यसअघि नै जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईं र यूएनए इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ। साथै, अस्ट्रेलियामा पनि बिक्री भइसकेको छ।

अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ग्रान्ड प्रिमियरको समेत तयारी समेत भएको छ। आगामी फागुन २५ गते नेपालसँगै नेपालीको बसोवास रहेका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुने फिल्ममा अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको छ।

दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको फिल्ममा हर्क साउदको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत तथा सुशन प्रजापतिको छायाँकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्