काभ्रे दुर्घटना अपडेट : पूर्वसांसद नविना लामासहित ११ जना घाइते (नामावलीसहित)

14
Shares

काभ्रे।

नेकपा एमालेका केन्द्रीय सदस्य र पूर्वसांसद नविना लामासहितका नेताहरू सवार गाडी काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ।

तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको बोलेरो बेथानचोक–१ मा दुर्घटनामा परेको हो। उक्त बोलेरमा १८ जना सवार थिए।

दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

घाइते हुनेमा स्याङ्जाको पुतलीबजार–५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठ, काभ्रे चौरीदेउराली गाउँपालिका–७ की पूर्वसांसद ४० वर्षीय नविना लामा रहेका छन्।

लामाको टाउको र बायाँ हातमा चोट लागेको छ। अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यस्तै, अन्य घाइते हुनेमा खानीखोला गाउँपालिका–५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी, दोलखाको कालिन्चोजक गाउँपालिका–३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द्र राना, पाँचखाल नगरपालिका–१२ की ३५ वर्षीय भक्तकुमारी लामा र बेथानचोक गाउँपालिका–१ का ७४ वर्षीय सिङ्त्तान तामाङ रहेका छन्।

यीमध्ये केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।